~बाबुराम आचार्य~
भोट, मधेस र नेपालको बारेमा वर्णन गर्नु यस निबन्धको उद्देश्य होइन, यी तीन शब्दका अर्थ र आशयहरू अभिव्यक्त गर्ने उद्देश्य मात्रै यस निबन्धमा राखिएको छ ।
सर्वप्रथम भोट शब्दको विषयमा नै विचार गरौँ । हिमालय पर्वतमालादेखि उत्तरतर्फ क्यूनलून पर्वतमालाले घेरिएको समुद्रतलबाट चौध–पन्ध्र हजार फूटको उचाइँमा रहेको पठार, प्राकृतिक बनावटको दृष्टिले एक पृथक् किसिमको भूभागको रूपमा रहेको छ । यस भूभागका जनताको भाषा र संस्कृति समेत अलग्गै किसिमको छ तापनि तेह्रौँ शताब्दीको चङ्गेजखाँको समयदेखि यो प्रदेश प्रत्यक्ष वा अप्रत्यक्ष रूपले चीन महादेशको राजनैतिक अङ्गको रूपमा रहँदै आएको छ ।
ज्ञात इतिहासअनुसार छैठौँ शताब्दीको आरम्भसम्म यस क्षेत्रका जनताहरू बर्बर अवस्थामा नै थिए, त्यसै शताब्दीको मध्यमा सभ्यताको उत्थान भएर त्यहाँ सर्वप्रथम व्यवस्थित राज्यको स्थापना भएको देखिन्छ । त्यस राज्यका दोस्रा राजा स्रोङ–चङ–गम्पो (इ.सं. ५७०–६५०) निकै शक्तिशाली बने । येनम् (जसलाई अचेल कुती भनिन्छ) र किरोङका हिमालयका दुर्लङ्ध्य भञ्ज्याङ्गहरू खोलाई यिनले नेपालको राजधानीसम्म आवतजावत मात्र चलाएनन्, आफ्ना दूतमण्डलीहरू पठाई तिनताक नेपालमा चलेको लिपिलाई लगेर आफ्नो अलग वर्णमाला बनाए र नेपाली कला र कौशलहरूलाई ग्रहण गरेर ‘ल्हासा’ (जसको अर्थ देवभूमि हुन्छ) नामक शहरको जग समेत बसाए ।
यस भूभागका निवासीहरू आफ्नो देश र आफूलाई समेत ‘बोद्’ भन्दथे तर ‘पोत्’ लेख्दथे । त्यो नियम त्यहाँ अझै पनि प्रचलित छ । उनीहरूको अस्पष्ट उच्चारणलाई नेपालीहरूले ‘भोट्ट’ सुनेका हुनाले नेपालमा प्रारम्भमा यस देशको अर्थमा यही ‘भोट्ट’ शब्द व्यवहार हुँदै आएको थियो ।१ यही भोट्ट शब्दपछि ‘भोट’ बोलिएर अचेल लौकिक व्यवहारमा पनि यसै नामले प्रचलित हुँदै आएको छ । यसै भोट देशदेखि उत्तरपट्टिका मङ्गोल देशका निवासीहरू नजाने किन हो ‘बोद्’ या ‘पोत्’ को अगाडि ‘ति’ उपसर्ग जोडेर यसलाई ‘तिबोत्’ वा ‘तिबत्’ भन्ने गर्दथे । यही ‘तिबेत्’ शब्दपछि युरोपमा पुगेर ट्यूटनहरूको उच्चारण अनुसार अचेल ‘टिबेट’ बोलिन लागेको छ । अर्कातिर यही ‘टिबेट’ शब्द इरानमा पुगेर फारसी उच्चारण अनुसार ‘तिब्बत’ बोलिन लागेकोले उर्दु भाषाको साथै अरू भारतीय भाषाहरूमा पनि अचेल यसलाई तिब्बत नै भन्ने व्यापक प्रचलन चल्दै आएको छ । यसरी ‘तिब्बत’ वा ‘टिबेट’ शब्दले अन्तर्राष्ट्रिय रूप ग्रहण गरेकोले अचेल त्यस भू–भागका निवासीहरू पनि बाध्य भएर आफ्नो देशलाई ‘तिब्बत’ वा ‘टिबेट’ भन्न थालिरहेका छन् । यस पृष्ठभूमिमा हामीले पनि अन्तर्राष्ट्रिय व्यवहारमा यस देशलाई तिब्बत वा टिबेट नै भन्नुपर्ने हुन्छ तापनि राष्ट्रिय व्यवहारमा भने परम्परादेखि चलिआएको ‘भोट’ शब्दलाई नै प्रयोग गर्नु उचित हुनेछ ।
तर अपर्याप्त ज्ञान भएका हाम्रा पहिलेका स्रेस्तावालाहरूले ‘भोट’ शब्दलाई गलत अर्थमा पनि प्रयोग गर्ने गरेका छन् । यस विषयमा उदाहरणका रूपमा ‘भोट नामलाङ’ र ‘छार्का भोट’ भन्ने दुइ शब्दलाई प्रस्तुत गर्न सकिन्छ । तामाकोशी नदीका किनारको ‘लामा–बगर’ को नामले प्रसिद्ध चौकीको उत्तरपट्टि तिब्बतका ठीक सीमानामा नेपालपट्टि ‘नाम्लाङ’ नामक स्यार्पाहरूको एक गाउँ रहेको छ । स्यार्पाहरूले तिब्बतबाटै बौद्धधर्म ग्रहण गरेका हुन् तापनि स्यार्पाहरूको भाषा र संस्कृति तिब्बतीहरूको भाषा र संस्कृतिभन्दा एकदमै भिन्न छ । तिब्बती संस्कृति अनुसार धेरै भाइहरू मिलेर एउटै महिलासँग विवाह गर्नु अनिवार्य आवश्यक छ, तर स्यार्पाहरूमा यस्तो प्रचलन पूर्णतः पाइँदैन । यसैले स्यार्पाहरूलाई तिब्बती–वर्गको मान्न कुनै हालतमा पनि सकिंदैन । यस अवस्थामा नेपाल अधिराज्यमा नेपाली स्यार्पाहरूको बस्ती भएको ‘नाम्लाङ’लाई माल अड्डाका स्रेस्ताहरूमा र जनगणनाका रिपोर्टहरूमा समेत ‘भोट नामलाङ’लेख्नु सर्वथा अनुचित छ ।
यस्तै जुम्लाको पूर्व भागमा रहेको हिमाली क्षेत्रमा ‘छार्का’ र ‘तराप्’ नामक दुइ प्रसिद्ध बस्ती रहेका छन् । यी बस्तीका बासिन्दाहरू पनि स्यार्पा जस्तै आग्नेयदेशी परिवारका जातिहरू देखिन्छन् । यिनको भाषा र संस्कृति समेत तिब्बतीसँग मिल्दैन । स्यार्पाहरूले जस्तो यिनीहरूले तिब्बतबाट बौद्ध धर्म ग्रहण गरेको पनि देखिंदैन । यस स्थितिमा यिनीहरू पूर्णतः नेपाली देखिन्छन् । तैपनि नेपालका माल–अड्डाका स्रेस्ताहरूमा, जनगणनाका रिपोर्टहरूमा र नेपालको मानचित्रमा समेत ‘छार्का भोट’ लेखेर यस क्षेत्रलाई तिब्बतको अङ्ग हो भन्ने भान गराउनु हेलचेक्रायाइँको काम भइरहेको छ । राष्ट्र विकासको निमित्त यस्ता अविवेकपूर्ण कार्यहरू बाधक हुन सक्दछन् । यस विषयमा विशेषज्ञहरूको ध्यान जानु नितान्त आवश्यक छ ।
उत्तरी भारतको मैदान प्राचीन समयमा उदीच्य (उत्तरी) र प्राच्य (पूर्वी) भन्ने दुइ भागमा बाँडिएको थियो । यी दुई भागका भाषामा पनि अन्तर रहेको हुनाले इ.सं. पूर्व छैठौँ शताब्दीका पाणिनिले पनि भाषाका यी दुई विभागको चर्चा गरेका छन् । संस्कृत व्याकरणकारहरू शरावती नदीलाई नै यी दुइ भागलाई छुट्याउने सीमा रेखाको रूपमा स्वीकार गर्दथे । चौथा शताब्दीका प्रसिद्ध कोशकार अमरसिंहले पनि शरावती नदीलाई नै उच्च र उदीच्यको विभाजकरेखा बताएका छन् ।२ तर अचेल यस नदीको अत्तोपत्तो छैन । वर्तमान समयमा उत्तरप्रदेश र पञ्जाबको बीचमा रहेको सरस्वती नदी नै शरावतीको नामान्तर हो कि भन्ने पनि भान हुन्छ, तर अमर सिंहले भने ‘सरस्वती’को छुट्टै नाम पनि दिएका छन् ।
उल्लेखित विभाग अनुसार सिन्धु–सतलज नदीको मैदान उदीच्यमा र गङ्गा नदीको मैदान प्राच्यमा पर्दथ्यो । अचेलका उत्तरप्रदेश, बिहार, उडिसा, बङ्गाल र आसामका प्रदेशहरू त्यसबेला प्राच्य देशमा गनिन्थे । इ.सं. पूर्व छैठौँ शताब्दीमा भगवान् गौतम बुद्धले अवध र बिहारमा बौद्ध धर्मको दुन्दुभि बजाएका थिए ।पछि शुङ्ग–युगमा गङ्गा र जमुनाको मैदानमा रहेका कट्टर ब्राह्मणहरूले बौद्धधर्मलाई धपाई अवध प्रदेशलाई उदीच्यबाट छुट्याएर प्राच्यमा सम्मिलित गराई अम्बालादेखि प्रयागसम्मको मैदानलाई ‘मध्यदेश’ भन्ने नाम दिएका हुनाले मनुस्मृतिमा यस प्रदेशलाई पवित्रभूमि बताइएको छ ।२ उनीहरूको विचारमा बौद्धधर्मको क्षेत्र अपवित्र देशमा पर्दथ्यो ।
मध्यदेश भन्ने नामकरण बौद्धहरूको अनुकरण–अनुसार भएको देखिन्छ । गौतम बुद्धले मम्झिम मार्ग (मध्यममार्ग)को आरम्भ गरेका थिए । यसैले बौद्धधर्मको पूर्ण विस्तार भएको अवध र बिहारको प्रदेश बौद्धहरूको मत अनुसार ‘मम्झिम–देश’ कहिन्थ्यो । मझ्झिम–देशको संस्कृति रूप ‘मध्यम–देश’ शब्दका बीचको एक अक्षरको लाधव गरेर ‘मध्य–देश’ भन्ने नामकरण भएको अनुमान हुन्छ । मध्यदेशको ठीक उत्तरपट्टि गढवाल र कुमाउँका पहाडी प्रदेशहरू रहेका र यी प्रदेशहरू मध्य–प्रदेशभित्र नगाभिएका हुनाले यहाँका निवासीहरू दक्षिणपट्टीको मैदानलाई ‘मध्य–देश’ भन्न थाले । यही मध्येदेश शब्दपछि विकृत भएर ‘मधेस’ शब्द बनेको देखिन्छ । पन्ध्रौँ शताब्दीदेखि पूर्वतर्फ बसाइँ सर्दै आएर कुमाउँका पाँडे, पन्थ आदि ब्राह्रमणहरू र कार्की, राउत आदि क्षेत्रीयहरू प्यूठानदेखि दोलखासम्म आएर आवाद भएका थिए । यसै क्रममा पाल्पाली राजा मुकुन्दसेन (प्रथम) का सेनापति गणेश पाण्डे गोर्खाका राजा द्रव्य शाहका मनत्ती हुन आएकाले यिनका ब्राह्मण–सन्ततिहरू गोर्खाको खोपलाङ गाउँमा अझै पनि रहेका छन् । यिनका वंशमा पनि क्षेत्रीय सन्तानहरू पनि पैदा भएकोले यसै वंशका ‘कालु पाँडे’ र ‘दामोदर पाँडे’ नेपालको इतिहासमा विशेष प्रसिद्ध भएका छन् । यी पाँडे, पन्थ र कार्कीहरूमा आफ्नो देशभन्दा दक्षिणपट्टिको उत्तरी भारतको मैदानलाई ‘मधेस’ भन्ने बानी परेकोले यिनीहरू पूर्वतर्फ फैलिंदै आएपछि पूर्वतर्फका अवध र बिहारको मैदानलाई पनि ‘मधेस’ भन्न थाले । तर यो भ्रमपूर्ण कथन थियो ।
यस मैदानको उत्तरपट्टि चुरेको किनारामा रहेको समथर भूभागलाई ‘तलहट्टी’ र चुरे पर्वतमालाको महाभारत पर्वत–श्रृङ्खलाको बीचमा जङ्गल र होचा–होचा पहाडहरूले भरिएको भूभागलाई ‘भाँवर’ भन्ने र यी दुवै प्रदेशलाई मिलाएर ‘तराई’ भन्ने चलन पनि आजसम्म चल्दै आएको छ ।
परन्तु नेपालका स्रेस्तावाजहरूले तलहट्टीको मैदान भागलाई मात्र होइन, भाँवरको पहाडी प्रदेशलाई पनि ‘मधेस’ मा गणना गरेर अवैध नाम दिएका छन् । यसै अनुसार भूमि व्यवस्थासम्बन्धी ‘मधेस बन्दोबस्त’ भन्ने छुट्टै अड्डा खडा भएर वर्षौँसम्म कायम रह्यो । तर अचेल भने त्यो अड्डा खारेज भएको छ । बही बुझ्ने कामको निमित खडा भएको कुमारीचोक भन्ने अड्डामा अझै पनि ‘मधेस–फाँट’ भन्ने एक छुट्टै विभाग रहेको छ । गङ्गा र यमुनाको मैदानमा रहेको मध्यदेशको छोटकरी रूप मधेसले काठमाडौँ उपत्यकामा आएर अझै पनि घर जमाइरहनु अनुचित घटना छ । यसैले नेपालको भूमिव्यवस्थाको स्रेस्ताबाट जतिसक्यो चाँडो ‘मधेस’ शब्दलाई हटाउनु अत्यावश्यक देखिन्छ ।
प्राचीनतम युगको नेपाल, तामाकोशी र त्रिशूली नदीहरूको बीचमा नेवार जातिहरूको आवादी रहेका क्षेत्रमा मात्र सीमित रहेको देखिन्छ । यहाँका मूल–निवासीहरूलाई बुझाउने ‘नेपार’ शब्द नै मगध देशको मागधी उच्चारण अनुसार ‘नेपाली’ भई देशको अर्थमा प्रयोग भएको र यही शब्द स्थानीय बोली अनुसार ‘नेवार’ भएर जातिवादी अर्थमा प्रयोग हुँदै आएको अनुमान हुन्छ । जेहोस्, प्राचीनतम युगको नेपालको दक्षिणी सिमानाले महाभारत एवं पर्वतमालालाई पार गरेको लक्षण देखिंदैन ।
लिच्छवि–कालका प्रसिद्ध राजा मानदेवले (इ.सं.४६४–५०५) आफ्नो दिग्विजयको जुन वर्णन चाँगुको प्रसिद्ध अभिलेखमा गर्वसाथ गरेका छन्, त्यसबाट पनि उनको अभियान पूर्वको तामाकोशीभन्दा पूर्वतर्फ गएको लक्षण देखिंदैन । यसै अभिलेखमा उनले पश्चिमपट्टि गण्डकी नदीलाई पार गरेर मल्लपुरीको विजय गरी प्रशस्त धन–दौलत ल्याएको जुन वर्णन लेखाएका छन् त्यो पनि तराईको गण्डकी नदी पार रहेको बुटवल प्रदेशतिर रहेको ‘मल्लपुरी’ होला भन्ने मेरो अनुमान छ ।
मध्ययुगको आरम्भमा येनम् र किरोङका घाटीहरू खुलेपछि तिब्बत र चीनसँग समेत नेपालको सम्बन्ध स्थापित हुँदा उत्तरमा हिमाली क्षेत्रमा पनि नेपालको विस्तार भयो र साथै पूर्वमा झण्डैझण्डै हालको सीमानासम्म र पश्चिमतर्फ सखिकोलेकसम्म नेपाल राज्यको विस्तार भएको प्रमाण प्रसिद्ध चिनियाँ यात्री यु–आन–च्याँगको भ्रमण वृत्तान्तबाट समेत थाहा पाउन सकिन्छ (इ.सं. ६३७) । मध्ययुगको उत्तरार्धमा सखिकोलेकदेखि पश्चिमपट्टि सेञ्जा राज्यको स्थापना हुँदा यस राज्यमा वर्तमान बुटवल प्रदेशको क्षेत्रसमेत सम्मिलित भएको तथ्य त्यहाँ रहेको इ.सं. १३१२ को रिपु मल्लको शिलालेखबाट देखिएको छ । यिनैताक गण्डकीदेखि पूर्वतर्फको तराईप्रदेश सिमरौनगढ राज्यमा सम्मिलित रहेको कुरा बारा जिल्लाको सिमरौनगढमा पाइएको नान्यदेवको शिलालेखबाट देखिएको छ । राजवंशहरूको आपसी कलह र परचक्रीहरूको आक्रमणद्वारा चौधौँ शताब्दीदेखि नेपाल राज्य छिन्नभिन्न हुन आरम्भ हुनु र उता यिनैताकादेखि जुम्लाको सेञ्जा राज्य पनि नष्ट भई डोटीमा पृथक राज्य खडा हुनुलाई नेपालको निमित्त दुर्घटना नै मान्नुपर्दछ ।
यस प्रकार नेपाल–राज्य खण्डित हुन आरम्भ हुँदा सेञ्जा राज्यमा रहेका खशहरू क्रमशः पूर्वतिर बढ्दै आएर अनेक क्षुद्र राज्यहरू स्थापना भएकाले काठमाडौँ उपत्यका र यसको आसपासको क्षेत्रमा नै सीमित रहेको नेपाल राज्य पनि अझैपछि काठमाडौँ, पाटन र भक्तपुर भन्ने तीन टुक्रामा विभक्त हुँदा पूर्वको दोलखा र पश्चिमको गोर्खा प्रदेश समेत नेपालबाट बाहिर गनिन थालेका थिए । यसरी प्राचीनतम कालमा जस्तै वर्तमान कालको आरम्भमा पनि झण्डै चार शताब्दीसम्म सुनकोशी र त्रिशूली नदीको मध्यवर्ती क्षेत्र मात्र नेपालको रूपमा रह्यो । नेवार जातिका बस्तीहरू पनि प्रायः यसै क्षेत्रभित्र रहेकाले नेवार जातिको अर्थमा ‘नेपाल’ शब्द प्रयोग हुन थाल्दा अठारौँ शताब्दीको अन्त्यसम्म मात्र होइन, बोलचालको भाषामा अझैसम्म पनि नेवारी भाषालाई ‘नेपाल भाषा’ भन्ने चलन चल्दै आएको छ । यसै नेवारी भाषामा मात्र व्यवहार हुने गरेकाले ‘नेपाल–सम्वत्’लाई नेवारी जातिको सम्वत् मानेर अचेल अन्तर्राष्ट्रिय लेखहरूमा यस सम्वत्लाई ‘नेवार सम्वत्’ नै लेखिने गरेको पाइन्छ ।
गोर्खा राज्यका राजा पृथ्वीनारायण शाह नेपाल राज्यको एकीकरणका सूत्रधार भई निस्के । उनी र उनका छोरा राजकुमार बहादुर शाहकै नेतृत्वमा नेपाल–राज्यको अभूतपूर्व एकीकरण भयो र पूर्वमा किराँत–प्रदेशदेखि पश्चिममा कुमाउँ प्रदेशसम्मको पहाडी भूभागमा हिमाली प्रदेश र तराई क्षेत्र समेत मिलेर विशाल नेपाल अधिराज्यको निर्माण भयो । यतिमात्र होइन, सिक्किम र गढवालका राज्यहरू पनि नेपाल राज्यका छत्रछायाँमा आए ।पछि यमुना नदीदेखि सतलज नदीसम्मको वर्तमान सिमला प्रदेश पनि नेपाल राज्यमा सम्मिलित हुँदा (इ.सं. १८०४–५) इ.सं. १८११ मा प्रकाशित भएको ‘इन्साइक्लोपिडिया अफ् ब्रिटानिका’को दोस्रो संस्करणमा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलज नदीसम्मको हिमाल, पहाड र तराई समेतको क्षेत्रलाई नेपाल अधिराज्यको मानचित्रभित्र अङ्कित गरिएको पाइन्छ ।
पछि भीमसेन थापाको प्रशासनमा अङ्ग्रेजसँगको युद्धमा हार भएर सिक्किमको रियासत र कुमाउँ गढवाल र सिमला समेत नेपालबाट टुक््रयाइए(इ.सं. १८१५) । यतिमात्र होइन, बघौरा–तालदेखि महाकाली नदीसम्मको तराई क्षेत्र पनि नेपालबाट छुट्याइएर नेपालको पश्चिमी भागलाई खुँडे बनाइएको थियो ।पछि वि.सं. १८६० मा यो खुँडे परेको भाग ‘नयाँ मुलुक’को नामले फेरि नेपालमा मिलाइएपछि नेपालको वर्तमान मानचित्र कायम भएको छ र यसै मानचित्रभित्र पर्ने भूभागलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रले आज नेपाल अधिराज्यको रूपमा मान्दै आएको छ ।
तर राजवंश भित्रको आन्तरिक कलहले गर्दा इ.सं. १८०६देखि १९५० सम्मको झण्डै डेढ शताब्दीको बीचमा करिब ७ वर्ष मात्र (इ.सं. १७३६–४२) यो देश राजाको प्रत्यक्ष प्रशासनमा रह्यो । बाँकी १३८ वर्षसम्म भीमसेन थापा र जङ्गबहादुर आदि अधिनायकहरू सैनिक बलको जोरले नेपाल अधिराज्यभित्र ‘हुकुम’ गर्दै रहे । सैनिक–शक्तिको प्रयोग गरी जनतामा रहेको राष्ट्रिय भावनालाई क्षीण गराउनु, राजकोषमा आउनुपर्ने धन बीचैबाट हडप गर्नु र रैकर भूमिलाई आफ्नो, आफ्नो परिवारको र आफ्ना जी–हजुरेहरूको नाममा बिर्ता गराएर राज्यको आमदानी घटाउनु अधिनायकवादका तीन प्रधान उद्देश्य थिए । यही उद्देश्य पूरा गर्न राजधानी रहेको करिब २५० वर्गमीलको काठमाडौँ उपत्यकालाई मात्र ‘खास नेपाल’ बनाएर बाँकी ५४,००० वर्गमीलको पहाड र तराईलाई खास नेपालको उपनिवेशको रूप दिई शोषणको नीति अपनाइएको हुनाले खास नेपाल बाहिरको उपनिवेश भाग आज पनि ज्यादै गिरेको पाइन्छ ।
इ.सं. १८१५सम्म ‘गुनरी बजार’ र ‘इलाम बजार’ एउटै अवस्थामा थिए, तर गुनरी–बजारले आज दार्जलिङ्ग शहरको रूप लिइसकेको छ, इलाम बजारको भने कुनै प्रगति हुन सकेको छैन । अल्मोडा र सिलगढीको तुलना गर्दा पनि यही दुःखदायक स्थिति पाइन्छ । यस्तो उपनिवेशवाद राणा अधिनायकहरू र उनका पूर्ववर्तीहरूले पनि गुप्त रीतले चलाएका थिए र अन्तर्राष्ट्रिय क्षेत्रले समेत स्वीकार गरिसकेको नेपालभित्र अर्को ‘लघु–नेपाल’को सृष्टि गराएका थिए, तर यसको सिङ्ग र पुच्छर भने लुकाउन सकेका थिएनन् ।
कुमारीचोकअड्डामा ‘मदेस फाँट’ भएको चर्चामाथि भइसकेको छ । यस्तै यस्तै अड्डामा ‘नेपाल फाँट’को पनि सृजना भएको छ । यस फाँटमा काठमाडौँ उपत्यका भित्रका कार्यालयहरूको मात्र बही बुझ्ने प्रबन्ध छ, जो आजसम्म चल्दै आएको छ । नेपालको निमित्त भनी देवानी मुद्दामा लागू हुने गरी बनाइएको कोर्टफीको ऐन पनि काठमाडौँ उपत्यकाको निमित्त मात्र लागू गराई न्यायपालिकाकोतर्फबाट पनि नेपाल भनेर ‘खास नेपाल’लाई मात्र मान्यता दिइएको छ । काठमाडौँ उपत्यकाबाट मुलुकभित्रकै अरू भागमा जाँदा र अन्यत्रबाट यहाँ आउँदा पनि यात्रीहरूको मालसामानको भन्सार जाँच हुने चलन अझै कायम छ । यस्तै उपत्यकाबाट अधिराज्यभित्रका अरू भागमा जाँदा नारी–जातिको निमित्त अझै पनि राहदानी लिइँदैछ । यस स्थितिमा उपत्यका बाहिरका जनताले कसरी आफूलाई नेपाली सम्झियुन् ? उपनिवेशवादको यस भावनालाई यूरोपीय विद्वानहरूले पनि पत्ता नलगाएका होइनन् । यसैले त, हालै प्रकाशित भएको रोमन लिपिको एक मानचित्रमा नेपाल भन्ने पाँच अक्षरले काठमाडौँ उपत्यकालाई मात्र सङ्केत गरी यस उपत्यकालाई ‘खस नेपाल’ को रूपमा छुट्याइएको छ ।
यसै उपनिवेशवादले गर्दा बाध्य भएर टाढा के ? बनेपा, धुलिखेल, चितलाङ्ग, नुवाकोट र सिन्धुपाल्चोक आदि उपत्यकाका आपसका निवासीहरू उपत्यकातिर लाग्दा अचेल पनि ‘नेपाल जाने’ भनी भन्दछन् । यस अवस्थामा डडेलधुरा, विराटनगर र इलामका निवासीहरूले कसरी आफूलाई नेपाली हौँ भन्ने गर्व गरून् ? यही उपनिवेशवादको मोहमा डुबेका र कुवाभित्रको व्याङ भएर रहेका केही नेपालीहरू यसै उपत्यकालाई लक्ष्य गरेर अझै पनि ‘खास नेपाल’ यही हो भन्ने गर्व गर्दछन् । भगवानले कहिले यिनलाई सुबुद्धि देलान् ? नेपालमा जब सुशासन चल्ला, तब मात्र नेपालको वास्तविक एकीकरण भई उपनिवेशवादको अन्त्य भएर ‘अविकसित राष्ट्र’का निवासी भन्ने कलङ्क नेपालीको निधारबाट मेटिनेछ । अहिलेलाई यही नै आशा गर्न सकिन्छ ।
रचनाकाल–वि.सं. २०१४ (अनुमान)
यसै समयदेखि –इसाको एघारौँ शताब्दीको उत्तरार्धदेखि) भारतको विक्रमशीला र तिब्बतका बौद्धमहाविहारहरको धार्मिक सम्बन्ध नेपाल मार्फत् चल्न आरम्भ भएको थियो । यिनताक नेपालको राजधानीदेखि पूर्वोत्तरपट्टि ब्रम्हपुत्रको किनाराको प्रदेश ‘चङ’ भनिन्थ्यो । यस प्रदेशमा इ.सं. १०७६ मा ‘स–क्य’ बौद्धबिहारको स्थापना भयो र त्यस बिहारसँग नेपालीहरूको निकटसम्बन्ध स्थापित भयो । ‘चङ’को उच्चारण ‘सङ’को नजीक हुनाले नेपालीहरूले त्यहाँका निवासीहरूलाई ‘सञ’ भन्ने नाम दिएका थिए । यसैलेपछि तिब्बतका अन्य प्रदेशका निवासीहरू पनि ‘सञ’ नै भनिन थाले । नेवारी भाषामा तिब्बतीहरूलाई अचेल पनि ‘सञ’ वा ‘सँे’ नै भनिदै छ ।