~तीर्थराज अधिकारी~
रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने
प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने
सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम
तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम !
माउका काखका पाठा, चल्ला छोपी कुदाउने
निर्धालाई उसै ङ्याँकी प्राण पन्छी उडाउने
बल दाह्रा र नङ्ग्राको दिल भेटिन्न कोमल
बगाए वीरता मान्छन्– आँसु, रगतका भल ।
ज्ञानका फाँट के–के हुन्, के छन् विज्ञानमा कला
उकाली युगको नाप्ने चेत छैन कुनै पला
हुलका शूल छन् चर्का, दृष्टि क्यै छैन दर्शन
स्यालले लासको गर्छन् कला आफ्नो प्रदर्शन ।
आँखा लोलाउँदा लोक, चोर आँखा खुला हुने
सर्मको कर्मले गर्छ छायामा मित लाउने
हाड–छाला थुपारेर सान मेट्छन् तपोवन
निर्दयी स्यालका निम्ति मजा छ बास कानन ।
(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )