~भेषराज रिजाल~
वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साबिक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी । बि.एस्सी. (एजी) शैक्षिक उपाधि हासिल गरेका उहाँ ३४ वर्ष सरकारी सेवामा रही हाल नवलपुर जिल्लाको कावासोती नगरपालिका, शान्तिचोकमा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । इञ्जिनिएर बन्ने चाहना पूरा नहुने देखेर आफूलाई ‘अभागी’ लेख्न थालेका उहाँ साहित्यिक लेखनमा ‘सदानन्द अभागी’का नामबाट परिचित हुनुहुन्छ भने कृषि विज्ञानसम्बन्धी लेखहरूमा ‘सदानन्द जैसी’का नामबाट । वरिष्ठ माटोविज्ञका रूपमा जागिरे हुँदा इजिप्ट, थाइल्याण्ड, फिलिपिन्स, जापान, भारतलगायतका मुलुकका साथै नेपालका अधिकांश जिल्ला भ्रमण गरिसक्नुभएको उहाँ मुलुकको माया मान्ने असली माटोप्रेमी हुनुहुन्छ ।
वरिष्ठ साहित्यकार सदानन्द अभागी बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्छ । भारतको आसाममा रहँदा विद्यालयगुरु हरिभक्त कटुवालको प्रेरणाले वि.सं. २०२०/०२१ सालतिर वनारसबाट प्रकाशित हुने पत्रिकामा ‘आमा’ कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाएका उहाँका कविता, कथा, उपन्यास, नियात्रा, गजल, मुक्तक आदि नेपाली साहित्यका विविध विधाका कृति प्रकाशित भएका छन् । २०५७ सालमा ‘आफ्नै व्यथा’ कवितासङ्ग्रहबाट प्रकाशनको थालनी गरी निरन्तर साहित्य सिर्जनामा लागिरहेका उहाँका ‘बुढो जवानी’ (कवितासंग्रह), २०५८, ‘पश्चात्तापको आँसु’ (कथासङ्ग्रह), २०५८, ‘जीवन लीला’ (खण्डकाव्य), २०५८, ‘कोपिला’ (लघुकाव्य), २०५९, ‘तीनयुग एककथा’ (महाकाव्य), २०६०, ‘जीवन लीला’ (उपन्यास), २०६०, ‘काठमाण्डौ देहरादुन’ (यात्रा विवरण), २०६०, ‘म र मेराहरू’ (जीवनी), २०६०, ‘अग्नि ज्वाला’ (महाकाव्य), २०६१, ‘नियति’ (उपन्यास), २०६१, ‘तन्नेरी हजूरबा’ (उपन्यास), २०६१ प्रकाशित भएका छन् । प्रकाशित अन्य साहित्यिक कृतिहरूमा ‘मोहनीको मीठो म्वाइँ’ (कवितासङ्ग्रह), २०६२, ‘परिवर्तन’ (कथासङ्ग्रह), २०६३, ‘भुटानी शरणार्थीको कथा-व्यथा’, २०६३, ‘समभोग समाधि’ (गजलसङ्ग्रह), २०६४, ‘गजल गुटिका’ (गजलसङ्ग्रह), २०६५, ‘बुढौतीका रहरहरू’ (गजलसङ्ग्रह), २०६५, ‘अभागीका गजलहरू’ (गजलसङ्ग्रह) २०६६, ‘अभागीका मुक्तकहरू’ (मुक्तकसङ्ग्रह) २०६८, ‘यात्री’ (उपन्यास) २०६८, ‘सृष्टिमा अभागीको दृष्टि’ (समालोचना) २०६८, ‘बालुवाको घर’ (कथासङ्ग्रह) २०६९, ‘अभागीको प्रेमविहारको षष्ठामृत’ (गजलसङ्ग्रह), २०७०, आदिरहेका छन् । नाटकबाहेकका प्राय: सबै विधामा कलम चलाउने उहाँका गजल, मुक्तक र पुस्तक समीक्षालगायतका फुटकर लेखरचनासमेत विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । त्यसै गरी उहाँका माटोलगायत कृषिसम्बन्धी थुप्रै वैज्ञानिक कृतिहरू पनि प्रकाशित भएका छन् । कृषिसम्बन्धी वैज्ञानिक कृतिहरूमा ‘विभिन्न बालीमा मलको आवश्यक्ता र प्रयोग विधि’, २०४३, ‘माटो व्यवस्थापन तथा सूक्ष्मतत्व समस्या अध्ययन तथा बिरुवाको खाद्यतत्वको संक्षिप्त विवरण’, २०५२/०५३, ‘उर्वराशक्ति बढाउन प्रयोग मलको एकझलक’, २०५४, ‘बिरुवाको एकीकृत खाद्यतत्व व्यवस्थापन पद्धति एकझलक’, २०५४, ‘माटोको उर्वराशक्ति व्यवस्थापन कार्यपुस्तिका’, २०५५, ‘प्राङ्गारिक मल र सूक्ष्म तत्त्वको अध्ययन प्रतिवेदन’, २०५६, ‘एकीकृत खाद्यतत्व व्यवस्थापन कार्यपुस्तिका’, २०५८, ‘माटो सुधारको रूपमा कृषिचूनको प्रयोग’, २०५८/५९, ‘माटो शिविर किन र कसरी’, २०५८/५९ प्रकाशित भएका छन् । प्रकाशित अन्य कृषिसम्बन्धी वैज्ञानिक कृतिहरूमा ‘दिगो कृषि विकासको लागि प्राङ्गारिक खेती’, २०५८/५९, ‘गोठेमल तथा कम्पोष्ट मल व्यवस्थापन तालिम पुस्तिका’, २००१ ई.सं., ‘माटो र बिरुवाले भोक लाग्यो भन्छन्’ (कृषि काव्य), २०६१, ‘विभिन्न बालीमा खाद्यतत्व तथा माटो व्यवस्थापन’, २०६०/६१, ‘दिगो माटो व्यवस्थापन विविध पक्षहरू’, २०६१, ‘प्राङ्गारिक खेती एकपरिचय’, २०६२, ‘क्षतिग्रस्त कृषिभूमिको व्यवस्थापन’, २०७०, आदिरहेका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई प्रिय साहित्यकारको रूपमा लिने अभागीज्यू लक्ष्मी स्मृति साहित्य समाजको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । माटो, समाज र साहित्यलाई जीवनको मूल आधार बनाउनुभएको उहाँ हाम्रो मझेरी साहित्य प्रतिष्ठान, माधुरी साहित्य प्रतिष्ठान, पर्वत साहित्य सङ्गम, नारीसाहित्य समाज, स्याङ्जा साहित्य प्रतिष्ठान आदि साहित्यिक संस्थामा आजीवन सदस्य हुनुहुन्छ । उहाँ गोर्खा दक्षिणबाहु चौथालगायत विभिन्न सम्मान र पुस्कारबाट समेत सम्मानित हुनुभएको छ ।
सामाजिक जीवनका विकृति, विसङ्गतिप्रति प्रहार गरी सामाजिक नैतिकता, अनुशासन र कर्तव्यबोध गराउने ध्येयले लेखिएको उपन्यास हो ‘तन्नेरी हजुरबा, २०६१’ । प्रस्तुत उपन्यास लक्ष्मी स्मृति साहित्य समाजले प्रकाशनमा ल्याएको हो । साहित्यकार भूपेन्द्र शर्मा गण्डर्षि र विष्णु लामिछानेको शुभकामना तथा लक्ष्मी स्मृति साहित्य समाजका तत्कालीन अध्यक्ष विष्णुमाया विभूको प्रकाशकीय रहेको यस उपन्यासमा ५७+६ पेज तथा संस्थागत रु.१००।– र व्यक्तिगत रु.३०।– मूल्य रहेको छ ।
समाजमा दिनहुँ घटिरहेका यथार्थ घटनाहरूलाई टिपेर मुख्य कथावस्तु बनाइएकोले जीवन्त बनेको छ उपन्यास । मानवीय मूल्यमान्यता, सामाजिक आदर्श, कर्तव्य र नैतिकताका आयामबारे पाठकलाई अनेक कोणबाट सोच्न बाध्य बनाउँदै उपन्यासमा उचित मानवीय व्यवहार, संस्कार आदिको अपेक्षा छ उपन्यासकारको । सामाजिक विकृति विसङ्गति हटाउन तथा समाजलाई सचेत गराउने ध्येयले रचित छन् पात्र, घटना र परिवेश । उपन्यासको कथावस्तु जत्तिकै सशक्त छन् परिवेश र पात्रहरू ।
आफ्नो मुलुक र गाउँबस्तीको माटोप्रतिको अगाध माया छ उपन्यासकारमा । देशको माटोको उर्बरासँग मान्छेको मुहारको खुसी गाँसिएको देख्नुहुन्छ उपन्यासकार । र त, माटो व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुनजाँदाको यथार्थ यात्रा वर्णनबाट सुरु भएर थाहै नपाई उपन्यासको भावभूमिमा प्रवेश गर्न पुग्छन् पाठक । उपन्यासकारले आफू जन्मेहुर्केको गाउँको सामाजिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक आदि सम्पूर्ण परिवेशलाई जस्ताको तस्तै उतार्न सफल हुनुभएको छ ।
कोहलपुरे काकासँग उपन्यासकारको वार्तालापबाट सुरु हुन्छ ‘तन्नेरी हजुरबा’ उपन्यासको कथानक । भविलाल, मखमली, झिल्के, जुनिकरी आदि यस उपन्यासका मुख्य पात्र हुन् ।
चारसन्तानकी आमा भविलालकी श्रीमती मखमली र उसकै घरको हली झिल्केले सोझो भविलाललाई थाङ्नामा सुताएर चलसम्पत्ति लिएर भागी हिँड्छन् । उनीहरूले मधेसमा झरेर नयाँ जीवन सुरु गर्दछन् । झिल्केले अर्काको घरको काम गर्दछ भने मखमली बालबच्चाको स्याहार गर्दै आफ्नो घरको काम गर्दछे । समयको मल्हमले पुरानो घाउ निको हुँदैथियो । झिल्के र मखमलीको घरसंसारको फुलबारीमा सुन्दर कोपिला मुस्कुराइरहेका थिए । हजुरबा भइसकेको झिल्केले छोरीसरह जानकारी र घरको सम्पत्ति लिएर गाउँबाट भाग्दछ । क्यान्सर लागेकी मखमलीलाई छोराले उपचार गरेर रोगको व्यथा सहन सके पनि प्राणप्रिय झिल्केले आफूलाई छोडेर गएको पीडा सहन सक्दिनँ । भविलाल, आफूले छोडेर हिँडेका छोराहरू र नुवार गाउँका सज्जन गाउँलेहरूलगायत विगत सम्झँदा मखमलीलाई चक्कर आउँछ र नब्यूँझिनेगरी ढल्दछे । यौनभोगको पछि लागेर अर्काको त के आफ्नैसमेत घर भत्काउँदै हिँड्ने झिल्केलाई आखिरीमा जुनकिरीले पनि साथ छोडेर हिँड्छे । कुनै युवकको पछि लागेर बच्चासमेत त्यागेर झिल्केको रुपियाँ धनमाल लिएर भाग्छे जुनकिरी । झिल्के बौलाएर महिला देखे मखमली, जुनकिरी भन्दै समात्न दौडने र लोग्नेमान्छे देखे आक्रमण गर्ने अवस्थामा पुगेपछि उपन्यासको कथा अन्त्य भएको छ ।
उपन्यासमा तन्नेरी हजुरबा प्रवृत्तिका पात्रका घिनलाग्दा क्रियाकलापलाई घृणा गर्न पुग्दछन् पाठक । भोगको रोगभन्दा कर्मयोग ठूलो ठान्ने भविलालजस्ता आदर्श बाबुको कर्तव्यबोध देख्दा द्रविभूत हुनपुग्दछन् पाठक । उपन्यासको कथाको मोडबारे पाठकले अनुमान लगाउन सके पनि उपन्यासमा प्रयुक्त भाषाशैली र प्रस्तुतिले पाठकलाई निरन्तर बाँधिराख्न सफल भएको छ । पात्रहरूको सम्वाद कम र उपन्यासकारको व्याख्या बढी भएजस्तो लागे तापनि नवीन विम्ब, प्रतीक, उपमा आदिको प्रयोगले उपन्यास उत्कृष्ट बन्नपुगेको छ । उपन्यासकारले आफू जन्मेहुर्केको गाउँघरको वस्तुस्थिति र उस्तै लाग्ने पात्रको छनोट गर्नुभएकोले उपन्यासभर पाठकको आँखामा अविश्वास देखिँदैन । बरु नियात्राको रूपमा उपन्यासको सुरुवात हुँदा पाठकमा अन्योल उत्पन्न भई दोस्रो परिच्छेदबाट उपन्यासको थालनी भइदिएको भए हुन्थ्यो भन्ने लाग्नसक्छ ।
मातृत्व, स्त्रीत्व र उत्तरदायित्व भुलेर यौनतृप्ति र क्षणिक आनन्दका लागि लालाबालासहितको घरपरिवार त्यागेकी मखमलीलाई क्यान्सर लागेर मृत्यु भए तापनि तन्नेरी हजुरबा झिल्केका दाँत जसरी उसको घृणित व्यवहार विसर्जन हुनेमा आशङ्का रहिरहनसक्छ पाठकको । फेरि कसैले झिल्केको जस्तो व्यवहार नगरोस् भन्ने कामना पनि गर्न पुग्दछन् पाठक । नेपाली उपन्यास जगतका जस्तै आमपात्र र परिवेश भए तापनि पाठकको मनमा अमिट छाप बनेर रहन्छन् यस उपन्यासका पात्रका सुकर्म र कुकर्महरू । कथावस्तु सरल र संक्षिप्त भए तापनि गहनभाव बोक्नुका साथै र मस्तिष्क हल्लाइदिने परिवेश सिर्जित छ उपन्यासमा ।
सौन्दर्यबारे उपन्यासकारको मान्यता छ– ‘सौन्दर्य सुकर्मका लागि हो । सौन्दर्य कुकर्ममा प्रयोग गरिए अमृतमा विष मिसाएसरह हुन्छ’ (पृष्ठ २०) । भविलालको जीवनको सन्दर्भमा उपन्यासकार बोल्नुहुन्छ– ‘पृथ्वीमा भास परे घरगोठ सबै भासिन्छन्’ (पृष्ठ २८) । पुर्नै नसक्ने भासमा भासिए पनि हिम्मत नहारी भविलालले दुधेबालकलगायतका छोराहरूलाई हुर्काउनेबढाउने गरेको घटनाले दु:खमा परेकाहरूप्रति आडभरोसा दिइएको छ उपन्यासमा । उपन्यासकारको ठहर छ– ‘शङ्काको घेरामा परेका सामाजिक घटनाहरूको अध्ययन गरिनुपर्दछ । अध्ययन नगरिए व्यक्ति मात्र नभएर समाज नै दोषी हुन्छ । गुण र दोष छुट्याउन सकिएन भने स्वच्छ समाजको निर्माण कहिल्यै हुन सक्दैन’ (पृष्ठ २९) । आफ्नो हृदयका टुक्रालाई निर्ममतापूर्वक चटक्क बिर्सेर जानसक्ने मखमलीको कृत्यबारे उपन्यासकारको मत छ– ‘मानिसले सम्भोगलाई ठूलो मानेपछि न त त्यहाँ दया हुन्छ न त माया हुन्छ’ (पृष्ठ ३०) । उपन्यासमा नारी पुरुषका सम्बन्धमा गाउँले मनबहादुर आफ्नो धारणा बोल्छन्– ‘नारी भनेको आगोको भुङ्ग्रो हो । पुरुष भनेको नौनी घिउ । एकोहोरो हातले ताली बज्दैन । दोषका भागिदार दुवै हुन् ।’ (पृष्ठ ३२) । वेदव्यासजस्ता काकाले उपन्यासको अन्त्यतिर उपन्यासकारसँग भन्नुहुन्छ– ‘भोगको रोगले कहिल्यै सृष्टिको विनास नगरी सुकर्मको बाटो खनोस् । भोगको रोगभन्दा कर्मयोग ठूलो हो’ (पृष्ठ ५६) ।
असल संस्कार, पारिवारिक जिम्वेवारी, सामाजिक मर्यादा जस्ता कुराहरूलाई निर्वाह गर्दै असल नागरिक एवं असल पारिवारिक सदस्य भएर घरपरिवार र समाजलाई असल पथमा डोर्याउनुको साटो भोगविलास र उन्मादमा सदा रमाउन चाहने झिल्के र मखमली केन्द्रित घटनाक्रमबाट उपन्यासकारले समाजलाई कर्तव्यबोध, अनुशासन, नैतिकता र इमान्दारितातर्फ मार्गनिर्देश गर्न चाहनुभएकोले पुस्तकको शीर्षकसमेत सार्थक देखिन्छ । उपन्यासले समाजका सामाजिक कुरीति, विकृति, विसङ्गतिप्रति गतिलो प्रहार गर्न सफल भएको छ । भोगविलासतर्फ आकर्षित भौतिकवादी दुनियाँमा मानवीय व्यवहार सुधारको अपेक्षा राख्नुभएको छ उपन्यासकारले । पति–पत्नीबिच आपसी माया–प्रेम, सुख–दु:ख, सहयोग–सहकार्य नभएमा इज्जत, धर्म, समाजले मात्र उनीहरूको सम्बन्ध जीवित रहन नसक्नेतर्फ सङ्केत गर्दै दाम्पत्य जीवन सुमधुर बनाउने अनेक उपायको बारेमा समेत परिचर्चा गरिएको छ उपन्यासमा । वैदेशिक रोजगारीका लागि धेरै नेपालीहरू दिनहुँ विदेशिनु परेको बाध्यात्मक यथार्थ तथा विश्वव्यापीकरणका विकृतिहरूसमेतले सम्बन्धका पेचकिल्लाहरू चर्किएर फुस्किएर कमजोर बन्नलागेको वर्तमान समाजका लागि यस उपन्यासको विषयवस्तु झन् सान्दर्भिक बन्नपुगेको छ ।
(Source : Writer sent it via ‘Kritisangraha@gmail.com‘ )