कविता : धान फलेन

~एम.एल. ओली~

धानको बालो झुलेन खेत पपट्टो रिसियो
पेटारीभित्र मुसाको साथ बाँदर मिसियो
झाङ्गियो बोट फलेन नोट ढल्कियो आलीमा
कसौडी घोप्टो परेर रोयो भातको थालीमा ।

नगोडी बोट चलायो ओठ जिब्रोले चुसेन
निस्केर जरा बाहिर आयो माटोमा घुसेन
आएन पानी सुकेर मुल हानेको चोटले
फलेन धान दिएन मल गाईको गोठले ।

आशमा बसे गोठमा बाछा बगाई पसिना
पाकेर ठिक्क भएको खेत्मा बर्सियो असिना
बारीको पानी चुसेर खायो धानको बोराले
सिजन गयो देखेन धान धर्तीको छोराले ।

बारीको झाङ पोटिलो थियो अनाज आएन
तर्कायो कुलो आफैले पानी असार गाएन
झिँगाको जुठो दुर्गन्धी भोज थिएन पोषण
फलेन धान किराले गर्‍यो जरामा शोषण ।

रोपेको मुठी फलेर मुरी भकारी भरिन्छ
घरका पुत्र खेतमा झरे ककारी टारिन्छ
धानको बालो झुलेको भए हाँस्थ्यो जगत
झाङ्गियो बोट फलेन धान मौलियो फगत ।

जहान बच्चा, पाहुना पाल्ने रूखियो जमिन
खेतको साँधी मिचियो आज बोलेन अमिन
किसान मेरो पर्खियो धेरै आलीमा बसेर
फलेन धान रिसायो हली पाखुरा कसेर ।

रोपियो बिउ नारिए गोरू गनारी खेतमा
बाउसे मेरो थाकेन कैलै अनारी चेतमा
बसेको रीति भुलेर हली डकारी नारियो
फेरियो बिउ फलेन धान भकारी थारियो ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ३१ – June 29, 2016 – २०७३ असार १५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.