~प्रह्लाद पोख्रेल~
‘ठूलो मान्छे बन्ने रहर नरहोस् कत्ति मनमा
सबै बन्दै जाऊन् तर असल मान्छे भुवनमा
बनोस् राम्रो छाप्रो गरिब जन बस्ने सुखसित’
सधैँ भन्थ्यौ सच्चा सरल सपना हुन् सुरभित ।
झुटो वाणी बोली सरल जन पार्दा लुटुपुटु
महत्वाकांक्षाले मन र मुटु खाँदा कुटुकुटु
कतै मान्छे गर्छन् सहज नहुने मृत्यु वरण
कतै मान्छे हार्छन् नजितिनहुने जीवन–रण ।
चुनौती जस्तै नै कठिनतम आए पनि अगि
खुला छाती पारी कदम दृढ चालेर नडगी
उकालो यात्रामा अनवरत गन्तव्य नभुली
सधैँ हिँड्थ्यौ अग्लो प्रगतिपथ ताकी हिमचुली ।
तिमी हिँड्ने बाटो विकटतम, बेग्लै तर थियो
जता जान्थ्यौ बल्थ्यो जगमग प्रजातान्त्रिक दियो
बलेको त्यो ज्योति प्रखरतम पार्नै छ अहिले
खनौँ चौडा बाटो गतिमय हुने नत्र कहिले ?
शताब्दीमा तिम्रो स्मृतिसित बिताएर समय
सबै नेपालीको अविरल चिताएर विजय
जगाई आस्थामा अभिरुचि, भगाई पर भय
शताब्दीका हाम्रा असलतम मान्छे ! जय जय !
(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष)