लघुकथा : लज्जा

~सुमन सौरभ~

उसले क्लोरिनको गन्ध फैलिरहेको कोठाको चारैतिर हेरि र आश्चर्य व्यक्त गरि -‘ यो कुन ठाउँ हो ? म कहाँ छु? बलात्कार बाट बच्न लाचार भएर आत्महत्या गरेकी थिएँ मैले त , कहाँ आइपुगेँ ?’

‘तपाईं लास घरमा हुनुहुन्छ म्याडम , हामी तपाइँजस्तै लासहरू हौं , समय पर्खिरहेका ।’

‘ हँ लासघर? किन ? तपाइँहरू पनि लास ? समय पर्खेको ? किन ‘

‘ हजुर !यो लासघर , हामी पनि लास ,समय पर्खेको। हामीमध्ये कोही घरका मान्छेले कहिले लैजालान र सद्गतीको कार्य गर्देलान भनेर पर्खिदै छौं । कोहि पोस्टमार्टमको पालो पर्खिरहेका छौं । कसैको पोस्टमार्टमको भइ सकेको छ ।त्यसको रिपोर्ट पर्खिरहेका छौँ । तपाइँ चाहिँ कसरी मर्नु भएको नि ?’

‘ भने नि आत्महत्या गरेकी । उसले मेरो शरीरमा आँखा लगायो। मेरो लाज लुट्न खोज्यो। केही सीप लाग्ने देखिन र इज्जत जोगाउन आत्महत्या गरेकी ।’

‘ ए त्यसो भए यो पुलिस केस हो तपाइँलाइ पनि पोस्टमार्टम गर्न ल्याइएको हो। अब धैर्यतापुर्वक पालो पर्खनुस ।’

‘ पुलिस केस ? पोस्टमार्टम ? किन?’

‘मरेकी कि मारेको भनेर छुट्याउन ‘

‘ किन छुट्याउनु ?मरेपनी मारेपनी के फरक पर्छ र अब ? के के गर्छन नि पोस्टमार्टम मा?’

‘तपाइँलाई सर्वाङ्ग नाङ्गी बनाउँछन । अङ्गअङ्गलाई होसियारिका साथ निरीक्षण गर्छन । ठाउँठाउँमा चिर्छन। लासको भाषा बुझ्छन र रिपोर्ट लेख्छन।अनि त्यही अनुरुपको सिफारिस लेख्छन् – मरेको कि मारेको?’

ऊ त्रसित भई र सङ्कुचित पनि-‘ के रे ? अब पनि मलाई नाङ्गै बनाएर वरिपरिबाट घुमिघुमी हेर्छन ? जहाँ पायो त्यहीँ छुन्छन ?’

ऊ स्टेचरमा थिई, ओर्लिई। अरु कराए- ए !तपाईं कता ? पोस्टमार्टम त्यही स्टेचर मै हुन्छ ।त्यहीँ त्यही अवस्था मै चुपचाप बस्नुस ।’

‘ यही लाज बचाउन त आत्महत्या गरेकी मैले आफ्नो नाङ्गो कुमारी शरीरको गिजोलागिजोल कसरी सहनु ? मरेपछि पनि न छाड्ने भए लाज थोपर्न ?नाइँ म फेरि आत्महत्या गर्छु।’

( प्रा डा लक्ष्मण प्रसाद गौतमको “लघुकथाको रचनाविधान” बाट साभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.