~हृदयचन्द्रसिँह प्रधान~
मानव,
आशाको पछ्यौरा चारैतिर बिछ्याएर,
निर्वस्त्र दीनले शिशिर-ऋतुको विहान सूर्यलाई झैं
पर्खेर मैले तेरो हृदय-बाट फूल झर्ने बाटो पर्खिरह्को थिएँ ।
बाघ-हात्तीलाई पनि इशारामा नचाउन सकेको देखेर,
बिजुली आविष्कार गरी जल वायु सूर्यहरुलाई पनि मेख मार्न सकेको देखेर ।
यस्तै हजारौं अरु पनि आश्चर्यजनक
तेरा आविश्कार देखेर मानव,
तेरो शक्तिको मैले मुक्त कण्ठले तारीफ गरि रहेको थिएँ ।
तर मानव,
तँलाई देखेर,
संझेर अहिले त मलाई घृणा मात्तै उठ्छ,
आगोले भरिएको रिसमात्र उत्पन्न हुन्छ, आँसुमात्र उब्जन्छ ।
मनुलाई पढेर चिताएको भावना,
बुद्धलाई पाएर सोचेको कल्पना,
ईशालाई थापेर उडेको गौरव,
महम्मदलाई अँगालेर ठडयाएको नाक,
मार्क्सलाई सोचेर मिलेको संतुष्टि,
अनि गान्धीलाई देखेर फुलेको प्रफुल्लता-सबलाई मानव,
तैंले डढेला लाइदिइस् !
श्रद्धाको नाउँमा उनीहरुको अगाडि
नतमस्तक भईटोपलेर मानव,
तैंले उनीहरु सबलाई धोका दिइस् !
हे मानव,
तलाइ याद छ ?-
तेरो कपटले तेरै सभ्यता र संस्कृति लगडाइ रहेको छ ।
तेरो ज्ञान र विज्ञानले तेरो बुद्धि र शक्तिले,
अनि तेरो शिल्प र कलाले,
तेरो संसार आज फूलभन्दा पनि हँसिलो हुन सक्छ
पुतली भन्दा पनि राम्रो हुन सक्छ,
चन्द्रमा भन्दा पनि चहकिलो हुन सक्छ ।
हे मानव,
कराउनेहरुलाई कुकुरले टोकाएर
तैले शान्ति लिन सक्तैनस् ।
कुकुरको साथ साथ एक दिन
तलाई समेत उनीहरुले मार्न बेर छैन,
किनभने
वेदना नै शक्तिको उपादान तत्व हो ।
त्यसैले हे भानव सुखलाई बाँड,
सूर्यले घाम बाँडे झैं,
बादलले पानी बाँडे झैं,
मानव,
तैले पनि सुखलाई दुवै हातले बाँड् ।
तेरो संसारमा एउटा पनि दुःखी नभए पछि
हे मानव,
तैले चिताउन पनि नसकेको
अपूर्व आनन्द पाउनेछस् ।
(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)