~उषा शेरचन~
कृतध्न
अमूल्य भोट दिइसकेपछि अब जनताको के काम छ यहाँ ?
बेकारका आर्तनादहरू सुनिरहन कसलाई पो फुर्सद छ यहाँ ?
बाँचुन्जेलदेखि नमरुन्जेलसम्म आफूलाई कसरी हुन्छ, आफ्नै
कुर्सी जोगाउने हरउपाय खोज्दै दौडधुप गर्दैमा ठिक्क छ यहाँ !
अर्ती
शीतलता चाहेमा रूखको छहारी नै खोज्न जानु अब
साह्रै जाडो लागेमा सूर्यको प्रकाश नै ताप्न जानु अब
सबैले सुन्नेगरी कोइलीले जस्तै गाउन सक्दैनौ भने
गोलसिमलझैँ मध्यरातको अन्धकारमै हराउनु अब !
जिन्दगी
लाग्छ कहिले जिन्दगी उदास आइतबारे धुन जस्तो
लाग्छ कहिले जिन्दगी महँगिँदै गएको अकबरी सुन जस्तो
साँढेको जुधाइमा परेका निर्दो बाछाहरूलाई देख्दा भने
लाग्छ अचेल जिन्दगी अन्नसँगै पिसिएको बिचरो घुन जस्तो
(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )