~विमल नेपाल~
हरिभक्त कटुवाल हुन, रक्सी पिएको होईन
देवकोटा हुन, चुरोट तानेको होईन
आत्महत्या गरें भने पनि, भैरव अर्याल हुन नभन्नुहोला
किनकि, ‘म’ म नै हूँ
चोईटिए पनि आफैं चोईटिन्छु
जोडिए पनि आफैं जोडिन्छु
बल्न परे बल्छु, जल्न परे जल्छु
आफैं बल्छु, आफैं जल्छु
दुनियाँको ‘बाल’ छैन
बाँचे बाच्छु, मरे मर्छु
किनकि, ‘म’ म नै हूँ
कहिले सुसाउँछु, कहिले गर्जन्छु
मलाई बग्न देओ
सके सागर सागर भेट्छु, नसके मोडिन्छु
तर, खबरदार !!!
कुलोमा हुल्न नपाए
कुवा भन्नेहरु हो
याद गर– खहरेका कति तागत हुन्छ ?
सुके सुक्छु, बगे बग्छु
मलाई निर्बाध छोडिदेओ
किनकि, ‘म’ म नै हूँ
मलाई यस्को नबनाओ, उस्को नबनाओ
मेरो जिन्दगीको हिसब नगर
सक्छौ, आफ्नै मेसो मिलाओ
मलाई ‘एकाउन्टेन’ चाहिंदैन
म नाफाघाटा बाँच्दिंन
सके नाफा गरुँला, नसके घाटा ब्यहोरुँला
मलाई निस्फिक्री छोडिदेओ
किनकि, ‘म’ म नै हूँ
(स्रोत : सिन्धुप्रबाह साप्ताहिक पत्रिका)