~ईश्वर दाहाल कविजी~
साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।
नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशका अनुसार प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएको कविता नै गजल हो । उर्दू हिन्दी शब्दकोशका अनुसार प्रेमिकासँग कुराकानी भन्ने अर्थ दिएका छन् । धेरै विद्धानहरुले आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनि निष्कर्षमा गजल भनेको प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने काव्य हो भन्ने बुझ्न् सकिन्छ ।
आज आएर गजल हामी सबैसँग भिजिसकेको विधा हो । वास्तवमा गजल कस्तो हुनुपर्दछ यसमा विद्वानहरुको आ—आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा निम्नकुराहरु अगाडि सारेका छन् । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको अभिव्यक्ति हो । गजलमा थोरै शब्दबाट धेरै, सुक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुनु पर्दछ । गजलको एउटै शेर पनि गद्यविधाका कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसको विशेषता हो । गजलमा श्रृतिकटु, अश्लिल, दुरुह, क्लिष्ट, अभद्र र अपमान तथा अनादारवाची शब्दहरु मान्य हुँदैनन् । गजलमा गाली पनि मिठो शब्दले गर्न जान्नु पर्दछ । गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो । प्रत्येक शेरहरु कलापक्षका दृष्टिले पूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन् साथै गजलमा शिर्षक हुनु हुँदैन शिर्षक राखिन्छ भने त्यो कविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण प्रवणशीलता तथा विचित्रता गजलका विशेषता हुन ।
गजल हुनलाई अति आवस्कीय कुराहरु के के हुन त ? यदि हामी गजल लेख्न चाहन्छौ भने यी कुराहरु पनि हामीले जान्नै पर्ने हुन्छ आउनुहोस यस विषयमा चर्चा गरौ । गजल हुनलाई चाहिने मुलभुत तत्वहरु निम्न छन् ।
१ शेर
गजलमा शेर एक प्रमुख तत्व मानिन्छ गजल भन्नु नै शेरहरुको समष्टि रुप हो । गजल एउटा माला हो भने शेर त्यसमा उनीएका थुङ्गाहरु हुन् । एक शेरमा दुई पङ्क्ती हुन्छन् । शेरको पहिलो पङ्क्तीलाई मिसरा ए उला र दोश्रो पङ्क्तिलाई मिसरा ए सानी भनिन्छ । शेरको एउटा मिसरामा कम्तीमा पनि छ अक्षर हुनै पर्दछ । त्यसमा दुई रुक्न अनिवार्य मानिन्छ सबैभन्दा सानो रुक्न तीन अक्षरको हुन्छ । हरेक शेरको मिसरा ए उलाले कुनै पनि विषयको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्नु पर्दछ । गजलहरु प्रायः पाँच शेरका हुन्छन तर चार देखि ते¥ह शेर सम्म लेखिएका गजलहरु पनि यदाकदा पाईन्छन् । विषयवस्तुका दृष्टिले हरेक शेरहरु स्वतन्त्र भए पनि एउटै बहरमा लेखिएको भने हुनुपर्दछ । एउटा शेरमा एउटा अनुभुतिको सम्पूर्ण अभिव्यक्ति हुनुपर्दछ यदि एउटा शेरमा अभिव्यक्त हुन नसकेर बाँकी अंश अर्को शेरमा आउँछ भने त्यसलाई गजल मान्न सकिदैन । विषय वस्तु प्रस्तुतीका दृष्टिले गजल मुलत दुई प्रकारका हुन्छन् ।
(क) मुसलसल गजल ः एउटा गजलका सम्पूर्ण शेरहरुमा एउटै विषयवस्तु प्रस्तुती भएको छ भने त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ । जस्तै ः
इ सानै उमेर देखि मन् हर्न लागे,
इनै सुन्दरीले जुलुम् गर्न लागे ।
कहाँसम्मको आँट लौ हेर तिन्को,
रिसाएर आँखा पनि तर्न लागे ।
एकैपल्ट आँखा घुमाई दिनाले,
कती मर्न लागे कती डर्न लागे ।
सुनिस् मन् मुनियाँ बडा होस राखेस्,
बिछाएर जाल् कागुनो छर्न लागे ।
बिराना र आफ्ना नराम्रा र राम्रा,
सबै सुन्दरीका अघि सर्न लागे ।
अघि पर्न सक्दीनँ मैले हरीका,
नजर्देखि मोति पनि झर्न लागे ।
बहरे मुतकारिब मुसम्मन सालिम
मोतिराम भट्टद्वारा रचित यो गजलका सबै शेरहरुले एक सुन्दरीका बारेमा वर्णन गरेका हुँदा यो मुसलसल गजल हो ।
(ख) गैरमुसलसल गजलः एउटा गजलका शेरहरुले विविध विषयवस्तुलाई समेटेका छन् भने यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ । जस्तै ः
प्रेयसीको पत्र आयो विरहकै भारी देखें ।
फर्किएर देश हेरे झनै हाहाकारी देखें ।
सत्य कुरा नस्वीकार्ने समाजका अगुवा रे,
मुख भित्र रामराम वगलीमा आरी देखें ।
हनुमानका गुणहरु युद्धसँगै हराएछन्,
राज गर्दै ढेडुहरु लंका वारिपारि देखें ।
पाडो पाडी जे पावस भतुवालाई विगौति हो,
मालिक सामु कुकुर भन्दा मान्छे वफादारी देखें ।
चंगुलमा कविलाई चक्र जस्तै घुमाउने,
स्वार्थीको यो दुनियाँमा सा¥है मारामारी देखें । – कविजी
यो गजलका प्रत्येक शेरहरुले भिन्ना भिन्नै विषयवस्तु बारे बोलेका छन् । त्यसैले यो गैर मुसलसल गजल हो ।
२. काफिया
काफिया पनि अरबी शब्द हो यसको अर्थ हुन्छ बारम्बार आउने र गजलमा सबैभन्दा महत्वपूर्ण पनि यहि काफिया नै मानिन्छ । तुक मिलेको शब्द, शब्दांश या अक्षर नै काफिया हो यो रदिफ भन्दा ठिक अगाडि आउँछ । शेरहरुमा काफियाको पुनरावृति नहुनै राम्रो मानिन्छ । काफिया बिना गजलै बन्दैन तर काफिया मिल्दैमा पनि गजल हुँदैन । काफियामा स्वर मात्रको समानता हुनु पर्दछ । काफिया अनुप्रासयुक्त हुनु पर्दछ अथवा तुक नमिलेको शब्द, शब्दांश वा अक्षरलाई काफिया बनाउनु हुँदैन । संरचनाका आधारमा काफियाहरु चार प्रकारका हुन्छन् ।
(क) पूर्णशब्द काफियाः– सिङ्गा शब्द नै काफियाका रुपमा प्रयोग भएका छन् भने त्यस्ता काफियालाई पूर्ण शब्द काफिया भनिन्छ जस्तैः हुने, रुने, धुने, छुने ÷खात, भात, पात, हात, रात ÷खानी, रानी, पानी, नानी आदि । जस्तैः
हामी आ’को देश नयाँ शहर नयाँ नयाँ ।
उस्तै छ घरको याद रहर नयाँ नयाँ ।
गजलकार ज्ञानेन्द्र बेखर्चीद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका काफिया शहर र रहर पूर्णशब्द काफिया हुन् ।
(ख) शब्दांश काफियाः– शब्द भित्रको एक अंश मात्र काफियाका रुपमा प्रयोग भएको छ भने यस्तो काफियालाई शब्दांश काफिया भनिन्छ जस्तै ः पहिचान, प्रस्थान, अनुमान, बलिदान, अवसान ÷चहकिहलो, पोषिलो, पेचिलो, आँटिलो, मलिलो ÷मायालु, दुधालु, बैसालुृ, मैतालु, कृपालु, विषालु, खर्चालु आदि । जस्तै ः
जून निभेको आकाश कति नरमाइलो ।
हरसमय सन्त्रास कति नरमाइलो ।
गजलकार डा. घनश्याम परिश्रमिद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका शब्द आकाश र सन्त्रासमा उपन्यासको काश र सन्त्रासको त्रास मात्र काफियाका रुपमा प्रयोग भएको हँदा यी काफिया शब्दांश काफिया हुन ।
(ग) एकाक्षरी काफियाः– एक अक्षरमात्र कफियाका रुपमा प्रयोग भएको छ भने यस्तो काफियालाई एकाक्षरी काफिया भनिन्छ । जस्तैः हो, यो, सन्चो, कस्तो, मिठो, लामो, जाडो, कालो ÷ जिन्दगी, खुसी, नदी, औषधी, सही, परी, बढी ÷मजा, सिधा, कृपा, निशा, कला, सुरा, कथा, पिता आदि । जस्तैः
व्यथै व्यथा छ मनभरि खुसी खोजुँ कतातिर ।
साउन भदौ छ गहभरि नदी खोजुँ कतातिर ।
गजलकार रवि प्राञ्चलद्वारा लिखित गजलको प्रस्तुत शेरमा खुसी को सी र नदी को दी काफियाका रुपमा प्रयोग गरिएको छ ।
(घ) मिलित काफियाः– समस्वरात्मक दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्ने काफियालाई मिलित काफिया भनिन्छ । जस्तैः ÷ भन्छ, वन छ, पन छ, गन्छ, आसन छ, खन्छ÷जगत, मन त, फगत, रगत, अब त÷कुन, हुन, आउ न, गर्छु न, रुन आदि । जस्तै ः
घामको लाली घोलेर रातो छ त नी छन त ।
रातको छायाँ परेर हो की अँध्यारो जगत ।
गजलकार बुँद रानाद्वारा लिखित यो गजलमा छन त दुई शब्द र जगत एकै शब्दको संयोजन गरेर प्रयोग गरिएको छ त्यसैले यो मिलित काफिया अन्तर्गत पर्दछ ।
नोटः– स्वरुपका आधारमा काफियाहरु चार प्रकारका भए पनि प्रयोगका आधारमा भने पाँच प्रकारका हुन्छन् । एउटै गजलका शेरहरुका पूर्णशब्द काफिया र शब्दांश काफिया मिश्रित रुपमा प्रयोग भएको छ भने यस्तो काफिया प्रयोग भएका गजललाई मिश्रित काफिया युक्त गजल भनिन्छ । जस्तै ः पानी, जवानी, कहानी, दानी, सानी, सिरानी÷खण्डहर, घर, नजर, खबर, निर्झर, भर, कर ÷गाउँ, बताउँ, सुनाउँ, ठाउँ, साउँ आदि । जस्तै ः
तिमी रुदा धेरै पल्ट चाँदनी त्यो रात रोयो ।
वियोगको सन्तापमा, हामी वीचको आघात रोयो ।
गजलकार पुष्प अधिकारी अञ्जलिद्वारा लिखित गजलका यी शेरमा प्रयोग भएको काफिया मध्ये रात पुरै शब्द र आघातको आशिक घात मात्र काफियाका रुपमा प्रयोग भएको हुँदा उक्त गजलमा मिश्रित काफिया युक्त गजल हो ।
३. रदिफ
यो पनि अरबी शब्द हो यसको अर्थ अनुगामी हुन्छ । मतलाका दुवै मिसरा र अन्य शेरहरुका मिसरा ए सानीको अन्तमा प्रयोग हुने उही पद वा पदावलीलाई रदिफ भनिन्छ । रदिफ कम्तीमा एक शब्द देखि तीन शब्दसम्मको हुनु शास्त्रीय दृष्टिले उचित मानिन्छ । रदिफ काफियाको ठिक पछाडि प्रयोग हुन्छ तर यो गजलको अनिवार्य तत्व भने मानिदैन् । यसको प्रयोगले गजलको सौन्दर्य प्रसानमा महत्वपूर्ण भूमिका खेल्ने र गायनमा श्रुतिमधुरता समेत थपिने हुनाले अधिकांश गजलकारहरु यसलाई त्याग्न सक्दैनन् । शब्द प्रयोगका आधारमा रदिफहरु चार प्रकारका हुन्छन ः
(क) एकल रदिफः– कुनै पनि गजलका शेरहरुमा एउटा मात्र शब्द रदिफका रुपमा प्रयोग भएको छ भने यस्तो रदिफलाई एकल रदिफ भनिन्छ । जस्तै ः
म नेपाली गर्व गर्छु आगोसँग खेल्न सक्छु ।
यस्तो नाथे मरुभूमि हत्केलाले ठेल्न सक्छु ।
गजलकार बद्री प्रसाद पराजुलीद्वारा लिखित गजलको यो शेरमा सक्छु भन्ने एउटा मात्र रदिफ प्रयोग भएको हँुदा यो एकल रदिफयुक्त गजल हो ।
(ख) बहुल रदिफः– कुनै पनि गजलका शेरहरुमा यदि दुई या दुई भन्दा बढी शब्दहरु प्रयोग भएका छन् भने यस्तो रदिफलाई बहुल रदिफ भनिन्छ । जस्तै ः
आफैलाई थाहा छैन कस्तो कस्तो छु म ।
मरेपछि शालिक बन्छ ऐले सा¥है सस्तो छु म ।
गजलकार दुर्गा भुषालले लेखेको यो गजलमा दुईवटा रदिफ छु र म प्रयोग भएको छ ।
त्यस्तै अर्को एक गजल ः
तिम्रो चुरा फुट्ने बेला चिता माथि हाँस्दै थिएँ ।
नियतिले चुट्ने बेला चिता माथि हाँस्दै थिएँ ।
गजलकार बासुदेव अन्जानले लेखेको यो गजलमा चारवटा रदिफ बेला, चिता, माथि, हाँस्दै र थिएँ प्रयोग भएको छ त्यसैले यी बहुल रदिफ प्रयोग भएका गजल हो ।
रदिफको प्रयोगका आधारमा गजल दुई प्रकारका हुन्छनः
(क) मुद्दरफ गजल ः– जुन गजलमा रदिफको प्रयोग भएको छ त्यो गजललाई मुद्दरफ गजल भनिन्छ । जस्तै ः
अन्धकारमा सँधै दियोको महत्व ।
राष्ट्रिय खेल डन्डीवियोको महत्व ।
भोजराज श्रेष्ठ एकलव्यराजले लेखेको यो गजलमा महत्व भन्ने रदिफ प्रयोग भएको छ ।
(ख) गैरमुद्दरफ गजलः– जुन गजलमा रदिफको प्रयोग भएको हुँदैन त्यस्तो गजललाई गैर मुद्दरफ गजल भनिन्छ । जस्तैः
विद्रोहको राँको बोकी तिमी अघि बढ्नुपर्छ ।
बुर्जुवा यो समाजसँग आगो बनी लड्नुपर्छ ।
इखालु रमेशद्वारा लिखित यो गजलमा रदिफको प्रयोग भएको छैन ।
४. मतला
यो पनि अरबी शब्द हो मतलाको अर्थ हुन्छ प्रारम्भ । गजलको पहिलो शेरलाई मतला भनिन्छ यसका दुवै मिसरामा काफिया र रदिफको प्रयोग हुन्छ । जस्तै ः
यो साल यस्तै भयो अर्काे साल आउँछु नानु ।
केही दिन भए पनि मैले छुट्टी पाउँछु नानु ।
(हरि नेपाली विवश)
नदीको वीचमा छाड्यौ मलाई न वार न त पार दियौ ।
जितेनौ तिमीले पनि साथी व्यर्थै मलाई हार दियौ ।
(विक्रम चेतनशील राई)
५. मक्ता
गजलको अन्तिम शेरालाई मक्ता भनिन्छ यो पनि अरबी शब्द हो । यस शब्दले समाप्ति वा काटीएको भन्ने अर्थ बुझाउँछ । यसलाई आखिरी शेर पनि भनिन्छ । नेपालीमा यसलाई अन्तिम शेर नाम दिईएको छ ।
६. तखल्लुस
तखल्लुस भनेको कविको छोटो नाम वा उपनाम हो । गजल सिद्धान्तका केही व्याख्याताहरुले तखल्लुस प्रयोग नभएको शेरलाई मक्ता भन्न मिल्दैन पनि भनेका छन तर यो भनाइ युक्तिसंगत छैन् । गजलमा गजलकारले तखल्लुस प्रयोग गर्न पनि सक्छ नगर्न पनि सक्छ । तखल्लुस प्रयोग भएको मक्ताको यो शेर ः
अहो कस्तरी छाती छल्क्यो हरिको ।
जसै मोति माला झुलाएर आए ।
(मोतिराम भट्ट)
७. बहर
बहर गजलको सर्वोच्च अनुशासन हो । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धित हुनु गजलको शास्त्रिय मान्यता हो । संस्कृत वाङ्मयमा अनेकानेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरु भए झै इस्लामिक काव्यशास्त्रमा पनि वर्णमात्रामा आधारित अनेक शास्त्रिय बहरहरु छन् । गजल लेखनमा केही नेपाली शैलीका लयहरु पनि निकै प्रचलनमा आएका छन् । यस्ता बहरहरु उच्चार्थ अक्षरमा आधारित हुन्छन् । वास्तवमा लययुक्त उच्चार्थ अक्षरको एक रुपता आफैमा एक प्रकारको छन्द हो तर अक्षरको संख्या भने एउटै हुनु पर्दछ र नै सुन्दर लयको सृजना हुन्छ भन्ने केही विद्वानहरुको मान्यता छ भने कसै कसैले लय मिल्नु पर्छ मात्रा नै सबैथोक हैन भन्ने पनि गरेको पाईन्छ । जस्तै ः
च्यातिएर धुजाधुजा भएको छ जिन्दगी ।
बेठेगान कताकता बगेको छ जिन्दगी ।
गजलकार ललिजन रावलद्वारा लिखित गजलको यो शेरमा १५ अक्षर छन् ।
खाने र तोड्ने कसम अनौठो ।
कसलाई लाग्छ यो कम अनौठो ।
रमेश हरिलठ्ठकद्वारा लिखित गजलको यो शेरमा ११÷११ अक्षर छन् ।
अब आउनुहोस गजलका गुण र दोषहरुका बारेमा छोटकरीमा चर्चा गरौ ।
स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ । गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरु प्रयोग गर्न हुँदैन ।
पौढता ः गजलका शेरहरु विचार र भावले परिपक्क हुनु पर्दछ ।
अर्थपूर्णताः गजलका शेरहरु अर्थपूर्ण हुनु पर्दछ अर्थ पूर्ण नभएको गजल राम्रो मानिदैन ।
अन्योन्याश्रिता ः गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ ।
गेयात्मकता ः गेयता गजलको पहिलो सर्त हो । गेयगुण विनाको गजल प्राण बिनाको शरीर जस्तै हो । गजलकारले गजल लेख्नु पूर्व कुनै न कुनै लयलाई आत्मसात गर्न र त्यही लयमा गुनगुनाउँदै गजल रचना गर्न आवश्यक हुन्छ ।
व्याख्यात्मकता ः गजल थोरैमा धेरै भनिने विधा हो । गजलका शेरहरुमाका थोरै भन्दा थोरै शब्दहरुले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ । उखान टुक्काको समुचित प्रयोग, प्रतिक र विम्बहरुको प्रयोग प्रतिकात्मकता साथै सुकोमल र ह्दयस्पर्शी शब्दहरु र भावले सजिएको गजललाई राम्रो मान्ने गरिन्छ । यी असल गजलका गुणहरु हुन । गजलमा अष्पस्टता हुनु हुँदैन । भन्न खोजेको कुरा पुरा भएन भने त्यो राम्रो गजलमा पर्दैन । गजलका शेरहरु सरल र सहजबोध्य हुनु पर्छ बुझ्न नसकिने खालको भावले गजलको मर्मलाई प्रभाव पार्ने हुँदा यस्तो दुरुहता हुनेखालको हुनुहुँदैन । गजलका शेरहरु अपूर्ण हुनु हुँदैन भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ । गजलको शेरमा प्रयोग हुने शब्दहरुलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न । गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग र तिनको कार्यसम्बन्धी अशिक्षित समुदायले गर्ने कथ्य शब्दहरुको प्रयोग गर्नु हुँदैन । गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरु प्रयोग भएमा तथा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ । गजलका शेरहरुमा कोमल शब्दहरुको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरुको प्रयोग गर्नु हुँदैन । साथै अनादरवाची शब्दहरुको पनि प्रयोग गर्नु हुँदैन ।
र अन्त्यमा…………………………………………..
गजल अहिले साहित्यमा सबभन्दा लोकप्रिय विधाका रुपमा चिनिन्छ नेपाली साहित्य आकाशमा गजल भित्राउने श्रेय मोतिराम भट्टलाई जान्छ । गजलको परम्परागत मान्यता अनुसार श्रृगारिक रसमा प्रेम र प्रेमिकाको वर्णन वा नारी जाति सँग सम्बन्धित विषयवस्तुलाई समेटेर त्यसबेला गजल लेखिने गर्थे चाहे त्यो “दुई आँखि भौ त गयार छन तरवार पो किन चाहियो” हो स वा “यिनै सुन्दरीले मन हर्न लागे” भन्ने गजल होस नारी जाति कै वरिपरि घुमेको पाईन्छ । गजल गेय विधा भएको कारणले हुन सक्छ त्यसबेला त्यति लोकप्रिय हुन सकेन र विस्तारै सुस्ताउँदै गयो । मोतिराम पछि गजलै भनेर कसैले लेखेको तथा प्रकाशन गरेको केही बाहेक खासै पाईदैन र लामै समय सम्म सुस्ताई रह्यो । लामो समयको अन्तराल पछि परम्परागत श्रृगारिक धारालाई तोड्दै आधुनिक गजल लिएर देखा परे ज्ञानुवाकर पौडेल । ज्ञानुवाकर सँगसँगै यहि यात्रामा देखा परे मनु ब्राजाकी, ललीजन रावल, कृष्णहरि बराल, घनश्याम परिश्रमि, बुँद राना लगायतका गजल हस्तीहरु, यहि यात्रालाई अंगालेर तपाई हामी पनि हिड्दैछौ । अहिले हामी २१ औं शताब्दिको मध्यतिर छौ अबका गजलहरु जो कसैको फुस्रो वर्णनमा सिमित बन्नु हुँदैन । अब लेखिने गजलमा देश बोल्नुपर्छ, समाज बोल्नुपर्छ । अबका गजलले परिवर्तनको शंखघोष गर्नु पर्छ । अन्याय विरुद्ध ढाल बनेर निस्कनुपर्छ, विकृति विसंगतिको भण्डाफोर गर्नु पर्छ । गरिब र दुःखिका आवाज ओकल्नु पर्छ अबका गजलले । राष्ट्रियता र मानवताका गजलहरु आउनुपर्छ अब । गजलमा सम्पूर्ण जिन्दगी देखिदै गजलका शेरहरु भित्र तपाई र म पनि देखियौ भने त्यो गजल दुरगामी बन्ला र हामी पनि असली गजलकार बन्न सकिएला नत्र त्यत्तिकै ।