~निर्मोही व्यास~
मेरो प्रीति–प्रभातकी हिमचुली ! आऊ खुली झल्मल
मेरो भाव–तरङ्गिणी ! बग तिमी गर्दै सदा कल्कल
आऊ पङ्ख फिँजी उडेर भुरुरू ए सर्वसौभाग्यदा !
आँखामा बिपना भई बस तिमी मेरो सदा सर्वदा
०
आभा स्वर्ण–प्रभातको गगनमा झल्केसरी झल्झल
थोपा निर्मल शीतका कमलमा टल्केसरी टल्पल
यौटा सिर्जन रम्य बन्छ रसको माधुर्य छाएपछि
यौटा जीवन धन्य हुन्छ मनको संसार पाएपछि
०
तिम्रो दर्शननिम्ति आकुल सधैँ आँखाहरू स्वप्निल
तिम्रो स्पर्शनिमित्त व्याकुल सधैँ छाती छ यो स्नेहिल
आऊ निर्झरिणी बनी छमछमी नाच्तै छरी मोहनी
मेरो स्पन्दनमा जुनीभरि भरी आनन्दको रागिनी
०
बर्सी झम्झम धोइदेउ मनको सन्ताप कादम्बिनी !
अल्पेकी किन यो झिलिक्क मुटुमा बालेर सौदामिनी ?
मेरो निम्ति तिमी,तिमी अनि तिमी नै विश्वब्रह्माण्ड हौ
फोस्रा हुन् सब थोक, केवल तिमी नै सच्चिदानन्द हौ
०
तिम्रो रूप पिएर यो हृदयमा होस् आज दीपावली
ज्योत्स्नामा सँगिनी ! झुलून् प्रणयका बेली–चमेली फुली
सारा विश्व भुलाउने खिलखिले हाँसो छरी स्वर्णिम
स्वप्ना आज फुलाइदेउ लजिली मेरी शरत्पूर्णिमा !
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९)