~केशरी अम्गाई~
खै कतिखेर
देउताको पहरा दिँदा दिँदै
आफ्नै पहरा दिन बिर्सेका मेरा पुर्खाहरूलाई
तिम्रा अलिखित शास्त्रहरूबाट
कसरी खसालिएछ पिँधमा ?
इतिहासको पदचापमा मेरा बराजुहरूलाई
अपराधी नै किन नहुन्
जबजस्ती गर्दन गिड्न लगाएर
बनायौ जल्लादहरूको वंशज
जल्लादको रूपमा
समाजमा बदनाम बनाएको देख्दा
आगो ओकल्छ मभित्रको स्वाभिमान
र,
थन्क्याइएको मेरो बाजेको तारबार
उजिल्याउँदै फेरि
लगाउँ जस्तो लाग्छ साँध ।
मेरा पुर्खाका हातहरूमा
झाडु थमाएर तिमीले
भत्कायौ आफ्नै चोक र बाटाका
फोहरी ढिस्काहरू
तर
हामीभित्र टुसाउन खोज्ने चेतनाको
प्रत्येक चोटी टाउको निमोठ्यौ ।
हो, म
इतिहासले थमाएको झुटा अभिशप्त आरोप
शिरमा बोकेर
बढार्दै छु सडक र चोकहरू
र, सोच्दै छु–
उठाउन साखको सगरमाथा
र, बनाउन सम्मानको सागर ।
लाग्दै छ यो घडी–
पुग्दैन मात्र सडक बढारेर
बढार्नु पर्छ अब
तिमीभित्रका विकृत चेतहरू ।
आह्वान गर्छु म यही चोकमा उभिएर
ए, समाजका ठेकेदारहरू हो
फेर, तिम्रा समाजशास्त्रका चस्माहरू
र, हेर संस्कृतिलाई आफ्नै ऐनामा
को हुन् अष्टमातृकाहरू ?
त्यही शक्तिपीठको पुजारी मलाई
कसरी ठान्यौ सधै द्यौला ?
अर्थात्
देउताको पहरेदार मात्र
विश्वास छैन मलाई अब
विभेदको रेखा कोर्ने
कुनै देउटा हुन्छ भनेर ।
उपर्युक्त दुवै रचना हामीले प्रगतिशील लेखक सङ्घ जिल्ला समिति काठमाडौँको प्रकाशन “प्रलेस बुलेटिन २०७२” बाट लिएका हौँ)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क १८ – March 30, 2016 )