कविता : मेरो बाबा

~अमृत सिङ थिङ~

आफ्नो पसिना पराइ माटोमा
चुहाई रहदा
तिम्रो आँखाको सपना
मेरै भबिस्यमा
डुल्दै होला बाबा
मरुभूमिको फाँटहरुमा
तिम्रो आँखा घुमी रहदा
डाँडा पाखा हरियाली
मनको आँखामा डुल्दै होला बाबा
म जस्तै सानी नानिहरु
कतै कतै खेलिरहदा
तिम्रो काँख रितो रितो
टोलाई रहेको होला बाबा
तिमीले पठाएको चक्लेट सँग
म रमाइ रहदा
तिम्रो भोगले एक गास
मागिरहेको होला बाबा
तिमीले पठाएको ठूलो टि भी मा
म कार्टुन हेरेर रमाई रहदा
तिम्रो आँखाले ताराहरु माझ
मलाई खोज्दै होला बाबा
तिमीले पठाएको न्यानो सिरकमा
म मस्त निदाई रहदा
तिम्रो हरेक रात
जाग्राम बित्छ होला बाबा
जसरी तिमी खल्लो खल्लो छौं
म पनि एक्लो एक्लो छु
त्यसैले बाबा
अब फर्किनु आफ्नै देश
भो नलाउनु ती सेफ्टी टोपीहरु
नझुन्डीनु अग्ला घरको भित्तामा
लाउनु आफ्नै ढाका र टोपी
लाउनु आफ्नै स्वाभिमानी भेष
कतै खेल्दा खेल्दै म लडे भने
समाउनु मेरो हात
निन्द्रामा म लपक्क सुते भने
फिजाउनु तिम्रो काँख
चाहिएन पराइको मीठो पापा
चाहिएन अरुको राम्रो नाना
आफ्नोमा रमाउला
नमिठो नै खाउला
फर्किनु है बाबा
आउनु है बाबा ।।

अमृत सिङ थिङ
हाल : मलेसिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.