कविता : आँखीझ्यालमा इतिहास

~गिरी श्रीस मगर~

धारिलो आँसी वा कसिंदो फाँसीजस्तै
घाँटीमा बाँधेर सुकिलो टाई,
पी.आर. सपनाको खोजीमा
डलरको हरियो घाँस चपाउँदै
हिंडेथ्यो काठमाण्डौंबाट
डिग्री होल्डरहरूको हुल ।

मन्त्रयुद्धको सूत्र घोकेर
अंग्रेजी झोलामा झूट बोकेर
हिंडेथ्यो सम्मोहित हुल निर्विचार
र पुगेथ्यो सुदूर जिल्ला
घेरेथ्यो ‘जिलेस्पी’ले जस्तै
स्वाभिमानको नालापानी किल्ला ।

हुलले देख्यो—
अभावमा जलिरहेका धुरी पाली
आँखाबाट झरिरहेको
दुःखको ‘कर्णाली’,
चुल्होमा पुत्ताइरहेको
गरीबीको धुँवाचित्र
हुलले खिच्यो—
शे–फोक्सुन्डोभन्दा
गहिरो भोकको छायाचित्र,
छर्न खोज्यो स्वार्थको बीउ
भोकको त्यै गहिराइभित्र ।

गाउँको माटोमा
छरिइरह्यो असरल्ल
वियर र कोकका क्यान,
फ्रुट केक र सुकुटीका ¥यापर,
ह्विस्कीका सिसी र टोइलेट पेपर,
केटाकेटीहरूले उडाइरहें
कण्डमका बेलुन ।
सारंगी संगीतमा गुञ्जिरह्यो
भोकको व्याकुल धुन ।

काठमाण्डौंको अँधेरमा
नचाउँदै आफ्ना चम्किला आँखाहरू,
भिरङ्गी फिरङ्गी पढिरहेछ
उहीं गरीबी आज पनि
र बुनिरहेछ चक्रव्यूह दामकामको
सेवा योजना छलछामको ।

एकदिन निस्कनेछ फेरि ‘नीलो’ गाडी
सुकिलो हुुल लिएर,
फिरङ्गीले सोचेजस्तो तर
झर्ने छैन शिरबाट स्वाभिमानको फेटा,
झुण्डिने छैनन् क्रसमा
उन्मुक्त चराहरूको पखेटा ।

थाहा पाउने गरी कण्डमको गन्ध
ठूला भइसकेका हुनेछन् केटाकेटीहरू,
भइसकेका हुनेछन् ती
कान्जिरोवा हिमालजस्तै ढृढ
र उडाइरहेका हुनेछन्—
सारङ्गीभित्र अल्झिएको
आफ्नै फोक्सोका विद्रोही बेलुन
उभिएर म्लेच्छ सपनाको लासमा,
हिमालमाथिको आफ्नै
मुक्त उन्मुक्त आकाशमा ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.