~विप्लव ढकाल~
तिम्री आमा
मजदूरको जुलूसमा हिंड्दाहिंड्दै
बूढो पाठेघरको थैलोबाट
फ्यात्त
सडकमा झारेका थियौ तिमी!
र पहिलो शब्द सुनेका थियौ―
मूर्दावाद!!
तिम्री आमासँग थिएन
पार्टीको झन्डा!
त्यसैले
कागजको फिरफिरे उडाउँदै
तिमी पनि आमासँगै कुद्यौ
दुखिया जुलूसको पछिपछि!
आज तिमी
सपना देख्नै नसक्ने गरी
बूढो भैसक्यौ
तर अझै पनि तिम्रा हातहरुमा
घुमिरहेको छ―
कागजको
त्यही पुरानो फिरफिरे!
हे वृद्ध पितामह!
तिम्रा सन्तान दरसन्तान पनि
पुर्खाले जस्तै
आफ्नो जुनीभरि
घुमाइ नै रहनेछन्
कागजको फिरफिरे!
उनीहरु पनि
सडकमा टायर बाल्दै
जुनीभरि नै
एउटै राष्ट्रिय गीत गाइरहनेछन्―
मूर्दावाद! मूर्दावाद!!
(स्रोत : हिमाल खबर पत्रिका ८-२१ असोज २०७४)