गजल : खै सिताराहरु ?

~कृष्णसिंह पेला~

शून्य भैगो गगन खै सिताराहरु ?
जूनले झार्दछिन् अश्रुधाराहरु

कोही छैनन् र आज सर्वहाराहरु ?
के सडकमै सकिए ती नाराहरु ?

सबले आफ्नो दुनोमात्र सोझ्याउँछन्,
धर्तिका बोझ छन् यी नकाराहरु ।

आज यो वन कुरुक्षेत्र बन्ने भयो,
हात हातमा सबैका छन् आराहरु ।

द्वारमा पुष्पगुच्छाको स्वागत थियो,
भित्र जाँदा त सर्पे पिटाराहरु !

फूल फुल्दैन निर्जीव नाटक गरी,
स्नेह देखाउँछन् भाइमाराहरु ।

यो नदी पो कहाँ बग्न सक्थ्यो यदि,
एक मिल्ने भए यी किनाराहरु ।

एक काँटी सलाइले मात्रै पनि,
चल्दछन् जिन्दगीका गुजाराहरु ।

दिन्छ संकेत आकाशले आज पनि,
हामीले बुझ्न छाड्यौं इशाराहरु ।

****************************
मात्रा : 212 212 212 212
फाइलुन x4

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.