~गोविन्दप्रसाद आचार्य~
प्रकृतिले शुल्क लिन्न हामीले फेर्ने हावाको
शुल्क तिर्नु परेको छ जिन्दगीका आभाको
प्रकृतिको हावा बेची नलुकाउ नोटहरू
अविवेक फल्छ भने काटिदेउ बोटहरू
बोली जति बोले पनि मिटरमा चढेको छ
मिटरमा चढे पनि पैसा तिर्नु परेको छ
नभाँची त हुँदै हुन्न शुल्क चढ्ने मिटरहरू
कतिञ्जेल राख्ने हामी नोट लुकाउने चलनहरू
एक झोक्का हावाको पनि पैसा तिरेका छौँ
एक इञ्च हिडाइँको पनि पैसा तिरेका छौँ
हर क्षणका कल्पनाले तिर्नु पैसा तिरेका छन्
तन्किएका मनका तन्द्राले पैसा तिरेका छन्
वधशालाका नायकले कसको सेवा गर्ला ?
जवानीको मासु काटी महङ्गोमा बेच्ला
प्रकृतिको स्वच्छ हावा गन्हाउने पारे
वधशालाका नायकले विश्व दुषित पारे
बाँडने भए बाँड नोट नबाँडे त खोस्नै पर्छ
खोस्नलाई नसकेमा आगो पनि झोस्नु पर्छ
प्रकृतिको माटो साझा बेरोकतोक हिड्नु पर्छ
हाम्रो प्राण हाम्रो पैसा तिरीतिरी किन्नु पर्छ
नोट लुकाउने आनिबानी रगत फेर्ने मन छ
सास फेर्दा शुल्क तिर्ने सत्ता फाल्ने मन छ
हावा पानी माटो जोख्ने कसैलाई हक छैन
प्रकृतिका कृति बेच्न कसैलाई हक छैन
प्रभातले रात खेदे जस्तै खेद्नु पर्छ
नोट लुकाउने जमानाको जालो तोड्नु पर्छ
नोट लुकाउन नारी बेच्ने नर्कहरू नास गर
नारीहरू किनबेच गर्ने टाउकाहरू सहज फोर
प्रदुषित हावा चल्यो वधशालाको दोष
स्वच्छ हावा स्वच्छ पानी सङ्घर्षले खोस
हावासँग रोग छरी सारा जीवन मारे
मान्छे मारा रोग किन्न पैसा तिर्ने पारे
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १९ – March 26, 2014 – २०७० चैत्र १२ गते, बुधबार)