समालोचना : स्रष्टा मनु र लुङमारी मिथक

~अतित मुखिया~

बिज्ञानको तेश्रो आँखा साइवर मार्फत फेसबुकको भित्तोमा सकृय स्रष्टाका रुपमा मेरो मस्तिस्कमा दर्ता भएका धेरै नारी स्रष्टाहरु मध्यका मनु लोहोरुङ एक प्रतिभायुक्त स्रष्टाका किस्तामा पर्ने स्रष्टा हुन । लुङ्मारी मिथक कविता कृतिका रुपमा प्रकाशनपूर्व छोटो भुमिकाको लागि आग्रह हुदाहुदै पनि तत्काल मेरो अनुसन्धान अध्ययनको व्यस्तताका कारण मैले यस कृतिको भुमिका लेखनमा सहयोग गर्न सकिन । प्रत्यक्ष परिचयको बावजुद पनि मलाई दाजु-माइति)को सम्बोधन गर्दै म बसेको भूगोलभन्दा टाढा अर्कै गोलार्धबाट मलाई सम्झेर कोशेलीका रुपमा पठाउनी पठाइएको मनु बैनीको कविता कृति मेरो हातमा आइपुग्यो । भाई रमेश पौडेलको आकर्शक आवरण सज्जाको शिरनेर उल्लेख गरिएको शिर्षक अक्षरले त झनै आकर्षण बढायो । पुस्तक हेर्नसाथ एउटा कथन झट्ट याद आयो “अन्तरमनदेखि आस्था पगाल्दा जुनसुकै ढुङ्गा पनि साक्षात भगवान नत्रभने जस्तोसुकै मुर्ति पनि ढुङ्गा ।” र लाग्यो अधिकाम्स किरात भाषामा लुङको शाब्दिक अर्थ ढुङ्गा -अर्थाथ एउटा सानो गिटिदेखि सर्बोच्च शिखर सम्मलाई) जनाउने हुदा यीनै सम्वन्धि मिथकको विम्वात्मक अभिव्यक्ति हुनसक्छ कृतिको शिर्षकमा उल्लेखित शव्द लुङ्मारी मिथक, वाहπ नेपाली साहित्यमा भित्रिएको एउटा किरात किशोरी बिम्व ।

कविता कृतिभित्र अटाइएका तेत्तिसवटा कविताहरुलाई पालैपालो दोहराई तेहराई अध्ययन गर्दा लाग्यो स्रष्टा मनुभित्रको जीवन भोगाइका अनुभूति, घरदेशदेखि परदेशसम्मका पीडा, अनिक्षित पेसाका बन्धन अनि बाध्यता, सामाजिक असमान ब्यवहार, नैतिक अबमूल्यन, असहिष्णुता, व्यभिचार,भ्रष्टाचारहरु नै उनको कविताहरुमा बिस्फोट भएर बगेका कुण्ठारुपी लाभाका कारकतत्व भएको महसुस भयो । जीवन चर्खामा प्रयोगको धागो कात्न चाहाने स्रष्टा मनुको चाहनाका प्रयोगहरुलाई मापन गर्न अन्दाजका केही दृष्टिकोणहरु बनाउन उपयुक्त ठाने मैले । थाहाछैन मेरा मापनका फिता एवं ढक तराजुहरुले सही दृष्टिकोण पर्गेल्न सक्षम हुन सक्ने हुन वा होइनन् ? कारण कविताको अनिर्धार्यता सम्वन्धमा बरिष्ट साहित्यकार इन्द्रबहादुर राई ज्यूको भनाई “निर्धार्यता विइङ हुन्छ,अनिर्धार्यता विकमिङ अत विइङ अण्डर इरेजर छ ।”संग म सत्प्रतिसत सहमति राख्ने गर्छु ।

१. मिथकीय प्रयोगका दृष्टिकोणमा

किरात लोहोरुङ परिवारमा जन्मेकी मनुका सृजनामा किरात मिथक पर्नु खासै आश्चार्यको बिषय नभए पनि सही ठाउँमा सही अर्थको आफुले बुझेको मिथक प्रयोग गर्नसक्ने उनको कला निश्चय नै सह्रानिय छ । कलात्मक रुपमा मिथकीय मीठासको छुट्टै स्वद पस्कनसक्ने भान्सेका रुपमा मनुका काव्य शैलीलाई शास्त्रीय अनुहारमा आधुनिक सृङ्गाररुपी फ्युजनको रुपमा लिने गरेकोछु मैले । साकेला सिलिसंगै सगरमाथा-चोमोलुङमा)को गाँथा टिपेर लुङ्मारी मिथकका कथाहरुमा व्यथा खिप्न चाहाने मनुका मिथकीय प्रस्तुति यस्तो पाइन्छ ।

अहिलेसम्म डढेका

मानव व्यथाहरु खिपि

आ-आफ्नै लिपी-मातृभाषा)मा   –फलाक्नुको सन्दर्भ लिपीसंग भन्दा भाषासंग सान्दर्भिक हुनेहुदा)

अब फेदङबाहरुले पनि

युगको जोखना फलाक्नु पर्छ । –लुङ्मारी मिथका)

यहाँनेर आएर मैले पनि यो फलाक्नै पर्ने हुन्छ कि गद्यकविताका नाउँमा निवन्ध कोर्ने केही नेपाली साहित्यकारहरुका लागि किरात लोहोरुङ चेली मनुको लुङ्मारी मिथक, काव्य साहित्यका रुपमा खाँटि चुनौति हुनेछ । किरात मिथकका अलवा महाभारत पुराणमा समेत दृष्टि छिचोल्दै धृतराष्ट्र आँखा र गान्धारी कालो पट्टकिो मिथकलाई समेत समेट्न पुगेकी छिन् मनु ।

तिम्रा आँखामा

गान्धारी पट्टी बाँधिएकै छ

किनकि

यो जगतको तिम्रो धृतराष्ट्र

स्वयम अझै अन्धो छ ।

नारी चेतनाको पर्दाभित्र सञ्जय दृष्टिलाई कोखाको दाराका रुपमा प्रयोग गर्ने धृतराष्ट्र पुरुषहरु आझै पनि नारीहरुलाई गान्धारी कालो पट्ट िबाँधिरहेका छन् को अर्थमा प्रयोग गरिएको हिन्दु मिथकलाई हेर्दा मनुको सृजनशील जाँगरले सही अर्थमा नेपाली साहित्यलाई सही मलजल दिदै गोडमेल गर्ने सामर्थ राखेको पाइन्छ । किरात मिथक,हिन्दु मिथक तथा यहुदि मिथक जस्ता मिथकहरुको प्रयोग गरिएको लुङ्मारी मिथक मिथकीय दृष्टिकोणमा सफल कविता कृति भएको पाइन्छ ।

२. बिम्व प्रतिकको प्रयोगका दृष्टिकोणमा

मिथकका अलवा अन्य समसामयीक, सम्बेदनात्मक, नोस्टाल्जिक-बिगतबिरह), तथा सांस्कृतिक जस्ता विविध बिम्वहरुको प्रयोगका आधारमा पनि लुङ्मारी मिथकलाई तेश्रो आयामको दोश्रो किस्तामा पर्नसक्ने कृतिका रुपमा लिन सकिन्छ । बिम्व प्रयोगको कलात्मक कलाकारितामा तल्लिन मनु पुराना उत्कृष्ट साहित्यकारहरुका निकट पुग्न साहित्यिक मैदानको दौडमा भाग लिएर आफ्ना प्रतिस्पर्धिहरु लाई उछिन्न कम्मर कसेर दोडिरहेकी धावक, नारी साहित्यकार हुन भन्ने कुराको पुष्टि निम्न बिम्व प्रयोगले सिद्घ गर्दछ ।

मनको पोल्टोभरि

संभावनाका साहस बोकेर

रत्यौली रातहरु फुल्छन… –अनिदो रातमा युगको शिखादृष्टि)

म जीवनको चर्खामा

प्रयोगको धागो कात्दैछु

निस्सार सोचका चुरेहरुसँग

बिचारका मैदान साट्दैछु … –अनवरत यात्रा)

भोगाइमा

बृद्घ सपनाहरु

आँखाका बलेसीबाट

पश्चातापको शीत

तप तप खस्छन् ।… –उज्यालोको एक अंश)

बेमौसमी झरी पर्दा

बाछिटाले भिजेको

मनको खोपा सुकेन… –विराग अर्पण)

सरल गाउँले लवजहरुलाई बिम्वको तरेलीमा उनेर कविताको माला गाँस्ने मनुको कौशलताले लुङ्मारी मिथकमा छुट्टै मौलिक साहित्य सौन्दर्य थपेको पाइन्छ ।

३. नारीबादी आन्दोलनको दृष्टिकोणमा

रिबेका वेस्ट, भर्जिनिया उल्फ तथा साइमन द बुभाजस्ता पश्चिमा साहित्यिक नारी आन्दोलनबादीहरुसंग मनुको प्रसङ्ग जोडन म उचित ठान्दिन । किनकि हामीविचको नारीबादी साहित्यिक आन्दोलनको परिवेश, गति र सन्दर्भ फरक हुनुको कारण प्रारुप पनि फरक छ । किन आवश्यक छ र जोडन उनिहरुको सन्दर्भ हाम्रो परिवेशसंग ?अब हाम्रै परिवेशभित्र हाम्रो अनुकूलको आन्दोलन सुरुगर्ने नारी स्रष्टाहरु जन्मिसकेका छन् । नेपाली साहित्य खेमाबाट पारिजात पछाडी डा. सुधा त्रिपाठी, मोमिला, उषा शेरचन, मञ्जु काँचुली जस्ता प्रखर, तिख्खर र निख्खर नारीबादी साहित्यकारहरु हाम्रै सेरोफेरोमा उदय भैसकेका छन् । यही भेलमा बग्न तैयार मनु जस्ता केही नव साहित्यकारहरु पनि आफ्नै बेद र मुन्धुमका रिचा फलाक्दै कर्मभूमिमा उत्रदैछन ।

लुङ्मारी मिथक भित्रका ३३ वटा कविताहरुमा “आधा आकाशको गीत” शिर्षकको कविता निख्लम नारीबादी कविता हो । यस कवितामा सोकेसभित्रको नारी खुसी, स्वतन्त्रता भित्रको बन्धि संसार, चेतनाभित्रको धृतराष्ट्र आँखा, धर्मनिरपेक्षता भित्रको गान्धारी पट्ट िजस्ता अदेखा सत्यको उत्खनन् गर्दै नारी जागरणको शंखधोष गरिएको छ । बाँकि अन्य कविताहरुमा पनि स्रष्टा नारी हुनुको नाताले नारीबादी बिम्वहरुको छेलोखेलो पाइन्छ ।

मार्फा रायोजस्तो जोबन

समयको ढुङ्रोमा जीवन गुन्द्रुक हुदा

मनका लाठे साहस, तन्नेरी रहरहरु

जोबन,जीवन/माटोको अस्तित्व

अझै कहिलेसम्म…??

अमिलिनु / धमिलिनु त π …   -जीवनको उत्कर्ष)

बेलाको बोलीले

म छाँटिएँ, काटिएँ, साटिएँ

घडि पलाको लागि मात्र

म जाकटि राखिएँ

मगजको श्रमले

आफैलाई उकास्न सकिन ।… –विराग अर्पण)

मेरा पुर्खाले हिम्मत हार्न जानेनन्

निधारमा हरेसका रेखा गनेनन्

नारीबादको नाराले ढाँट

सारीबादको पाराले थिच

म बेत्ताल भएर यो ब्र≍माण्डमा उत्रिनेछु ।… –हिटलरी आँट लिएर जन्मनेछु)

लाग्छ यी साहित्यिक उद्गारहरु शव्द सिलौटामा निर्मित हरियो धनीया र राता पाकेका टमाटरका तिख्खर चटनी हुन र हुन लैङगिक बिभेद, घरेलु हिंसा, एवं यौन शोषण बिरुद्घ उज्याइने समयसापेक्ष उध्यौनीमा उध्याइएका खुकुरीका तीखा धार ।

४. आयामीक दृष्टिकोणमा

लोक साहित्य र शास्त्रीय साहित्य समिश्रण-फ्युजन)गर्दै तेश्रो आयामेली -बैरागी काइँला, ईन्द्रबहादुर राई, ईश्वर बल्लभ)ले खनेको तेश्रो आयामको गोरेटो पहिलाउदै नेपाली साहित्यको मेलोमा पछिल्ला थुप्रै आयाम र आयामेली बाउसेहरुले उत्तराधुनिक प्रयोगशालामा आ-आफ्नै गिदीको औजार प्रयोग गरेको पाइन्छ । अझ केही समालोचक प्रोफेसरहरुका उग्र गिदीमा त तेश्रो आयाम कुनै आयाम नै हैन भन्ने जस्ता दिमागी टिउमर पनि नपलाएको त काहाँ हो र ? कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्घ िभने झै केही नव आयामेली हरुले बिनिर्माणका नाउँमा आकाशमा पुल थापेर धर्तिको कोशी तर्ने जमर्को पनि गरिरहेको पाइन्छ । यही सेरोफेरो समेटेर भन्नुपर्दा मनुले लुङमारी मिथकमा टाँग्न चाहेको सप्तकोशी माथीको झोलुङ्गे पुलको प्रारुप हेर्दा बिनिर्माणको अर्थ यसरी लगाइन खोजेको देखिन्छ कि- गोठ भत्काएर अर्को खर्कमा सार्नु मात्र पनि बिनिर्माण हैन, नयाँ खर्कमा सरेपछि बस्तुभाउले निर्धक्क चरन चर्न पाउनु र पेट भर्न पाउनु पो बिनिर्माण हो । लुङ्मारी मिथक भित्रको “पशु आर्तनाद” शिर्षक कविताले सायद यही भन्छ ।

जलाउ मानव अस्तित्व

मञ्जुर छु

मृत्युपूर्व एकछिनसम्म पनि

आफ्नै अस्थिदहनमा

मेरो गोलभूगोल खोज्न ।…

उत्तराधुनिक चिन्तन भित्रको विनिर्माणबादी आँकलन केलाउदै नयाँ निर्माणका लागि बिनिर्माण गरिनु पर्छ भन्ने मनुको ठहर हाम्रो समाज अनुकूल देखिन्छ । पुरानो सत्ताको विनिर्माण पश्चातको सत्ता निर्माणमा पनि सर्वसम्मिलित समावेशीभित्र आत्मनिर्णयको अधिकार सहितको सत्ता निर्माण मात्र बिनिर्माण हो । सत्ता फेरिनु मात्र विनिर्माण हैन । “बोधीवृक्षको बोटनेर जन्तरेसँग जम्काभेट”,”हिटलरी आँट लिएर जन्मिनेछु”, “मेरो जस्मिन इप्सा” जस्ता कविताहरुले यो मुद्दाको यथास्थीति माथी साँक्षी बकिरहेछन । ठूलैक्षति व्यहोर्दै प्राप्त भएको गणतन्त्रमा पनि आज निहितस्वर्थका कारण संविधान सभाको गर्भमा रहेको संविधान जन्मन नसक्नुको पीडा “म अचेल गर्भवती छु”शिर्षकको कविता मार्फत खवरदारी गर्छिन मनु । निर्धारित समयभित्र बच्चा जन्मन नसक्नु भनेको आमाकै पनि मृत्यु हुनसक्नु हो अत भोलीका दिनहरुमा हामी मातृभूमिहीन बन्न नपरोस सायद यही आशय हो यो कविताको । यसअर्थमा पनि लुङ्मारी मिथक समयसापेक्षरुमा सफल कृति पाइन्छ ।

५. रेखा साहित्यको दृष्टिकोणमा

रेखा साहित्य अर्थाउने क्रममा मैले पटक पटक भन्ने गरेको छु कि “जन्म विन्दुदेखि मृत्यु विन्दुसम्म कोरिएको रेखा नै जीवन हो । रेखा दर्शन अनुसार हामीले हामी रहेको पृथ्वीलाई बिभिन्न काल्पनिक रेखाहरले बाँधेका छौं । हामीले हाम्रो भूगोललाई मात्र नभएर समुच्च खगोललाई नै रेखा दर्शन भित्र अटाएका छौं । यसैअनुरुप साहित्य पनि हाम्रै काल्पना रेखाले जन्माउने अनुभूति हो । अत कविता भन्नाले रेखाको अर्थमा कुनै कर्ता र कारक विच कार्यको अनुवाद रेखा हो,दृष्टि र दृश्य विच अवलोकनको सचित्र रुपान्तरण रेखा हो र यो हामै्र सेरोफेरोमा आवर्तित आवर्तनको परावर्तित स्वरुप वा अनुभूति हो ।” मनुका कविताहरु रेखा विधा अन्तरगत रहेर नलेखिए पनि अर्थाथ रेखा कविता नै लेख्छु भनेर नलेखिएता पनि केही कविताहरु भने निर्धारित रेखा छेउछाउ रहेभएको पाइन्छ । “मृत्यु संहिता”, “धर्तीका बासिन्दालाई सम्बोधन” जस्ता कविताहरु रेखा साहित्य निकट देखिन्छन् ।

६. परदेशी हुनुको दृष्टिकोणमा

केही बरिष्ट साहित्यकार तथा समालोचकहरुका अनुसार परदेश बसेर घरदेशका बारे लेखिने साहित्य नै डायस्पोरिक साहित्य हो भन्ने जिकिर पाइन्छ । डायस्पोरा शव्दसंग म अझै राम्ररी परिचित बन्न भ्याइ रहेको छैन । आफ्नो मातृभूमि गुमाएर परभूमिमा बन्दक बनेकाहरुले आफ्नो माटो र बैयत्तिक स्वतन्त्रता कल्पेर लेखिने साहित्य नै डायस्पोरिक साहित्य हो भन्ने पनि कता कता सुने झैं लाग्छ, यदि यस्तो हो भने आफ्नो मातृभूमि नगुमाउने वा स्वइक्षाले रोजगारीका सिलसिलामा परदेशिएका स्वतन्त्र नागरिक जसलाई आफ्नो देश आउन जान स्वतन्त्रता छ यस्ता व्यक्तित्वका साहित्यलाई डायस्पोरिक भन्न मिल्ला नमिल्ला दोधार मै छु अझै म । खैर आफु बिस्वस्त नभएको बिषय परेकाले ठोकुवा गर्न असमर्थ भएनि स्रष्टा मनुले परदेशमा रहेर लेख्नु भएका कविताहरुमा मातृभूमि गुमाउनुको पीडामा नभएर आफ्नो माटोभित्रको विसङ्गतिपूर्ण चलखेल प्रति स्वदेशवासीहरुका पतनउन्मुख नैतिक अवमूल्यन प्रति सचेतनाका शव्दगुच्छाका सौगात दिन चाहनु भएको पाइन्छ । परदेशमा आफुले अनुभूत गरेका अशल पक्षहरु, बिकाशका गतिहरु आफ्नो भूमिमा पनि होस भन्ने कामना गरेको पाइन्छ । आफ्नो शिमा प्रति सचेत इजरायलीहरुको सचेतना हाम्रो दक्षिणी शिमाका दशगजामा  खुट्याउन खोज्नु डायस्पोरिक साहित्य हो भने “परदेशमा रहँदा घरदेश र लुङ्गाको झल्को” शिर्षको कविता पनि अत्ति सफल डायस्पोरिक साहित्य भएको कुरामा भने म पूर्ण सहमत छु ।

७. शव्द चयन तथा भाषा शैलीको दृष्टिकोणमा

भाषा शैलीका हिसाबमा वा वर्णबिन्यास व्याकर्णका हिसावमा केही कमिकम्जोरी अवश्यै होलान मनुमा जुन कम्जोरी म मा पनि रहेभएको निसंकोच स्वीकार्छु म । म जस्तै मनु पनि आफ्नो छुट्टै मातृभाषाको ओतमा हुर्केबढेको मानिस हुँदा उनको लेखनमा मातृभाषाको लवज जानु स्वाभाविक हो । र यो नै मनुले पस्कने साहित्यको मौलिक स्वद पनि हो । हौ जन्तरे,हौ लुङ्गा जस्ता शव्दहरुको प्रयोगले मनुले आफ्ना पाठकहरलाई नौलो स्वाद एवं अनुभूति बाँडेकि छिन । यसका अलवा मातृभाषा पछि सिकेको दोश्रो भाषामा पनि झरिला अभिव्यक्ति दिन सक्नु तथा नेपाली खस भाषाका लोपोन्मुख शव्द झुलो, चक्मक, खिसा, फेसो, नाभो, बावियोपोयो, जस्ता शव्दहरु आफ्ना रचनामा संग्रह गरेर संरक्षण गर्नु तथा प्याङ्खर, टक्मारु, निख्लम, तोक्मा, खोङ्गी, खोपा, खोक्पा, मिस्रेङमा, तोस्रोङ, जविमाजे, लुङ्गा, जस्ता खाँटि किरात शव्द तथा खसकरण भएका किरात शव्दले नेपाली साहित्य सिंगार्नु उल्लेखनीय पक्ष हो ।

अन्तमा यो लुङ्मारी मिथक नै अन्तिम गन्तव्य अवश्यै हैन मनुको । मैले मनु बैनीको कलममा उज्वल भविश्य नियालेको छु । सफलता प्राप्तिका लागि लम्कने काम त उनैको हो । अझै खारिनु पर्छ उनले अझै तिखारिनु पर्छ उनले कार्य सुचारु रहनु भनेकै दक्षता हाँसिल गर्दै जानु हो, साहित्यको शिखर चुम्न सफल रहुन मनु यही एक दाजुको अन्तर कामना ।

-अतित मुखिया

काठमाण्डौ, नेपाल ।

This entry was posted in समालोचना and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.