कविता : वनचरीको लय

~त्रिभुवनचन्द्र वाग्ले~

आज पनि आमाको
भान्सामा बजेनन्
थाल, कचौराका घण्ट
सायद यतिखेर आमाको भान्सा
आमरण मौन व्रतमा छ
ल्याएर अलिकति सिस्नो र भ्याकुर
आमा
भान्सामा भोकको पूजा गर र
प्रसाद चढाऊ ।
चिसो अँगेनामा साँझ, बिहान
बत्ती बालेर आरती गर्न नसकेपछि
कपालमा कपास रङ्गाएकी आमा
थर्थराउँदै उठ्छिन्
र भक्कानिदै
भोकको राग गाइरहेको छोरालाई भन्छिन्–
बाबु तेरा बाबुले
प्राप्तिको शङ्ख फुकेनन्
अनि
मैले कसरी मझेरीलाई मठ बनाऊँ
र तलाईं दिऊँ भोक हर्ने प्रसाद ?
बाँझो अभिलाषा जोत्दाजोत्दै
तेरा बाबुले सुनाएका थिए
खलो र तलोको मितेरी साइनो
मैले करतल पिटेकी थिएँ
आँगनमा सपनाको बिस्कुन फिँजाएर
खै त भेटिएनन् तलो र खलो
अनि
बाबु म
काफल पाक्यो गीत गाउन अभ्यस्त छु
वनचरीको लयमा
अगेनाको आरतीमा
कसौँडीको घडा थापेर
पकाउँदै गर्दा पानी
पाकेनन् छोराका अघाउने अभिलाषा
र तातेनन् कथाका ताउला
नुन थपेर पानीमा
नुनिलो आँसुले
आमाले अथाह विश्वासमाथि
आज पनि जलधारा चढाइरहिन्
आज पनि सकिनन्
चुलोमा आरतीको आगो बाल्न
अनि
थाल कचौराको मङ्गल धुन बजाउन ।

(Source : Writer sent it via ‘Kritisangraha@gmail.com‘ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.