कविता : कुरा छैन नभन

~अनन्त निरौला~

कृपया कुरा छैन भनेर नभन
कुरा त एक बहाना हो
उही उही कुरा गरे नि हुन्छ
एउटै कुरा फेरि फेरि भन्दा नि हुन्छ।

कुरा त बस् एक माध्यम हो
पुरानै भए नि हुन्छ
शब्दहरू बदलेर,
हिंजो अस्तिकै कुरा गरे नि हुन्छ।
कुराको महत्त्व छैन यहाँ
नयाँ कुरा खोजेको पनि हैन
तिम्रो उही उही
सुती उठी घर दैलो सफा गरेको कुरा गर।
दूध तताएको कुरा गर
चिया पिउँदै
तरकारी काटेको कुरा गर।
मलाई पनि थाहा छ
नयाँ केही हुन्न सधैँ भरी
म तिम्रो पुरानै कुरा पनि
सुन्न तैयार छु।
बस् कुरा त गर
केही त लेख
केही त बोल
ओछ्यान मिलाएको कुरा गर
कोठा बढ़ाड़ेको कुरा गर
ठूला ठूला वैज्ञानिक र
जटिल आध्यात्मिक
कुरा पनि खोजेको हैन।
लामा लामा घण्टौँ लाग्ने
वार्तालाप पनि भनेको हैन।
सानो मीठो जे भने नि हुन्छ।
आँखा चिम्लेर,
सबै बासी कुरा सुनाए नि हुन्छ।
पुरानै सबै निर्धक्क
दोहऱ्याए नि हुन्छ।
मैले त बस् तिमी सम्म पुग्ने
एक निरन्तर अवरोध रहित
बाटो खोजेको हुँ।
सम्बन्ध आदान प्रदानको
एक अविरल प्रवाह खोजेको हुँ।

(Source : Writer sent it via ‘Kritisangraha@gmail.com‘ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.