~उमाशङ्कर द्विवेदी~
राजा युवनाश्व इक्ष्वाकुवंशमा उत्पन्न भएका थिए । उनले एक सहस्त्र अश्वमेध यज्ञ गरेर प्रत्येक यज्ञमा ठूलो धनराशि दक्षिणाको रूपमा ब्राह्मणहरूलाई दानमा दिएका थिए । आफ्ना मन्त्रीहरूलाई आफ्नो राज्यको भार सुम्पेर ती मनस्वी राजाले मनोनिग्रह गरेर सधैंको लागि वनमा नै रहन थाले । एकचोटि महर्षि भृगुका पुत्रले उनीद्वारा पुत्रप्राप्तिको लागि यज्ञ गराए । रात्रिको समयमा उपवासबाट तिर्खा लागेर उनको गला सुकेको कारणले उनलाई अत्यन्त तिर्खा लाग्यो । उनी आश्रमभित्र गएर पिउने पानी माग्न थाले तर जम्मैजना रात्रि जागरणले थाकेर गहिरो निद्रामा सुतेका कारण कसैले उनको आवाज सुन्न सकेन । आश्रमभित्र यज्ञ गराउने महर्षिले एउटा घैंटोमा मन्त्रपूत जल राखेका थिए । आश्रमभित्र अँध्यारोमा छामछुम गर्दा राजाले त्यो मन्त्रपूत जल भेटाए । उनले तत्कालै सो जल पिएर तृप्त भई आफ्नो ओछयानमा गएर सुते ।
केही बेरमा तपोधन भृगुपुत्रसहित जम्मै मुनिहरू ब्यूँतेर हेर्दा मन्त्रपूत जलको भाँडो रित्तिएको पाए । ती जम्मैजना एकापसमा सोध्न थाले– “यो कसको काम हो ?” यो सुनेर राजा युवनाश्वले साँचो कुरा भनिदिए– “यो काम मैले गरेको हुँ ।” यो सुनेर भृगुपुत्रले भने– “राजन्, यो त राम्रो भएन । तपाईंलाइ एउटा महान्, बलवान् तथा पराक्रमी पुत्र पाउनुहोस् यसै उद्देश्यले मैले त्यो जल अभिमन्त्रित गरेर राखेको थिएँ । अब जे हुनु भयो, त्यसलाई फर्काउन सकिंदैन । अवश्य नै जे भयो, त्यो दैवको प्रेरणाले भयो । तिर्खाको कारण तपाईंले त्यो मन्त्रपूत जल पिएकोले अब तपाईंले नै एउटा पुत्रको प्रसव गर्नुपर्ने छ ।”
यति भनेर मुनि आफ्नो स्थानमा फर्किगए । अनि एक सय वर्षसम्मको लामो गर्भ धारणपछि राजाको देब्रे कोखा च्यातेर सूर्यको समान तेजस्वी एउटा बालक निस्कियो । यस्तो भएर पनि बडो आश्चर्य भयो किनकि राजाको मृत्यु भएन । त्यस बालकलाई हेर्न भनेर स्वयम् देवराज इन्द्र त्यहाँ आइपुगे । उनीसित देउताहरूले सोधे– ‘किं धास्यति’ अर्थात् बालकले के पिउनेछ ? यो सुनेर इन्द्रले आफ्नो कान्छी औंला त्यस बालकको मुखमा हालेर भने– ‘मां धाता’ अर्थात् मेरो कान्छी औंला पिउनेछ । त्यसै कारणले देउताहरूले त्यस बालकको नाम मान्धाता राखिदिए । अनि त्यस बालकले ध्यान गर्ने बित्तिकै धनुर्वेदका साथै सम्पूर्ण वेद र दिव्य अस्त्रहरू त्यहाँ आइपुगे । साथै आजगाव नामक धनुष, सिङबाट बनेको बाण र अभेद्य कवच पनि त्यहाँ आइपुगे । यसपश्चात् स्वयम् देवराज इन्द्रले त्यस बालकलाई राजसिंहासनमाथि बसालेर अभिषेक गरिदिए ।
(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )