~बाबुराम आचार्य ‘विकल्प’~
क्रान्ति अनि शान्तिका नारा फलाक्नेहरू
आज भ्रान्तिका नारा फलाक्दै छन् रे
ख्वै किन हो किन आज उनीहरू
शान्तिको नाममा देशकै अस्मिता बेच्दैछन् रे
मैले त सुनेको थिएँ, पढेको थिएँ
क्रान्ति पछिको शान्ति चाहिएको छ रे
परिवर्तनको आभाष देश र जनतालाई गराउन
क्रान्ति अनि शान्तिका भ्रान्तिहरू चिर्नु छ रे
तर खै आज म के सुन्दैछु
क्रान्तिको नाममा सत्तामोहमा लिप्त हुँदैछन् रे
सुनिन्थ्यो सहीदको सपना साकार पारौँ
तर आफ्नै सपना साकार पार्दैछन् रे
सुनिन्छ शान्तिको आडमा सत्ता मोहमा डुबेकाहरूलाई
जनआन्दोलनको उभारले मिल्काई दियो रे
तर खोइ तिनीहरूनै छद्म रूपमा भेष बदलेर
षडयन्त्रको तानाबाना बुन्दैछन् रे !
खबरदार !
जनमुक्तिका नाममा संसारबाटै मुक्त पार्नेहरू
शान्तिको नाममा मुर्दा शान्ति दिनेहरू
अब कति छर्छौ खोक्रा भ्रान्तिका सपनाहरू
छि ! भैगो चाहिंदैन तिम्रो क्रान्ति अनि शान्ति
होशियार ¤ क्रान्ति तिम्रो गला रेटिदैछ
सिधा सोझा शान्तिहरूको अस्मिता बेचिंदैछ
तिमीहरूको नाम बेचेर खान पल्केकाहरू
विदेशीसँग हार गुहार गर्दैछन् रे
त्यसैले क्रान्ति तिमी निडर बन, संसार छिचोल्नु छ
भ्रान्तिहरूको बीचबाट शान्तिलाई मुक्त पार्नु छ
आऊ तिमीहरूको साथ दिन हामी तयार छौँ
नौलो क्रान्ति अनि शान्तिको भ्रान्तिहरू चिर्दै ।
२०६३ श्रावण धनगढी, कैलाली
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २९ – June 11, 2014 – २०७१ जेष्ठ २८ गते, बुधबार)