छन्द कविता : मंगल कामना

~चूडा निर्भीक~

छन्द : तोटक

सबको हित होस् धन सञ्चित होस् ।
दुखका दिन यी अब वञ्चित होस् ।।
सुखका दिनले युग चुम्न सकोस् ।
भव स्वर्ग जसै अब राज्य बनोस् ।।

न गरीब बनोस् न दुखी छु भनोस् ।
जनता सुखमा दिन–रात रहोस् ।।
सब काममहाँ पल पूर्ण खटोस् ।
अव भोकहरु पनि स्वाट्ट घटोस् ।।

अव छेक र बार नघटुन् नबढुन् ।
सब तर्फ हुने यहिँ साँध वचुन् ।।
भववीच सुयोग्य विकास चलोस् ।
लटरम्म भई फलफूल फलोस् ।।

जलको उपयोग् अझ गर्न सकौं ।
स्थिरता चुलियोस् दशकौं दशकौं ।।
परदेश न गै यहिँ काम मिलोस् ।
र युवा जनका अनुहार खिलोस् ।।

सब मानिसका मनले भनियोस् ।
हर श्रोत हुने मुलुकै गनियोस् ।।
सुख शान्ति सबै जनवीच रहोस् ।
अब कष्ट यहाँ हुनु हुन्न नहोस् ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.