कविता : कविको छोरो

~बिर्ख ‘क्रान्ति’~

ए बुबा !
गणतन्त्र दिवसको सभाहलमा हरफैपिच्छे ताली खाएका,
तिनै तात्ताता कविताहरु मलाई अंशवण्डा दिनुस् ।
तिनै कविता बेचेर म पूरक एसएलसीको ट्युसन फि तिर्छु ।
तिनै कविताहरु बेचेर अर्थशास्त्रमा मास्टर गर्छु ।
तिनै कविताहरु सातदोबाटोमा शानका साथ भ्याट कारोबार गर्छु ।
तिनै कविताहरु जिल्लाको उद्योग वाणिज्य संघमा आवद्ध गराउँछु ।
तिनै कविताहरु विश्व व्यापार संघसम्म पु¥याउँछु ।
तिनै कविताहरुले देशको कुल आम्दानी बढाउँछु ।

किनकि,
त्यो गणतन्त्र दिवसको दिनः
मलाइँ सञ्च छैन भन्दाभन्दै पनि,
स्कुल ड्रेसमा जबर्जस्ती सभाहल लगिएको थियो ।
दिनभरि त्यहाँ न पानी न खाजा,
बस्नलाई न खाली सीट थियो ।
खानलाई न गोजीमा फुटेको कौडी थियो ।
त्यही बेलुकाबाट टाइफाइडले सताएको थियो ।
उपचारका लागि सयकडा तीनमा दश हजार काढ्नु परेको थियो ।
त्यही सावाँ व्याज तिर्न,
साउदी जाने पैसा र स्वास्थ्य नपुगेर,
मन नलागी नलागी,
असारभरि साइकलमा बोइलर सप्लाइको काम गर्नुपरेको थियो ।
त्यही दुर्गन्धि र दौडाहाले फेरि टाइफाइड बल्झेको थियो ।

त्यसपछिः
म केही बोल्नै सक्तिनँ बुबा,
तपाइँ र आमाकै मायाले आँसु उम्लिएर आउँछ,
र, रुद्रघण्टीको ढकनी टनटनी दुखाउँछ ।
शब्दहरु बाफिएर आँखासम्म आउँछ,
र, त्यहीं तुसारो पर्छ ।

बुबा !
संसार बदल्ने तपाइँका कविताहरुले,
किन हाम्रो घर बदल्न नसकेको होला ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.