कविता : के भन्नु खै !

~प्रकाश प्रधान~

दूधकोसीको छेउमा
बसेर नेपालको मानचित्र
हेर्दै छु
सुनकोसीको किनारमा
बसेर आफ्नो भाग्यफल
हेर्दै छु
सप्तकोसीको आसपासमा
बसेर राष्ट्रिय भविष्यको तस्बिर
हेर्दै छु
कति नेता नायक दूधले धोइएका छन्
कति प्रगति–उन्नतिमा सुनको जलप लागेको छ
कति सुरक्षा र समृद्धिले सुदृढता पाएको छ
कति सहमतिको आदर्शले उपहास पाएको छ

आफ्नो अनुहार हेरेर लाज मान्ने कतै देखिँदैन
धोती फुस्किएर नाङ्गिएको पत्तै पाउँदैनन्
सेवा र आदर्शबाट चिप्लिएर हुकुमी छाप भएको पत्तै पाउँदैनन्
अरूको मनमा कति तिरस्कृत भइरहेको पत्तै पाउँदैनन्

यस्ता असंवेदनशीलहरूको युगमा रमाउन परिरहेछ
यस्ता अदूरदर्शीहरूको खेलमा हाँस्न परिरहेछ
यस्ता असन्तोषीहरूको कलाकारितामा दङ्ग हुन परिरहेछ
यस्ता अशिष्टहरूको हिलो होलीमा मोहित हुन परिरहेछ

पवित्र नदी, ताल
निर्मल पहाड, पर्वत
कन्चन हिमाल
हराभरा समथर
ईश्वरको वरदान,
तर यता,
व्यक्तित्वको आवसान
के भन्नु खै !

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.