~निर्मोही व्यास~
प्यार रोप्दा पीर पाए गीति गजल गाए
विश्वासको सगरमाथासँग प्रीत लाए ।
काँडा सँगै फुले पनि काँडा हुन्न फूलमा
मान्छे कस्तो हुन्थ्यो होला त्यस्तै हुन पाए ।
ओत लाग्न कहाँ जाने ? ढले वर पिपल
फेला पारे बोधिवृक्ष छहारीमा आए ।
आफैंलाई नियालेर आफ्नै म सिंगारे
दूईटा छुट्टै अनुभूति पद्यमा सजाए ।
कहाँ छेकेर छेकिन्छ हत्केलाले सूर्य
काम गर्ने हात रुक्न नपर्ने बताए ।।
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ २६ ३२)