~सुमनराज श्रेष्ठ~
पाठ्यक्रम विकास केन्द्रले
विद्यार्थीको झोलाबाट हटाएको बर्षौंपछि
महेन्द्रमालाको पुरानो किताब
एकाएक देखापर्न आइपुगेको छ अचेल
सामाजिक सञ्जालका भित्ताहरूमा।
बजारबाट
जफत गरेर भएभरका संस्करणहरू
उहिल्यै गाडिएको हो
यसको अस्थिपञ्जरलाई श्मशानमा
तर कहिलेकाहीँ बौरिन्छ यसको आत्मा
र अचानक गाउन थाल्छ
देशको पुरानो राष्ट्रिय गान।
राष्ट्रिय फुटबल टिमले
फुटबल म्याच जितेको रात
घोक्रो फुट्नेगरि चिच्याउँछ यो
र गाली गर्छ- आदिवासी आवाजलाई।
राष्ट्रिय क्रिकेट टिमले
ट्वान्टी-ट्वान्टी प्रतियोगिता जितेको साँझ
सलमान खानको ढिङ्काचिका शैलीमा
यसले देखाउँछ आफ्नो स्केलेटन डान्स
र गिज्याउँछ जनजाती सुस्केरालाई।
छिमेकीले जसै बन्द गरिदिन्छ आफ्नो नाका
यो कराउन सक्दैन त्यसको विरुद्धमा
चुँ… सम्म पनि
देख्दैन यसले आफ्नो कमजोरी
निरीह कूटनीतिको जामा लगाएर त्यतिबेला
लाचारीपूर्वक उभिन्छ यो अन्तर्राष्ट्रिय मञ्चमा
र स्तुति गाउन थाल्छ आफ्नो ख्वामितको।
बरु त्यसको बदलामा
रिसाउँछ यो आफ्नै मधेसी दाजुभाइसँग
बरु त्यसको बदलामा
सत्तोसराप गर्छ यसले आफ्नै थारू जनताको।
सबैभन्दा अगाडि सरेर
यसले पढाउँछ एकताको पाठ
तर एकताको सूत्र के हो यसलाई थाहा छैन
सामाजिक सद्भावमाथि त यसले
महाकाव्य नै फलाक्छ सदासर्वदा
तर सद्भावको आधार पनि यसलाई थाहा छैन।
दौरा-सुरुवालमा ठाँटिएर
झण्डा बोकी उभिएका फोटाहरू मात्रै
राष्ट्रिय लाग्छ यसलाई
र बाँकी सबैलाई अराष्ट्रिय ठान्छ।
बडो अचम्मको
देख्दै हाँसो लाग्ने
महेन्द्रमालाको औतारी भूत
घरिघरि देखापर्छ अचेल
सामाजिक सञ्जालका भित्ताहरूमा।