समालोचना : कविता सिद्धान्त र नेपाली कविताको इतिहास

~डा.लक्ष्मणप्रसाद गौतम~

इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि साँचो कुरा गर्नुपर्दा समग्र नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा लेखिएबाहेक विधागत इतिहास लेखनका दृष्टिले भने नेपाली साहित्य निकै पछाडि छ । विश्वविद्यालयस्तरीय पाठ्यप्रयोजनका लागि पाठ्य वा सन्दर्भपुस्तकका रूपमा लेखिएका विविधतामय र अन्योलग्रस्त सामग्रीबाहेक विधागत इतिहासको कुनै ठोस, वैज्ञानिक, वस्तुगत र व्यवस्थित अध्ययन–लेखन नभइरहेको सन्दर्भमा डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास नामक ग्रन्थ एउटा आधिकारिक र मानक ग्रन्थका रूपमा आएको छ । यस ग्रन्थले एकातिर कविता विधाका समग्र सैद्धान्तिक पक्षको गहन विश्लेषण गरेको छ भने अर्कातिर कविताविधाको विधागत साहित्यिक इतिहास लेखनका क्षेत्रमा पहिलो र सशक्त फड्को मारेको छ ।

पृष्ठभूमि र विषयप्रवेश

नेपाली समालोचना, भाषविज्ञान, कोशविज्ञान, शोधविधिलगायतका विभिन्न क्षेत्रमा कलम चलाएर ५ दर्जनभन्दा बढी ग्रन्थहरू लेखिसकेका डा.खगेन्द्रप्रसाद लुइटेल वस्तुवादी समालोचक हुन् । कविताको संरचनात्मक विश्लेषण शीर्षकमा विद्यावारिधि गरेका संरचनावादी समालोचनाका प्रवर्तक–उन्नायक डा. लुइटेलको सद्यः प्रकाशित कृति हो— कविता सिद्धान्त र नेपाली कविताको इतिहास । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित यो कृति विधागत साहित्यिक इतिहास लेखनका क्षेत्रमा नेपाली कविताको एउटा ऐतिहासिक दस्ताबेज हो र नेपाली काव्यिक इतिहासमा केन्द्रित अहिलेसम्मको प्रामाणिक र मानक ग्रन्थसमेत हो ।

नेपाली साहित्यमा विधागत इतिहासको निर्माण त भएको छ, तर त्यसको व्यवस्थित अध्ययन–विश्लेषण भने अत्यन्त कम भएको देखिन्छ र एउटाएउटा विधाको सम्पूर्ण पुस्तकको अभावप्रायः नै छ । यस्तो परिस्थितिमा नेपाली साहित्यका सचेत पाठक र साहित्यका सम्पूर्ण अध्येताहरूका लागि डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थले ठूलो अभावको पूर्ति गरेको छ । जुनसुकै भाषाको साहित्यमा पनि कविता नै सबैभन्दा समृद्ध र विकसित विधा हो । नेपाली साहित्यमा पनि कविता विधा नै समृद्ध र विकसित छ । यति हुँदाहुँदै पनि नेपाली कविताका बारेमा सिद्धान्तदेखि विकासक्रमसम्मको समग्र, अद्यावधिक र व्यवस्थित अध्ययन भएका ग्रन्थको नितान्त अभाव भइरहेका सन्दर्भमा डा.लुइटेलको प्रस्तुत कृति एउटा महत्वपूर्ण आधार ग्रन्थका रूपमा रहेको छ ।

ग्रन्थभित्रका उपकरणहरू

डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास शीर्षकको प्रस्तुत कृति मुख्यतः कविताका दुई पक्षमा केन्द्रित देखिन्छ र शीर्षकबाट पनि यो कुरा स्पष्ट हुन्छ । यस ग्रन्थको पहिलो खण्ड वा सिद्धान्त खण्ड मात्र पनि सिङ्गो ग्रन्थ हुनसक्छ । यस खण्डमा वस्तुगत ढङ्गले कविताको सैद्धान्तिक चिनारी दिइएको छ । यसक्रममा कविताको परिभाषा, वर्गीकरण, संरचना र संरचक घटकहरूका बारेमा व्यापक विश्लेषण गरिएको छ । कृतिको कविता सिद्धान्त खण्डलाई कविताको परिभाषा, कविताको परम्परित वर्गीकरण, कविताको आधुनिक वर्गीकरण, कविताको संरचनाको पहिचान र कविताका संरचक घटकहरू गरी पा“चवटा मूल शीर्षकहरूमा वर्गीकरण गरिएको छ ।

कविताको परिभाषा शीर्षकभित्रका पा“चवटा उपशीर्षकहरूमा कविताको परिचय र संस्कृत साहित्य, पश्चिमी साहित्य एवं नेपाली साहित्यका प्रमुख कवितासम्बन्धी परिभाषाको उल्लेख गर्दै निष्कर्षसमेत प्रस्तुत गरिएको छ । पूर्वीय–पाश्चात्य कवितासम्बन्धी परिभाषामा पनि पूर्ववर्ती अध्ययन–विश्लेषणभन्दा भिन्न रूपमा प्रतिनिधि परिभाषाहरूको चयन गरी व्यवस्थित रूपमा सङ्गठित गरिएको छ र ती परिभाषाहरूको संस्कृत एवं अङ्ग्रेजीको मूलपाठ पनि समावेश गरिएको छ । जसले गर्दा पाठकलाई तिनको तुलनात्मक अध्ययन गर्न सजिलो हुने देखिन्छ । नेपालीका प्रमुख कवितापरिभाषाहरूको उल्लेख गरी निष्कर्षमा आफ्नै किसिमले कवितालाई परिभाषित गरेर चारवटा बु“दाहरूमा आबद्ध गरी ती बुँदाहरूको व्याख्याद्वारा त्यसलाई पुष्टि गरिएको छ ।

कविताको परम्परित वर्गीकरण मूलशीर्षकभित्रका तीनवटा उपशीर्षकहरूमा पूर्वीय र पश्चिमी साहित्यका कवितसम्बन्धी वर्गीकरणलाई व्यापक रूपमा प्रस्तुत गरी निष्कर्ष दिइएको छ । कविताको आधुनिक वर्गीकरणमा भने मुख्यतः कविताका प्रगीतात्मक, आख्यानात्मक र नाटकीय संरचनाका आधारमा प्रगीतात्मक कविता, आख्यानात्मक कविता र नाटकीय कविता गरी तीन किसिमले वर्गीकरण गरेर तिनका विभेदक अभिलक्षणहरूलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै कविताको संरचनाको पहिचान शीर्षकभित्रका उपशीर्षकहरूमा संरचना र कविता संरचनाको परिचय प्रस्तुत गरी संरचनात्मक विन्यासक्रमलाई प्रस्तुत गरिएको छ । कविताको विन्यासक्रमको नया“ अवधारणा यस कृतिको विशेष उल्लेखनीय पक्ष हो ।

कविताका संरचक घटकहरू शीर्षकभित्रका विभिन्न उपशीर्षकहरूमा कविताका लघुसंरचक घटक वा तत्वहरूको उल्लेख गरेर तिनको व्याख्यासमेत गरिएको छ । कविताका संरचक तत्व वा घटकहरूका बारेमा विविधताका कारण सचेत पाठकहरूसमेत अलमलिने गरेका सन्दर्भमा कविताका वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैलीय विन्यास गरी छवटा मूल संरचक घटक मानेर तीअन्तर्गतका विविध तत्वहरूकोे व्याख्या गरिएको छ । कविताको सैद्धान्तिक निरूपणका दृष्टिले मानक, व्यवस्थित, समग्र र वस्तुगत किसिमको अध्ययन–विश्लेषण यस ग्रन्थमा मात्र पाइन्छ भन्नु अत्युक्ति हु“दैन ।

नेपाली कविताको इतिहासलाई यस ग्रन्थको दोस्रोे खण्डका रूपमा लिन सकिन्छ । नेपाली साहित्यमा कालविभाजनका प्रयासहरू, नेपालीकविताको प्राथमिक काल, नेपाली कविताको माध्यमिक काल, नेपाली कविताको आधुनिक काल र नेपालबाहिर नेपाली कविताको परिदृश्यजस्ता मूलशीर्षक, तीभित्रका विभिन्न उपशीर्षक, सहायक शीर्षक र दुई सय छयानबे पृष्ठको आयाममा विस्तारित यो दोस्रो खण्ड नै कृतिको महत्वपूर्ण र खोजमूलक पाटो हो । यस खण्डको पहिलो शीर्षक नेपाली साहित्यमा कालविभाजनका प्रयासहरूमा विभिन्न विद्वान्हरूद्वारा गरिएका कालविभाजनका प्रयासहरूको उल्लेख गर्दै तिनका केन्द्रीयतामा नेपाली कवितामा देखापरेका कालविभाजनसम्बन्धी मतमतान्तरहरूको तर्कयुक्त खण्डन–मण्डन गर्दै निर्णयात्मक ढङ्गले सर्वमान्य निष्कर्ष प्रस्तुत गरिएको छ । त्यसपछिका विभिन्न शीर्षक र उपशीर्षक-सहायक शीर्षकहरूमा नेपाली कविताको विकासक्रमलाई व्यापक रूपमा अध्ययन–विश्लेषण गरिएको छ र कविताको अद्यावधिक इतिहास निर्माणको विशिष्ट बाटो र पाटाको निर्माण गरिएको छ ।

ग्रन्थको विशेषता र महत्व

कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थको मुख्य विशेषता भनेको नै स्पष्ट सैद्धान्तिक निरूपण र व्यापक ऐतिहासिक सर्वेक्षण हो । नेपाली कविताको यही ऐतिहासिक सर्वेक्षण, विश्लेषण र मूल्याङ्कन नै यस ग्रन्थको विशेष प्राप्ति पनि हो । नेपाली कविताको प्राथमिक कालदेखि आधुनिक कालको समसामयिक धारासम्मका कविप्रतिभा र प्रवृत्तिको प्रभावपूर्ण निरूपण यस ग्रन्थमा भएको छ । तीनवटै कालका प्रमुख धारा, उपधारा र तिनका प्रवृत्तिगत विशेषताका साथै एउटा मात्र पनि काव्य-कविताकृति प्रकाशित गरेका कविहरूको समेत समाविष्टि यस ग्रन्थको अर्काे गहन कार्य हो । प्राथमिक कालको वीरधारादेखि आधुनिक कालको समसामयिक धारासम्मका एक हजार दुई सयभन्दा बढी कविहरू र तिनका काव्यकृतिहरूलाई एकै ठाउँमा जम्मा गरेर सबै कवि एवं ती सबैका सिर्जना एवं योगदानको कदर गरिएको छ । यीमध्ये पनि नेपाली कविताको प्रत्येक काल र धाराका विशिष्ट, प्रतिनिधिमूलक र विशेष योगदान दिने कविहरूका बारेमा व्याख्यात्मक र विश्लेषणात्मक रूपमा तिनका कवित्वको निरूपणसमेत गरी विशेष चर्चा गरिएको छ । यसरी विस्तृत चर्चा गरिनेहरूमा प्राथमिक कालका बीसजना, माध्यमिक कालका पैंतीसजना र आधुनिक कालका एकसय नौ जना गरी जम्मा एक सय चौसठ्ठीजना कविहरू रहेका छन् । जम्माजम्मी एक हजार दुई सयजनाभन्दा बढी कविहरू र तिनका प्रथम कृतिप्रकाशनको कालक्रमलाई आधार बनाएर उल्लेख गरिएकाले र पहिलो कृति प्रकाशनको स्रोत नभेटाएकालाई अन्य वैकल्पिक विधि अवलम्बन गरेर राखिएकाले कृतिका सबै तहमा नियमबद्धता र एकरूपता पाइन्छ । जसले गर्दा कृतिको सूचनामा कहीं पनि अस्तव्यस्तता पाइँदैन । यसबाट कवि स्वयंले सजिलैस“ग आफ्नो स्थान निर्धारण कहा“नेर भएको रहेछ भन्ने कुरा थाहा पाउ“छ र उसले आफ्नो कवित्वको मूल्यसमेत थाहा पाउँछ ।

नेपाली कवितासम्बन्धी समग्र अध्ययनका लागि नेपालका कविहरूको मात्र चर्चा नगरी नेपालबाहिर पनि नेपाली कविताको राम्रो स्थिति छ भन्ने कुरालाई ग्रन्थकार डा.लुइटेलले यस ग्रन्थमा चर्चा गरेका छन् । नेपालबाहिर नेपाली कविताको परिदृश्य शीर्षकमा एकसयभन्दा बढी प्रवासी नेपाली कवि र तिनका काव्य-कविताकृतिको उल्लेख गरिएको छ ।

यी सबै दृष्टिबाट पनि प्रस्तुत ग्रन्थ अहिलेसम्मको नेपाली कविताका सम्बन्धमा लेखिएको विशिष्ट ग्रन्थ हो र डा.लुइटेलको यस ग्रन्थलाई नेपाली कविताको सम्पूर्ण इतिवृत्त वा नेपाली कविताको इन्साइक्लोपेडिया भन्न सकिन्छ, किनकि यस ग्रन्थमा—

-कविताको समग्र सैद्धान्तिक निरूपण स्पष्ट र वस्तुगत छ ।
-कवितासम्बन्धी पूर्वीयपाश्चात्य र नेपाली मान्यताको व्यवस्थित सङ्गठन, मन्थन र मूल्याङ्कन छ ।
-कतिपय सैद्धान्तिक मान्यताको नवीन व्याख्या छ ।
-नेपाली कविताको विकासक्रमको व्यवस्थित विवेचना छ ।
-अस्पष्ट र अव्याख्येय कुराहरूको स्पष्ट व्याख्या छ ।
-आधुनिकतासम्बन्धी पाश्चात्य अवधारणाको विकास, व्याख्या र तुलना प्रतितुलनाका माध्यमबाट स्पष्ट पारिएको छ ।
-आधुनिकतासम्बन्धी नेपाली अवधारणाको व्याख्या, यससम्बन्धी विभिन्न मतमतान्तरहरूको तर्कपूर्ण खण्डन–मण्डनका साथ ठोस निर्णयात्मक सर्वमान्य निष्कर्ष प्रस्तुत गरी आधुनिकताका मूल अभिलक्षणहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
-नेपाली कविताका तीनवटै कालखण्ड र ती कालखण्डअन्तर्गतका धारा–उपधाराहरूको विश्लेषणका साथै ती धाराभित्र रहेर लेख्ने सम्पूर्ण कविहरूको नाम र तिनका कृतिको उल्लेख छ ।
-प्रत्येक धाराका प्रतिनिधिमूलक र विशिष्ट योगदान दिने कवि, तिनका कृति र प्रवृत्तिको समेत व्याख्या छ ।
-प्रत्येक धाराहरूको पृष्ठभूमिगत सन्दर्भ प्रस्तुत गरी नेपाली कविताका सन्दर्भमा व्याख्या गरिएको छ ।
-समसामयिकता र आधुनिकताका बीचको भिन्नता देखाई समसामयिकताको नवीन व्याख्यासमेत गरिएको छ ।
-ग्रन्थलाई सकेसम्म सर्वाङ्ग र पूर्ण बनाउने प्रयास छ ।

उपर्युक्त बुँदाहरूका आधारमा कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थ नेपाली कविताका सम्बन्धमा लेखिएको अहिलेसम्मको सम्पूर्ण पुस्तक हो ।

ग्रन्थ निर्माणपद्धति र इतिहासलेखनको फड्को

डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास शीर्षकको प्रस्तुत ग्रन्थमा कवितासम्बन्धी सामान्य सूचनादेखि लिएर विस्तृत व्याख्या–विश्लेषणसम्मका कुराहरू रहेका छन् । कविता विधामाथि मात्र केन्द्रित भएर सम्पूर्ण सूचनाहरू सङ्कलन गरी झन्डै पाँच सय पृष्ठको बृहद् ग्रन्थ तयार गर्नु कष्टसाध्य काम हो । यो ग्रन्थ निर्माणमा विशेषतः आवश्यकताअनुरूप सबै किसिमका अनुसन्धान विधिहरू अवलम्बन गरिएको छ तापनि विवरणात्मक, व्याख्या–विश्लेषणात्मक, संरचनात्मक, ऐतिहासिक आदि अनुसन्धानपद्धतिहरूको बढी प्रयोग गरेर ग्रन्थलाई वैज्ञानिक बनाइएकाले यस ग्रन्थमा वैज्ञानिक अनुसन्धानपद्धतिका विशेषताहरू प्राप्त गर्न सकिन्छ ।

ग्रन्थभित्रका विषयवस्तुको व्याख्या, स्पष्टीकरण, निरूपण आदिका क्रममा पनि भाषिक जन्जालद्वारा प्रस्तुतिलाई जेलेर जबर्जस्ती ग्रन्थलाई गरुङ्गो बनाउने प्रवृत्तिबाट ग्रन्थकार डा.लुइटेल पूर्णतया मुक्त छन् । त्यसैले ग्रन्थलाई शब्दाडम्बर र भाषिक सञ्जालले गरुङ्गो नबनाई विषयवस्तुको ठोस, वस्तुगत, स्पष्ट र तर्कपूर्ण प्रस्तुतिले ग्रन्थ आफै गरुङ्गो, महत्वपूर्ण र गरिमायुक्त बनेको छ । अस्पष्ट, सन्दिग्ध, द्वयर्थक र घुमाउरो किसिमका भाषिक प्रयोगबाट टाढा रहेको यो ग्रन्थ नेपाली कविताको इतिहासलेखनको एउटा महत्वपूर्ण र विशिष्ट फड्को हो । यस ग्रन्थमा कविका प्रवृत्ति र कृतिका सन्दर्भको चर्चाका क्रममा प्रतिनिधिमूलक सर्वेक्षण पद्धतिलाई अवलम्बन गरिए पनि नेपाली कविताको समग्र ऐतिहासिक विवरण र हालसम्मको समग्र सर्वेक्षणसमेत गरिएकाले यस ग्रन्थले नेपाली कविताका बारेमा आधिकारिक र प्रामाणिक ढङ्गले समग्र सूचना प्रदान गर्दछ भने विश्लेषण र मूूल्याङ्कनले नेपाली कवि र कविताको स्थिति, प्रवृत्ति र दिशानिर्धारणसमेत गर्दछ । यस अर्थमा पनि यो ग्रन्थ यससम्बन्धी पूर्वाध्ययनका सापेक्षतामा एउटा ठूलो फड्को हो ।

निष्कर्ष

प्रखर समालोचक डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थ एकातिर भएका सामग्रीहरूको कुशल व्यवस्थापनयुक्त सङ्गठन पनि हो भने अर्कातिर मौलिक र नवीन सिद्धान्तको प्रतिपादन, व्याख्या र विश्लेषण पनि हो । कविता सिद्धान्त र नेपाली कविताको अर्थ–इतिहास थाहा पाउनका लागि एउटा आधारग्रन्थ र गुरुग्रन्थका रूपमा पनि यो कृति मूल्याङ्कित हुन्छ । साहित्यका सामान्य विद्यार्थीदेखि अन्य पाठक, प्राध्यापक र अनुन्धानकर्ताहरूका लागिसमेत सयौं ग्रन्थ पल्टाउनु पर्ने झन्झटबाट यस ग्रन्थले मुक्ति दिन्छ र सबैका लागि यो ग्रन्थ अत्यन्त सङ्ग्रहणीय र पठनीय देखिन्छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा कविता सिद्धान्त र नेपाली कविताको इतिहासका बारेमा लेखिएको एउटा तयारी ग्रन्थका रूपमा यसलाई लिनसकिन्छ ।

(स्रोत : गोक्योन्युज डट कम)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.