कथा : पति परमेश्वर

~साधना लामिछाने~

ब्रत बसेको दिन सुत्न हुँदैन भन्थे तर मेरो भने दुई परेलीहरु जोडिए,खुलिन मानेनन निकै बेर ।

एकै छिनमा देख्न भ्याएँ सपना पनि । सपना सदा झैँ आयो ‘ऊ’,प्रिय पराई भईसकेको मान्छे । पिलाएर पानी तोडिदियो ब्रत ,सपनामै । जसले बिपनामा आँशु बाहेक केही दिएको थिएन । सपनाहरु प्राय मिठो हुन्छन् । आँखा चिम्लनुजेल । अनगिन्ति सपनाहरु करेला भन्दा तितो हुन्छन् । करेलाले एकछिन जिब्रोको स्वाद बिगार्छ तर बिगारेको हुन्छ सपनाहरुले जिन्दगीको स्वाद ।

‘भनेको थिएँ नि ब्रत नबस,मानिनस् ?’

‘हजूरकै लागि त हो नि’

‘ब्रत बसेर के हुन्छ आफ्नो ख्याल नगरेर ?’

‘केहि हुन्न तर हजुरलाई पाउनको लागी ब्रत बस्नैपर्छ’

‘अब हामीले एकअर्कालाई पाईसक्यौँ,दुनियालाई

देखाउन मात्र बाँकी छ काली’

‘लुकाएर कति दिन चल्छ हजूर, अब छिट्टै सबै कुरा मिलाउनुस् है,’ म टाँसिए अङगालोमा उसको ।

रसाए आँखाहरु ।

चुहिए आँशु तप्प ।

बिद्युत र पेट्रोलियम पदार्थको चुहावट अवैधानिक छ । अनि प्रेम नि ?

प्रेम पनि त अबैधानिक छ नेपाली समाजमा ।

कसैसंग प्रेम गर्नु शारिरीक सम्बन्ध राख्नु हो भनेर सोच्नेहरुको कमी कहाँ छ र?

‘नरोउ न यार आजको दिन पनि रुन्छन् ?’

‘दिन हेरेर रुँदिन म,हजूर सङ्ग हुँदा बाहिर निस्कन्छन् आँशु’

‘नरोउ न काली मलाई तिम्रो आँशुले पोल्छ मलाई तिमीलाई रुवाउनु छैन खुशी बनाउनु छ’ अझै रसाए आँखा । फुट्यो मनको बाँध,बग्न थाल्यो आँखाको बाटो हुँदै । झल्यास्स बिउँझिएँ । सपना अधुरो भयो । जिन्दगी पनि त अधुरो बनायो उसले ।
मुख नुनिलो भयो ।

‘कसले नुन राखिदियो क्यारे ब्रत तोड्न ?’ मनले सोध्यो आफैँलाई । आँशु चुहिएर ओठसम्म पुगेको पो रहेछ । बल्ल थाहा पाएँ । अँ साच्चै नुन खाए ब्रत तोडिन्छ आँशु पिए के हुन्छ ?? आखिर आँशुको स्वाद पनि त नुनिलो हुन्छ । उसै त झरी त बाढीले खिन्न बनाएको तीज अब त यादहरुको आँधी, हुरी, बाढी ,पहिरो सबै आए । खल्बलिएको मन लिएर बाहिर निस्किएँ । जूनलाई पालो दिन घाम आफू ओझेल पर्दै थियो । प्रेम त घाम र जूनको जस्तो होस् । आफ्नो किरण जूनलाई दिए चम्कन दिएको छ । ‘जूनको ज्योति’ भन्न पाउने श्रेय दिएको छ घामले जूनलाई । अतितको पाना पल्टाएँ हैन हैन यादहरुले पल्टाईदियो । तीजको दिन थियो । मैले पनि ब्रत बसेकी थिएँ त्यही आस्था स्वीकारेर निर्जल ब्रत बसे उसलाई पाउँछु भनेर । उसले पनि आफैँ पानी पिलाएर ब्रत तोड्ने बाचा गरेको थियो ।

मख्ख थिएँ म ।

साँझ पर्यो । पूजा सकियो । ब्रत तोडिने बेला भयो ।

तर न उसको फोन आयो न फोन लाग्यो ।

मोबाईल स्वीच अफ थियो । नौ बज्यो फोन लागेन ।

पाप सोचेको भए पाप लागोस् मलाई

‘मैले गलत मान्छेको लागी ब्रत त बसिनँ ?’

‘यही सोचेँ ।

फोन लाग्यो ।

‘कहाँ हुनुहुन्छ ?’

‘बाहिर छु ’

‘कहाँ,अनि हजुरले के भन्नु भाथ्यो ?’

‘साथीले बोलायो’

‘अनि म ?’

‘सुत’

‘हजुर नआउने ?’

फोन कट्यो ,मोबाईल फेरि अफ आयो ।

फोन लागेन ।

ब्रत नतोडे पनि उसले मेरो विश्वास पक्कै तोडेको थियो । म त्यस दिन पानी नपिएर बसेँ उसको लागी । उ रक्सी पिएर बस्यो साथीहरुको लागी । यति स्वार्थी हुन्छन र केटा साथीहरु ?? हुँदैनन्,उसको बहाना थियो सबै । असमर्थताको सन्देश पनि सुनाउन नसक्ने मोबाईल अफ गर्नु पर्ने कस्तो बाध्यता ?? दश बजे पानी पिउन खोजेँ निल्न निकै गाह्रो भो त्यो भन्दा बढी पिएँ आँशु मन हलुङगो भो । पछी फकायो म फकिएँ । कमजोरी त्यहाँ भयो । त्यसपछीको सम्बन्ध सम्झौताले टिक्यो । सपनामा सधैँ पोल्थ्यो मेरो आँशुले
बिपनामा खै के भयो ? अन्त्यमा छुट्यो पनि सम्बन्ध । मैले उसलाई मागेँ तर भगवानले आफ्नो भक्तको हात उसलाई थमाउन चाहेन जो लायक नै थिएन ।

‘ह्या फेरि तँ उस्तै भईस्,’ थर्कायो उसलाई घृणा गर्ने मस्तिष्कले ।

बिगतमा फर्कन मिल्दैन याद गरेर तड्पन मात्र मिल्छ । फर्कन मिल्थ्यो भने बिगतका सबै गल्ती सच्याइदिन्थ्यो दुनियाले ।

‘स्मरण गर्ने तेरो काम किन मेटाउँदैनस। याद ?’ ,थर्काएँ मस्तिष्कलाई ।

‘मनमा राखिस् म कसरी मेटाउँ ?’,रन्कियो मस्तिष्क ।

टाउको फुट्ला जस्तो भयो ।

अलि पर हिड्दै थिएँ ,एक जना आन्टी श्रीमानको पाउ पखालेर पानी पिउँदै हुनुहुन्थ्यो । त्यही खुट्टाले गर्भबति श्रीमतिको पेटमा लात मारेको थियो । पुलिस बोलाउने सम्म स्थिति आएको थियो । काटेर फाल्नुपर्ने खुट्टाको पानी कसरी पिउनु ?? रक्सी पिउनेहरु सङग अत्तालिन्छु म ।उनीहरु सङ्ग हजार बहाना हुन्छन् । कति महान हुन्छन् नारी कसरी सक्छन् सबैथोक माफ गर्न । पति परमेश्वर भए रक्सी खाएर किन पिट्छन् ? पानी नपिउँदैमा पतिको आयु लामो हुने भए किन हुन्थे नारी बिधवा बैँशमा ? बिधवा भएको होईन बनाईएको हो । श्रीमतिको मृत्युमा श्रीमानको केही खोसिएन । श्रीमतिको सबैथोक खोसियो । पत्नीहरुले निर्जल ब्रत बसे पतिको आयुको लागी सौभाग्यवति हुनको लागि,विधवा नहुनको लागी। पतिहरुले कहिल्यै ब्रत किन बसेनन् ? मर्यादाको दायराले सधैँ किन नारीलाई मात्र छेक्यो ? लक्ष्मण रेखा पुरुषलाई किन बनाईएन ?

-हेटौंडा–१२

(स्रोत : तु खबर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.