अनुभूति : एउटा ईर्ष्या यस्तो पनि

~प्रकाशमणि दहाल~

“ऊ कपन बगलामुखी आइपुग्यो !” अनायास चहकिएको बालस्वरसँगै मेरो नजर घुम्यो र बस रोकिँदा म ढोकामा पुगिहालेँ । आज पनि म पहिलो भएँ भित्र पस्नेमा र सामुन्ने चालकपछाडिको सिट खाली भेटेर बसिहालेँ ।

त्यसो त मलाई भेटेसम्म चालकका समानान्तरको फ्रन्टसिट नै मनपर्छ । त्यो नपाए दोस्रो प्राथमिकता हो यो अहिलेको । त्यो पनि नभए जुन भेटिन्छ त्यही सही, नत्र कहिलेकाहीँ उभिनै पनि पर्छ, त्यो अर्कै कुरा । चालकका समानान्तर सिटमा बस्ता मलाई आफू पनि चालक भएजस्तै लाग्छ । किन ? त्यसो त म एउटा निकै वरिष्ठ प्राध्यापक । हरेक मान्छेको ‘स्ट्याटस’ हुने र त्यसको वर्गीकरण पनि हुने चलन अनुसार उसको भन्दा मेरो ‘स्ट्याटस’ निकै माथि हो । तर, मलाई उसको ईर्ष्या लाग्छ र यही ईर्ष्याजनित मज्जाकै लागि भए पनि सकेसम्म म त्यही सिट पाउने कामना गरिरहन्छु । सायद ईर्ष्या पनि एउटा आनन्ददायी मनोभाव हो प्रेम वा कुनै खुसीयालीजस्तै । नत्र मान्छे किन ईर्ष्यालु हुन्थ्यो ? कतिपय कुरा करले पनि गर्नुपर्ला तर ईर्ष्या गर्न कुनै कर हुँदैन तैपनि गर्छ, अझ स्तरसमेत हेर्दैन भने मजाले नै त हो !

अगाडिको त्यस सिटमा बस्नुका अरू रमाइला पनि होलान् तर सम्भवतः मलाई सबभन्दा मनपर्नेे कारण सो ईर्ष्या नै हुनुपर्छ किनभने म त्यहाँ बसेर अगाडिको परिवेश हेर्नेबित्तिकै चालकले जस्तै आफूले पनि त्यो सबै परिवेशलाई अंकमाल गरेजस्तै ठान्न थाल्छु । कतिसम्म भने उभिएका बेला होस् वा पछाडिका सिटमा बसेका बेला, म त्यस सिटकै ताकमा रहन्छु र खाली हुनासाथ बिरालाले मुसालाई झम्टिएझैं कुदिहाल्छु । कहिलेकाहीँ छरछिमेकीलाई सारो-बिस्तारो ठक्कर पनि लाग्छ र कसैकसैले ‘ए ! के गरेको ?’ पनि भनिहाल्छन् नमीठो, अझ चकित भावमा । कहिलेचाहिँ त्यो सिट छोड्ने मान्छे लोसेखाले परििदन्छ र हतारमा उसैलाई धक्का लाउन पुग्छु । (हुन त छोड्नेले सकेसम्म ढिलो गर्नु सायद स्वाभाविकै होला ।­) मेरो चिटिक्क परेको ‘स्ट्याटस’कै कारण हुनसक्छ मान्छे कडासँग भनिहाल्दैनन् बरु छक्क पर्छन् तर म त्यो सिटमा बस्न पाएको खुसीमा केही वास्ता गर्दिनँ । ‘स्ट्याटस’का आडमा लोकपीडा र लोकलाजलाई बिलकुल बेवास्ता गरेर कुर्सीका लागि मरहित्ते गर्ने नेताको जस्तै हुँदो हो जाबो बसको एकछिन बस्नुपर्ने सिटका लागि मेरो हत्तेहलाइ पनि । एकदिन मजैले घुँडो ठोकाएको छु त्यही सुरमा तर बानी छोडेको छैन, नेताहरूले जस्तै बरु बहानाचाहिँ खोज्ने गरेको छु, त्यसलाई साधारण मान्ने ।

आज पनि अर्को बिसौनीमै त्यो सिट खाली भयो र म दौडिहालेँ, मनमनमा ‘आफ्नो बानी को छोड्छ, अर्काको बानी को लिन्छ ?’ भन्दै । त्यहाँ बसेर अगाडिको समग्र परिवेश नजरमा आउनासाथ सधैँजस्तै म रोमाञ्चित भइगएँ । साँच्चै, त्यसबेला मलाई अगाडि सडक र छेउछाउका पेटीतिरको व्यस्तता देख्ता कुनै दन्त्यकथाको कल्पनालोकमा पुगेजस्तै लाग्छ । मानौँ, त्यहाँ नौवटा टारमा नौहल गोरु नारेर एकै रातमा तोरी छरी, बाली पाकी, काटी, माडी नौमुरी तोरी पेलेर राजाकहाँ पुर्‍याएर नायकले राजकुमारी पाउने कामको व्यस्तता चलिरहेको छ । साँच्चै कस्तो व्यस्त हुन्छ सडक ! यन्त्रले चल्ने विभिन्न आकारप्रकारका गाडी, मानवशक्तिले चल्ने साइकल, रिक्सा, ठेला, स्वयं मान्छे, आ-आफ्ना गृहपतिको धाकसहित सडकमै उग्राइदिने गाई-बाच्छा र हिन्दूत्वको डंका बजाउँदै जथाभावी लस्किने साँढेलगायत एउटा विशाल चलायमान विविधताको नमुना मानौँ एउटा हुनहुनाउँदो नदीजस्तो पनि अथवा एक किसिमले समुद्र चिर्दै चलिरहेको डुङ्गादौड प्रतियोगिताको एउटा गतिमान दृश्य !

सडकमा अरू पनि धेरै दर्शनीय कुरा हुन्छन् । नियम-अनुशासन तोड्न तिमी नेताभन्दा हामी के कम भनेझैं ओभरहेड पुललाई एक्लै पारेर तलबाटै ठाँटसँग लम्किरहेका युवकयुवती, गल्ती गर्नेभन्दा कमजोर खाले चालकको बढी झ्याँको झारिरहेका प्रहरी, सडक छ्याप्पै रोकेर राजाकै फुइँ दोहोर्‍याउँँदै सवारी चलाउने राष्ट्रपति-प्रधानमन्त्री, चौथाइ सडक ढाकेर राखिएका चिया पसल, निर्माण वा बिक्रीका सामग्री, दाहिने बत्ती बालेर देब्रे मोड्दै वा साइडै नलगाई यात्रु चढाउँदै-ओराल्दै गरेका चालक, अर्धनग्न प्रायः युवतीदेखि अनुहारबाहेक सबै छोपेका खालखालका मान्छे र बाटो काट्न झुकझुक गरेर चालकलाई अप्ठ्यारो पार्ने प्रायः वृद्धवृद्धाहरू…।

यस्ता बेलामा चालकले झ्वाट्ट लगाएको ब्रेकसँगै खुस्किने आमा जोडेको गाली पनि सडककै हिस्सा भइदिन्छ । कहिले त त्यो यति अचानक र खतरनाक हुन्छ, मुटु सिरंिग भएर निकैबेर जीउ कामिरहन्छ । तर, उसले घ्याच्चै ब्रेक लाउन सकेको, उसको ब्रेक तैनाथ रहेको, रौँप्रमाणले बचाएर रोक्ने वा स्वाट्ट काट्ने उसको अनुमान र कार्यकुशलता प्रशंसनीय हुन्छ र त्यतिबेलै उसको सबभन्दा बढी ईर्ष्या लाग्छ । खुला सडकमा सानसँग गति बढाएर प्रायः दाहिने-बायाँका परहिरूको सदर्शन यात्रा पनि कम लोभलाग्दो हुँदैन । प्रायः भइरहने उछिनपाछिन पनि सडकको अनिवार्य अङ्गै हो सायद चालक मान्छे हुनुको र मान्छे छाडा हुन पाउने परिवेश हुनुको परिणाम । त्यसो त कहिलेकाहीँ यन्त्र चलाउने मान्छे यन्त्रजत्तिकै तैनाथ र स्वचालित पनि लागिदिन्छ भने कहिले स्थितिको सतर्क अवलोकन-रसास्वादन गर्दै आवश्यकतानुसार तुरुन्त काम गर्नसक्ने एउटा साह्रै जिम्मेवार पदीय व्यक्ति र बढीचाहिँ दुवैको सम्मिश्रणजस्तै लागिदिन्छ यद्यपि सतहमुनि अनावश्यक दम्भ र भूलचूकसहितको ।

साँच्चै पचासौँ ज्यान र आशा-सपनाको सानो संसार बोकेर त्यस्तै सपनाको भीडभरि सडकमा भौतिक-अभौतिक व्यवधान चिर्दै-तर्काउँदै हिँडिरहन्छ ऊ सागर चिर्दै हिँडिरहेको मोजेज अथवा अन्तरिक्षमा बाटो खोज्दै कुदिरहेको इमेलजस्तै । दुइटै कुराले रोमाञ्चित पार्दै रहन्छ- उसको आत्मविश्वास, अनुमान-चालन प्रवीणता, यन्त्रको तम्तयारी र सँगसँगै चल्ने भीडको सावधानी-सतर्कता-सक्रियतापूर्ण (वा कहिलेकाहीँ त्यसको विपरीत) मनोविज्ञान । मानौँ दुवैमा सहकार्य र कार्यविभाजनको एउटा अघोषित सम्झौता छ । तर, पूरै अघोषित भने होइन । अनेक नियमन र व्यवस्थापनयुक्त जेब्राक्रस, बीचको सेतो विभाजन, रंगरंगका बत्ती, हम्प, डिभाइडर ब्लक, डिल, लेनलगायत पोस्टर, सूचनापाटी, पटकपटकका ट्राफिक सप्ताहलगायत सिटी र कलमसहित तैनाथ प्रहरी आदिआदिको एउटा व्यापक सञ्जालै हुन्छ, त्यहाँ । तर, मान्छे पनि गजबकै प्राणी हुन्छ, जो नियम-अनुशासनबद्ध पनि हुन्छ भने त्यसलाई तोड्न चाहँदै र तोड्दै रहन्छ पनि । एक किसिमले यी दुई व्यवहारमा सदैव लुकामारी नै हुन्छ । त्यसैमा मिसिन्छ प्राणीगत कमजोरी- अवसर, भूलचूक, लापरबाही, अतिविश्वास, सेखासेखी, धोका आदि । अर्को, व्यक्ति स्वयंको सावधानी र नियमितताले मात्र पनि पुग्दैन आजको जटिल संगठित सामाजिक परिवेशमा जहाँ विद्यार्थी अनुत्तीर्ण हुनुमा अभिभावक, शिक्षक, विद्यालय, माथिल्ला निकाय आदिको दोष कम हुँदैन, मात्रै त्यो गौण भइदिन्छ । बाराका किसानले आफ्नै खुसीले मात्र खोया फल्ने मकै लगाएका थिएनन् । अघि दाहिने बत्ती बालेर न्युरोडतिर मोड्न खोज्ने तन्नेरीले झन्डै दुर्घटना गराएको । तर, थाहा पाउनासाथ लज्जित भइगयो जबकि कमलपोखरीमा हतारिएर काटिहाल्न खोज्ने भने जबरजस्ती थियो तब त उल्टै एक भुल्को गाली दिइराखेर गयो । सायद ऊ कुनै ‘ठूलो’ मान्छे हो । सम्भवतः उल्लंघन र नियमन समानान्तर चलिरहन्छन् र यो क्रम नै मानव सभ्यता हो । कहिले उल्लंघन बढी त कहिले नियमन र कहिले दुवैमा सटीक तालमेल, चलन अनुसार ।

चालकसोझी बसेर चालकजस्तै ठान्दै उसका गतिविधि र अगाडिको संसार नियाल्दै रहनु साँच्चै एउटा ईर्ष्यापूर्ण अनुभूति हुन्छ जब यथार्थ, अनुमान र कल्पनाका नयाँनयाँ क्षितिज उघार्दै मन कुदिरहन्छ ।

पैदल यात्री र वाहनको अनुशासन, चाप र सडकको अनुपात, अवस्था (खाल्डाखुल्डी, कहीँ त आहालै), बाधा पर्ने गरी थुपारिएका निर्माण र बिक्रीका सामग्री, फोहोरका थुप्रा, छाडा चौपाया, ढल-पेटी-बार-चोक-पार्क-पोखरी-चौतारी, रेलिङ्हरू, रूखहरू, बत्तीको अवस्था, प्रहरी व्यवहार र सडकका दायाँबायाँ रहेका भवन-स्मारक, चौर मानौँ ऐना हुन्, जसमा त्यो समाजको भौतिक-आत्मिक, एक शब्दमा त्यसको समग्र सभ्यता प्रतिविम्बित भइरहेको हुन्छ । याद गर्न सक्दा त्यस समाज र राज्यको विगत, वर्तमान र भविष्यको समेत झलक पाउन सकिन्छ, त्यस ऐनामा एकसाथ ।

हुन पनि एउटा जिम्मेवार चालक हातमा स्टेरिङ् लिएर एउटा गम्भीर दायित्व निर्वाह गरिरहेको हुन्छ । गाडीको सिट, झ्यालढोका आदिको सफाइ र तन्दुरुस्ती, बत्ती, हर्न, ब्रेक, क्लच, एक्सिलरेटर, टायरलगायत सम्पूर्ण इन्जिन-बडी र उसका सहयोगी हरबखत तम्तयार हुन्छन् र ऊ जहाँ, जतिबेला जुन आवश्यक पर्छ, त्यो प्रयोग गर्न सतर्क र सक्षम हुन्छ, जसरी एउटा डाक्टर शल्यक्रिया गरिरहेको हुन्छ, अझ एउटा नेता देश हाँकिरहेको हुन्छ ।

हो, नेतासँग गाडीचालकको यो कार्य सटीक रूपमा तुल्य देखिन्छ । कारण स्पष्ट छ ः नेताका पनि स्टेरिङ्, ब्रेक, क्लच, बत्ती आदि उपकरण र सहयोगी हुन्छन् र ऊ पनि प्राकृतिक र मानवीय, समग्र जनजीवन तथा व्यवस्थापकीय बाधा-व्यवधान, स्थिति-परििस्थतिको भीड चिर्दै राष्ट्रिय उद्देश्य, परम्परा, कानुन र व्यवस्थारूपी सडकमा उही राष्ट्रिय उद्देश्य, परम्परा, कानुन र व्यवस्थारूपी गाडी हाँकिरहेको हुन्छ ।

किनभने, राज्य भनेको सुदूर सीमान्त इलाकादेखि विभिन्न गाउँ, सहर, जिल्ला-सदरमुकाम हुँदै अन्ततः राजधानीसँग केन्द्रित महासञ्जाल हुन्छ । सबैतिर मानिसै हुन्छन् अन्य प्राणी र भौतिक-प्राकृतिक परिवेशसहित जो हरेक रात घरघरमा बस्छन् र दिन हुनासाथ तयार भएर कामकाममा निस्किन्छन् रित्तै वा मालसामानसहित । अनि, दिनभर गतिविधि चल्छ कृषि, उद्योग, व्यापार, सेवा (कार्यालय, स्कुल, अस्पताल, होटल, मर्मत-सम्भार आदि)लगायत विभिन्न राजनीतिक-सांस्कृतिक कार्यका रूपमा । यी सबैमा मान्छे र सामानले विभिन्न ठाउँमा आउनु/जानु परिरहन्छ । यही आउनुजानु र लानु/ल्याउनु नै ट्राफिक वा यातायात हो र यातायात चलिरहेको हुनु भनेको उक्त विभिन्न आर्थिक-सामाजिक-राजनीतिक-सांस्कृतिक गतिविधि चलिरहेको हुनु हो । त्यसैले यातायातलाई राज्यको नाडी र रक्तसञ्चार पनि भन्ने गरिन्छ । नाडी चलिरहनु भनेको शरीरमा रक्त सञ्चार भइरहेको हुनु र त्यो भनेको मानिस जीवित र गतिशील भएको हुनु हो र त्यस्तै यातायात चलिरहेको हुनु भनेको राज्य चलिरहेको हुनु हो । अझ माथि भनिएजस्तै ट्राफिक कसरी चलेको छ, सडक व्यवस्था कस्तो छ भन्ने कुरा त्यो राज्य सञ्चालनको मापदण्ड पनि भइदिन्छ वा सूचक । त्यसबाट राज्य सम्पन्न वा विपन्न, नियमित वा अनियमित, सद्भावपूर्ण वा दुर्भावपूर्ण, शान्त वा अशान्त कस्तो छ, कुन स्तरको छ भन्ने पनि एकैसाथ प्रदर्शित भइरहेको हुन्छ ।

अर्को तरकिाले भन्नुपर्दा कृषि, उद्योग, वनपैदावर, सेवा आदि सबै उत्पादन र उत्पादनसँग सम्बन्धित सामग्री तथा कामदारले उत्पादन/सेवा गर्न तथा त्यसपछिका थप प्रशोधन-वितरणका निमित्त विभिन्न स्थानमा आउनु/जानु र लानु/ल्याउनुपर्छ । यो सबै यातायातले नै सम्पन्न गराइरहेको हुन्छ । त्यसैले यातायातले एकैपल्ट राज्यको सञ्चालन पनि गराइरहेको हुन्छ भने राज्यको कार्यक्षमता वा कार्यकुशलताको वास्तविक अवस्था कस्तो छ भन्ने तथा त्यस राज्यको चालक जसलाई समग्रमा सरकार भनिन्छ, चलन अनुसार राष्ट्रपति वा प्रधानमन्त्रीले गरेको नेतृत्व कस्तो (कति उत्तरदायित्वबोध भएको, नैतिक, योग्य र दक्ष) छ भन्ने कुराको प्रत्यक्ष प्रदर्शन पनि गरिरहेको हुन्छ ।

त्यसैले पनि होला, मलाई चालकको ईर्ष्या लागेको जुन प्रकारान्तरले नेताकै ईर्ष्या हुनसक्छ । तर, यो ईर्ष्या योग्यता, दक्षता, सतर्कतापूर्वक स्वाटस्वाट काट्तै-तर्काउँदै, चाहिँदा झट्ट रोक्दै कुशलतापूर्वक समयमा पुर्‍याउनेको चाहिँ हो न कि लापरबाही र मैमत्तापूर्वक दुर्घटना र ज्यान जोखिम गराउँदै हिँड्ने चालक वा अकर्मण्यता र गलत कर्मण्यतापूर्वक समस्या उब्जाएर, पालेर जनतामा हाहाकार मच्चाउँदै त्यसैसँग खेल्दै रहने नेताहरूको ।

prakashmanidahal@gmail.com

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४१५)

This entry was posted in अनुभूति and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.