~गोविन्द श्रृङ्खला~
मौसममा एउटा अनौठो मादकता , सडकका मध्य भागमा गाडिहरुको एकोहोरो तँ छाड म छाड । हल्का झरिले, अघि सम्म उकुस मुकुस भएको वातावरणमा केही राहत । दिनको उज्यालोलाई पछि पार्दै घाम डाडा पारि पुगिसकेको छ । साझको सात बजेको समय । काठमाण्डौको मध्य बानेश्वरको एउटा रेष्टुरेष्ट, वाहिर बाइक कार र जिपहरुको लामै ताँती, पार्किङ्ग क्षेत्रमा ठेलमठेल । रेष्टुरेण्टको सजावट ओहो ? मधुरो बत्तिको झिलीमिली । राता नीला हरिया वैजनी रङ्गका बत्तिहरु झिमिक झिमिक गरिरहेका छन् । संगीतको मधुरता छ । वेटरहरु ग्राहकको सेवाका लागि कुदिरहेका छन् । एक एक वेटरले एक एकवटा टेवुल जिम्मा लिएका छन् । सायद उनिहरुलाई पछि ग्राहकबाट पाउने “टिप्स”को लोभ छ । प्रत्येक टेवलहरु समावेशी देखिएका छन् । समावेशी यस अर्थमा कि अव नारि पुरुष समान हुन्, प्रायः सवै टेवलमा युगलकै बाहुल्यता छ । कुनै कुनै टेवुलमा एक्ला मान्छेहरु पनि फाट्ट फुट्ट देखिन्छन् । धेरै जसो टेवलहरुमा ह्विस्कि,वियर र वाइनका बोतलहरु सजिएका छन् । एकआध टेवुलमा ह्विस्कि वियर र वाइन होइन चिया कफिका कपहरु देखिन्छन् । मादकतामा रमाउने संस्कारको सुरुवातले अव भने चिया कफिको तलतललाई विस्थापित गरे झै लाग्यो । मेरा आँखाले सवै दृश्यलाई क्यामराले तस्विरलाई कैद गरे झै गरिरहेको छ ।
पर कुनामा रहेको क्याविन जस्तो टेवलमा अन्दाजी २४–२५ बर्षको युवक र यस्तै १९–२० बर्ष कि युवती जिस्किदै एउटै गिलासमा वाइनको मज्जा लिइरहेका छन् । उनिहरुमा डर त्रास लाज संकोच केही पनि छैन । स्वछन्द र उन्मुक्त वातावरणमा रमाइरहेका छन् । मानौ उनिहरु आपसमा यसरी जिस्किनु भनेको सवैको लागि गर्वको विषय हो । मानौ उनिहरुको यो चर्तिकला सहज जीवनको दैनिकी हो । यसमा लाज संकोच मान्नु पर्ने के नै छ र ? जिन्दगीको सुरुवात गर्दै गरेका यी जोडिले जीवनको उर्वर समयलाई कसरी उपयोग गरेका छन् ? मलाई घोत्लिन मन लाग्छ । मैले मनमनै सोच्छुे यी युवाका पनि घर परिवार होलान् आमा वावु दाजु भाई होलान् । वावु आमाले उनिहरुको सुन्दर भविश्यसँग जोडेर धेरै सपनाहरु सजाएका होलान् र आफ्ना सन्तान अत्यन्तै होनहार छन् भनेर गर्व गर्दा होलान् । के यो मादकताको चरमोत्कर्षले उनिहरुका बावु आमाको सपना साकार होला त ?यस प्रश्नले मलाइ वारम्वार झकझकाइ रहेको छ ।
यस्तै संगैको टेवलमा अलि पाको उमेरको देखिने लोग्ने मान्छे र ऊ भन्दा झण्डै आधा उमेर कि स्वास्नी मान्छे वियरको स्वादसंग खेलिरहेकी छन् । उनिहरुमा पनि उही स्वच्छन्दता छ । कसैको संकोच छैन । खुला परिवेशमा उन्मुक्त विचरण गरिरहेका छन् । वेला बखत युवतीको लहराउंदो कपाल हातमा लिंदै पुरुष मादक हाँसो हास्दै छ । युवतीमा पनि कत्ति लज्जा र संकोच छैन ऊ पाको उमेरको पुरुषको अँगालोमा निर्धक्क समाहित भएकी छे । उनिहरुको स्वच्छन्दताको तमासा रेष्टुरेण्टका अन्य ग्राहकको आँखाको विष मार्ने विषय बनेको छ । पुरुष त जातैले लज्जाविहीन हुन्छ उस्ले संकोच मान्नु पर्ने केही पनि छैन तर युवतीले केही संकोच मान्नु पर्ने अँ हँ त्यहँ त्यस्तो छैन । उनिहरु पति पत्नि हुन त ? मलाई जिज्ञासा उत्पन्न हुन्छ । तर उनिहरुको हाउ भाउले त्यो युवती कुनै पनि अर्थमा विवाहित झै लाग्दिन त्यसैले ऊ त्यस पुरुष कि श्रीमती हुन सक्दिन । ऊ कसैकी श्रीमती भैनसकेकोले कसैकी छोरी जस्ति छे । अझै विहे नभएकी जस्ति छे । लाग्छ वावु आमाले ठूलो सपना सजाएर शहर पढ्न पठाएकी छोरी जस्ति ।
मसंगैको पल्लो टेवलमा तीसको हाराहारी की महिला र झण्डै उस्तै उमेरको पुरुष निक्कै गफिदै छन् । उनिहरुका विचमा निक्कै आत्मियता देखिन्छ । उनिहरुको जोडि गजवको देखिन्छ । एक आपसमा निक्कै खुलेका झै देखिन्छन् । उनिहरुका वीचमा कुनै पनि सीमा छैन, अत्यन्तै अन्तरङ्ग सम्बन्ध भए झै लाग्छ । ह्विस्किो घुट्को संगै कान र मुखको दूरी घटाउंदै सानो स्वरमा गफ गर्दै छन् । पुरुषको झिनो स्वर सुनिन्छ “ए तिम्रो श्रीमान्को खवर के छ नि ? महिलाले पल्याक पुलुक यता उता हेर्छे अनि साउतीको स्वरमा भन्छे “के हुनु नि ऊ उतै कमाउनमा व्यस्त छ,” । युवकको रसिलो आवाज मेरो कानमा ठोकिन्छ “उसले नकमाए तिमीले कसरी मोज गर्न पाउथ्यौ त ?
“पैसाले मात्र हुन्छ र ? खोइ त मेरो भावनालाई बुझेको उस्ले ? यो उमेरमा एक्लो जिवन…..” महिलाको गुनासो सुनिन्छ । उसको भावना के हो ? के बुझ्नु पर्ने ? उसलाई के को कमी छ ? युवकको आवाज अस्पष्ट सुनिन्छ “तिम्रो भावना….. म छदै छु नि” । युवती मस्किन्छे लाडिदै हास्छे अनि बोल्छे “छ्या के बोलेको होला” ? उसको त्यस भनाइमा कति रोमाञ्चकता लुकेको छ सहजै अनुमान गर्न सकिन्छ । भविश्यको सुन्दर कल्पनामा ती महिलाको श्रीमान् पराइ ठाउमा कति विध्न परिश्रम गरिरहेको होला ? श्रीमती घर परिवार भेटने आशामा हरेक दिन क्यालेण्डरका गते र वारहरु गनिरहेको होला तर उसको अनुपस्थितीमा यता श्रीमति……। ओहो कस्तो समाजको निर्माण गरिंदै छ ? मलाई कहाली लाग्छ । पूरै रेष्टुरेण्ट फनफनी घुमे झै लाग्छ । बेस्सरी टाउको समात्न पुग्छु । एक छिन झोक्राउंछु अनि सहज बन्ने प्रयास गर्छु ।
म वसेको पारि पट्टिकोे टेवलमा अन्दाजी पैतीस वर्षको पुरुष र तीस बर्षकी महिला श्रीमान श्रीमती जस्तै देखिने एउटा जोडि र सात आठ बर्षको छोरा बसेका छन् । श्रीमानको अघिल्तिर ह्विस्कि छ श्रीमतीले वियर समाते कि छिन् छोराले कोक र पिज्जाको मज्जा लिइरहेको छ । ती जोडिको आज विवाहको दशौ बर्षगाठ रे । उनिहरुले गरेको गफमा सुनेको । मलाइ लाग्छ यो जोडिको जीवन कति सुखी छ । यी महिलालाई सगैको टेवुलकी युवतीको जस्तो पति वियोगको पीडा पनि छैन न उसको पति झै त्यो पुरुष घर परिवारबाट अलग्एिको छ । रेष्टुरेण्टमा पनि सग्लो परिवारका साथमा उनिहरु रमाइरहेका छन् । हुन त जिन्दगीलाई हेर्ने आ आफ्नै दृष्टिकोण हुन्छ । त्यस युवतीलाई जिन्दगी जिउने त्यही परिपाटी बढी आनन्ददायी हुन सक्छ ।
भनौ त्यहाँ हरेक टेवलमा फरक फरक इच्छा,चाहना र उद्धेश्यहरु रहेका छन् । मैले सवै दृश्यहरुलाई नियालेर हेरिरहेको छु । हरेकका आ–आफ्नै धुनहरु छन् । अव यो शहर पहाडको त्यो गाउँ जहाँ म जन्मेको थिए त्यस्तो छैन , समाजले मान्छेलाई निर्देशित गर्न सक्दैन । सवै आ आफ्नो इच्छाका मालिक छन् । मलाइ लाग्यो हाम्रो शहर निक्कै एडभान्स भएछ ? अव त पश्चिमा देश र युरोपको जीवनशैली भन्दा हाम्रो शहरको जीवनशैलीमा के नै अन्तर छ र ? । जीवनलाइ मान्छेले कसरी बुझेको छ । हरेकको जीवनदर्शन समान हुंदैन तर पनि जीवनका भोगाइमा केही न केही समनाता भने अवश्य हुन्छ, प्राकृतिक नियमको समनता र मान्छे हुनुमा गर्वको समानता ।
मलाइ कथाको विषय चाहिएको छ । यो रेष्टुरेण्ट मेरा लागि कथाको भण्डार बनेको छ । हरेक घण्टा यहाँ पात्र फेरिन्छन् नयाँ कथाको पटाक्षेप हुन्छ । मैले कफिको चुस्कि लिइरहेको छु । मेरा कथाका सवै पात्रहरु फेरिएका छन् । कुनाको क्याविन चालीस कि हाराहारीको अधबैसे महिला र तीसको हाराहारीको युवकको भागमा परेको छ । महिला संभ्रान्त परिवार कि जस्तै देखिन्छे । उसको पहिरन र चालढाल हेर्दा उच्च वर्ग कै हुनु पर्छ । हुन त मान्छेलाई पहिरनले मात्र ठम्याउन सकिन्न । दुवै निक्कै छिल्लिएका झै देखिन्छन् । महिलाले युवकको गालामा टोकेको दृश्य मैले मेरा आँखाले छल्न सकेनन् । झण्डै वीस पच्चिस जना ग्राहक रहेको यो सार्वजनिक ठाउँमा महिलाको क्रिया थियो त्यो । घरि अंगालो हाल्छन् त घरि कटि प्रदेशमा हात पु¥याउंछन् उनिहरु । उनिहरुलाई लागेको छ त्यहाँ रहेका कुनै पनि मान्छेले त्यो क्रिया देखेका छैनन् । त्यहाँ उपस्थित सवैलाई उनिहरुको हरकत अलि बढी नै लागेको छ सायद । कसैले मुख विगारेका छन् कसैले जिव्रो टोकेका छन् । झण्डै दश बाह्र बर्षको अन्तरका यी युगल के श्रीमान् श्रीमति नै होलान् त ? मेरो मनमा जिज्ञासा उत्पन्न हुन्छ । श्रीमान् श्रीमती भएको भए त छिल्लिने र मस्किने वातावरण घरमै मिल्थ्यो होला यसरी रेष्टुरेण्टमा आएर गर्नुको के अर्थ ? मेरो अन्तरमनले मलाई कोट्याउँछ । मेरो मनले निष्कर्ष दिन्छ यी जोडि पनि श्रीमान् श्रीमती हुन सक्दैनन् । त्यहाँ युवक भन्दा महिला बढी उद्धेलित देखिन्छे । उसको हाउभाउ र कटाक्ष अलि बढी नै हेर्न लायक छ । हुन त मेरो पुरुष आँखाले त्यस्तो देखेको पनि हुन सक्छ ।
संगैको टेवुलमा पनि पात्र फेरिन्छन् । एउटी अत्यन्तै सुन्दर महिला र कालो हव्सि जस्तो देखिने पुरुष टेवुललाई आफ्नो बसाइका लागि रोज्छन् । महिला अत्यन्तै गम्भिर छन् । उनमा न कुनै उत्साह छ न कुनै रसरङ्ग छ । हेर्दा लाग्छ अत्यन्तै निरस छिन् । उनको मुहारमा त्यहाँको परिवेशले रमाइलो छर्न सकेको छैन । कालो पुरुष रिसाह पाराको देखिन्छ । वोलीमा पनि मिठाष छैन । वेटरलाई वोलाउंदाको कर्कश स्वर मेरो कानैबाट ठोक्किएर गएको छ । उनिहरुको यो जोडि खै के जोडि पत्याउनै गाह्रो पर्ने । पुरुषको सानो तर रोविलो स्वर सुनिन्छ–“ए ! किन चुप ?के नाटक गरेको” ? उसको यो क्रियाबाट मैले अनुमान लगाएँ यो युवती पुरुषसंग सन्तुष्ट छैन । कुनै बाध्यताको सिकार भएकी छे । यो रेष्टुरेण्ट सम्म आउनु पनि सायद उसको बाध्यता हो । पुरुष मदिरापान गर्ने तरखरमा छ महिलाले भने मदिरा खान मानिरहेकी छैन तर पुरुषले कर गरिरहेको छ ।
“खा न खा के को नखरा गरेको” ?पुरुषले कर गर्छ
“नाइ, मलाइ मन पदैन”नाक खुम्च्याउदै महिला पन्छिन खोज्छिन् ।
“यो नखाए के को रमाइलो” ? पुरुष रोमिाण्टिक हुन खोज्छ । त्यहाँ एक किसिमको असहज वातारण देखिन्छ । महिला कत्ति पनि खुशी छैन । सवै चिज पुरुषकै करवल ले भैरहेको छ ।
यो कस्तो रमाइलो हो जहाँ दुई मनहरु मिलेका छैनन् । महिलामा के बाध्यता छ जसले पुरुषको हरेक आज्ञाको पालना गर्नु पर्नेछ । आज मैले हेरेका हरेक दृश्यमा कहि कतैपनि समनता छैन । कहिं महिलाले आफ्नो अस्मिता लिलाम गर्न उद्धत देखिन्छन् भने कहि पुरुष आफ्नो लिगबाट हटेका भेटिन्छन् । समाजको नियम भन्दा धेरै माथी देखिन्छन् । यस ठाउँमा धेरै स्वभावहरु देखिए सवैका अभिरुचीहरु विचमा कत्ति पनि समनता पाइदैन ।
रेष्टुरेण्टका हरेक टेवलहरुले फरक फरक अभिरुची र फरक फरक पात्रहरुको स्वागत गरिरहेका छन् । केही क्षण अघिका व्यक्तिको अभिरुची फेरी आउने नयाँ ग्राहकसंग मेल खाँदैन । यहाँ पात्र फेरिन्छन् सन्तुष्टि फेरिन्छ र अभिरुची फेरिन्छ । ओ हो कस्तो संसारको संरचना ? मैले झण्डै तीन कप कफी तुरिसकेको छु । मेरो मोवाइलमा धेरै पटक घण्टि बजेको छ । मलाइ वास्ता छैन म कथाको विषय बस्तुमा लीन छु । घडिले एघार बजाइ सकेको छ । अव रेष्टुरेण्टमा क्रमशः ग्राहकको उपस्थिती पातलिदैं छ । मेरा कथाका पात्रहरु क्रमशः रेष्टुरेण्टबाट बाहिरिदै छन् । म पनि उनिहरु जाादै गरेको बाटो हेरिरहेको छु । मेरा आँखा अघिको पुरुष र महिला माथी पर्छन् उनिहरु रेष्टुरेण्टको आँगनमा उभिएका छन् । दुवैका विचमा अझै पनि मन मिलेको छैन । नजीकै ट्याक्सिले उनिहरुलाई कुरिरहेको छ । महिला ट्याक्सिमा बस्न आनाकानी गरिरहेकी छे । उनिहरुको यो क्रियालाई नियालेर हेर्दै अर्को जोडि पनि बाहिरिएको छ । सवै पात्र बाहिरिएसंगै म पनि गन्तब्यका लागि रेष्टुरेण्टबाट बाहिरिन्छु । मनमा रङ्गहरुको शहर र शहरका रोमाञ्चक पात्रहरुको क्रिया प्रक्रिया सजिव राख्दै म अघि बढ्छु । मेरो गन्तव्य भनेको जिन्दगीसँग संघर्ष गर्दै गरेको हरेक पलमा मलाइ साथ दिने भाडाको कोठा जसले मलाइ प्रतीक्षा गरिरहेको छ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)