~प्रकाश सुनुवार ‘निराकार’~
जित्नेहरुले लेखेको इतिहास पढेर
म हारेकाले के सिक्न सक्छु ?
त्यहाँ
मलाई मुख बन्द गराउन बनाइएका योजनाहरु वाहेक
केहि नौलो पााइंदैन ।
मैले उठाइएका आवाजहरुलाई
गलत सावित गराउन चलेका वहसहरु पाउंछु
जितेर मलाई जिउँदै पोलेको तापले
म अझ जलेर भष्म हुन्छु
मेरा शरिरका हरेक अंगहरु
नचल्ने वनाएको पाउँछु
मेरै जमिनमाथि
मेरा पाइतलाका डोबहरु मेटाउन खोजिएका उनीहरुको दुस्कर्म भेट्छु
मलाई बन्देज लगाइएका अनुमतिहरु पढ्न पाउँछु
मलाई नाँगो बनाइएको दृष्यहरु देख्न पाउँछु
मेरो ओंठहरुलाई रातो कोइला चपाउन लागाएर
उनीहरु हाँसी रहेको देख्न पाउँछु
मेरो पसिनाले चुलिएको महलहरुमा उनीहरु नाचीरहँदा
मेरो नाँगो शरिरलाई ओत लगाउन एउटा झुपडी वनाउन
झिक्रा समेत नपाएर
झरीमा रुझेको
घामको तापले ढाँड पिल्सिएको दुखद कथाहरु केलाउन पाउँछु ।
मलाई अपराधीहरुले
फटाहा भनेर
समाजको अगाडी गिज्याइरहेको पाउँछु
तिनीहरुको इतिहासमा
मलाई गवाँर वनाइएको देख्न सक्छु
मलाई विध्वंसकारी हो भनेर अपराधी करार गरेको पाउँछु ।
मलाई विखण्डनकारी भनेर
गाउँमा छिर्न नदिएको पिडा लुकाएको पाउँछु
शोषण नगर भनेर उठाइएको आवाजहरुलाई
निमोठिएको कुरो लेखेको पाउँछु
सरासर भन्नु पर्दा
मेरो अस्तित्व माथि उनीहरुले धावा वोलेको पाउँछु
हारेर पनि
जित्नेहरुले लेखेको इतिहासमा
जिउँदै जल्दै गरेको पाउँछु
त्यहि पृष्ठमुमिहरुले मलाई
जिउन सिकाउँदैछ
फेरि एकफेरा जित्नेहरुले लेखेको इतिहासलाई
वदर गराउने जोसजाँगर ल्याउँदैछ ।
जिउनको लागि सास भर्न पाठ सिकाइरहेछ ।
जित्नेहरुको इतिहास पढछु
तर उनीहरुले मलाई हराएर जितेको जस्तै इतिहास लेख्न होइन
मान्छेले मान्छे भएर वाँचेको इतिहास लेख्न
जित्नेहरुको इतिहासलाई सच्याउन
सिक्दैछु अनि लेख्दै पनि छु ।
(२२ जनवरी २०१२, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)