कथा : मनौरो

~कञ्चन ओझा~

‘स्मोकिङ छोड्दा नि त्यो सिग्रेटको माया ला’को होला है, तिमीलाई ! तर, मबाट टाढा हुँदा मेरो अलिकति पनि माया लागेन नि ?’ भन्दै जोरसँग फोनमै कराउँछे ऊ ।

फोनको अर्को किनारमा थियो, समीर । जो उसको त्यत्रो ठूलो स्वरलाई सुनेर नि बडो शान्तपूर्वक केही नबोलेर धैर्य धारण गरी सुनिरहेको थियो । समीरसँग बोल्ने नि मन थिएन उसलाई, तर सहनको नि सीमा हुँदो हो सायद । अनि आज त्यो बाँध फुटेको थियो, बाढी आउने गरी ।

‘सिम्रिका’ हो ! यही नाम दिएको थियो, समीरले काजललाई । काजल पनि यो नाम पाएर मक्ख परेकी थिई । समीर पनि आफ्नो नामसरि नै थियो, उडेर जान आतुर । तर, समीरको उडानले काजलका खुला पखेटालाई काटिदिएको थियो । र समीरलाई यसको हेक्का नि थिएन । हेक्का ! ऊ लिन नै चाहँदैनथ्यो खासमा । उन्मुक्त हुन चाहन्थ्यो ।

मनुष्य स्वार्थी त हुन्छ नै । हो, यो धु्रवसत्य हो ! तर, स्वार्थको नि सीमा हुँदो हो, सायद । समीरको जीवनमा यस्तो कुनै कुरा नि लागू हँुदैनथ्यो । काजल छिनछिनमा सोच्थी पनि ‘त्यस्तो निष्ठुरी त होइन होला समीर ।’ तर, समीरका बारेमा मनमा खेल्ने गरेका हरेक सोच नै गलत ठहरिँदै आइरहेका थिए, अहिलेसम्म । काजललाई पढ्ने निकै सौख थियो । खुब पढेकी थिई, वियोगान्त कथा । जुन कथा पढ्दा उसलाई निकै हाँसो उठ्थ्यो । तर, जीवन भनेको ठ्याक्कै त्यही आख्यान जस्तै पो हुँदो रहेछ त ! सम्झी–सम्झी उसका आँसु झर्थे । मुड छिनछिनमा परिवर्तन भैरहन्थ्यो, मनसुनको आकाशझैँ । बडो गाह्रो स्थिति थियो, आजभोलि उसलाई ।

सोच्दा–सोच्दै दिन ढल्किसकेछ । दिउँसो सोफामा ढल्किएकी उसले साँझ परेको पत्तै पाइन । ‘नानी, खान आऊ !’ आमाको पाँचौँपटकको पुकार थियो, त्यो । जहिले ढिला नै खान जान्थी ऊ । त्यही भएर खासै वास्ता भएको थिएन, उसका क्रियाकलाप घरमा कसैलाई । ऊ टुटेकी छ भन्ने त कसैले कल्पना नै गर्न सक्दैनथ्यो । यति प्रखर र कडा छाप थियो, उसको घरपरिवारमा । तर, अब यो मुखौटो पहिरिन सक्ने अवस्थामा थिइन, ऊ सायद । आजित भइसकेकी थिई, आफैसँग ।

घरिघरी भागेर कुनै पहाडको कुनामा जाऊँ जस्तो लाग्थ्यो उसलाई । तर, यसरी समस्यासँग भाग्ने बानी पनि त थिएन । त्यही भएर आफूलाई रोकिराखेकी थिई, काजलले । कुन दिन यो बाँध फुट्छ र आफूभित्र रोकिराखेको भेल बाढी ल्याउँछ भन्ने मात्रै पिर थियो । एकपटक भेट्न चाहन्थी, समीरलाई । मनमा लागेजतिको सबै भडास पोखेर मुक्त हुन चाहन्थी, छट्पटीबाट । झोलाबाट मोबाइल झिकेर म्यासेज छोडी ।

‘म तिमीलाई भेट्न चाहन्छु, समीर । भोलि भेटम् न साँझ ५ बजे पाटनमा’ र पुछारमा लेखी ‘उही सिम्रिका’ ।

‘सरी सिम्रिका ! म त अहिले काठमाडौंबाहिर छु । फर्किएपछि कल गर्छु नि ल । अनि भेटम्ला ।’

उसको म्यासेजको जवाफ तुरुन्तै आयो ।
त्यसपछि कैयौँ दिन कुर्दै बिते ।

कुर्नुको छट्पटाहट त कुर्नेलाई मात्र थाहा हुँदो हो । यही कुराइमा पल–प्रतिपल झलझल्ती आँखामा आइरहे । समीरले ऊजस्तै अरू कैयौँसँग बुनेका मायाका झुटा कथाहरू ।

प्रेमको कसम खाँदाखाँदै, मायाको गीत गाउँदागाउँदै पनि कसरी आफ्नो प्रेमिल मान्छेलाई धोका दिन सक्छ कसैले ? हो, यस्तै अनेक कुरा मनमा खेलाउँदै गर्दा हुरुक्क भएर आउँथ्यो । अनि कति वेला आँखा गिला भइसक्थे, थाहा नै हुँदैनथ्यो ।

पर्खाइ र तड्पाइमै दिन बित्दै गए । काजलले आफूलाई कठोर बनाउने कोसिस गर्दै थिई । हुन पनि यसरी कहिलेसम्म कमजोर हुन दिन सक्थी र आफूलाई ! फेरि एकजना धोकेबाजको नाममा कति दिन दुःखी भएर बाँच्नु ?

आज समीरले भेट्ने समय दिएको थियो ।

काजल ऊभन्दा अघि पुगिसकेकी थिई, पाटन दरबार स्क्वायर । समीर सदाझैँ मधुर मुस्कानका साथ आइपुग्यो । उसलाई परैबाट देख्दै गर्दा काजलको हृदय एकचोटि फेरि ढुकढुक ग¥यो । यो हजारौँपटक थियो होला उसको हृदयले आफ्नो गति छाडेको । सोची, उसले मनमनै ‘माया गर्नुको नि हद हुँदो हो, कसैलाई ।’ फेरि अर्को कुराले घोच्यो, ‘दुनियाँ माया–माया भनेर यत्तिकै पागल त हुँदैन रहेछ ।’

परबाट नै हात हल्लाउँदै आयो, समीर । काजलको छेउमै बस्यो । काजलको मनमा कति धेरै कुरा खेलिरहेका थिए । तर, ऊ आफूलाई भरसक संयमित राख्ने प्रयास गरिरहेकी थिई । केहीबेरको मौनताबीच समीरको आवाज उसको कानमा गुन्जियो, ‘के खाने सिम्रिका ? अर्डर गरिहालम् न !’

उसलाई केही खाने मन नि थिएन । केही पनि बोलिन । समीरले मेनु ओल्टाउँदै–पल्टाउँदै बोल्यो, ‘कफी, मःम, अनि फ्रेन्च फ्राइज । ठीक छ, है !’

काजल मुस्कुराई अलिकति । वेटरलाई बोलाएर अडर गरिहाल्यो, समीरले ।

ऊ चुपचाप समीरलाई नियालिरहेकी थिई । उसले आभास गरेकी थिई, एउटा अजिब हड्बडमा हुन्थ्यो, समीर जहिल्यै नि । काजल विपरीत थिई । एकदमै आरामसँग बितोस्, हरेक पल भनेजस्तो ।

‘के छ, समीर ?’ सीधा प्रश्न गरी काजलले ।

‘ए,अँ ! साँची म लास्ट विक पेरिसबाट आएको नि सिम्रिका । इट वाज सच अ वन्डरफुल ट्रिप, आइ विल नेवर फर्गेट । सि दिज पिक्चर्स । आरन्ट दे बिउटिफुल ?’ काजलको प्रश्नको बेवास्ता गरेर आफ्नै फोटोहरू देखाउन थाल्यो, समीर ।

मोबाइलको स्क्रिन चलाउँदै एक–एक गरी हेरी काजलले । खुसी हु“दै तारिफ नि गरी ती चित्रको । राम्रै खिच्थ्यो, समीरले फोटाहरू । उसको मस्त मौलापन मन नि पथ्र्यो । कसैलाई बाँधेर राख्ने कुरामा ऊ अलिकति नि विश्वास गर्दिनथी । प्रेम त झन् स्वच्छन्द हुन्छ । आकाशमा चरा जसरी जहाँ–जता उडे नि अन्ततः आफ्नो घर नै आउँछ । प्रेममा हुने भनेको नै त्यही हो । जहाँ जति चहारे नि आखिर वास मुटुमै हुन्थ्यो । ऊ आफ्नो प्रेमलाई स्वतन्त्र छोडिदिन चाहन्थी । उसको मनमा यी सबै कुरा खेलिरहँदा समीर कसैको म्यासेज फर्काउनमा व्यस्त थियो । छिनछिनमा उसको हात मोबाइलमा नै पुग्थ्यो । एकपटक उसले आफ्नो छेउमै भएकी काजललाई राम्रोसँग हेरेको नि थिएन । केहीबेरमै समीरको फोन बज्यो । ‘एक्स्क्युज मी’ भन्दै समीरले काजलतिर हे¥यो । र ‘हेलो’ भन्दै अलिकति पर गयो । बोल्दाबोल्दै, बाहिर निस्कियो ।

वेटर आयो, मःम आयो, फ्रेन्च फ्राइज आयो तर त्यसबीच समीर आएन । कफी सेलाउन लागिसकेको थियो । बल्ल समीर ‘सरी, है सिम्रिका’ भन्दै पुग्यो ।

‘अफिसमा यति धेरै काम छ कि के भनम् ? एकछिन फुर्सद हुँदैन । अरू वेला घरबाट फुर्सद हुँदैन । मैले तिमीलाई समय दिन नसकेकोमा मलाई बडो खेद छ ।’ हाकिमलाई आफ्नो अफिसको प्रोग्रेस सुनाए जस्तो गरी समीरले एकै सासमा भन्यो । काजल केही बोलिन, केबल मुस्कुराई सदा झैँ । केही कुरा देखेर, महसुस गरेर नि वास्ता नगर्नुको स्थितिबाट आजित भइसकेकी थिई ऊ । हुन पनि समीरले काजललाई जति मानसिक यातना दिन सक्थ्यो, त्यो दिनमा कुनै कमी नै राखेको थिएन, अहिलेसम्म । प्रेम गरेको नाटकदेखि भेट्नसम्म आनाकानी गरेको सबै कथा काजलको आँखा अगाडि नाच्दै थिए ।

‘टिङ टिङ’ वातावरणको शून्यतालाई भंग गर्दै समीरको हातमा रहेको सामसङ मोबाइलमा म्यासेज आएको रिंगटन फेरि बज्यो । ऊ फेरि म्यासेज लेख्नमा व्यस्त भयो । काजललाई आफू त्यहाँनेर जोकर भएको भान भइराखेको थियो ।

एकछिन त्यत्तिकै बसेर समीरलाई नियालेपछि सोधी, ‘केही अरू खान्छौ, तिमी ?’

समीरले नाइँ भन्दै मुन्टो हल्लायो । र फेरि म्यासेज थिच्न व्यस्त भयो । मौनताले फेरि गुटुमुटु बनायो पाटनको माहोललाई ।

त्यही वेला काजलको दिमागमा आफूले पढेका वियोगान्त कथा दौडिन थाले । सोची, ‘यो सधैँको असहजताभन्दा त एउटा कथा अर्को लेखियोस् ।’

‘थ्याङ्क यु फर योर टाइम समीर । इट वज ग्रेट नोइङ यु । वि वोन्ट मिट अगेन’ केहीबेरको मौनतालाई चिर्दै एउटा सानो तीखो आवाज गुन्जियो, काजलको । जुरुक्क कुर्सीबाट उठी र रिसेप्सनतिर लम्की ।

समीरले केही भन्नु, बुझ्नुअघि नै रिसेप्सनमा पुगिसकेकी थिई, ऊ । वेटरलाई एक हजारको नोट थमाई र बोली, ‘भाइ, टिप तपाईं राख्नुस् है ।’

इति भन्दै हावाको वेगसरि होटलबाहिर निस्किई, ऊ । घाँटीमा सर्पजस्तै बेरेको, समीरले दिएको सल बाटोछेउमा हु¥याई । उसलाई ठूलो भारी बिसाएजस्तै भयो ।

(स्रोत : नयाँ पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.