~राजेन्द्र ज्ञवाली~
पहिलो गासमात्र मुखमा के हालेको थिए, मोवाइल अनौठो आवाजकासाथ टेबलमा हल्लीन थाल्यो । मैले वोल्न नपाउदै उताबाट कियानाले भनी–आज ठूलो हिमपात भइ रहेछ है, त्यसैले तिमिलाई काममा जान मैले राइड दिन्छु तयार भएर वस्नु । मैले गाडी नचलाउने कुरा मेरो स्टोर सामु काम गर्ने कियानालाई राम्ररी थाहा थियो ।
जनवरीको विहान थियो त्यो । घर हिटरको तापले न्यानो भएको र झ्याल ढोका सबै बन्द भएको कारण वाहिरको मौषमका वारेमा मलाई केही थाहा थिएन । उसलाई ‘हुन्छ’ भनेर कुरा टुङ्ग्याएपछि म खाँदाखाँदै उठेँ र ढोका अलीकति खोलेको मात्र के थिए वाहिरबाट चिसो हावाको मुश्लो मेरो अनुहारमा ठोकियो । अनी वाहिरको दृश्य पनि त्यस्तै थियो । मेरो अपार्टमेन्ट अगाडिको स्यानो जंगल सेताम्मै थियो । सडकहरूमा लगभग आधा फुट जति हिउँ थियो । पार्किङ लटमा राखिएका सबै वाहनहरू हिउँले ढाकिएका थिए । मैले यसो माथि तिर हेरे आकासबाट कपासका ससाना असंख्य भुवाहरू विस्तारै जमिनमा खस्दै गरेको जस्तो देखिन्थ्यो ।
मेरो अपार्टमेन्टबाट हिडेर म काम गर्ने सपिङ मलसम्म पुग्न लगभग आठ देखि दश मिनटसम्म लाग्थ्यो । र हिउँ पर्दा हिड्न पनि खासै अप्ठेरो हुदैन थियो । तर हिउँसँगै चल्ने चिसो सिरेटो निकै डरलाग्दो हुन्थ्यो । निकै वाक्लो कपडाले शरिरलाई ढाके पनि मुखको केही भागलाई सिरेटोले भेटाउथ्यो अनी त्यो खुला भागमा चलेको हावा ठोकिदा लाखौँ सियोले एकै पटक अनुहारमा खोपे जस्तो अनुभव हुन्थ्यो ।
नेपालगंज जस्तो गर्मी ठाउमा जन्मे हुर्केको मलाई सुरु सुरुमा हिउ पर्दा निकै रमाइलो लागेको थियो । तर लगातार हिउँ पर्न थाले पछि भने अली अत्यास लाग्न थाल्यो । विशेष गरी डिसेम्वरको मध्य देखि फेबु्रअरीको अन्त्यसम्म सडकका छेउँमा पञ्छ्याएर राखेको हिउको थुप्रो लगभग दुई तल्ला भवन जत्तिकै उचाइका हुन्छन् । त्यति वेला मुख्य सडक वाहेक अन्यत्र सबै तिर सेतो मात्र देखिन्छ । म जस्तो गर्मी स्थानको मान्छेका लागि सुरु सुरुमा यो जति अनौठो थियो पछि गएर त्यतिनै विरक्त लाग्ने किसिमको भएको थियो । नेपालगंज रहदासम्म जाडो यामलाई पर्खेर वस्ने म यहाँ आएपछि भने गर्मीको प्रतिक्षा गर्ने भएको छु ।
कियाना भनेकै समयमा आइ । उसलाई निकै गम्भिर देखे मैले । सधै मुस्कुराएर निकै आत्मियताकासाथ कुरा गर्ने उसले त्यति वेला ‘हेल्लो’ मात्र भनेर चुप लागी । मैले अगाडिको सिटमा वसेर ढोका लगाउनासाथ उसले कार हुँइक्याइ । तर मलाई थाहा थियो उसलाई मसँग केही कुरा गर्नु थियो । र त्यो विषय पक्कै पनि उसको व्यायफ्रेण्डको वारेमा हुने मैले अनुमान लगाइ सकेको थिए । आफ्नो ब्वायफ्रेन्डसँग चित्त नवुझेको कुरा उ प्राय मसँग भन्न आउथी । आखिर कार्य स्थलमा उसको नजिकको छिमेकी म नै त थिए ।
उसको स्वभाव कहिले गम्भिर त कहिले निकै चञ्चल देख्दै आएको मैले पछि थाहा पाएको थिए उ आफ्नो वाइफ्रेण्डसँगको सम्बन्धलाई लिएर निकै गम्भिर थिइ । विहेपछि आफूलाई यहीँ (लाइमा मैँ) वस्न मन लागे पनि वायफ्रेण्डको खुसीका लागि उसको सहर जाने उसले वताएकी थिइ । ‘आइ विल मिस यू !’ उसले त्यसपछि मुस्कुराउदै भनेकी थिइ ।
मैले धेरै वेर कुनै परेन । उसले गाडी मुख्य सडकमा ल्याउनासाथ भनी–हाम्रो हिजो झगडा भयो नी ।
मैले किन भनेर सोध्न नपाउदै उसले अगाडि भनी–हेर न, मेरो कार एक छिनलाई भनेर मागेको मान्छे चार दिनसम्म गायब ! पछि सोध्दा त उ साथीहरूसँग आउटिङमा गाको रे ! मलाई कार लग्यो भनेर नराम्रो लागेकोे होइन । हामीले सँगै समय नविताएको लगभग दुई महिना भइ सक्यो मैले साउथ तिर कतै जाँउ न भने तर मतलब छैन । आफ्ना साथीहरूलाई टाइम दिन सक्ने तर मलाई दिन नसक्ने । यस विचमा थाहा छ उ आफ्ना साथीहरूसँग चार–पाँच पटक वाहिर घुम्न गइ सकेको छ ।
हुन पनि कियाना जति आफ्नो समबन्ध प्रति उत्साहित थिइ उसको व्वायफ्रेन्ड त्यतिकै उदासिन जस्तो लागेको थियो मलाई । कहिले काही मलमा आउदा कियानाले उसको गाला सुम्सुम्याउथी, कपडा विशेषगरी कलर मिलाई दिन्थी । तर उ भने अली उदासिन नै हुन्थ्यो । कियानाको त्यसो गर्दा उसको अनुहार भावहीन हुन्थ्योे । सम्भवतः उ आफ्नो प्रेमलाई सार्वजनिक रुपमा व्यक्त गर्न त्यति रुचाउदैन थियो । मलाई त्यस्तै लागेको थियो । एक पटक कियानाले उसलाई मेरै सामुन्य भनेकी थिइ–सुन्यौ, नेपालमा त वसाइ यहाँभन्दा निकै सस्तो पर्छ रे नी ! हामी आफ्नो हनीमून मनाउन त्यतै जाउला है । मैले गुगल गरेर हेरेकी थिए । निकै सुन्दर छ हो नेपाल त ! प्रकृतिले खुला हातले आफ्नोे सुन्दरता लुटाए जस्तै ! कियानाले त्यति भन्दा पनि उसले कुनै प्रतिकृया जनाएको थिएन ।
एक दिन मैले स्टोर भरखरै खोलेको मात्र थिए, कियाना दगुर्दै आइ पुगी अनी वायाँ हात अगाडि सादै भनी–हेर त, यो कस्तो लाग्यो तिमिलाई ! उसको हातमा घडी थियो । ‘राम्रो छ, कति प¥यो ?’ भन्ने मेरो प्रश्नमा उसले ‘चार सय’ भनी ।
त्यो एउटा नामी व्राण्डका घडी थियो । त्यस अघि पनि उसले आफ्नो व्यायफ्रेन्डका लागि थुप्रै उपहारहरू किनी दिएकी थिइ । तर उसले एक पटक पनि आफूले उपहार नपाएको वताउथी ।
‘तिमिलाई थाहा छ, मलाई उसको मन नपर्ने वानी के हो ?’ उसले एक पटक भनी–उ रिसाएको हो वा खुसी भएको हो, वा सामान्य अवस्थामा हो केही थाहा हुदैन । उसले आफ्ना् प्रतिकृया देखाउदैन । उसले अगाडि भनी–मैले केही गल्ती गर्दा पनि उसको अनुहारको भावमा कुनै परिवर्तन हुदैन । उ मसँग रिसाएको त हुन्छ तर त्यो देखिदैन । त्यस्तै मैले राम्रो गर्दा पनि केही भन्दैन नत उसको अनुहारमा खुसीको भाव नै प्रकट हुन्छ ।
वेला वेलामा उसले आफ्ना घरमा भएका सुगा, छेपारो, विरालोका वारेमा वताउने गर्थी । आफ्नो व्यावफ्रेन्डको घरबाट छेपारो ल्याएको उसले मलाई बताएकी थिइ र देखाएकी पनि थिइ । त्यो एउटा ठूलो छेपारो थियो । उसले मेरै सामु त्यसलाई मायाँले सुमसुम्याउदै आफ्नो काँधमा राखेकी थिइ ।
त्यस दिन उसले आफूले छेपारो दुई चार दिनका लागि भनेर ल्याए पनि धेरै दिन राखेकोले आफ्नो व्यायफ्रेन्ड रिसाएको हुनसक्ने लख काटेकी थिइ ।
‘तर थाहा छ उसले यस वारेमा मलाई केही भनेको छैन ।’ उसले अगाडि भनी–अनी उसले नमाग्दा सम्म म पनि दिनेवाला पनि होइन ।
उसले आफूले पालेका पशु पंक्षीका वारेमा जानकारी पनि राख्दथी । एक पटक मैले छेपारो त्यति मन पर्ने भए आफूकहाँ भएको छेपारोलाई जोडी खोजेर वच्चा राखे भइ हाल्छ नी भन्दा उसले कुनै कुनै छेपाराको संसर्गपछि तत्काल मृत्यु हुने वताएकी थिइ ।
त्यस दिन पनि उ छेपाराको वारेमा कुरा गर्दा गर्दै अचानक भनी–थाहा छ, छेपाराले आफ्नो रङ्ग फेर्नुमा पनि अर्थ हुदो रहेछ नी ! उनीहरू रिसाएको बेलामा अर्कै रङ्ग फेर्छन भने खुसी हुदा अर्कै रङ्ग । अनी डराएको वेला वेग्लै रङ्गमा देखा पर्छन् भने भोकाएको वेला वेग्लै रङ्ग देखाउछन् ।
यती भनेर उ केही क्षण चुप लागि अनी एक्कासी भनी–मेरो ब्वायफ्रेन्डले पनि आफ्नो भावना अनुसार रङ्ग फेर्ने गरे त मलाई सजिलो हुने थियो नी हगी । कमसेकम उ रिसाएको हो अथवा खुसी भएको हो त्यो त थाहा पाउने थिए मैले !
(स्रोत : सदृश्य डट कम)