लघुकथा : चिन्हो

~कात्यायन~dhanwantari-mishra-katyayan

– फेरि पनि सुकसुकाउँदै भाइबरमा वेदना पोख्छिन् – “ कति द्रव्य-पिचास हुँदै कोमामा मात्र रमाईरहन्छौ ? सुकेर मर्न लागिसकें, शिघ्र आऊ ! फेरि कल्पिनु पर्ला !”

– लामो प्रवासी जीवन र ग्रीन-कार्डको मोहलाई परित्याग गरेर हप्ता दिन पनि बित्न नदिएर ऊ लस-भेगासको स्वर्गानुभूतिलाई पनि लत्त्यायर लस-एन्जेल्सको एअरपोर्ट हुँदै स्वदेशको एअरपोर्टमा उत्रन्छ र हत्तारिंदै उनको आँसु पुछ्न पुग्छ |

– चुम्बनको अविरल वर्षा पछि लामो निश्वास लिंदै ऊनी भन्छिन्, – “यो मेरो चिनो हो तिमीलाई ! ऐना हेर त !”

– केही बुझ्न नपाउंदै ऐनातिर घिसारिछ – अनुहार मात्र हैन देखिने सम्पूर्ण अंग-प्रत्यंगभरि गुलाबी लिपिस्टिकका मायाका सुगन्धित डोबहरू थिए |

– “म नि जाँदैछु |” – फेरि च्याप्प अंगालोमा बेर्दै, प्रश्न गर्ने मौकै नदिएर थप हर्ष-विभोर हुँदै थप्छिन् – “एन.आर.एन. भिनाले सबै प्रोसेस मिलाउनु भयो; भरे म वहाँसंगै अमेरिका जाँदैछु | कति माया गर्नुहुन्छ ! तिमि पो हुतिहारा ! केही गर्न नसक्ने !…”

– छाँगोबाट पनि खस्न नदिएर अँठ्याउँदै फेरि सान्त्वना पोख्छिन् – “ठीक समयमा आयौ | देख्न त पायौ ? केही वर्ष त न हो, म लिन आउनेछु |”

– पुनः ऐना अगाडि धकेल्दै अतिरिक्त चुम्बन पछि मायाको पैंचो माग्छिन् – “अनि खै: त मलाई चिन्हो ?”

– काँपेको हृदयलाई संहाल्दै / ढोका खोल्दै; लर्खरिएको जीव्हालाई दरिलो बनाउंदै वाक्य फुटाउँछ – “यदि तिमी सिंगै फर्कियौ भने दिनेछु |”

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.