~इन्दिरा घिमिरे~
त्रिभुवन विश्वविद्यलय मानविकी तथा सामाजिक शास्त्र
सङ्काय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस
नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह
द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत
शोधपत्र
शोधार्थी
इन्दिरा घिमिरे
२०७४
शोध निर्देशकको सिफारिस
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समितिकी छात्रा इन्दिरा घिमिरेले स्नातकोत्तर तह दोस्रो वर्षको दसौँ पत्रको प्रयोजनका लागि तयार पार्नु भएको ‘उत्सर्ग महाकाव्यको विधापरक अध्ययन’शीर्षकको यो शोधपत्र मेरा निर्देशनमा तयार पर्नु भएको हो । उहाँले निकै परिश्रम र लगनशीलतापूर्वक तयार पार्नुभएको यस शोधकार्यबाट म सन्तुष्ट छु । अतः यस शोधपत्रलाई मूल्याङ्कानार्थ नेपाली शिक्षण समितिसमक्ष सिफारिस गर्दछु ।
मिति : …………………. …………………….
उप. प्रा. विदुला घिमिरे
शोधनिर्देशक
रत्न राज्यलक्ष्मी क्याम्पस
प्रदर्शनीमार्ग, काठमाडौं
स्वीकृतिपत्र
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसकी छात्रा इन्दिरा घिमिरेले नेपाली बिभाग स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनका लागि प्रस्तुत गर्नुभएको ‘उत्सर्ग महाकाव्यको विधापरक अध्ययन’शीर्षकको यो शोधपत्र स्वीकृत गरिएको छ ।
………………….. ……………………… ……………………….
उपप्रा.विदुला घिमिरे प्रा.डा. माधव प्रसाद पोखरेल डा.यज्ञेश्वर निरौला
(बाह्य परीक्षक)
मिति : ………………………..
कृतज्ञता ज्ञापन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत नेपाली विषयको स्नातकोत्तर तह द्वितिय वर्षको दसौं पत्रको प्रयोजनका लागि मैले ‘उत्सर्ग महाकाव्यको विधापरक अध्ययन’शीर्षकको यो शोधपत्र तयार पारेकी हुँ । यस शोधपत्र तयार पार्न आफ्नो अमूल्य समय र सुझाव दिई मलाई निर्देशनगर्नु हुने श्रद्धेय गुरूआमा उप. प्रा. विदुला घिमिरेप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु । मेरो शोध शीर्षकलाई स्वीकृत गरी शोधकार्यमा विविध ढङ्गले सहयोग गर्ने नेपाली विभागका प्रमुख गुरू उप. प्रा. डा. यज्ञश्वर निरौलाप्रति पनि आभारी छु । यस्तै उत्सर्ग महाकाव्यका महाकाव्यकार विष्णु भण्डारीबाट पाएका अमूल्य सुझाव र सहयोगका लागि म सँधै आभारी छु ।
प्रस्तुत शोधपत्र तयार पार्दा आवश्यक सामग्री उपलब्ध गराइदिने रत्न राज्यलक्ष्मी क्याम्पसको पुस्तकालय प्रति हार्दिक आभार प्रकट गर्दछु । यसरी नै आर्थिक र व्यवहारिक समस्यासँग सङ्घर्ष गर्दै आफ्नो अमूल्य श्रम र पसिना खर्चेर मेरो अध्ययनलाई यस अवस्थामा ल्याइपु¥याउने पूज्य पिता केशवराज घिमिरे र माता पार्वती घिमिरेप्रति म आजीवन ऋणी छु । आफ्नो व्यवहारिक बोझसँगै अप्ठ्यारो परिस्थितिमा पनि मलाई सहयोग गर्नुहुने आदरणीय ससुरा बुबा खड्ग प्रसाद ढुङ्गेल र आमा राधिका ढुङ्गेलप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्दछु । त्यसै गरी प्रस्तुत शोधकार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने साथी मीना नेपाली, कोकिला विष्ट, भाइ मनोज र बहिनी मन्दिरामा पनि आभार व्यत्त mगर्दछु । हरसमय दुख गरी मेरो पढाइलाई अगाडि बढाउन प्रेरणा प्रदान गरी साथ दिनु हुने श्रीमान कञ्चन ढुङ्गेलप्रति कृतज्ञ छु । साथै यथाशक्य समयमै शुद्धसँग टङ्कण गरिदिने दिदी पवित्रा पोखरेलप्रति पनि आभार प्रकट गर्दछु ।
अन्त्यमा प्रस्तुत उत्सर्ग महाकाव्यको विधापरक अध्ययन शीकर्षकको यो शोधपत्र आवश्यक मूल्याङ्कनका लागि सम्बन्धित निकायमा प्रस्तुत गर्दछु ।
शोधार्थी
इन्दिरा घिमिरे
क्याम्पस रोल नं. : १५
परीक्षा रोल नं. : ४०००४९/२०७१
त्रि.वि.दर्ता नं. ९–२–४०९–६८–२००९
विषय सूची
परिच्छेद एक
शोधपरिचय
१.१ विषय परिचय १
१.२ समस्या कथन १
१.३ शोधको उद्देश्य २
१.४ पूर्वकार्यको समीक्षा २
१.५ अध्ययनको औचित्य र महत्व ४
१.६ अध्ययनको सीमाङ्कन ४
१.७ शोधविधि ४
१.८ शोधपत्रको रूपरेखा ५
परिच्छेद दुई
महाकाव्यको सैद्धान्तिक स्वरूप र नेपाली महाकाव्यको विकासक्रम
२.१ कविताका विविध रूप र आयाम ६
२.१.१ कविताको लघुतम रूप : मुक्तक ७
२.१.२ कविताको लघु रूप : फुटकर कविता ७
२.१.३ कविताको मझौला रूप : खण्डकाव्य÷लामो कविता ७
२.१.४ कविताको बृहत् रूप : महाकाव्य ८
२.२ कविता र महाकाव्यबिचको सीमा ८
२.३ महाकाव्यको परिचय ९
२.४ पूर्वीय साहित्य चिन्तनका सापेक्षतामा महाकाव्यको परिभाषा १०
२.५ पाश्चात्य साहित्य चिन्तनका सापेक्षतामा महाकाव्यको परिभाषा १२
२.६ महाकाव्य सम्बन्धी अन्य धारणाहरू १४
२.७ महाकाव्य सम्बन्धी पूर्वीय र पाश्चात्य मान्यताको समीक्षा १६
२.८ महाकाव्यको स्वरूप १७
२.९ महाकाव्यका तत्व १७
२.९.१ पूर्वीय धारणाअनुसार महाकाव्यका तत्व १७
२.९.२ पाश्चात्य धारणाअनुसार महाकाव्यका तत्व १८
२.९.३ पूर्वीय र पाश्चात्य मान्यताको सापेक्षतामा महाकाव्यका तत्व १८
२.१० महाकाव्यको वर्गीकरण १८
२.१०.१ विषय वस्तुका आधारमा महाकाव्य १८
२.१०.१.१ ऐतिहासिक महाकाव्य १९
२.१०.१.२ सामाजिक महाकाव्य १९
२.१०.१.३ दार्शनिक वा वैचारिक महाकाव्य १९
२.१०.१.४ पौराणिक महाकाव्य १९
२.१०.१.५ प्रकृतिमूलक महाकाव्य २०
२.१०.२ कथानकका आधारमा २०
२.१०.२.१ चरित्र प्रधान महाकाव्य २०
२.१०.२.२ घटना प्रधान महाकाव्य २०
२.१०.३ शैलीका आधारमा महाकाव्यका प्रकार २०
२.१०.३.१ कविप्रौेढोक्ति २१
२.१०.३.२ कविनिबद्धवक्तृप्रौढोक्ति २१
२.१०.३.३ मिश्रित २१
२.१०.४ विचार वा प्रवृत्तिक आधारमा २१
२.१०.४.१ स्वच्छन्दतावादी महाकाव्य २१
२.१०.४.२ परिष्कारवादी महाकाव्य २२
२.१०.४.३ प्रगतिवादी महाकाव्य २२
२.१०.४.४ प्रयोगवादी महाकाव्य २२
२.११ महाकाव्यको विकासको पूर्वीय र पाश्चात्य सन्दर्भ २३
२.१२ नेपाली महाकाव्यको विकास प्रक्रिया २५
२.१२.१ पृष्ठभूमि काल (२००१ भन्दापूर्व) २७
२.१२.२ उत्कर्ष काल (वि.सं. २००२ – वि.सं. २०१६ सम्म) २८
२.१२.३ निरन्तर काल (वि.सं. २०१६ पछि) २८
२.१३ निष्कर्ष ३०
परिच्छेद तीन
कवि विष्णु भण्डारीको साहित्यिक परिचय र प्रवृत्ति
३.१ पृष्ठभूमि ३३
३.२ साहित्यिक सिर्जनाको प्रभाव र प्रेरणा ३३
३.३ साहित्यिक रचनाको प्रारम्भ र प्रथम प्रकाशित रचना ३४
३.४ प्रकाशित पुस्तककार कृतिको विवरण ३४
३.५ विष्णु भण्डारीका साहित्यिक प्रवृत्तिहरू ३५
३.५.१ प्रगतिवादी विचार ३५
३.५.२ विद्रोह चेत ३५
३.५.३ माक्र्सवादी चिन्तन ३६
३.५.४ सामाजिक कुरितीप्रति प्रतिकार ३६
३.५.५ समाजको यथार्थ चित्रण ३६
३.५.६ राष्ट्रप्रेम ३७
३.५.७ सामन्ती राज्य व्यवस्थाप्रति खरो रूप देखिनु ३७
३.५.८ जनवादी कवि ३७
३.५.९ सरल भाषाशैली ३७
३.५.१० बिम्बप्रतीक अलङ्कार ३८
३.६ निष्कर्ष ३८
परिच्छेद चार
विधा तत्वका आधारमा उत्सर्ग महाकाव्यको विश्लेषण
४.१ विषय प्रवेश ३९
४.२ महाकाव्यगत तत्वहरूको विधान ३९
४.२.१ संरचना विधान ३९
४.२.२ कथानक ४०
४.२.३ पात्र विधान ४६
४.२.३.१ प्रमुख पात्र ४७
४.२.३.२ सहायक पात्र ४९
४.२.३.३ गौण पात्रहरू ५०
४.२.४ परिवेश ५०
४.२.५ भाषाशैली ५३
४.२.६ उक्ति ढाँचा ५५
४.२.७ लयविधान ५६
४.२.८ अलङ्कार विधान ५७
४.२.९ उद्देश्य ५८
४.२.१० विष्णु भण्डारीका काव्यगत योगदान ५८
४.३ निष्कर्ष ६१
परिच्छेद पाँच
उपसंहार तथा निष्कर्ष
५.१ परिच्छेदगत उपसंहार ६३
५.२ निष्कर्ष ६४
सन्दर्भ सूची
परिच्छेद एक
शोध परिचय
१.१ विषय परिचय
आधुनिक नेपाली साहित्यका उज्वल नक्षत्र कवि विष्णु भण्डारीद्वारा लिखित उत्सर्ग महाकाव्य वि.सं. २०६७ सालमा प्रकाशित प्रगतिवादी महाकाव्य हो । विद्रोहको छाल (खण्डकाव्य) २०४३ बाट आफ्नो लेखनलाई अगाडि बढाउने कवि भण्डारीले आँधी तुफान (मुक्तक सङ्ग्रह) २०४४, ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य) २०४५, कालोनाटक (लघुकाव्य) २०४५ आदि समेत प्रकाशन गरेका छन् ।
बाल्यकालदेखि नै साहित्यमा झुकाव राख्दै साहित्यिक सिर्जना गर्दै आएका कवि भण्डारी खण्डकाव्यको साधनापछि महाकाव्य प्रकाशन गर्ने हिम्मत गरेका हुन् । यसैको फलस्वरूप २०६७ साल जेठमा उत्सर्ग नामक यस महाकाव्य प्रकाशन गरेका हुन् । यसमा दशवर्षे माओवादी जनयुद्धको महागाथा वि.सं. २०५२ सालदेखि २०६३ सम्ममा आधारित भएर गाइएको छ । समस्त उत्पीडनबाट मुक्तिका निम्ति सङ्घर्ष र नयाँ मनुष्य समाजको स्थापना गर्ने कुरा मुख्य विषयवस्तु बनाई विद्रोहको कष्टकर यात्राका अनुभूतिहरू पनि सजीव बिम्बाङ्कन गरिएको छ ।
१.२ समस्या कथन
महान् दशवर्षे जनयुद्ध नयाँ यथार्थ सिर्जनाको एउटा महत्वपूर्ण उपहार उत्सर्ग महाकाव्य थुप्रै वर्ग सङ्घर्ष समेटिएको काव्य हो । नेपाली साहित्यको क्षेत्रमा लामो समयदेखि साधनारत भण्डारीका काव्यहरूका सामान्य टिकाटिप्पणी भएपनि यस उत्सर्ग महाकाव्यको विस्तृत अध्ययन गरिएको पाइँदैन । अतः प्रस्तुत शोध समस्यामा केन्द्रित रहेर यो शोधकार्य लेखन गरिएको छ ;
क) कवि विष्णु भण्डारीको साहित्यिक परिचय र प्रवृत्ति के कस्तो छ ?
ख) विधातŒवका आधारमा उत्सर्ग महाकाव्यको विश्लेषण के कसरी गर्न सकिन्छ ?
१.३ शोधको उद्देश्य
कवि विष्णु भण्डारीको उत्सर्ग महाकाव्यको विधापरक अध्ययन अन्तर्गत निम्नलिखित उद्देश्यहरू राखिएका छन् ः
क) कवि विष्णु भण्डारीको साहित्यिक परिचय तथा प्रवृत्ति उल्लेख गर्नु,
ख) विधातŒवका आधारमा उत्सर्ग महाकाव्यको विश्लेषण गर्नु ।
१.४ पूर्वकार्यको समीक्षा
विष्णु भण्डारीको उत्सर्ग महाकाव्य एक उत्कृष्ट र मानवीय जीवनको त्रासद अवस्था एवम् युद्धको पराजय मृत्यु नभइ आत्मबल कम हुनु हो भन्ने सन्देशका साथ प्रगतिशील विचारधाराको ओतप्रोत भएको महाकाव्य हो । विभिन्न समयमा विभिन्न समीक्षकहरूद्वारा वा विद्वानद्वारा यस महाकाव्यका बारेमा अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने प्रयास भएका कारण यस महाकाव्यका टिकाटिप्पणी भएको छ । जसलाई कालक्रमिक रूपमा निम्नानुसार उल्लेख गरिएको छ :
केशव सिलवालले कलम : पूर्णाङ्क : ५४ वैशाख – असार २०६७ र हाम्रो जलजला : पूर्णाङ्क ४७ साउन २०६७ मा नयाँ यथार्थको नयाँ महाकाव्य उत्सर्ग शीर्षकमा विष्णु भण्डारीको लेखनको क्रम उनको सक्रियता एवम् यस महाकाव्यको बारेमा विश्लेषण क्षेत्र, भाषाशैली महाकाव्यको खण्ड उपखण्ड अनुसारको भावलाई समेटिने प्रयास त्यस लेखमा गरिएको छ साथै विषयवस्तु, युद्ध, प्रेम आदिको चर्चा गर्दै पात्रको बारेमा पनि विश्लेषण गरिएको छ ।
बन्दना ढकालले रातो झिल्को पत्रिका २०६७ वैशाख–भदौमा उत्सर्ग जनयुद्धमा आधारित पहिलो महाकाव्य भन्ने शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेकी छन् । उक्त समीक्षामा भण्डारी नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षलाई साहित्यमा प्रतिबिम्बन गर्ने स्रष्टा मध्ये एक भनेकी छन् ।
२०६७ साल जेठ २३ आइतबार अन्नपूर्ण पोष्टमा प्रकाशित सूचना अनुसार उत्सर्ग महाकाव्यको विमोचनलाई प्रस्तुत गर्दै उत्सर्ग विमोचन शीर्षकमा सूचना प्रकाशित गरेको छ ।
२०६७ असार १९ शनिबार वर्ष १ अंक १ मा उत्सर्ग साहित्यिक विधा र सम्भावनाको युग शीर्षकमा सङ्गीत स्रोताले यस कृति सम्बन्धी समीक्षा प्रस्तुत गरिएको छ । यस लेखमा यस महाकाव्य सिर्जना हुनुभन्दा अघिका यथार्थपरक कृतिको सिर्जनाको शिलशिला र यस महाकाव्यको लेखनको स्रोत जनयुद्ध भएको बताइ यस महाकाव्यको महत्व एवम् युद्धको बारेमा चर्चा गरेका छन् ।
२०६७ साउन १५ गते नागरिक पत्रिकामा यस पुस्तकको विज्ञापन प्रकाशन गरेको छ । यस विज्ञापनमा महाकाव्यमा लेखकको प्रस्तुति पुस्तकको पृष्ठ मूल्यलाई प्रस्तुत गरेको छ ।
नेपाल पत्रिकामा २०६७ असोज ३ मा प्रकाशित रमण घिमिरे को समीक्षात्मक लेखमा समाजमा रहेका दुई वर्ग बीचको द्वन्द्व अर्थात प्रगतिशील विचारधारा लिएर सम्भ्रान्त वर्ग र निम्न वर्गबीचको आवाज उठाएको कुरा समेट्न यस महाकाव्यमा कलात्मता, सौन्दर्यबोध, काव्यात्मक शैलीमा दश वर्षे जनयुद्धलाई उद्घाटित गर्ने कार्य भएको कुरा प्रस्तुत गरिएको छ ।
कृष्णप्रसाद भण्डारीले मधुपर्क पत्रिका असोज २०६७ पूर्णाङ्क ४९६ मा यस महाकाव्यको सन्दर्भ एवम् पात्रहरूको व्यवहार तथा यस महाकाव्यले १० वर्षे जनयुद्धको परिणति एवम् आरम्भका गाथा शहिदहरूको बालदानलाई सम्झँदै आमाका रित्ता काख र चेलिका खाली सिउँदोको बलिदानी गाथालाई चर्चा गरेको पाइन्छ ।
२०६७ चैतमा शृङ्खला पत्रिकामा माधव घिमिरे अटलद्वारा लिखित लेखमा उत्सर्ग महाकाव्यको विश्लेषण पुराना महकाव्य सिद्धान्तसँग लगेर गरिएको पाइन्छ । परम्परागत महाकाव्य लेखन र हालको महाकाव्य लेखनको तुलना गर्दै आधुनिक समयको महाकाव्य लेखनमा द्वन्द्व, शिल्प, शैली अथवा परिष्कारलाई मान्यता नदिइ नवीनतालाई प्रस्तुत गरेको पाइन्छ । पात्रहरू बीचको आत्मीयता उत्सर्ग महाकाव्यको शीर्षक सार्थकता एवम् अहिलेको समयमा काव्यको उपादेयतालाई प्रस्तुत गरेका छन् ।
हाम्रो नौलो बिहानी वैशाख २०६८ मा छायादत्त न्यौपाने बगरले उत्सर्ग महाकाव्यको नौलो प्रयोग नयाँ बिम्ब र प्रतीक आदिको प्रयोग भएको एवम् शास्त्रीय छन्दमा नभएपनि आधुनिक समयको उत्कृष्ट महाकाव्यको रूपमा उभ्याइएको छ र महाकाव्य हुने आधारहरू प्रस्तुत गरेका छन् । उनले उत्सर्ग महाकाव्यले महाकाव्यको इतिहासमा नयाँ मोड कायम गर्न सक्ने आधार प्रस्तुत गरेका छन् ।
यसरी अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशनद्वारा २०६७ सालमा प्रकाशित यस उत्सर्ग महाकाव्यको धेरै समीक्षहरू भएका छन् तर उत्सर्ग महाकाव्यको विधापरक अध्ययन हुन सकेको छैन ।
१.५ अध्ययनको औचित्य र महत्व
साहित्यकार विष्णु भण्डारीद्वारा रचित उत्सर्ग महाकाव्य (२०६७) का बारेमा विभिन्न पत्र पत्रिकाहरू र पुस्तकहरूमा प्रसस्त समीक्षा भएपनि कसैले यस महाकाव्यलाई जटिल तथा क्लिष्टताको आरोप लगाएको पाइन्छ भने कतिपयले नेपाली महाकाव्य परम्पराको नयाँ महाकाव्यको रूपमा चिनाएर यसको गरिमामय स्थान सुरक्षित राखेको कुरा स्पष्ट पारेको पाइन्छ । यसै सन्दर्भमा उत्सर्ग महाकाव्यको कृतित्व र व्यक्तित्वको अनुसन्धान प्रसस्त भएता पनि यस महाकाव्यको विधापरक अध्ययन गर्नुपर्ने आवश्यकता खड्किरहेको अवस्थामा यसबाट नवीन ज्ञान प्राप्ति एउटा बेग्लै पद्धति स्थापित हने भएकाले विधापरक अध्ययनको औचित्य स्पष्ट देखिन्छ ।
१.६ अध्ययनको सीमाङ्कन
उत्सर्ग महाकाव्य भण्डारीका थुप्रै कविताहरू खण्डकाव्य लेखनपछिको पहिलो महाकाव्य हो । उत्सर्गमा मात्र केन्द्रित भइ यो शोध कार्य गरिएको छ । यस कृतिको विधापरक अध्ययनका विविध कोणबाट मात्र विवेचना नै यस शोधकार्यको सीमा रहेको छ ।
१.७ शोध विधि
प्रस्तुत उत्सर्ग महाकाव्यको विधापरक अध्ययनका क्रममा अबलम्बन गरिएको सामग्री सङ्कलन विधि र अध्ययन विधिबारे तल उल्लेख छ :
क) सामग्री सङ्कलन विधि
प्रस्तुत शोध कार्यका लागि प्रमुख रूपमा प्रयोग गरिएको प्राथमिक सामग्री कवि विष्णु भण्डारीद्वारा वि.सं. २०६७ सालमा प्रकाशित उत्सर्ग महाकाव्य हो । सामग्री सङ्कलनकै क्रममा अन्तर्वार्ता विधि र पुस्तकालयीय अध्ययन विधिलाई अवलम्बन गरिएको छ ।
ख) विश्लेषण विधि
सङ्कलन सामग्रीहरूलाई विश्लेषणात्मक एवम् वर्णनात्मक विधिद्वारा प्रस्तुत गरी प्रस्तावित शोधकार्य तयार पारिएको छ ।
१.८ शोधपत्रको रूपरेखा
शोधपत्रलाई सङ्गठित र सुव्यवस्थित रूप दिनको लागि निश्चित ढाँचाको आवश्यकता पर्दछ । त्यसैले प्रस्तुत शोध पत्रलाई निम्नानुसारको शीर्षकमा छुट्याइ निश्चित रूपरेखामा ढालिएको छ :
परिच्छेद एक : शोध परिचय
परिच्छेद दुई : महाकाव्यको सैद्धान्तिक स्वरूप र नेपाली महाकाव्यको विकासक्रम
परिच्छेद तीन : कवि विष्णु भण्डारीको साहित्यिक परिचय र प्रवृत्ति
परिच्छेद चार : विधातत्वका आधारमा उत्सर्ग महाकाव्यको विश्लेषण
परिच्छेद पाँच : उपसंहार तथा निष्कर्ष
सन्दर्भ सूची
परिच्छेद दुई
महाकाव्यको सैद्धान्तिक स्वरूप र नेपाली महकाव्यको विकासक्रम
२.१ कविताका विविध रूप र आयाम
कविता विधा नेपाली साहित्यको ज्यादै महत्वपूर्ण विधा हो । साहित्यको लयगत र साङ्गीतिक भेद नै कविता हो । छन्द वा लयलाई मूल आधार मानेर साहित्यको वर्गीकरण गर्दा समग्र साहित्य गद्य र पद्य गरी दुई भेदमा विभक्त हुन्छ । गद्यविधाको विपरीत छन्दको प्रयोग गरी रचना गरिने विधा नै पद्य हो र पद्य कविता विधाको पुरानो नाम पनि हो । त्यसैले लयात्मक प्रधानता भएको एकालापपूर्ण कथन पद्धतिमा सिर्जना हुने साहित्यिक विधा कविता हो । कविताको आयाम (लम्बाइ, चौडाइ र गहिराइ) को विस्तारका कारणले कविताभित्र पनि उपविधाको निर्माण हुन पुग्दछ । यस परिच्छेदमा आयामका आधारमा कविताका विविध रूपको परिचय दिई बृहत् आयाम महाकाव्यको सैद्धान्तिक चर्चा गरिएको छ । कविताको आयाम विस्तारका कारण यसका विविध रूपको निर्माण हुन पुग्दछ । जीवनका सूक्ष्मतमदेखि स्थूलसम्मका अभिव्यक्तिहरू कविताको आयामभित्र प्रवाहित भएका हुन्छन् । कविताको सबैभन्दा सानो रूपगत आयाम मुक्तक हो भने सबैभन्दा ठुलो आयाम महाकाव्य हो । कवितामा जीवन र जगत्को अनुभूति एक हरूफ, चार पाउदेखि लिएर एउटा सिङ्गो र बृहत् महाकाव्यसम्म विस्तारित हुन सक्छ (त्रिपाठी र अन्य, २०४८ः पृ. २५७) । कविताको आयाम विस्तारका आधारमा सिर्जना हुन पुग्ने विविध रूपलाई तलको रेखाचित्रमा देखाइएको छ :
माथिको तालिकाले कविताका न्यूनतम तिन र अधिकतम पाँच भेद हुने कुरालाई स्पष्ट गरेको छ । कवितामा उपभेदका बारेमा यहाँ संक्षिप्त चर्चा गरिएको छ :
२.१.१ कविताको लघुतम रूप : मुक्तक
कविताको सबैभन्दा सानो एकाइ लघुतम रूप हो । यस अन्तर्गत कविताका ज्यादै साना संरचनाहरू समेटिन्छन् । छोटो छरितो भनाइबाट व्यङ्ग्य प्रहार गर्ने कविताको एक झिल्का नै कविताको लघुतम रूप हो । यस्तो कविताको संरचना निकै सानो हुन्छ तर आफैमा पूर्ण हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र लोकसूक्तिहरू पर्दछन् (जोशी, २०४०ः पृ. ११) ।
२.१.२ कविताको लघु रूप : फुटकर कविता
कविताको लघुतम रूपभन्दा विस्तृत र मझौला रूपभन्दा सानो एकाइ लघु रूप हो । कविताको लघु रूप गद्य र पद्य दुवैमा रहेको हुन्छ । पद्यमा दुई श्लोकभन्दा बढी र गद्यमा दुई अनुच्छेदसम्मको रचना यसभित्र पर्दछ । कविताको लघु एकाइमा सानो घटनालाई सीमित घेरामा राखी भावपूर्ण, मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको हुन्छ । यस्ता रचनामा आख्यान तत्वको प्रयोग लघुतम रूपको अपेक्षा स्थूल रूपमा गरिएको हुन्छ । यसरी आख्यानको सूक्ष्मतालाई अपेक्षित मानिएकाले यी रचनाहरूका अभिव्यक्तिमा विविधता नआई भावमा समेत एकरूपता भएको हुन्छ । कस्ता रचनाहरूमा कविताको लघु रूप समेटिएको हुन्छ भन्ने सन्दर्भमा वासुदेव त्रिपाठीको भनाई उल्लेखनीय रहेको छ – “पत्र पत्रिका र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश साना कविता कृतिहरू फुटकर कविता नै हुन् जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ” (त्रिपाठी र अन्य, २०४८ः पृ. ४२–४३)। यस कुराबाट के स्पष्ट हुन्छ भने भावनाको संक्षिप्त पोखाइ भएको फुटकर रचना नै कविताको लघु रूप हो ।
२.१.३ कविताको मझौला रूप : खण्डकाव्य/लामो कविता
कविताको ज्यादै विस्तृत र ज्यादै सङ्कुचित नभएको रचनालाई मझौला रूप भनिन्छ । यस्ता रचनामा एक विषय, एक घटना, एक सन्दर्भ र जीवनको एक पक्षको उद्घाटन भएको हुन्छ । अनुभूतिको उत्तरोउत्तर वृद्धि र विकास हुँदै जाँदा कविताको आख्यान तन्तु र संरचनागत सुगठनलाई अँगाल्न पुग्दछ त्यस अवस्थामा कविता मध्यम आयाममा प्रवेश गर्दछ । कविताको मझौला आयामलाई खण्डकाव्य वा लामो कविता पनि भनिन्छ । विषयवस्तुको आयाम विस्तार, आख्यान र संरचनाका कारणले गर्दा कविताको मझौला रूप फुटकर कविताबाट छुट्टिन थाल्दछ । कविताको मझौला रूपमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । आख्यानयुक्त रचना र सुगठित संरचना भएको कविताको आयाम नै कवितामा मझौला रूप हो र यो लामो कविता र खण्डकाव्यमा विभक्त भएको हुन्छ ।
२.१.४ कविताको बृहत् रूप : महाकाव्य
कविताको सबैभन्दा ठूलो आयामलाई बृहत् रूप भनिन्छ । यसमा कविताका लामा रचना र खण्डकाव्यभन्दा माथिका सबै सिर्जनाहरू समेटिन पुग्दछन् । यस्ता रचनाको सिर्जना बृहत आख्यानीकरणबाट मात्र सम्भव हुन्छ र यसमा जीवन जगत्को सर्वपक्षीय अध्ययन भएको हुन्छ । कविताले जब सिङ्गो युग, जीवन र समाजलाई बोकेर हिँड्न लाग्छ र अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह बहन थाल्दछ तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ (जोशी, २०४०ः पृ. १२) । कविताको यस्तो आयाममा जीवन जगतको सिङ्गो प्रस्तुति, खण्डयोजना, सन्धि, अर्थ प्रकृति र कार्यावस्था जस्ता प्राविधिक कुराको संयोजन गरिएको हुन्छ । कविताको बृहत् रूप चाही अनुभूतिको महाप्रवाह, जीवनको सिङ्गो अभिव्यक्ति, मानव सभ्यता र समाजको सिङ्गो इतिहासलाई बोकेको विराट संरचना र आख्यानलाई बोकेको कविताहरूको स्वरूप हो । कविताको विस्तारित आयामयुक्त यस्तो रूपले सिङ्गो युगलाई नै आत्मसात् गरेको हुन्छ (त्रिपाठी र अन्य, २०४८ः पृ. ८५–८६)। कविताको बृहत् रूप विकासशील अवस्थामा रहेको हुन्छ र यसको प्रवाह निरन्तर रूपमा चलिरहेको हुन्छ । जसले गर्दा कविताको बृहत् आयाम ललित महाकाव्यबाट माथि उठेर आर्ष महाकाव्यका तहसम्म पनि विस्तारित हुन पुग्छ । यसकारण कविताको बृहत् आयाममा विकसित र विकासशील, ललित र आर्ष महाकाव्य समेटिन पुग्दछन् ।
२.२ कविता र महाकाव्यबीचको सीमा
कविताको उपविधाका रूपमा रहेको महाकाव्यमा कविताका सबै गुणहरू रहेका हुन्छन् तर पनि यी दुईका बिचमा केही भिन्नता पनि रहेको पाइन्छ । कविताको विकासशील र विराट् आयाम नै महाकाव्य हो, जब कवितामा आख्यान र संरचनाले विस्तृत रूप लिन्छ, तब मात्र कविता महाकाव्यमा परिणत हुन्छ । आख्यान, संरचना र साङ्गठनिक सुगठनले गर्दा नै महाकाव्य कविताबाट बिस्तारै अलग्गिन पुग्छ । कवितामा अनुभूतिको सूक्ष्म प्रवाह रहन्छ तर महाकाव्यमा आख्यान, चरित्र, परिवेश, काव्यात्मक आङ्गिक विकास र विस्तार तथा संरचनात्मक सुगठन आदिको बृहत् संयोजन रहेको हुन्छ । भावनामा एकरूपता र हार्दिकता कविता र महाकाव्य दुवैका मिल्दा पक्ष हुन् ।
२.३ महाकाव्यको परिचय
महाकाव्य शब्दको निर्माण ‘महा’ (महान्) र ‘काव्य’ दुई शब्दको योगबाट भएको छ । यसले शाब्दिक अर्थमा काव्यको सबैभन्दा ठूलो स्वरूपलाई बुझाउँछ । महाकाव्यलाई कविताको आयाम विस्तारका क्रममा निर्माण भएको सबैभन्दा ठुलो स्वरूपमा रूपमा चिनाइएको छ । ‘महाकाव्य’ शब्दलाई व्युत्पत्तिगत अर्थका रूपमा हेर्दा यसको निर्माण ‘कवृ’ वर्णने धातुबाट वा ‘कुङ’ शब्दे धातुबाट ‘कवि’ शब्द निष्पन्न हुन्छ । कवि कर्मबाट ‘काव्य’ शब्दको निर्माण हुन्छ र काव्य शब्दमा ‘महा’ शब्द पूर्वयोग गरेर महाकाव्य शब्दको निर्माण हुन पुग्छ । यसले काव्यको सबैभन्दा बृहत् संरचनालाई बुझाएको हुन्छ ।
हजारौँ वर्ष पहिले छापाखानाको कुनै व्यवस्था नहुँदा स्रष्टाहरूले धेरै वर्ष लगाई हातले नै पुस्तक तयार गर्दथे । त्यस समयमा नाटक आदिलाई अभिनय गराउने र महाकाव्य, खण्डकाव्य र गीतिकाव्य अरुलाई सुनाउने गरिन्थ्यो । यसै आधारमा काव्यलाई दृश्य र श्रव्य गरी दुई भागमा विभाजन गरेको पाइन्छ । हाल आएर साहित्य शब्दले काव्य शब्दको भन्दा पनि व्यापक अर्थलाई समेट्न थालेको छ । काव्य शब्द अब महाकाव्य, खण्डकाव्य र गीतिकाव्य जस्ता शब्दमा रूढ हुन थालेको छ तर अर्थमा भने कुनै भिन्नता रहेको पाइँदैन । यस्तै साहित्यका सीमित र व्यापक दुई अर्थ पनि रहेका छन् । व्यापक अर्थमा साहित्यले समग्र वाङ्मयलाई बुझाउँछ भने सीमित अर्थमा केवल गद्य, पद्य र चम्पूलाई बुझाउँछ । यी अर्थहरूमध्ये पद्य अन्तर्गत पर्ने प्रबन्ध र मुक्त काव्यमध्ये प्रबन्ध काव्यको बृहत्, बृहत्तर स्वरूप भएका रचनालई महाकाव्यका रूपमा चिनाइएको छ । पूर्वीय र पाश्चात्य काव्य चिन्तन परम्परामा महाकाव्यलाई चिनाउनका लागि विभिन्न समयमा विविध विद्धान्हरूले आ–आफ्ना धारणाहरू अगाडि सारेका छन् । यिनै विचारका सापेक्षतामा महाकाव्यलाई परिचित गराउन महाकाव्यका केही परिभाषालाई यहाँ समेटिएको छ । जसले महाकाव्य भनेको के हो ? भन्ने कुरालाई बुझाउन सहयोग गरेका छन् ।
२.४ पूर्वीय साहित्य चिन्तनका सापेक्षतामा महाकाव्यको परिभाषा
पूर्वीय साहित्य चिन्तनमा महाकाव्य सम्बन्धी चिन्तन एकै पटक थालिएको होइन । यस सम्बन्धमा पुराणहरूमा पनि केही कुराको उल्लेख पाइन्छ । पौराणिक कालबाट हालसम्म आइपुग्दा यसका बारेमा व्यापक चर्चा भएको पाइन्छ । यसै सन्दर्भमा सहाकाव्यका केही पूर्वीय परिभाषालाई यहाँ उठाइएको छ ।
सर्वप्रथम अग्नि पुराणमा महकाव्यलाई यसरी चिनाइएको छ – ‘संक्षेपमा अभीष्ट अर्थ व्यक्त गर्ने दोषरिहत, गुणसहित पदावली नै काव्य हो’ (उपाध्याय, सन् १९६२, श्लोक ६०)। यस परिभाषामा महाकाव्यलाई भन्दा पनि समग्र काव्यलाई परिचित गराउने काम गरिएको छ । यस भनाइले समग्र वाङ्मयलाई समेटेको हुनाले यो परिभाषाले महाकाव्यलाई पनि सङ्केत गरेको बुझ्नुपर्ने हुन्छ । यसले काव्यमा गुणलाई अपेक्षित सामग्री र दोषलाई वर्जित सामग्रीका रूपमा लिएको छ तर के गुण हो र के दोष हो भन्ने कुरालाई यस भनाइले कतै स्पष्ट पारेको छैन । यो प्रथम परिभाषा पछि मात्र यसको विधागत रूपमा चिन्तन अगाडि आएको छ ।
महाकाव्यका बारेमा धारणा राख्ने काव्य चिन्तक भामह हुन् । उनका अनुसार महाकाव्य भनेको लामो कथानक नभएको महान चरित्रमा आधारित, नाटकीय पञ्च सन्धि समन्वित उत्कृष्ट एवं अलङ्कृत शैलीमा रचित तथा जीवनका विविध रूप र कार्यको वर्णन गर्ने सर्गबद्ध र सुखान्त काव्य हो ( २०३८ः श्लोक १९–२०)। उनको यो परिभाषाले महाकाव्यलाई लामो कथानक नभएको, महान् चरित्रमा आधारित, सन्धियुक्त र आलङ्कारिक भाषा भएको रचनाका रूपमा सङ्केत गरेको छ । उनले यस्तो परिभाषा निर्माणका लागि महाभारत र रामायण जस्ता काव्यलाई आधारका सामग्रीका रूपमा लिएको देखिन्छ । यस परिभाषामा आएको लामो कथानक नभएको रचना महाकाव्य हो भन्ने कुराले केही विवाद सिर्जना गरेको छ । यस कुरालाई महाकाव्यको कथामा अनावश्यक विस्तार हुनु हुँदैन भन्ने सन्दर्भमा बुझ्नु जरुरी हुन्छ ।
यसैगरी महाकाव्यलाई परिभाषित गर्ने अर्का आचार्य दण्डी हुन् । उनका अनुसार महाकाव्य आशीर्वाद, नमस्क्रिया वा वस्तुनिर्देशमध्ये कुनै एउटाबाट थालिएको हुनु पर्दछ । सर्गबद्ध र इतिहास प्रसिद्ध कथानक भएका सदाश्रयी, चतुर एवं उदात्त किसिमको नायक हुनु पर्दछ । महाकाव्यले चतुर्वर्गफल दिनुपर्छ । नगर, शैल, सँगर, चन्द्रोदय तथा रत्युत्सव आदिको वर्णन गरिएको हुनुपर्छ । त्यस्तै मन्त्रदूतप्रयाणदि र नायकको उदयको वर्णन भएको अलङ्कृत संक्षिप्त रसनिरन्तरतायुक्त सन्तुलित सर्गयुक्त पञ्चसन्धि समन्वित एवं लोक रञ्जक कथानक भएको रचना हो ( २०२८ः श्लोक १४–१९)। दण्डीको यस परिभाषाले महाकाव्यलाई व्यापक रूपमा परिभाषित गर्ने काम गरेको छ । वस्तु निर्देश, मङ्गलाचरण, कथानक, नायक, परिवेश र भाषाशैली आदि विषय महाकाव्यमा कस्ता रहन्छन् भन्ने सन्दर्भमा पनि यस परिभाषाले प्रकाश पारेको छ ।
महाकाव्यको परिभाषाका क्रममा आचार्य रुद्रटले महाकाव्यलाई यसरी परिभाषित गरेका छन्– महाकाव्यमा कथानक कल्पित वा अकल्पित जुनसुकै भए तापनि महान् हुन्छ । यस कथानकभित्र अवान्तर कथाहरू पनि समाविष्ट हुन सक्दछन् । यसले युग र जीवनको चित्रण गर्दछ । नायक सर्वगुण सम्पन्न द्विजकुलोत्पन्न र शक्तिशाली हुनुका साथै युद्धमा विजय प्राप्त गर्नसक्ने खालको हुनुपर्छ (२०३२ः श्लोक ५–७)। आचार्य दण्डीले इतिहास प्रसिद्ध कथालाई महाकाव्यको कथास्रोत मानेका थिए तर रुद्रटले कल्पित वा अकल्पित कथानक भनेर कल्पनालाई पनि कथानकको स्रोत मानेका छन् तर कथानक महान् हुनुपर्छ भन्नेमा भने दुवैको एकमत रहेको छ । कथानकभित्र अवान्तर कथाहरू पनि आउने कुराको थप व्यवस्था रुद्रटको परिभाषाको नवीन पक्ष हो ।
यसै क्रममा आचार्य हेमचन्द्रले महाकाव्यलाई यसरी परिभाषित गरेका छन्– पद्यबद्ध रूपमा प्रायः संस्कृत, अपभ्रंश आदि भाषामा विभिन्न कथानकलाई लिएर शब्द वैचित्य, अर्थ वैचित्य, रसयुक्त, छन्दोबद्ध एवं लोकरञ्जक गुण बोकेको काव्य नै महाकाव्य हो ( सन् १९३४ः पृ. ३९५)। आचार्य हेमचन्द्रले संस्कृतेतर भाषालाई पनि महाकाव्योचित भाषाका रूपमा स्वीकार गरेका छन् । शब्द र अर्थको वैचित्य हुनुपर्छ भन्ने कुराले महाकाव्य अन्योक्ति मूलक रचना हो भन्ने कुरालाई बुझाएको छ ।
संस्कृत साहित्यका विशिष्ट चिन्तक आचार्य विश्वनाथले महाकाव्यलाई यसरी परिभाषित गरेका छन् । उनका आनुसार– महाकाव्य सर्गबद्ध हुन्छ र त्यसको नायक शूर सद्वंशी, क्षेत्रीय, एकै वंशका धेरै पनि हुन सक्दछन् । श्रृङ्गार, वीर र शान्तमध्ये कुनै एक अङ्गी र अन्य अङ्ग रस हुनुपर्दछ । कथानक नाटकीय पञ्च सन्धि समन्वित हुनु पर्दछ । कथानक इतिहासप्रसिद्ध र सज्जनाश्रित हुनु आवश्यक हुन्छ । सुरुमा वस्तु निर्देश, नमस्क्रिया वा आशीर्वाद रहनु पर्दछ । सत्पात्रको गुणको बयान र दुर्जनको निन्दा गरिएको हुनु पर्दछ । न धेरै लामा न धेरै छोटा कम्तीमा आठ वटा सर्ग रहनु पर्छ । सर्गको अन्त्यमा भावीसर्गको सूचना हुनु पर्दछ । सम्पूर्ण कालचक्र (सन्ध्या, प्रभात, रजनी, मध्याह्न, आदि) सम्पूर्ण ऋतुचक्र, स्वर्गदेखि धर्तीसम्म र धर्तीदेखि स्वर्गसम्मको सम्पूर्ण परिवेशको वर्णन महाकाव्यमा हुनुपर्दछ । सम्भोग, विप्रलम्भ, पुत्रोत्पत्ति आदिको वर्णन महाकाव्यमा हुनु पर्दछ । रणप्रयाण एवं सत्को विजय देखाइएको हुनुपर्दछ । नायक, कथानक वा कविको नामबाट महाकाव्यको नामकरण गरिएको हुनु पर्दछ । विविध छन्दको प्रयोग गरिनुका साथै सर्गको अन्त्यमा छन्द बदल्नु पर्दछ ( सन् १९६३ः पृ. ५४९)।
आचार्य विश्वनाथ को प्रस्तुत परिभाषाले परम्परित परिभाषाहरूको समर्थन मात्रै नगरी केही नवीन पक्षलाई पनि समेटेको देखिन्छ । चतुवर्गफलको सिद्धिमध्ये कुनै एउटाको प्राप्तितर्फ परिभाषाले सङ्केत गरेकोले उनको विचार ललित वा कलात्मक महाकाव्यतिर बढी झुकेको पाइन्छ । यस्तै अङ्गीरसमा करुण रसको कुरा उल्लेख नगर्नाले पनि यो कुरालाई पुष्टि गर्न थप मद्दत पुगेको छ । विश्वनाथको यस परिभाषाले महाकाव्यलाई ज्यादै औपचारिक रचनाका रूपमा परिभाषित गरेको छ ।
विश्वनाथपछि आचार्य जगन्नाथले सम्पू्र्ण काव्यलाई नै परिभाषित गरेकाले भामहदेखि विश्वनाथसम्मका परिभाषालाई समेटेर महाकाव्यलाई विश्वनाथलाई जुन रूपमा चिनाएका छन् सोही रूपमा चिनाउने काम गरेका छन् । माथि प्रस्तुत गरिएका पूर्वीय महाकाव्य परिभाषालाई हेर्दा भामह र दण्डीय आर्ष महाकाव्यलाई आधार बनाएर महाकाव्यको परिभाषा निर्माण गरेका छन् भने अन्य आचार्यहरूले ललित वा कलात्मक महाकाव्यलाई आधार बनाएका छन् ।
संस्कृत साहित्यका चिन्तकहरूले प्रस्तुत गरेका महाकाव्यका परिभाषाका सारलाई समेट्दा महाकाव्यलाई सर्गबद्धता, छन्दोबद्धता, पञ्सन्धियुक्तता, अलङ्कृत भाषाशैली, इतिहासप्रसिद्ध, काल्पनिक वा दन्त्य कथामा आधारित कथानाक, सत्पात्रको चरित्र चित्रण, रसभावको निरन्तर प्रवाह भएको चतुवर्ग फलमध्ये कुनै एकको प्राप्ति हुने जीवनको सुखान्त अभिव्यक्तिका रूपमा चिनाएको छ ।
२.५ पाश्चात्य साहित्य चिन्तनका सापेक्षतामा महाकाव्यको परिभाषा
पाश्चात्य साहित्यमा युनानी स्रष्टा होमरद्वारा रचित इलियड र ओडिसी जस्ता प्रसिद्ध रचनाद्वारा साहित्य सिर्जनाको सुरुवात भएको हो । पश्चिमको सिङ्गो साहित्य चिन्तनपरम्पराको आरम्भ प्लेटो (सन् ४२७–३५ )ले गरेका हुन् (सुवेदी, २०३२ः पृ. १)। तर महाकाव्यका बारेमा चिन्तनको सुरुवात भने एरिस्टोटल( सन् ३८४–३२२)बाट भएको हो । एरिस्टोटलले महाकाव्यका बारेमा छुट्टै सिद्धान्तको प्रतिपादन नगरे पनि दुःखान्तको चर्चा गर्ने क्रममा आफ्नो काव्यशास्त्र (पेरिूपोइतिकेस) मा दुःखान्तक र महाकाव्यका बिचमा तुलना गरेका छन् । यस क्रममा एरिस्टोटलले महाकाव्यलाई यसरी चिनाएका छन्– महाकाव्यमा आफ्नो सीमामाथि विस्तार गर्ने विशिष्ट क्षमता हुन्छ । जसको रूप आख्यानात्मक तथा छन्द एउटामात्र प्रयोग भएको हुन्छ । कथानकको विकास आदि मध्य र अन्त्यमा भएको हुन्छ । यसमा एक पूर्ण घटनाको उल्लेख हुनु आवश्यक छ र यसले एउटा जीवन्त प्राणीले जस्तै आनन्द प्रदान गर्दछ (नागेन्द्र र महेन्द्र, सन् १९७३ः पृ. १७७)। एरिस्टोटलको यस परिभाषमा होमरद्वारा रचित इलियड र ओडिसी जस्ता विकसित महाकाव्यलाई समेटिएको छैन । उनले दुःखान्तक र महाकाव्यका बिचमा तुलना गर्दा केवल कलात्मक महाकाव्य (इपिक अफ आर्ट) लाई मात्र सङ्केत गरेका छन् । उनको परिभाषाले एक छन्दको प्रयोगलाई जोड दिएको छ । जे भए तापनि पश्चिममा महाकाव्यका बारेमा गरिएको यो प्रथम अभिव्यक्ति भएका कारणले उनको धारणा बढी महŒवपूर्ण रहेको छ ।
एरिस्टोटलपछि पश्चिममा महाकाव्यसम्बन्धी चिन्तन धेरै समयसम्म अवरुद्ध भएको छ । धेरै समयको अन्तरालपछि मात्र यसमा निरन्तरता आएको छ । यसै क्रममा जोसेफ एडिसनले जान मिल्टनको प्याराडाइज लस्टको भूमिकामा महाकाव्य सम्बन्धी आफ्नो विचारलाई अगाडि सारेका छन् । उनका अनुसार – महाकाव्य दन्त्य कथा पूर्ण वा अपूर्ण हुन्छ । यसमा कम्तीमा तिन कुरा प्रमुख रूपमा रहेका हुन्छन् । महाकाव्य हुनको लागि एउटा घटना हुनुपर्छ, घटना महान् हुनुपर्छ (दि नोर्तोन एएन्थोलजी अफ इङ्लिस लिटेरचर, सन् १९७३ः पृ. १७७) । एडिसनले महाकाव्यमा कथानकलाई मात्र महत्व दिएका छन् । कथानकलाई गतिशील बनाउने नायक परिवेश आदि कुराका बारेमा उनको विचार ज्यादै मौन बसेको छ । उनका विचारमा घटनालाई पूर्णतामा पु¥याउन सक्ने खालको महान् पात्रको आवश्यकता महाकाव्यमा हुन्छ भन्ने कुराको अनुमान हामीले गर्न सकिन्छ । यसर्थ उनको महाकाव्य सम्बन्धी प्रस्तुत धारणा पूर्ण छैन ।
यसै गरी पाश्चात्य साहित्य चिन्तक एवर क्रम्बेले महाकाव्यको परिभाषा दिने क्रममा महाकाव्यलाई साहित्यिक र ऐतिहासिक हाँगाहरूमा विभाजन गर्दै आलङ्कारिक रूपमा मनोरञ्जन पाराले लेखिएको रचनालाई साहित्यिक महाकाव्य र ऐतिहासिक पारामा कथानकमा समय अनुसार स्वरूप निर्माण गरिएको महाकाव्यलाई ऐतिहासिक महाकाव्य मानेका छन् । उनको यस विचारले विषयअनुरूप महाकाव्यलाई विभाजन गरेर अध्ययन गर्न सकिने कुरालाई सङ्केत गरेको छ ।
यसैगरी पाश्चात्य समालेचक सि.एम. बाबराले महाकाव्य सम्बन्धी परिभाषा अनुसार – त्यो बृहदाकार कथात्मक काव्य महाकाव्य हो जसमा महत्वपूर्ण र गरिमामय घटनाको वर्णन हुन्छ तथा त्यसमा केही पात्रहरूको क्रियाशील एवं भयङ्कर कार्यले भरिएको जीवनकथा हुन्छ । त्यो पढ्दा हामीलाई घटना र पात्रले हाम्रो हृदयमा मानवीय उपलब्धिहरू तथा गौरव र महत्वमाथि दृढ आस्था उत्पन्न गरिदिन्छन् (सि.एम.बाबरा, सन् १९४५ः पृ. १६) । उनको यस भनाइले महाकाव्यलाई ज्यादै गहन काव्यका रूपमा परिभाषित गरेको छ ।
यसै गरी अन्य केही ग्रन्थहरूले पनि महाकाव्यलाई परिभाषित गर्ने काम गरेका छन् । जसमध्ये एक उल्लेख्य परिभाषा अनुसार वीरतापूर्ण कार्यको सुविस्तृत रूपमा वर्णन गरिएको वर्णनात्मक कविता नै महाकाव्य हो । यसमा नायक प्रायः एउटै हुन्छ । उच्चस्तर राष्ट्रिष्ता, सार्थकता शौर्य आदिको विस्तृत वर्णन समेत यसमा हुन्छ । यस विचारले महाकाव्यलाई वीरतापूर्ण एउटा भएको विस्तृत कथाका रूपमा चिनाएको छ । यसै गरी अर्को थरि परिभाषा अनुसार महाकाव्य भनेको गम्भीर रूपमा लेखिएको आख्यानात्मक एवं आलङ्कारिक पदावलीको प्रयोग गरिएको दैवी वा अर्ध दैवी पात्रको समावेश भएको औपचारिक एवं वृत्ताकार शैलीमा लेखिएको रचना हो (एम.एच. अब्राहम्स्, सन् १९९३ः पृ. ५३)। यस परिभाषाले महाकाव्यलाई आख्यानात्मक, आलङ्कारिक भाषा भएको दैवी पात्रको प्रयोग हुने विशिष्ट रचनाका रूपमा चिनाएको छ ।
पाश्चात्य साहित्यको चिन्तन परम्परालाई हेर्दा महाकाव्य बारेका प्रमुख धारणाहरूमा, महाकाव्य वर्णनात्मक कविता भएको, छन्दोबद्धता र आलङ्कारिक भाषिक योजना रहने, महान् कथामा महान् नायक रहनु पर्ने, सिङ्गो युग सभ्यता समाज र संस्कृतिको प्रतिबिम्बका रूपमा महाकाव्य रहने जस्ता चिन्तन उल्लेख्य रहेका छन् ।
यसबाट महाकाव्यमा महान नायकले महान कथा बोकेको हुन्छ र त्यो छन्दोबद्ध गरिमामय लामो वर्णनात्मक रचना हो भन्ने निष्कर्ष निस्कन्छ ।
२.६ महाकाव्य सम्बन्धी अन्य धारणाहरू
संस्कृत र पाश्चात्य काव्य चिन्तनका अतिरिक्त नेपाली र हिन्दी साहित्यमा पनि महाकाव्यलाई चिनाउने विविध प्रयासहरू भएका छन् । यसै सन्दर्भमा केही उल्लेखनीय विचारहरूलाई यहाँ समेटिएको छ ।
महाकाव्यलाई चिनाउने क्रममा भारतीय समालोचक नागेन्द्रका अनुसार– महाकाव्यलाई उदात्त कथानकयुक्त, उदात्त नायकयुक्त, उदात्त उद्देश्ययुक्त एवं उदात्त भाव र शैलीयुक्त वर्णनयुक्त रचना हो (नगेन्द्र, सन् १९८१ः पृ. १२७) । उनको यस विचारले महाकाव्यलाई गरिमामय काव्यका रूपमा चिनाएको छ ।
यसैगरी अर्का भारतीय समालोचक भगीरथ मिश्रका अनुसार– महाकाव्य महाकविको कल्पनासंयम तर प्रबल हुन्छ । ऊ भित्र नवनिर्माणको चेतनाका सार्थ हरेक वस्तुका विशेषताहरूलाई सूक्ष्म रूपमा निरीक्षण गर्न सक्ने क्षमता रहन्छ । महाकविभित्र रहेको पदावलीको जादुले महाकवि र अन्य कविका बिचमा भिन्नता रहेको हुन्छ (मिश्र, २०४७ः पृ. ५५) । अतः महाकाव्य आफ्नो महत्तामा अक्षुण रहन्छ । उनको यस भनाइले पनि महाकाव्यलाई महान् रचनाका रूपमा नै परिभाषित गरेको छ ।
यसैगरी नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि महाकाव्यका बारेका आफ्नो विचार प्रस्तुत गरेका छन् । उनका अनुसार– ‘साधारण सामाजिक औपन्यासिक सामग्री र युक्तिको कल्पनाद्वारा रचना गरिएको कविता उपन्यास जसलाई महाकाव्य भन्ने साधारण समझको उपाधि सायद उपाधि नै हुने गरी दिइएको छ । कति मात्रामा सुहाउँदो छ म भन्न सक्दिन’ (देवकोटा, २००३) ।
देवकोटाले महाकाव्यलाई कवितामा रचना गरिएको औपन्यासिक कृतिका रूपमा चिनाएका छन् जुन कुरा उनका महाकाव्यका भूमिकामा उनले प्रस्तुत गरेका विचारबाट स्पष्ट हुन्छ ।
यसैगरी नेपाली साहित्यका समालोचक वासुदेव त्रिपाठीले महाकाव्यलाई यसरी चिनाएका छन्– ‘महाकाव्य भनेको वस्तुगत रूपमा समसामयिक धरातलमा टेकेर मानसिक भावनात्मक र वैचारिक चिन्तनात्मक स्तरमा महत्तम कविता छविद्वारा जीवनको विस्तृत अझ विराट् अभिव्यञ्जना गरिएको रचना हो ।’ (त्रिपाठी, २०४८ः पृ. १०९) । उनको यस भनाइले महाकाव्यलाई कविताको वृहत् स्वरूप भएको हार्दिक र बौद्धिक पक्ष समेटिएको रचनाका रूपमा चिनाएको छ ।
नेपाली समालोचना क्षेत्रका व्यक्ति ईश्वर बरालद्वारा सम्पादित नेपाली साहित्यकोशमा महाकाव्यलाई यसरी चिनाइएको छ : “कुनै पनि राष्ट्र वा जातिका महत्वमा आदर्श संस्कार, संस्कृति इतिहास जीवन दर्शन र नीति जस्ता सम्पूर्ण राष्ट्र वा जातिद्वारा गौरव गरिने सम्पूर्ण राष्ट्र वा जातिकै स्वाभिमानको प्रतिनिधित्व गर्ने सम्पदाहरूको सङ्गठन भएको सबै अङ्ग र रूपले परिष्कृत र परिमार्जित उत्कृष्ट काव्य नै महाकाव्य हो” (बराल, २०५२ः पृ. ५९७) । यस परिभाषाले पनि महाकाव्य विधालाई जीवन जगत्का विविध पक्ष समेट्ने आदर्श र गरिमामय बृहद् आयामयुक्त रचनाका रूपमा परिभाषित गरेको छ ।
समालोचक कृष्ण गौतमले महाकाव्यका सन्दर्भमा आफ्नो धारणा यसरी प्रस्तुत गरेका छन् : “कुनै कृतिले ठूलो हुँदैमा महाकाव्यको अभिधान पाउँदैन महाकाव्यका निम्ति उच्चता हुनु पर्दछ र एउटै शब्दमा भन्ने हो भने गाम्भीर्य हुनु पर्दछ” (गौतम, २०५५ः पृ. ३)। उनको यस परिभाषाले काव्यको कलात्मक उचाइलाई ध्यान दिनुका सार्थ आकारमा व्यापक नभए पनि भावमा गाम्भीर्य, उच्च भाव, भव्य र गरिमामय रचना विधालाई महाकाव्यका रूपमा परिचित गराएको छ ।
२.७ महाकाव्य सम्बन्धी पूर्वीय र पाश्चात्य मान्यताको समीक्षा
पूर्वमा भामह र पश्चिममा एरिष्टोटलका विचारहरू नै महाकाव्य सम्बन्धी चिन्तन परम्परालाई अगाडि बढाउने प्रथम उद्गम विन्दु हुन् । यिनीहरूका विचारका उत्तरवर्तीहरूले चिन्तन मनन गर्दै महाकाव्य चिन्तनलाई वर्तमानसम्म ल्याइ पु¥याएका छन् । पूर्वमा र पश्चिममा महाकाव्यलाई चिनाउने सन्दर्भमा आ–आफ्नै किसिमले परिभाषाहरू गरिएका छन् । यी दुवै थरीका विचारमा कतै समानता कतै असमानता देखिएका छन् । भामह र एरिस्टोटल दुवैले महान् चरित्रको वर्णन भएको परिष्कारूपूर्ण र बोलीचालीको भन्दा ज्यादै भिन्न कलात्मक भाषामा रचना गरिएको एउटै मूल कथावस्तु भएको छन्दोबद्ध रचनालाई महाकाव्य मानेका छन् । पूर्वमा पञ्चसन्धिको आवश्यकतालाई अनिवार्य ठानिएको छ भने एरिस्टोटल त्रासदीमा हुने वस्तु सङ्गठनलाई महाकाव्यमा अपेक्षित ठान्दछन् । सन्धिको अनिवार्यतालाई पूर्वमा विश्वनाथले पनि समर्थन जनाएका छन् ।
यसैगरी अन्य केही कुरामा पूर्व र पश्चिममा केही भिन्नता रहेको पाइन्छ । पूर्वमा महाकाव्यमा छन्दको विविधतालाई स्वीकार गरिएको छ, तर पश्चिममा केवल एक छन्द (वीर छन्द)को अपेक्षा गरिएको छ । पूर्वमा श्रृङ्गार शान्त र वीर रसमध्ये एक रसलाई महाकाव्यको अङ्गी रस मानिएको छ भने अन्य रसलाई अङ्ग रस मानिएको छ । पश्चिममा भने करुण रसलाई अङ्गी रसको मान्यता दिइएको छ । यसैगरी पूर्वमा महाकाव्यमा आदर्श विचारलाई मान्यता दिइएको छ र त्यसको अपेक्षा महाकाव्यमा गरिएको हुन्छ । तर पश्चिममा जीवन र जगत्को वास्तविकतालाई देखाउने दुःखान्तक र भौतिकतालाई प्रतिनिधित्व गर्ने विचारलाई महत्व दिइएको छ । तुलनात्मक रूपमा हेर्दा पूर्वको महाकाव्य चिन्तनपरम्परा भामहदेखि विश्वनाथसम्म आइपुग्दा जति विकसित भएको छ पश्चिममा त्यसको अभाव रहेको देखिन्छ । महाकाव्यात्मक विचारको स्थापनाको निम्ति यी दुवैको महत्व उत्तिकै रहेको छ ।
पूर्व र पश्चिमको महाकाव्य चिन्तनलाई समेटेर महाकाव्यको परिभाषा गर्दा महाकाव्य गम्भीर कथानक बोकेको, उच्च नायकको चरित्रमा आधारित, युग, सभ्यता, समाज, संस्कृति तथा इतिहासका विविध पक्षहरूलाई समेटी लयात्मक तथा कलात्मक भाषाको प्रयोग भएको, पञ्चसन्धि समन्वित बृहत् आयामयुक्त गरिमामय आख्यानयुक्त सर्गबद्ध शाश्वत् कृति हो । महाकाव्य समसामयिक विधाका रूपमा पनि रहेको हुनाले यसलाई वर्तमानको सापेक्षतामा पनि परिभाषित गर्नु जरुरी हुन्छ ।
२.८ महाकाव्यको स्वरूप
माथि प्रस्तुत गरिएको महाकाव्यको परिचय र परिभाषाले महाकाव्य के हो ? भन्ने कुरालाई स्पष्ट पारेका छन् । त्यसैले ती कुरालाई समेटेर महाकाव्यको स्वरूपलाई चिनारि गराउने केही बुँदाहरूमाः महाकाव्य ज्यादै पुरानो विधा हो; महाकाव्य बृहत् आयाम भएको आख्यानात्मक कविता हो; महाकाव्यमा जीवनजगत्को बृहत् प्रस्तुति हुन्छ; महाकाव्य सर्गबद्ध रचना हो; महाकाव्य कलात्मक र आलङ्कारिक भाषामा रचित हुन्छ ।
२.९ महाकाव्यका तत्व
कुनै पनि रचना निर्माण हुनका लागि साना ठूला अवयवहरूको आवश्यकता पर्दछ । महाकाव्यको निर्माणका लागि आवश्यक पर्ने घटकहरूलाई महाकाव्यका तत्व भनिन्छ । महाकाव्यभित्र आ–आफ्नो महत्वका आधारमा कुनै तत्व प्रमुख रूपमा रहेका हुन्छन् भने कुनै गौण भूमिकामा रहेका हुन्छन् । पूर्वीय र पाश्चात्य महाकाव्य चिन्तनका आधारमा यहाँ महाकाव्यका तत्वको खोजी गरिएको छ ।
२.९.१ पूर्वीय धारणा अनुसार महाकाव्यका तत्व
महाकाव्यलाई परिभाषित गर्ने क्रममा पूर्वीय आचार्य भामह, दण्डी, रुद्रट, हेमचन्द, विश्वनाथ आदिका आ–आफ्ना ग्रन्थहरूमा प्रस्तुत गरिएका महाकाव्य सम्बन्धी धारणाहरूका आधारमा कथानक, पात्र वा चरित्र, भाषाशैली, परिवेश, उद्देश्य, रस जस्ता तत्वहरूलाई महाकाव्यका तत्वहरू मानिएको पाइन्छ ।
२.९.२ पाश्चात्य धारणा अनुसार महाकाव्यका तत्व
पाश्चात्य महाकाव्य चिन्तक एरिस्टोटलले गीत र दृश्य विधान बाहेक अन्य संरचनागत तत्वहरू दुःखान्तक र महाकाव्यका समान हुन्छन् (त्रिपाठी, २०५०ः पृ. ८४) । यस भनाइका आधारमा पश्चिममा महाकाव्यका तत्व भनेर कथानक, पात्र वा चरित्र, पदरचना र विचार तत्वलाई लिइएको पाइन्छ ।
२.९.३ पूर्वीय र पाश्चात्य मान्यताका सापेक्षतामा महाकाव्यका तत्व
मूल रूपमा माथि प्रस्तुत गरिएका तत्वहरूमा सबैजसो काव्यचिन्तकका मान्यता समेटिने हुनाले यिनै विचारलाई आधार मानेर महाकाव्यका आवश्यक तत्वहरू निर्माण गर्न सकिन्छ । पूर्वीय र पाश्चात्य दुबैतिरको मतलाई आधार मानेर हेर्दा महाकाव्यका तत्वहरू भनेर कथानक, पात्र वा चरित्र, परिवेश, उद्देश्य, शीर्षक चयन, भाषा शैलीय विन्यास, अलङ्कार, बिम्ब, प्रतीक, छन्द, गति र लय, कथनपद्धति, सर्गयोजना, आदिलाई लिइएको छ ।
२.१० महाकाव्यको वर्गीकरण
नेपाली महाकाव्यको विकासलाई हेर्दा विभिन्न किसिमका धेरै महाकाव्यहरू रचना भएका छन् । महाकाव्यको यो रचनाक्रम निरन्तर चलि नै रहने देखिन्छ । यसरी निरन्तर रूपमा रचना भएका महाकाव्यलाई विभिन्न आधारमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ । महाकाव्य वर्गीकरणका प्रमुख आधारहरूमा विषयवस्तु, कथानक, शैली र विचार वा प्रवृत्ति पर्दछन् । यहाँ यिनै आधारमा महाकाव्यको वर्गीकरण गरिएको छ ।
२.१०.१ विषय वस्तुका आधारमा महाकाव्य
विषयको भिन्नताले महाकाव्यलाई पनि फरक बनाउने गर्दछ । विषयमा परिवर्तन भएमा समग्र काव्यको ढाँचा नै परिवर्तन हुन्छ । विषय वस्तुलाई आधार मान्दा महाकाव्य निम्न लिखित पाँच प्रकारका रहेका छन् :
२.१०.१.१ ऐतिहासिक महाकाव्य
महाकाव्यको कथा इतिहास प्रसिद्ध हुने कुरा माथिको प्रसङ्गबाट पनि स्पष्ट भएको छ । इतिहासको कुनै कालखण्डमा घटित घटनालाई विषयवस्तु बनाएर रचना गरिएको महाकाव्यलाई ऐतिहासिक महाकाव्य भनिन्छ । यसमा महाकाव्यको विषयवस्तु इतिहासको घटनामा आधारित रहेको हुन्छ । नेपाली साहित्यमा ऐतिहासिक महाकाव्यको रूपमा भीमसेन थापा, युगनायक, विभूतिदर्पण जस्ता महाकाव्यहरू रचना गरिएका छन् ।
२.१०.१.२ सामाजिक महाकाव्य
समाजमा रहेका विविध पक्ष (घटना, समस्या, संस्कार, परम्परा आदि) लाई विषय बनाएर रचना गरिएका महाकाव्यलाई सामाजिक महाकाव्य भनिन्छ । यस्ता महाकाव्यले समाजमा रहेका विविध घटना, समस्यालाई उठाएका हुन्छन् । सामाजिक महाकाव्यबाट समाजको स्वरूप संरचना सामाजिक संस्कार आदि विविध परिूपाटिको ज्ञान गर्न सकिन्छ । नेपाली साहित्यमा सुलोचना, चिसो चुल्हो, मानव जस्ता महाकाव्य सामाजिक महाकाव्यका उदाहरण हुन् ।
२.१०.१.३ दार्शनिक वा वैचारिक महाकाव्य
संसार रचनाका बारेमा वा मानिस र जगत्को सिर्जनाका बारेमा प्रचलित विविध दर्शनमध्ये कुनै एकलाई आधार बनाएर रचना गरिएका महाकाव्यलाई दार्शनिक महाकाव्य भनिन्छ । दर्शनको प्रबलता भएका यस्ता महाकाव्यमा विचारको प्रवाह हुने गर्दछ । यसैले दार्शनिक महाकाव्यलाई वैचारिक महाकाव्यका रूपमा पनि स्वीकार गरिएको छ । वैचारिक महाकाव्यमा विषयको गम्भीरताका कारण र तर्कको प्रस्तुतिका कारणले गर्दा केही अंशमा दुरुह र जटिल हुने गर्दछन् ।
२.१०.१.४ पौराणिक महाकाव्य
प्राचीन धर्मग्रन्थ, महाभारत, पुराण आदिमा उल्लेख भएका प्रसिद्ध कथालाई आत्मसात् गरी रचिएका महाकाव्यात्मक रचनाहरूलाई पौराणिक महाकाव्य भनिन्छ । यस्ता रचनाले पुराणको कथालाई कति पुरानै स्वरूपमा कि त नवीन तरिकामा प्रस्तुत गरेका हुन्छन् । नेपाली साहित्यमा पौराणिक महाकाव्यका रूपमा देवासुर सङ्ग्राम, शाकुन्तल, कर्ण आदि रहेका छन् ।
२.१०.१.५ प्रकृतिमूलक महाकाव्य
प्राकृतिक सिर्जनाको अपारतालाई स्रष्टाले आत्मसात् गर्दै प्रकृतिलाई नै मूल विषय बनाएर रचना गरिएका महाकाव्यलाई प्रकृतिमूलक महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा प्रकृतिका विविध रूपको प्रकटीकरण गरिएको हुन्छ । नेपाली साहित्यमा प्रकृतिलाई मूल विषय बनाएर रचना गरिएको महाकाव्यमा वसन्त पल्लव, तरुण तपसी आदि रहेका छन् ।
२.१०.२ कथानकका आधारमा
कथानकका आधारमा पनि महाकाव्यको वर्गीकरण गर्न सकिन्छ । यस आधारमा कथामा घटनाको प्रमुखता रहेको छ कि पात्र वा चरित्रका प्रमुखता छ भन्ने विषयलाई मूल रूपमा हेरिन्छ । यस आधारमा चरित्र प्रधान र घटना प्रधान गरी महाकाव्यलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।
२.१०.२.१ चरित्र प्रधान महाकाव्य
चरित्रलाई नै मूल स्थान दिएर रचना गरिएका महाकाव्यलाई चरित्र प्रधान महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा परिवेश र विषय चरित्रलाई प्रकाश पार्नका लागि उपयोग गरिन्छ । पात्रलाई नै मूल रूपमा महत्व दिइएको हुन्छ । चरित्र प्रधान महाकाव्यलाई नाटकीय स्वरूपमा प्रस्तुत गर्नु छ भने घटना र चरित्र दुवैलाई साङ्गठनिक रूपमा मिलाएर प्रस्तुत गरिएको हुन्छ । नेपाली साहित्यमा चरित्रप्रधान महाकाव्यका रूपमा रामायण, आदर्श राघव आदिलाई लिन सकिन्छ । २.१०.२.२ घटना प्रधान महाकाव्य पात्र वा चरित्रलाई भन्दा पनि घटनालई मूल प्राथमिकता दिएर रचना गरिएका महाकाव्यलाई घटनाप्रधान महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा कथालाई घटनाले अगाडि बढाउने काम गरेको हुन्छ । एकपछि अर्को गर्दै घटनाहरू निरन्तर रूपमा प्रवाहित भइरहने हुनाले घटनाप्रधान महाकाव्य बढी आख्यानात्मक भएका हुन्छन् । नेपाली साहित्यमा घटनाप्रधान महाकाव्यको राम्रो उदाहरण देवासुर सङ्ग्राम हो ।
२.१०.३ शैलीका आधारमा महाकाव्यका प्रकार
शैली अभिव्यक्तिको तरिका हो । यस आधारमा पनि महाकाव्यलाई वर्गीकरण गर्न सकिन्छ । महाकाव्यकारले कस्तो कथनढाँचालाई अँगालेर महाकाव्यको रचना गरेको छ त्यस आधारलाई महाकाव्यको शैली भनिन्छ । यो मूल रूपमा तिन प्रकारको हुन्छ । कविप्रौढोक्ति, कविनिबद्ध वक्तृप्रौढोक्ति र मिश्रित यिनका बारेमा यहाँ चर्चा गरिएको छ ।
२.१०.३.१ कविप्रौेढोक्ति
यस्तो खालको महाकाव्यमा महाकाव्यकारले आफ्नो विचार वा अभिव्यक्तिलाई प्रथम पुरुषको कथनढाँचामा प्रस्तुत गरेको हुन्छ । महाकाव्यको कथयिता व्यक्ति प्रथम पुरुष हुने भएकाले यस्ता महाकाव्यमा प्रमुख प्रस्तोताका माध्यमबाट काव्यमा हुन्छ । वैयक्तिक अनुभूतिले सजिएको महाकाव्य कविप्रौढोक्ति शैलीको महाकाव्य हो ।
२.१०.३.२ कविनिबद्ध वक्तृ प्रौढोक्ति
यस्ता महाकाव्यमा महाकाव्यकारले आफ्नो सम्पूर्ण विचार वा अभिव्यक्तिहरूलाई सोझै प्रथम पुरुषका माध्यमबाट नभएर अन्य पात्रका सहायतामा सम्प्रेषणीय बनाएको हुन्छ । स्रष्टाले आफ्नो विचारलाई पात्र वा चरित्रका माध्यमबाट प्रस्तुत गर्ने भएकोले यस्ता महाकाव्यलाई कविनिबद्धवक्तृप्रौढोक्ति शैलीका महाकाव्य भनिन्छ ।
२.१०.३.३ मिश्रित
महाकाव्यमा कविका विचार कतै पात्रका माध्यमबाट त कतै स्रष्टा स्वयंबाट प्रस्तुत भएमा मिश्रित शैलीका महाकाव्यको निर्माण हुन पुग्दछ । यसरी कवि र पात्रको साझा अभिव्यक्ति भएका महाकाव्यात्मक रचनाहरू शैलीका आधारमा मिश्रित शैलीका महाकाव्य हुन् ।
२.१०.४ विचार वा प्रवृत्तिका आधारमा
महाकाव्यमा के कस्ता विचारको प्रकटीकरण भएको छ त्यस आधारमा पनि महाकाव्यको वर्गीकरण गर्न सकिन्छ । यस आधारमा महाकाव्यलाई स्वच्छन्दतावादी महाकाव्य, परिष्कारवादी महाकाव्य, प्रगतिवादी महाकाव्य गरी विभाजन गर्न सकिन्छ । यिनीहरूको बारेमा सामान्य रूपमा यहाँ चर्चा गरिएको छ ।
२.१०.४.१ स्वच्छन्दतावादी महाकाव्य
महाकाव्य सम्बन्धी प्रचलित नियम, सिद्धान्त, शास्त्रीय परिधिको अनुशासनमा नअल्मलिई मानवीय जीवनजगत्का विविध पक्षहरू स्वतन्त्र विचार, प्रकृतिप्रेम र मानवतावादलाई आत्मसात् गरी रचना गरिएका महाकाव्य स्वच्छन्दतावादी महाकाव्य हुन् । यस्ता महाकाव्यमा महाकाव्यकारको कल्पनाको उडान रहने गर्दछ । भावलाई समेट्नको लागि भाषा, व्याकरण र नियम अनुशासनको पालना यस्ता काव्यमा भएको हुँदैन । स्वच्छन्दतावादी महाकाव्यमा आत्मपरक रूपमा मानव समुदायका प्रेम, अनुराग, सौन्दर्य, दया, आशा, इच्छा आदिको उन्मुक्त प्रस्तुति गरिएको हुन्छ । नेपालीमा देवकोटाको शाकुन्तल महाकाव्य स्वच्छन्दतावादी महाकाव्य हो ।
२.१०.४.२ परिष्कारवादी महाकाव्य
परिष्कारवादलाई अर्को अर्थमा शास्त्रीयतावाद पनि भनिन्छ । शास्त्रीय नियम अनुशासनमा रही महाकाव्यमा आवश्यक पर्ने नायक परिवेश भाषिक चयन, आदि कुरालाई ख्याल गरी रचना गरिएका महाकाव्यलाई परिष्कारवादी महाकाव्य भनिन्छ । यस्ता महाकाव्यमा भाषामा, परिवेशमा पात्रचयनमा बारम्बार परिष्कार र परिमार्जन गरिएको हुन्छ । परिष्कारवादी महाकाव्यलाई महाकाव्यको नियम र अनुशासनको घेरामा रहेर रचिएको काव्य पनि भनिन्छ । नेपाली साहित्यका आदर्श राघव परिष्कारवादी महाकाव्य हो ।
२.१०.४.३ प्रगतिवादी महाकाव्य
समाजमा विद्यमान आर्थिक असमानता, वर्गीय संरचना आदिका कारणबाट उत्पन्न हुने निम्नवर्गमाथिको शोषण, अन्याय, अत्याचार, हेला, उपेक्षा आदि भेदभावपूर्ण विचारको वा सामाजिक कुसंस्कारको अन्त्य हुनुपर्ने धारणाको प्रस्तुति भएका महाकाव्यहरू प्रगतिवादी महाकाव्यका रूपमा रहेका हुन्छन् । प्रगतिवादी महाकाव्यले मूल रूपमा भौतिक द्वन्द्वलाई जोड दिएका हुन्छन् । यस्ता महाकाव्यले समतामूलक वर्गहीन समाज निर्माणको आग्रह गर्दछन् । नेपालीमा मोदनाथ प्रश्रितको मानव महाकाव्यलाई प्रगतिवादी महकाव्यका रूपमा लिन सकिन्छ ।
२.१०.४.४ प्रयोगवादी महाकाव्य
द्वितीय विश्वयुद्धपछि मानव सभ्यतामा भित्रिएका निराशा निरथर्कता, आदि कुरालाई देखाएर रचना भएका महाकाव्यलाई प्रयोगवादी महाकाव्य भनिन्छ । परम्परित काव्यनिर्माणको अवस्थालाई परिवर्तन गरी नवीन शिल्पमा काव्यको रचना गर्ने परिूपाटी अनुरूप सिर्जना भएका महाकाव्यहरू यस भित्र पर्दछन् । साहित्यलाई प्रयोगका रूपमा लिई सोही अनुरूप काव्यको रचना गर्ने परिूपाटी नै प्रयोगवादी काव्य रचना हो । परम्परित नियममा नमई नयाँ प्रयोगमा रचना भएका महाकाव्यहरू प्रयोगवादी महाकाव्य हुन् । नेपालीमा जगदीश समशेर राणाको नरसिंह अवतार र गोपाल पराजुलीका देशमाथि आलेख यस्ता महाकाव्यका उदाहरण हुन् ।
२.११ महाकाव्यको विकासको पूर्वीय र पाश्चात्य सन्दर्भ
धेरै पहिले महाकाव्यले विभिन्न स्थान, समय, सामाजिक परिस्थिति र परम्परा अनुसार मौखिक रूपमा निरन्तर अगाडि बढेको पाइन्छ । लेखनको विकास नभएका कारणले यस विधाले मौखिक रूपमा नै आफूलाई जोगाइराखेको थियो । त्यसैले महाकाव्य इतिहासका मौखिक परम्पराका रूपमा आफ्नो परिचय बनाउन सफल रहेको थियो । संस्कृतको वैदिक युगमा यो परम्परा जीवित रहेको थियो भन्ने कुरा इतिहासबाट प्रमाणित हुन्छ । जब लेखनको विकास भयो महाकाव्यले वैदिक युगको अन्त्यसँगै लिखित स्वरूप प्राप्त ग¥यो । लिखित परम्परामा महाकाव्यको प्रवेशसँगै यसमा समय समयमा विभिन्न मान्यताहरू पनि थपिँदै गए । यिनै मान्यताका आधारमा महाकाव्यलाई विश्वसाहित्यमा विविध धारा र उपधारामा विभाजन गरेर अध्ययन गर्न थालिएको छ । पूर्वीय काव्यचिन्तन परम्परामा महाकाव्यलाई तिन चरणमा विभाजन गरेर अध्ययन गरेको पाइन्छ । यस आधारमा महाकाव्यका विकासको अवस्थालाई यसरी देखाइएको छ :
प्रथम चरण : आर्ष महाकाव्य काल (सन् ६०० देखि सन् १००० सम्म)
द्वितीय चरण : कलात्मक महाकाव्य काल (सन् ५०० देखि इसाको चौथो शताब्दीसम्म)
तृतीय चरण : विचित्र मार्गी काव्य रचनाकाल (ईसाको चौथो शताब्दी देखि बाह्रौ शताब्दीसम्म)
चतुर्थ चरण : ह्रासोन्मुख काल (बाह्रौ शताब्दीदेखि हालसम्म)
संस्कृत वैदिक युग (सन् ४५०० – सन् ८००) पछि लौकिक महाकाव्य युग (सन् ८०० – सन् ८०० सम्म) को आरम्भ भएको मानिन्छ । यस समयमा महाकाव्य लिखित रूपमा प्रवेश गरेको छ (शर्मा, २०५३ः पृ. १०)। महाकाव्यको आरम्भ वैदिक युगमा भए तापनि लौकिक युगमा आएर मात्र आचार्य वाल्मीकि ऋषिले रामायण महाकाव्य पूरा गरेका हुन् । दैवी मानवीय, अर्ध मानवीय, वीरगाथा, प्रेमगाथा र ऋषिगाथा जस्ता विविध गाथाचक्रलाई समेटेर (सन् ५०० – सन् ६०० तिर) रचना गरिएको यो कृति नै संस्कृतको पहिलो मौलिक उपजीव्य महाकाव्य ग्रन्थ हो । पूर्वीय साहित्यमा यसैलाई हालसम्मको पहिलो लौकिक महाकाव्यका रूपमा लिइएको छ । ऋषिद्वारा रचित भएका कारणले यसले आर्ष महाकाव्यका रूपमा ख्याति पनि कमाएको छ । यसै समयमा व्यासको महाभारत पनि रचना भएको छ । महर्षि व्यासद्वारा रचिएको यो महाकाव्य पनि आर्ष महाकाव्यका रूपमा परिचित रहेको छ । यी दुवै महाकाव्यमा महाकाव्यका आदर्शलाई नसमेटिएको हुनाले यी रचनाहरू पछि मात्र महाकाव्यको लेखन क्रम थालिएको हो भन्न सकिन्छ । यस समयमा आदर्श काव्यका रचयिता ऋषिहरूमात्र भएकाले यस काललाई आर्ष महाकाव्य काल भनिएको पाइन्छ । यस अवधिमा सङ्ख्यात्मक रूपमा महाकाव्यको रचना हुन नसके पनि गुणत्मक रूपमा महाकाव्यको रचना भएको छ ।
महाकाव्य लेखनको दोस्रो चरण (सन् ५०० देखि ईसाको चौँथो शताब्दीसम्म) कालीदास र अश्वघोषले नेतृत्व गरेको समयलाई लिइन्छ । यसै समयमा आएर महाकाव्यका आदर्शको स्थापना गरी ललित महाकाव्य रचनाको थालनी भएको पाइन्छ । यो समय पूर्वीय महाकाव्यको विकास कालका रूपमा परिचित भएको समय हो । यस समयमा ललित महाकाव्यकृतिको रचना भएको छ ।
यसपछि पूर्वीय महाकाव्य लेखन विचित्रमार्गी परम्परामा प्रवेश गरेको छ । यो समय महाकाव्य विकासको तेस्रो चरण (इसाको चौँथो शताब्दी देखि बाह्रौँ शताब्दीसम्म) हो यस समयका महाकाव्यकारहरूमा माघ, श्रीहर्ष, भारवी, हुन् । यिनीहरूले विद्वत्ता र शास्त्रीयतापूर्ण महाकाव्यको रचना गरेका छन् । भावको गाम्भीर्यका कारणले संस्कृत भाषाको गरिमालाई अझ उच्चतामा पु¥याउने काम उनीहरूका महाकाव्यले गरेका छन् । यस समयका महाकाव्यमा चरम कालीगढी देखिन थालेकाले महाकाव्य जटिलतातर्फ अग्रसर भएको छ ।
बाह्रौँ शताब्दीपछि पूर्वीय साहित्यमा महाकाव्यको रचना भए पनि त्यति उत्कृष्ट र युगान्तकारी महाकाव्यको रचना भने भएको छैन । पहिलो चरणका तुलनामा यस समयका महाकाव्य गुणात्मक रूपले न्युन बन्दै गएका छन् । यसैले पूर्वीय महाकाव्यको यस समयलाई ह्रासोन्मुख कालका रूपमा चिनाइएको छ ।
पूर्वमा आर्ष महाकाव्यबाट महाकाव्य लिखित रूपमा प्रवेश गरे झैँ पश्चिममा महाकाव्य विधाको आरम्भ विकासशील महाकाव्यबाट भएको मानिन्छ । पूर्वमा वाल्मीकि र व्यासका रामायण र महाभारत तथा पश्चिममा होमरका इलियट र ओडिसी जस्ता महाकाव्य नै विश्व साहित्यमा आदि महाकाव्यका रूपमा परिचित रहेका छन् । हालसम्म थाहा भएका यिनै महाकाव्यको उपजीव्यतामा पूर्वीय र पाश्चात्य साहित्यमा महाकाव्यको विकास अहिलेसम्म पनि भइ नै रहेको छ ।
२.१२ नेपाली महाकाव्यको विकास प्रक्रिया
नेपाली महाकाव्यको विकासको पृष्ठभूमिका रूपमा नेपाली कविता विधा रहेकाले कविता विधाका आधारमा महाकाव्यको विकास प्रक्रियालाई देखाउनु स्वभाविक हुन्छ । नेपाली कविताको विकासका बारेमा अधिकांश विद्वानहरू सहमत भए अनुसार नेपाली कविताको आरम्भ सुवानन्द दासका वीर भावनाले भरिएका कविताबाट भएको हो । करिव साढे दुई सय वर्ष अघिको यस कालदेखि वर्तमानसम्म पनि कविता विधाको विकास निरन्तर रूपमा भइ नै रहेको छ । दयाराम श्रेष्ठ र मोहनराज शर्माका अनुसार विभिन्न मोड र उपमोडमा विकास हुँदै आएको नेपाली कविताको विकासक्रम निम्नानुसार रहेको छ :
आदि वा वीरगाथा काल (वि.सं. १८०१ – वि.सं. १८७२)
पूर्वमध्ये वा भक्तिकाल (वि.सं. १८७३ – वि.सं. १९३९)
प्राक आधुनिक वा तव्यकाल (वि.सं. १९४० – वि.सं. १९७४)
आधुनिक काल (वि.सं. १९७५ – हालसम्म) (श्रेष्ठ र शर्मा, २०६३ः पृ. २६)
नेपाली महाकाव्य लेखनका हिसाबले नेपाली कविताको वीरगाथा काल नै यस विधाको सुरुवात कालका रूपमा रहेको पाइन्छ । यसै समयमा पं. उदयानन्द अज्र्यालले पृथ्वीन्द्रोदय (१८७२) महाकाव्यको रचना गरिसकेको पाइन्छ । यसैगरी नेपाली कविताको अर्को वर्गीकरण अनुसार नेपाली कवितालाई निम्नानुसार पनि वर्गीकरण गरिएको छ ः
प्रथमिक काल (वि.सं. १८२६ – वि.सं. १९४०)
माध्यामिक काल (वि.सं. १९४१ – वि.सं. १९७४)
आधुनिक काल (वि.सं. १९७५ – हालसम्म)
पूर्वाद्र्ध (वि.सं. १९७५ – वि.सं. २०१६)
उत्तराद्र्ध (वि.सं. २०१७ – हालसम्म) (त्रिपाठी र अन्य, २०४८ः पृ. १०१–१०५)
समयको विकाससँगै महाकाव्य लेखनको पनि विकास भएको पाइन्छ । नेपाली महाकाव्यको विकासक्रमलाई यसरी वर्गीकरण गरिएको छ :
देवकोटा पूर्व युग ( सुरु देखि २००१ सम्म)
देवकोटाकालीन युग (वि.सं. २००२ – २०१६)
देवकोटाका उत्तरयुग (वि.सं. २०१७ – हालसम्म)
यो वर्गीकरण देवकोटाको शाकुन्तल महाकाव्यलाई केन्द्र बनाइ गरिएको देखिन्छ । देवकोटा पूर्व युगमा महाकाव्य लेखनका चेष्टा देखा पर्नु र देवकोटा युगमा महाकाव्यले प्राप्ति भएको छ भने देवकोटा उत्तर युगमा महाकाव्य लेखनमा ह्रास आएको पाइन्छ । यो वर्गीकरणको तेस्रो युग देवकोटा उत्तर युगलाई महाकाव्य विस्तार युग नामकरण गर्नु सान्दर्भिक देखिदैन ।
साहित्य लेखन प्रक्रियालाई साहित्यकारको जन्म, राज्यको शासनकाल आदिका आधारमा मात्र वर्गीकरण नगरी साहित्यमा भित्रिएका विभिन्न धारा उपधाराका आधारमा वर्गीकरण गरेको पाइन्छ । पाश्चात्य साहित्यमा परिष्कारवादी स्वच्छन्दतावादी र यथार्थवादी प्रवृत्तिले साहित्यमा परिवर्तन भएको देखिन्छ भने नेपाली महाकाव्यलाई पनि यसरी नै विभाजन गरिएको छ ।
परिष्कारवादी धारा एउटा शास्त्रीयतावादी धारा पनि हो । यस धारा अन्तर्गत अनुशासनमा बाँधिएका महाकाव्य पर्दछन् । नायक परिवेश भाषिक चयन आदिका कुराहरूलाई ख्याल गरी परिष्कारवादी महाकाव्य लेखिन्छन् । उदाहरणको रूपमा सोमनाथ सिग्देलको आदर्श राघव महाकाव्य लिन सकिन्छ ।
स्वच्छन्दतावादी धारा अन्तर्गत रहेर पनि नेपाली महाकाव्यहरू रचना भएका छन् । विशेषगरी आत्मपरक रूपमा मानव समुदायका प्रेम, अनुराग, सौन्दर्य, दया, आशा, इच्छा आदिका उन्मुक्त प्रकाशित छन् नेपाली साहित्यको स्वच्छन्दतावादी महाकाव्य शाकुन्तल, सुलोचना र महाराणाप्रताप हुन् ।
प्रगतिवादी धारा अन्तर्गत निम्नवर्ग माथिको शोषण अन्याय अत्याचार भेदभावपूर्ण विचार सामाजिक कुसंस्कारको अन्त्य हुनुपर्ने धारणा प्रस्तुत भएका महाकाव्य पर्दछन् । नेपाली साहित्यको प्रगतिवादी महाकाव्य मोदनाथ प्रश्रितको मानव हो ।
प्रयोगवादी धारा अन्तर्गत मानवमा हुने निराशा, निरर्थकता आदि कुरा समेटिएका महाकाव्य प्रयोगवादी धारा अन्तर्गत पर्दछन् । नवीन शिल्पमा काव्य रचना गरी प्रयोगका रूपमा यस धाराका महाकाव्यलाई हेरिन्छ । नेपालीमा बालकृष्ण समको चिसो चुल्हो र जगदीश समशेर राणाको नरसिंह अवतार प्रयोगवादी महाकाव्य हुन् । (लामिछाने बुनु, शोधपत्र, २०५८ः पृ. २४)
नेपाली साहित्यमा कविता लेखन तथा प्रकाशनदेखि वर्तमान समयलाई हेर्दा नेपाली महाकाव्य परम्पराको विकास क्रमलाई वि.सं.२००१ देखि अगाडिको समयलाई महाकाव्यको पृष्ठभूमि काल २००२ देखि २०१६ सम्मको अवधिलाई उत्कर्ष काल र २०१६ पछिको समयलाई निरन्तर काल भनी वर्गीकरण गर्न सकिन्छ । यसलाई निम्नानुसार छुट्टाछुट्टै विश्लेषण गरिन्छ ।
२.१२.१ पृष्ठभूमिकाल (२००१ भन्दापूर्व)
नेपाली साहित्यमा उदयानन्द अर्यालद्वारा लिखित पृथ्वीन्द्रोदय (वि.सं. १८७२ तिर अप्रकाशित) महाकाव्यबाट नेपाली महाकाव्यको बिजारोपण भएको पाइन्छ । यसपछि आदिकवि भानुभक्त आचार्यद्वारा अनुवादित (संस्कृतबाट) अर्धमौलिक महाकाव्य ‘रामायण’ (वि.सं.१८९८–१९१०) देखापर्दछ । वाल्मीकिकृत रामायणलाई नेपाली जनजिब्रो अनुसार अनुवाद गरे । ईश्वरभक्ति तथा मानवीय सत्गुण, नीति, आदर्श र सत् चरित्रताको उदाहरणका रूपमा यो काव्य रहेको छ । वाल्मीकि रामायणको कतिपय अप्रसाङ्गिक प्रसङ्गहरूलाई हटाउँदै नेपाली समाजमा सुहाउने प्रसङ्ग जोड्दै मौलिक बनाउने प्रयास गरिएको छ । नेपाली साहित्यमा महाकाव्य लेखेर आफ्नो प्रतिष्ठा कमाउने भन्दा पनि नेपाली समाजलाई रामकथा सुनाएर आध्यात्मिक चेतना जगाउने उद्देश्यले रामायण लेखिए तापनि यस कालको सर्वोत्कृष्ट काव्यका रूपमा रह्यो भने भानुभक्त नै यस युगका प्रतिनिधि कविका रूपमा देखापर्दछन् ।
यस अवधिमा लेखिएका रमाकान्त बरालको अद्भूत रामायण (१९४९), शिखरनाथ सुवेदीको वृहत कृष्णचरित्र (१९५५), कुञ्ज विलास गौतमको महाभारतका शल्य पर्वहरू (१९५६), सुब्वा होमनाथ खतिवडाको रामायण अश्वमेख काण्ड (१९६०), शम्भुप्रसाद ढुङ्गेलको महाभारत (१९६०) र बृहत कृष्णचरित्र (१९७८) रामप्रसाद सत्यालको महाभारत अठार पर्व, नरेन्द्रनाथ रिमालको महाभारत अठार पर्व (१९८२) जस्ता केही महाकाव्यात्मक स्वरूपका कृतिहरू लेखिएका पाइन्छ । देवीदत्त पराजुलीद्वारा महाकाव्यको दावी गर्दै लेखिएको कविता गुच्छाहार (१९९८) पनि यसै समयमा आएको पाइन्छ । तर यो कृतिमा महाकाव्योचित गुण पाईँदैन । लक्ष्मीप्रसाद देवकोटाले पनि यसै समयमा सुष्मालोचन (अपूर्ण) महाकाव्य लेख्ने प्रयत्न गरेको देखिन्छ भने माधव प्रसाद घिमिरेले पनि गोविन्द (अपूर्ण) महाकाव्य लेख्ने प्रयास गरेको पाइन्छ ।
नेपाली साहित्यमा महाकाव्यको पृष्ठभूमि समयको आरम्भमा कविताभन्दा विस्तृत आकारका कृतिहरू देखिए जसमा महाकाव्यात्मक गुणहरूको भने अभाव रहेको पाइन्छ । पछिल्ला अवस्थामा केही महाकाव्यात्मक कृतिहरू देखिए तापनि पूर्ण हुन नसकेको पाइन्छ । योक समयमा पौराणिक विषयवस्तुमा आधारित रामायणले मात्र सफल पाएको देखिन्छ भने केही मौलिक विषयवस्तु समेतमा महाकाव्य लेखिने चेष्टा गरेको देखिन्छ ।
२.१२.२ उत्कर्ष काल (वि.सं. २००२ – वि.सं. २०१६ सम्म)
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तला महाकाव्यको प्रकाशन (२००२) पनि नेपाली महाकाव्य जगतमा आधुनिक मौलिक महाकाव्य लेखनको सुरुवात भएको हो । पौराणिक विषयवस्तुमा आधारित शाकुन्तल महाकाव्य प्रकाशनका दृष्टिले मात्र नभएर स्तरीय कवित्वको विराट् प्रवाह र बृहत आख्यानात्मक प्रबन्ध विधानका दृष्टिले पनि नेपाली साहित्यको सर्वप्रथम मौलिक महाकाव्य बनेको पाइन्छ । स्वच्छन्दतावादी धारामा लेखिएको शाकुन्तल महाकाव्यले देवकोटाको कवित्वको समेत पहिचान दिएको पाइन्छ । देवकोटाद्वारा लिखित ‘सुलोचना’ (२००३), महाराणप्रताप (२००३), वनकुसुम (२००३) आदि काव्यहरूले यस समयलाई स्वर्णिम बनाउने कृतिका रूपमा रहेका छन् । देवकोटाद्वारा नै ६÷६ वटा महाकाव्य लेखिनु र त्यसमा पनि ‘शाकुन्तला’ जस्तो उत्कृष्ट महाकाव्य नेपाली साहित्यले प्राप्त गर्नु यस समयको महान् उपलब्धी हो । यसै समयमा सोमनाथ सिग्देलद्वारा लेखिएको शास्त्रीयतावादी महाकाव्य ‘आदर्श राघव’ (२००५), लेखनाथ पौड्यालद्वारा पूर्ण परिष्कृत गरी लेखिएको महाकाव्य ‘तरुण तपसी’ (२०१० नव्यकाव्य) र बालकृष्ण समद्वारा गद्य शैलीको प्रयोग गरी लेखिएको प्रगतिशील महाकाव्य ‘चिसो चुल्हो’ (२०१५) पनि यस समयका उत्कृष्ट प्राप्ति हुन् ।
यस अवधिमा नेपाली साहित्यमा जम्मा नौ वटा महाकाव्य लेखिएका छन् भने त्यसमा पनि ६ वटा महाकाव्य देवकोटाकै छन् । स्वच्छन्दतावादी, शास्त्रीयतावादी, नवशास्त्रीयतावादी तथा प्रगतिशील धारामा महाकाव्यहरू लेखिएको पाइन्छ । कवित्व, कला, भाव, विचार आदिका दृष्टिले यो अवधिलाई महाकाव्य लेखनको उत्कर्ष काल नै मानिन्छ ।
२.१२.३ निरन्तर काल (वि.सं. २०१६ पछि)
देवकोटाको अवसानपछि नेपाली महाकाव्य लेखनमा मन्दता आएको देखिन्छ । नेपाली कविता लेखनमा प्रयोगवादी प्रवृत्तिको सुरुवातले गर्दा यसले महाकाव्य स्तरको कृति दिए तापनि महाकाव्यकै लेखनमा भने मन्दता पाइन्छ ।
यस अवधिमा काव्यकारहरूले परिष्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा, प्रगतिशील धारा आदि विविध धाराहरूमा काव्य रचना गरेको पाइन्छ । यस अवधिका काव्यहरूमा पनि इतिहास, पुराण, सामाजिक विषयवस्तु नै प्रमुख रहेको पाइन्छ ।
यो अवधिमा कृष्णप्रसाद घिमिरेका देश नरेश (२०१७) र राष्ट्रिय चरित्र (२०१७) ऐतिहासिक विषय वस्तुमा आधारित, गोविन्दप्रसाद भट्टराईका पृथ्वी महेन्द्र (२०१९) र भावना (२०२०) पौराणिक मौलिक विषयवस्तु मोदनाथ प्रश्रितका मानव (२०२३) र देवासुर सङ्ग्राम (२०३०) सामाजिक विषयवस्तु मोदनाथ शर्मा शास्त्रीको भानु (२०२४) ऐतिहासिक मौलिक विषयवस्तु, हरिहर शास्त्रीको उषाविनोद (२०२४), रम्भा (२०२५) सामाजिक मौलिक विषयवस्तुमा आधारित छन् । यसैगरी यस समयमा नीरविक्रम प्यासीको दबला (२०२४), श्री हरि फुयालको आँसुको सङ्ग्राम (२०२६), भरतराज मन्थलीयका देवयानी (२०३९), महारामायण (२०५०), भरतराज पन्तको दोभान (२०४१), भानुभक्त पोखरेलका मृत्युञ्जय (२०४७) र जागृति राज (२०५६), शैलेन्द्र प्रकाश नेपालको ‘जुनु’ (२०४८) पूर्ण प्रकाश नेपाल ‘यात्री’ को वसन्त पल्लव (२०५०), रामप्रसादको आत्मसमर्पण (२०५५), कुलचन्द्र कोइरालाको भिमसेन थापा (२०५९), बुनु लामिछानेको याचना (२०६०), भुषण हुमागाँईको तथागत (२०६१) आदि रहेका छन् ।
नेपाली महाकाव्य विकासक्रमको निरन्तर कालमा लगभग १५५ भन्दा बढी महाकाव्यको लेखन भएको पाइन्छ । ऐतिहासिक विषयवस्तुमा आधारित देश नरेश महाकाव्यबाट सुरु भएको यो समयमा मानवजस्तो प्रगतिशील र नरसिंह अवतार जस्तो प्रयोगवादी महाकाव्यको निर्माण भएको पाइन्छ । आकारका दृष्टिले हालसम्मका सबैभन्दा ठूला महाकाव्यहरूमा पूर्ण प्रकाश नेपाली ‘यात्री’ को सिजापतिवाला (जसमा १०८ सर्ग र १०, ८४५ श्लोक) छन् । चन्द्र प्रसाद न्यौपानेको बृहत्तर महाकाव्य चन्द्रयुग भाग–१ (जसमा २०० सर्ग २१, २२३ श्लोक) पनि यसै समयमा प्रकाशित हुन्छन् । यो अवधि महाकाव्य लेखनको निरन्तरताको अवधि भएकाले यस अवधिमा गुणात्मक भन्दा परिमाणात्मक उपलब्धि प्राप्त भएको पाइन्छ । विषयवस्तु र शिल्पका दृष्टिले यस अवधिक, नरसिंह अवतार देवासुर सङ्ग्राम, दोभान, मृत्युञ्जय आदि उत्कृष्ट महाकाव्यहरू हुन् । यस अवधिमा वर्णमात्रिक मात्रिक र गद्य तीनवटै शैलीमा महाकाव्य लेखन भएको पाइन्छ । ऐतिहासिक, पौराणिक र सामाजिक तीनवटै विषयवस्तुमा आधारित र परिष्कारवाद, स्वच्छन्दतावाद, प्रगतिवाद र प्रयोगवादमा आधारित महाकाव्य लेखन रहेको पाइन्छ । यस क्रममा पाश्चात्य साहित्यको प्रभावसँग विष्णु भण्डारीले पनि गद्य अन्तर्गत रहेर प्रगतिवादी महाकाव्य उत्सर्ग लेखेको पाइन्छ । जसमा सामन्ती समाज जहाँ अन्याय, अत्याचार, शोषण र दमन बढ्दै गएको छ । यसलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचलाई आफ्ना रचनामा प्रस्तुत गरेको पाइन्छ ।
२.१३ निष्कर्ष
पूर्वीय आचार्यहरूले सिङ्गो साहित्यका अर्थमा काव्य शब्दको प्रयोग गरेका छन् । आचार्यहरूले कविताका रूपमा परिभाषा नगरी पुरै साहित्यका रूपमा परिभाषा नगरी पुरै साहित्यका रूपमा परिभाषा दिएका छन् । सुरुका आचार्यहरूले सौन्दर्ययुक्त र सौन्दर्यबिहीन दुवैलाई काव्य भनेको पाइन्छ । आचार्य भामहले आफ्नो परिभाषामा शब्द र अर्थ दुवैलाई बराबर मानी तिनको सहभावलाई काव्य भनेका छन् । पण्डितराज जगन्नाथले शब्दलाई मात्र काव्य मानेका छन् । केही आचार्यहरूले पूर्ववर्ती काव्य परिभाषालाई निरन्तरता दिएका छन् भने केहीले मौलिक तथा नवीन मान्यता समेत प्रस्तुत गरेका छन् । आचार्यहरूले आ–आफ्ना अवधारणाहरूमा अलङ्कार, रीति, ध्वनि, वक्रोक्ति, औचित्यलाई आत्मा मानी परिभाषा दिएका छन् । यसरी आचार्यहरूका बीचमा काव्य आत्माका बारेमा मत भिन्नता देखिए तापनि रसानुभूति, सौन्दर्य र रमणीयतालाई सबैले स्वीकारेका छन् । पूर्वीय आचार्यहरूको साहित्य चिन्तनमा अलङ्कार र रीतिले संरचनालाई, वक्रोक्ति र औचित्यले वस्तुलाई, रस र ध्वनिले आत्म जस्ता तत्वलाई जोड दिएको पाइन्छ ।
पाश्चात्य साहित्यका विभिन्न कवि एवं समालोचकहरूले कविता विधा विशेषमै केन्द्रित भई परिभाषा दिएका छन् । आजका कविताले जे बुझाउँछ त्यसका लक्षण र स्वरूप चिनाउने काममा पश्चिमी विद्वानहरूबाटै भएको पाइन्छ । पोयमले बुझाउने विशिष्ट अर्थको अभिव्यक्तिको विकास र विस्तार पश्चिमबाटै भएको पाइन्छ । पाश्चात्य कविहरूका कवितासम्बन्धी परिभाषाहरूले एक÷एक पक्षलाई जोड दिई सम्पूर्ण पक्षलाई चिनाउन नसके तापनि युगको प्रतिनिधित्व गर्ने विशिष्ट एवं मौलिक परिभाषाहरू दिएका छन् । उनीहरूले कवितालाई अनुकरण कलाको रूपमा चिनाउन सुरू गरी समयक्रमसँगै विविध रूपमा समेत चिनाएका छन् । विशेष गरी पाश्चात्य विद्वानहरूले कवितामा कल्पना, भावना, संवेग, लय, अभिव्यक्तिगत विशिष्टता आदि कुराहरू मध्ये कुनै न कुनै एक पक्षमा जोड दिएका छन् । केही विद्वानहरूले कल्पना र भावनाको संयुक्त आवश्यकतामा जोड दिएकाक छन् भने केहीले त्यस बाहेकका साथै अन्य तत्वको पनि समायोजन हुनु पर्ने बताएका छन् । समग्र रूपले कविताको परिभाषा गर्न नसके तापनि कविता विधालाई नै केन्द्रित गरी परिभाषा गर्नुलाई पाश्चात्य साहित्यको उपलब्धिपूर्ण मानिन्छ ।
उपर्युक्त नेपाली कवि समालोचक एवं साहितय चिन्तकहरूले समय अनुकूल कविताको परिभाषा प्रस्तुत गरेका छन् । नेपाली कविहरूले कविताको समग्रपक्षलाई आफ्ना विचारमा समेट्न नसके तापनि समग्रपक्ष चिनाउने तर्फ भने उन्मुख देखिन्छन् । नेपाली साहित्यकारका अधिकांश परिभाषाहरू पूर्वीय तथा पाश्चात्य मान्यताबाट प्रभावित देखिन्छन् । केही विद्वानहरूले दुवै मान्यतालाई समन्वयात्मक रूपमा प्रस्तुत गरेका छन् भने निजात्मक गुण पनि पाइन्छ । नेपाली साहित्यका परिष्कारवादी कविहरूले बौद्धिकतालाई र स्वच्छन्दतावादी मान्यताका कविहरूले हार्दिकतालाई आफ्ना परिभाषामा जोड दिएका छन् । अन्य साहित्य चिन्तकहरूले कवितामा, कल्पना, अनुभूति, विचार जस्ता कुराहरूको कलात्मक रूपले प्रस्तुति हुनुपर्छ साथै यथार्थ सत्यको उद्घाटन हुनुपर्छ भन्ने मान्यता अघि सारेका छन् । समग्र नेपाली विद्वान एवं साहित्य चिन्तकहरूको परिभाषाहरूमा हार्दिकता बौद्धिकता, कल्पना, भाव, विचार, सौन्दर्यको रूपमा यथार्थको प्रकटीकरणलाई स्थान दिएका छन् । नेपाली कविताका परिभाषाहरूले कविताको समग्र रूपलाई समेट्न नसके तापनि युगीन प्रतिनिधित्व भने गर्न सकेको पाइन्छ ।
पूर्वीय साहित्यमा आचार्यहरूको काव्यसम्बन्धी अवधारणबाट नै कविताको परिभाषा खोज्नुपर्ने हुन्छ । सुरूमा काव्य मान्यतामा कि शब्द कि अर्थलाई मात्र जोड दिएका थिए भने भामहले शब्द र अर्थ दुवैको समन्वयबाट काव्यको निर्माण हुन्छ भन्दै शब्दार्थलाई बराबरी ठानेका छन् । आचार्यहरूले समयको विकाससँगै धेरै साहित्यिक मान्यताहरूको स्थापना गर्दै आफ्ना काव्य सम्बन्धी अवधारणाहरू अघि सारेका छन् । ती मतहरूमा रसानुभूति, सौन्दर्य र रमणीयतालाई स्वीकार गरेको पाइन्छ । यसै गरी पश्चिमी साहित्य चिन्तकहरूले कविता, विधा नै भनि किटान गरी परिभाषा दिएका छन् । उनीहरूले कवितालाई अनुकरणको कला भनी चिनाउन सुरु गरेका छन् । पाश्चात्य मतका कवितामा कल्पना, भावना, संवेग, लय, अभिव्यक्तिगत विशिष्टता जस्ता पक्षहरूलाई विशेष जोड दिएको पाइन्छ । केही विद्वानहरूका परिभाषामा कविताको समग्र पक्षलाई चिनाउने चेष्टाका साथै मौलिकता पनि पाइन्छ । कविताको परिभाषा गरी चिनाउने काम नेपाली साहित्यकारहरूले पनि गरेका छन् । नेपाली कविका परिभाषाहरूमा केही पूर्वीय एवम् पाश्चात्य प्रभाव देखिए पनि मौलिक रूपमा कविताको समग्र, पक्षलाई समेट्ने चेष्टा गरेका पाइन्छ । नेपाली विद्वानहरूका परिभाषामा भाव, विचार, कल्पना, सौन्दर्य जस्ता कुरामा जोड दिएका छन् । उपर्युक्त विभिन्न साहित्य चिन्तकमहरूका मतलाई अध्ययन गर्दा कविता भाव तथा अनुभूतिको लयात्मक भाषिक संरचना हो भनी चिनाउन सकिन्छ ।
कविताको उपविधा अन्तर्गत महाकाव्य पर्दछ । कविका अनुभूतिले आख्यानलाई काखी च्यापेपछि यसले क्षेत्र विस्तृत अनुभूतिबाट महाकाव्य बन्दछ । पूर्वीय साहित्यमा महाकाव्यलाई चिनाउने काम ई.स.को सुरुवातसँगै भए तापनि महाकाव्यकै रूपमा परिभाषा गर्ने काम भामहबाट भएको पाइन्छ । सुरुमा महाकाव्यलाई चिनाउँदा सर्गबद्ध भएको, महान नायकको चरित्रमा आधारित हुँदै ठूलो आकारको काव्यलाई मानियो । महाकाव्यमा रस, सन्धि, चतुर्वर्गलाई विशेष महत्व दिएको पाइन्छ । दण्डीले सर्गका साथै तीन मङ्गलाचरण सुरुमा हुनुपर्छ भन्दै नयाँ मान्यता थपेका छन् । विषयवस्तु, चरित्र, प्रकृति चित्रण जस्ता कुराहरूमा जोड दिँदै मौलिकपन दिएका छन् । पछिल्ला आचार्यहरूले नायकको वंश परम्परा, विषयवस्तुमा मौलिकता, सर्गको किटान सर्गान्तरमा छन्दको परिवर्तन सर्ग बीच एक अर्कामा सम्बन्ध विभिन्न परिवेशको चित्रण गर्नु पर्नेमा विशेष जोड दिएका छन् । यसरी महाकाव्य इतिहास, पुराण वा कविकल्पित विषयवस्तु भएको सत् तथा उच्च कुलिन नायक भएको कम्तिमा आठ सर्गमा बाँधिएको पञ्चसन्धिले युक्त शृङ्गार, वीर र शान्त मध्ये एक रस प्रमुख भएको प्रकृति, चन्द्र, सूर्य आदिको वर्णन गरिएको आलाङ्कारिक भाषा शैलीमा वर्णित विस्तृत आयाम भएको महाकाव्य हो ।
पाश्चात्य साहित्यमा महाकाव्य नै भनी किटान गरी आ–आफ्ना मान्यताहरू विद्वान, आलोचक, समीक्षकहरूले नराखे तापनि दुःखान्तको विशेष चर्चा गर्ने क्रममा महाकाव्य सम्बन्धी धारणाहरू ठाउँ ठाउँमा भने चर्चा गरेका छन् । अरस्तुले दुःखान्तको विवेचना गर्दा महाकाव्यको पनि चर्चा गरे पश्चात् समयक्रमसँगै अन्य समीक्षकहरूको आ–आफ्ना धारणाहरू अघि सारेका छन् । पाश्चात्य साहित्यमा महाकाव्यको विषयवस्तु प्रख्यात वा दन्त्यकथा मुलकमा जोड दिएका छन् । चरित्रलाई विशेष महत्व दिँदै नायक उदात्त हुनुपर्छ । उसका जीवनका यावत् कुराहरूको चित्रण गर्दै पाठकहरूमा आनन्द प्रदान गर्नु पर्दछ । महाकाव्यमा कविको कल्पना, विचारधारा, चरित्र चित्रणको सफल प्रयोग हुनुपर्दछ उदात्त शैलीको प्रयोगले नै महाकाव्य महान् बनाउन सकिन्छ भन्ने मान्यता रहेको छ । पाश्चात्य विद्वानहरूका सम्पूर्ण धारणाहरूलाई समेट्दा महाकाव्य गौरवपूर्ण गाथाले भरिएको उदात्त नायक भएको, एउटै छन्दको प्रयोग गरिएको, आलङ्कारिक शैलीमा रचिएको आख्यानात्मक कृति हो ।
परिच्छेद तीन
कवि विष्णु भण्डारीको साहित्यिक परिचय र प्रवृत्ति
३.१ पृष्ठभूमि
वि.सं. २०२० साल फागुन २९ गते पश्चिम नेपालको पहाडी जिल्ला गुल्मीको धुर्कोटवस्तुमा जन्मिएका विष्णु भण्डारी प्रगतिवादी नेपाली कविताका क्षेत्रमा परिचित नाम हो । तीन दशकदेखि निरन्तर साहित्यमा क्रियाशील भण्डारीको वि.सं. २०४३ सालबाट पुस्तककार कृतिहरू प्रकाशित भएका छन् । साहित्यिक यात्राको अभ्यासिककाल खण्डमा कवि भण्डारीले एस.वि. विवेकको नामबाट विद्रोहको छाल (खण्डकाव्य, २०४३), आँधी तुफान (मुक्तक सङ्ग्रह, २०४४) ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५), कालो नाटक (लघुकाव्य, २०४५) र विष्णु भण्डारीकै नामबाट फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), उत्सर्ग (महाकाव्य, २०६७) र घाइते ह्विलचियर (कविता सङ्ग्रह, २०६९) प्रकाशित गरेका छन् । कविताका बहुविधा भेदमा कलम चलाएका काव्य सर्जक भण्डारी लेखनका आभ्यासिक कालखण्ड देखि नै आफूलाई प्रगतिशील धारमा उभ्याउँदै अगाडि बढिरहेको देखिन्छ ।
३.२ साहित्यिक सिर्जनाको प्रभाव र प्रेरणा
गुल्मी धुर्कोटको रमणीय प्राकृतिक वातावरणमा हाँस्दै खेल्दै त्यही माध्यामिक शिक्षा पूरा गरेका भण्डारीको साहित्य लेखनमा त्यहीँको प्राकृतिक मनोरम छटाहरू तथा तत्कालीन सामाजिक साँस्कृतिक पक्षहरूको प्रभाव परेको पाइन्छ । विद्यालयमा साप्ताहिक रूपमा साहित्यिक कार्यक्रम हुने गरेको र उनका दाजु हरि भण्डारीले भाग लिने गर्थे । उनलाई पनि त्यस्ता साप्ताहिक कार्यक्रममा भाग लिन दाजुको प्रेरणा मिलेको हो (शोधनायकबाट प्राप्त जानकारी)। विष्णु भण्डारीले साहित्यिक कार्यक्रममा कविता वाचन गरेको देखेर शिक्षकहरूले उनलाई हौसला दिँदै साहित्य लेखनका लागि प्रोत्साहन गरेको देखिन्छ ।
बाल्यकालमै पारिवारिक समस्याका कारण कामको खोजीमा भारत पुगेका भण्डारीले त्यहाँ नेपाली पद्य सङ्ग्रह भाग १, महाभारत र रामायण पढ्ने अवसर पाए जसले उनीमा साहित्य लेखनका लागि प्रभाव परेको पाइन्छ । म्याक्सिम गोर्किको आमा लगाएत थुप्रै साहित्यिक कृतिको अध्ययन विष्णु भण्डारीले गरेको देखिन्छ । गरिबी र अभावग्रस्त घरूपरिवार समाजमा भएको सामाजिक आर्थिक विभेद र शोषणले विद्रोहात्मक लेखनका लागि भण्डारीलाई उर्जा प्रदान गरेको बताउँछन् । (पूर्ववत्) प्रगतिशील साहित्यका फाँटमा चम्किएका तारा विष्णु भण्डारीलाई साहित्य लेखनमा उनको परिवारिक पृष्ठभूमि, तत्कालीन समाज, साथीभाइ, भौगोलिक परिवेश, विद्यालयीय साहित्यिक कार्यक्रम, गुरुहरू, राजनीतिक सम्पर्क तथा विद्रोही स्वभावले उत्प्रेरणा जगाएको देखिन्छ ।
३.३ साहित्यिक रचनाको प्रारम्भ र प्रथम प्रकाशित रचना
विष्णु भण्डारीको साहित्यिक लेखनको प्रारम्भ विद्यार्थी जीवनदेखि नै भएको हो । उनले विद्यार्थी जीवनमा थुप्रै कथा, कविता, लेखेका भएपनि प्रकाशित भने छैनन् । उनले विद्यार्थी जीवनदेखि नै लेखेको कविता रेडियो नेपालको साहित्य संसार कार्यक्रममा प्रसारण भएको देखिन्छ (ऐजन) । उनको पहिलो कृति प्रकाशन हुनुभन्दा अघिको फुटकर रचना प्रकाशित भएका छैनन् । उनी नेपाली साहित्यका फाँटमा कविता विधाको विद्रोहको छाल खण्डकाव्य लिएर औपचारिक रूपमा देखिएको पाइन्छ । उनले वि.सं. २०४३ सालमा एस.वि. विवेक उपनामबाट यो कृति प्रकाशित गराएका छन् । यो नै भण्डारीका प्रथम प्रकाशित कृति र रचना हो ।
३.४ प्रकाशित पुस्तककार कृतिको विवरण
विष्णु भण्डारीले नेपाली साहित्यको कविता र कथा विधामा कलम चलाएका छन् । उनले कविता विधाको लघुत्तम रूपदेखि वृहत् रूपसम्म कृतिको रचना र प्रकाशन गरेका छन् । उनका कथा विधाका क्षेत्रमा एउटा मात्रै कथा प्रकाशित भएको छ । उनको हालसम्म प्रकाशित कृतिहरू निम्नलिखित छन् :
विद्रोहको छाल (खण्डकाव्य, २०४३)
आँधी तुफान (मुक्तक सङ्ग्रह, २०४४)
ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५)
फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३)
देश जागेको बेला (कविता सङ्ग्रह, २०६३)
उत्सर्ग (महाकाव्य, २०६७)
घाइते ह्विलचियर (कविता सङ्ग्रह, २०६९)
विश्वासमा अडिएको जीवन (फुटकर कथा)
३.५ विष्णु भण्डारीका साहित्यिक प्रवृत्तिहरू
आधुनिक नेपाली साहित्यका क्षेत्रमा आफ्नो छुट्टै परिचय दिन सफल व्यक्ति भण्डारीले धेरै कृतिहरू प्रकाशनमा ल्याइसकेका छन् । उनले विशेष प्राथमिकता काव्य विधालाई दिए पनि कथा विधामा समेत हात हालेको पाइन्छ । अन्याय, अत्याचार, शोषण, दमन जस्ता कुराको विरोध गर्ने साहित्यकार भण्डारीले यथार्थिक कुरा प्रस्तुत गर्दै समाज परिवर्तनको सोचलाई आफ्ना रचना मार्फत उकेल्ने काम गरेका छन् । उनका समग्र साहित्यिक कृतिका विशेषताहरूलाई निम्नानुसार क्रमशः प्रकाश पारिएको छ :
३.५.१ प्रगतिवादी विचार
कवि विष्णु भण्डारीको विभिन्न कृति तथा रचनाहरूमा प्रगतिवादी विचारधाराले ओतप्रोत भएको पाइन्छ । समाज सामन्ती साम्राज्यले जकडिएको बेला अन्याय, अत्याचार, शोषण र दमन बढ्दै जान्छ । त्यसपछि शोषकहरूको प्रताडनबाट शोषित वर्गहरू कायल हुन्छन् र एक योद्धा जन्मन्छ र विद्रोह सुरु गर्छ त्यसपछि शोषित दमितहरूले मुक्तिको बाटो रोज्छन् । यस्तै प्रगतिवादी विचार उनका हरेक कृतिहरूमा देखा परेको छ । उदाहरणको रूपमा उत्सर्ग महाकाव्य (२०६७) लाई लिन सकिन्छ ।
३.५.२ विद्रोह चेत
समाजको यथार्थ प्रस्तुत गर्ने क्रममा नेपालको इतिहासमा घटेको घटनाहरूलाई आधार मानी पञ्चायती व्यवस्था जनयुद्ध (१२ वर्षे) आदिको परिवेशमा सामान्य परिवारमा जन्मेको व्यक्तिले लिएको सङ्कल्पबाट वर्ग सङ्घर्ष र क्रान्तिकारी चेतनाबाट मानवीय मूल्यको जीवनको सत्यतालाई प्रतिस्थापित गर्ने लक्ष्य प्राप्तिको लागि विद्रोह चेत नै प्रमुख रूपमा देखापरेको छ । उनका कृतिमा पात्रहरूमा यो विशेषता प्रतिस्थापन गर्न उनी सक्षम रहेका छन् । उदाहरणको रूपमा विद्रोहको छाल (खण्डकाव्य, २०४३) लाई लिन सकिन्छ ।
३.५.३ माक्र्सवादी चिन्तन
उनले कृतिमा समाजमा रहेका दुई वर्गहरू एक सम्भ्रान्त वर्ग र अर्को निम्न वर्गबीचमा एक समयमा जसरी पनि विद्रोह हुन्छ र त्यसबाट पूँजीवादीहरूले निम्न वर्गका मानिसलाई थिचोमिचो शोषण दमन गर्छन् । पछि आफ्नै स्वामित्व तथा प्रभुत्व प्रदर्शन गर्छन् जसको कारण दासता, अत्याचार, दमन र उत्पीडन बढ्दै जान्छ । त्यसको प्रतिकार जब निम्न वर्ग आफ्नो स्तरबाट माथि पुग्छ तब विद्रोहको स्वर लिएर सम्भ्रान्त वर्ग सामु उपस्थित हुन्छ । यो माक्र्सवादी विचार उनका कृतिहरूमा स्पष्ट देखापर्छ । जसको प्रतिनिधित्व उनका कृतिका मुख्य पात्रमा रहेको देखिन्छ । विद्रोहको स्वरमा अन्याय अत्याचारका विरोध गर्ने कार्य निम्न वर्गको एक साहसी युवायुवतीले अर्थात कृतिका मुख्य पात्रले गरेको हुन्छ । त्यसैले यो कार्लमाक्सले जन्माएको सिद्धान्तलाई उनले आफ्नो कृतिमा प्रतिबिम्बित गरेका छन् । उत्सर्ग महाकाव्य– २०६७, ब्वाँसोको अन्त्यको खेल खण्डकाव्य– २०४५ लाई माक्र्सवादी चिन्तन प्रस्तुत भएको महाकाव्यको रूपमा लिन सकिन्छ ।
३.५.४ सामाजिक कुरीतिप्रति प्रतिकार
समाजमा हुने गरेको हरेक कुरीति जस्तै हत्या, हिंसा, बलात्कार, अन्धविश्वास, जातीय भेदभाव, पुरुषप्रधान समाज आदिले निम्त्याएको परिणाम प्रति सशक्त रूपमा प्रतिकार उनले आफ्ना कृतिहरूमा गरेका पाइन्छन् । धार्मिक अन्धविश्वासले निम्त्याएको परिणाम, पुरुषप्रधान समाजले निम्त्याएको महिला प्रतिको व्यवहार, समाजको उच्च वर्गले निम्नवर्ग अर्थात जातीय हिसाबले तल्लो वर्गको व्यक्तिलाई गरेको व्यवहार, राजनीतिको दुरूपयोग आदिले समाजमा आएका विकृति आदिको बारेमा उनले आफ्नो कृतिमा प्रस्तुत गरी त्यसको विरुद्ध स्वर उठाइ कलम मार्फत प्रतिकार गर्ने गरेका छन् । यसको उदहारण उत्सर्ग महाकाव्य (२०६७) र ब्वाँसोको अन्त्यको खेल (२०४५) रहेका छन् ।
३.५.५ समाजको यथार्थ चित्रण
समाजमा हुने गरेका यथार्थ घटनालई आधार बनाएर कृतिको स्वरूप तयार पार्ने विष्णु भण्डारी समाजको यथार्थ चित्रण गर्न पछि पर्दैनन् । उनी समाजमा भए गरेका हरेक क्षेत्र, धर्म, राजनीति, संस्कृति, चालचलन, रीतिरीवाज, आदिको जस्ताको त्यस्तै आफ्ना कृतिमा पात्रमार्फत प्रकट गर्दछन् । त्यसैले उनी सामाजिक यथार्थवादी कवि हुन् । फेरि अर्को तारा खस्यो कविता (२०६३) यस्तै सामाजिक यथार्थवादी कविता हो ।
३.५.६ राष्ट्रप्रेम
उनले आफ्ना कृतिका पात्रहरूमार्फत राष्ट्रप्रेमी, देशभक्त, कर्मठ, लगनशील, इमान्दार व्यक्तिको रूपमा स्थापित गरी आफूमा भएको राष्ट्रप्रेमलाई प्रकट गर्दछन् । देशमा हुने गरेका विभिन्न राजनैतिक घटना, सामाजिक घटना तथा राष्ट्रिय घटनालाई पनि परिवेशको रूपमा उभ्याइ (जस्तै पञ्चायतकाल, १२ वर्षे जनयुद्ध, राजतन्त्र) आफ्ना कृतिहरूमा राष्ट्रप्रेम अभिव्यक्त गर्दछन् । उनका कृतिमा स्वतन्त्रता, राष्ट्रप्रेम, अन्याय, अत्याचार आदि विषयवस्तुका रूपमा रहेका छन् । यसको उदाहरणको रूपमा उत्सर्ग महाकाव्य (२०६७) र देश जागेको बेला कविता (२०६३) लाई लिन सकिन्छ ।
३.५.७ सामन्ती राज्य व्यवस्था प्रति खरो रूप देखिनु
‘भन्छन् क्रान्ति सानो हुँदैन तर सानो चीजबाट सुरु हुन्छ’ । यस्तै विचारको मापदण्ड बोकी उनी आफ्नो कृतिमा पञ्चायती व्यवस्था राजतन्त्रको विरुद्धमा बहुदल र लोकतन्त्र गणतन्त्रको पक्ष लिइ उभिएका देखिन्छन् । यसरी हेर्दा क्रान्तिकारी सोचले सामन्ती राज्य व्यवस्थाहरूको विरुद्धमा क्रान्तिकारी विचारले विद्रोहको स्वरमा खरो शब्दका साथ आफ्नो कलम तिखारेको पाइन्छ । विद्रोहको छाल खण्डकाव्य २०४३ लाई यसको उदाहरणको रूपमा लिन सकिन्छ ।
३.५.८ जनवादी कवि
उनी सबैभन्दा ठूलो शक्ति जनतामा नै रहेको हुन्छ भनि विश्वास गर्ने कवि हुन् । त्यसैले जनताले आफ्नो अधिकार आफैँ प्राप्त गर्नका जस्तो सुकै सङ्घर्ष पनि गर्नुपर्छ, सभ्य समाज निर्माणमा पनि भन्ने विचार आफ्ना कृतिमा प्रस्तुत गर्दछन् । उनको उत्सर्ग महाकाव्य (२०६७) जनवादी कवित्व प्रस्तुत भएको महाकाव्य हो ।
३.५.९ सरल भाषाशैली
उनका कृतिहरूमा सरल भाषाशैली रहेको पाइन्छ साथै ग्राम्य भाषाशैली प्रयोग भएको देखिन्छ । स्तरीय बन्दाबन्दै पनि त्यस्ता ग्राम्य शब्दले कृतिलाई कतै दोषपूर्ण बनाए जस्तो देखिए पनि आफैमा सुन्दरता पनि थपेको देखिन्छ । कविनिबद्ध प्रौढोक्ति शैली बढी मात्रामा उनका कृतिमा प्रयोग भएको देखिन्छ । उक्तिढाँचा प्रथम पुरुषमा रहेको प्रायः कृतिमा देखिन्छ ।
३.५.१० बिम्बप्रतीक अलङ्कार
उनले आफ्ना कृतिहरूमा विभिन्न शास्त्रीय अलङ्कार जस्तै प्रश्नालङ्कार, अर्थालङ्कार, अर्थान्तरन्यास, उपमा, रूपक र अतिशयोक्ति आदिको प्रयोग गरेका छन् । यसका साथै प्रकृतिको बदलिँदो परिवेशको चित्रण मानवीय स्वभावको परिवर्तनको लागि विश्व परिवेशका बिम्बप्रतीकहरू राखी आफ्ना कृतिमा उपयुक्त ढङ्गले प्रस्तुत गरेका छन् ।
३.६ निष्कर्ष
नेपाली साहित्यको कविता विधामा पृथक परिचय दिन सफल कवि विष्णु भण्डारी वि.सं. २०२० मा गुल्मी जिल्लाको धुर्कोटवस्तुमा जन्मिएका हुन् । बाल्यकालदेखि नै साहित्यप्रति झुकाव राख्दै र साहित्य सिर्जना गर्दै आएका कवि भण्डारी कविताको वृहतरूप महाकाव्यसम्म लेखेका छन् । म्याक्सिम गोर्कीको आमा लगायत थुप्रै साहित्यिक कृतिको अध्ययन गरेका भण्डारीलाई गरिबी र अभावग्रस्त घरपरिवार समाजमा भएको सामाजिक आर्थिक विभेद र शोषणले विद्रोहात्मक लेखनमा ऊर्जा प्राप्त भइ प्रगतिशील साहित्य सिर्जना गरेका छन् । वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य लिएर औपचारिक रूपमा देखिएका भण्डारीले देश जागेको बेला कविता सङ्ग्रह ब्वाँसोको अन्त्यको खेल खण्डकाव्य उत्सर्ग महाकाव्य जस्ता थुप्रै कृति प्रकाशन गरेका छन् । विशेषगरी माक्र्सवादी चिन्तनमा आधारित भइ काव्य रचना गर्ने कवि विष्णु भण्डारीले प्रगतिवादी विचार, विद्रोहचेत, सामाजिक यथार्थ जस्ता पक्षलाई पनि आफ्ना कवितामा प्रस्तुत गरेका छन् । सबैभन्दा ठूलो शक्ति जनतामा नै हुन्छ । भन्ने विश्वास गर्ने कवि भण्डारीले जनवादी स्वरलाई पनि आफ्नो काव्यमा समेटेका छन् । सरल सहज भाषाशैलीको प्रयोग गर्दै उनले हालसम्म तीनवटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुईवटा खण्डकाव्य र एउटा महाकाव्यसम्म लेखेका छन् । यसरी उनले कवि व्यक्तित्व पनि उचाइमा पुगेको छ ।
परिच्छेद चार
विधातत्वका आधारमा उत्सर्ग महाकाव्यको विश्लेषण
४.१ विषय प्रवेश
उत्सर्ग महाकाव्य २०६७ जेठमा प्रकाशित भएको महाकाव्य हो । विष्णु भण्डारीले मुक्तक, कविता र खण्डकाव्य कृतिहरूको प्रकाशित गरिसकेपछि यस महाकाव्य लेखनमा हात हालेका हुन् । प्रस्तुत महाकाव्य प्रकाशन हुनुपूर्व नै उनका विद्रोहको छाल, ब्वाँसोको अन्त्यको खेल र कालो नाटक जस्ता खण्डकाव्यहरू प्रकाशित भइसकेका छन् । खण्डकाव्यको साधनापछि उनले २०६७ सालमा महाकाव्य प्रकाशन गर्ने हिम्मत गरेका छन् । यसमा दश वर्षे माओवादी जनयुद्धको महागाथा गाइएको छ । वि.सं. २०५२ सालदेखि २०६३ सम्म चलेको जनयुद्धमा आधारित भएर महाकाव्य लेख्ने विष्णु भण्डारी प्रथम महाकवि पनि हुन् । शरीरलाई पूर्णता प्रदान गर्न विभिन्न अवयवहरूको आवश्यकता परेझैँ काव्यरूपी शरीरको निर्माणमा पनि विभिन्न उपकरणहरूको आवश्यकता पर्दछ । यिनै काव्य निर्माणमा आवश्यक उपकरणहरूलाई महाकाव्यको काव्यतत्व भनिन्छ । तिनै काव्य तत्वका आधारमा यस उत्सर्ग महाकाव्यको विश्लेषण विभिन्न शीर्षकहरूमा तल गरिएको छ ।
४.२ महाकाव्यगत तत्वहरूको विधान
प्रस्तुत महाकाव्यको तत्व विधानहरूलाई क्रमशः तल विश्लेषण गरिएको छ ।
४.२.१ संरचना विधान
विश्लेष्य महाकाव्य उत्सर्गको संरचनागत प्रबन्ध विधानको चर्चा यस उपशीर्षकमा गरिएको छ । यसको मुख पृष्ठमा रातो, सेतो, नीलो र हरियो रङ गरी चारओटा रङको समायोजन गरिएको छ । रातो पृष्ठभूमिमा उत्सर्ग भनी महाकाव्यको शीर्षक ठूलो अक्षरमा लेखिएको छ । सूर्योदय हुँदै गरेको प्रतीकात्मक संकेत पनि आवरणमा राखिएको छ । सबैभन्दा मुनि बाँयातिर प्रकाशक संस्थाको लोगो राखिएको छ । दायाँतर्फ लेखकको नाम सेता अक्षरमा विष्णु भण्डारी भनी लेखिएको छ । अगाडिको बाहिरी गाताको भित्रपट्टिको एक पाना खाली छ । त्यसपछिको पानाको तल महाकाव्यको शीर्षक विधा र महाकविको नाम दिइएको छ । त्यसपछिको पानामा ‘समर्पण’ शीर्षकमा आफू जलेर संसार रच्नेलाई भनी सम्बोधन गरिएको छ । त्यसपछि एक पाना खाली राखिएको छ । त्यसपछिको पानामा शुभकामना र मन्तव्य शीर्षकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना राखिएको छ । अर्को पानामा नयाँ युगको नयाँ महाकाव्य शीर्षकमा चैतन्यको लामो विश्लेषणात्मक लेख राखिएको छ । त्यसपछि क्रमशः ‘जनयुद्धको महाबिम्ब प्रस्तुत गरेको एउटा महाकाव्य’ शीर्षकमा इश्वरचन्द्र ज्ञवलीको मन्तव्य, ‘पृथक पहिचान बोकेको महाकाव्य’ शीर्षकमा घनश्याम ढकालको मन्तव्य, ‘महाकाव्यको द्रोणाचल बोक्दै कवि भण्डारी’ शीर्षकमा ताराकान्त पाण्डेयको विश्लेषणात्मक लेख, ‘विद्रोहको सजीव बिम्ब’, शीर्षकमा अमर गिरीको लेखहरू राखिएका छन् । त्यसपछिको पानामा प्रकाशकीय शीर्षकमा प्रकाशकका तर्फबाट डोलिन्द्र प्रसाद शर्माको मन्तव्य राखिएको छ । त्यसपछिको पानामा ‘जीवनको नयाँ क्षितिज उघार्दै’ शीर्षकमा महाकवि भण्डारीको विशेष लेख राखिएको छ । त्यसपछिको पानामा खण्ड–एक लेखिएको छ । त्यसपछिको पाना खाली छ । अर्को पानाबाट ‘उद्बोधन’ शीर्षकमा महाकाव्य सुरु भएको छ ।
प्रस्तुत महाकाव्य पृष्ठ १ देखि २८८ पृष्ठसम्म फैलिएको छ । यसमा ‘उद्बोधन’, ‘सम्झौता जीवन हैन’, ‘माटो भावनामा चम्कँदैन’, ‘देश उत्सर्गको प्रतीक्षामा छ’, ‘जीवन रङहरूको समाविष्ट हो’, ‘जीवनको नवीन गोरेटोमा’, ‘सम्झनाको तरेलीमा’, ‘नीलिमाको प्रत्यागमन’, ‘उदात्त जीवनको पथमा’, ‘वीरतापूर्ण लडाँइ’, ‘कोरा भावना चियाको उफन जस्तै हो’, ‘प्रेमले भरिएको सुमधुर साँझ’, ‘प्रत्याक्रमणको महान् अभियान’मा गरी जम्मा १३ वटा सर्गहरूमा प्रथम खण्डलाई विभाजित गरिएको छ । त्यस्तै महाकाव्यको खण्ड दुईमा ‘मृत्युको विरुद्धमा’, ‘दुश्मन विरुद्धको गर्जन’, ‘आत्मविश्वास भरिएको नयाँ मान्छे’, ‘समीरको खोजीमा’, ‘विद्रोह अधिकार हो’, ‘साँचो प्रेम सिमलको भुवा होइन’, ‘जीवन तुफानको सङ्गीत रहेछ’, ‘महान् छलाङ’ र ‘उपसंहार’ गरी नौ वटा शीर्षक वा सर्गहरू रहेका छन् । यसरी प्रस्तुत महाकाव्य जम्मा २१ सर्गमा संरचित छ ।
प्रस्तुत महाकाव्य मुक्तलय छन्दमा लेखिएको गद्य महाकाव्य हो । महाकाव्यमा श्लोकहरू गद्य ढाँचामै छन् वा यी श्लोकहरू अव्यवस्थित क्रममा भने छैनन् । सुव्यवस्थित आन्तरिक संरचनामा नै यी श्लोकहरू संरचित छन् । दुई पाउदेखि १४÷१५ पाउसम्म विस्तारित श्लोकगत लम्ब्याइले महाकाव्यमा संरचनागत विविधता थपेको छ ।
४.२.२ कथानक
प्रस्तुत महाकाव्यको प्रबन्ध विधान अन्तर्गतको कथावस्तु तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीद्वारा सञ्चालित महान् जनयुद्धसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको छ । प्रस्तुत महाकाव्यको कथानक योजना दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा १३ वटा सर्गरूपी शीर्षकहरूमा महाकाव्यको कथावस्तु अगाडि बढेको छ भने दोस्रो खण्डमा ९ वटा शीर्षकहरूमा महाकाव्यले पूर्णता प्राप्त गरेको छ । अन्त्यमा उपसंहार भनी महाकाव्यको अन्त्य गरिएको छ । प्रस्तुत महाकाव्यको उठान कवि पात्रद्वारा गरिएको छ । शोषण र उत्पीडनका विरोधमा जनयुद्धको थालनी भएको कुरा व्यक्त गरिएको छ । भोक, रोग र शोषण विरुद्ध मानिसले विभिन्न कालखण्डमा सङ्घर्ष गर्दै आएका कुरा निम्नानुसार व्यक्त गरिएको छ :
यो कस्तो चलन हो सभ्यताको
जसले माटोमा सिर्जना रोप्छ
उ सँधै जलेर मर्नुपर्ने
जसले महलको निर्माण गर्छ
उ सँधै आकाश ओढेर बाँच्नुपर्ने (उत्सर्गः ७) ।
आफू जलेर भएपनि सिर्जना रोप्ने व्यक्तिले आकाश ओढेर बस्नुपर्ने कुरा माथिको गद्यांशले व्यक्त गर्दछ ।
महाकाव्यमा गुल्मी जिल्लाका विभिन्न गाउँलाई आफ्नो क्रीडास्थल बनाइएको छ । कथावस्तुका सुरुवात नै छल्दी खोलाको कुनै ठाँउमा युद्धका क्रममा घाइते भएकी छापामार युवती निलिमाले समीरको कोठामा आश्रय लिएर बसेकी हुन्छे । नायिका निलिमा र नायक समीरको प्रथम भेट त्यही हुन्छ । समीर त्यति बेलासम्म जनयुद्धको वास्तविक जानकार रहेको हुँदैन वा जनयुद्धप्रति उदासीन रहेको हुन्छ । जीवनको यथार्थ तथा सार्थकताको बारेमा नीलिमाको समीरसँग संवाद हुन्छ । नीलिमाकै उत्प्रेरणाले समीर घर छोडेर जनसेनामा प्रवेश गर्न उत्प्रेरित हुन्छ । उनीहरूबीच आत्मीयता बढ्छ र प्रेमको अङ्कुरण हुन्छ । नीलिमाले अनेक ढङ्गबाट समीरलाई मानव मुक्तिका लागि समर्पित हुन यसरी सम्झाउँछे :
यो त उत्सर्गको नवीन बिम्ब हो
यो त उन्मुक्तिको अन्तिम अस्त्र हो
हाम्रा जुनहरू लुकाइएका छन्
हामी राक्षसका विरुद्धमा
शिरमा कफन बाँधेर निस्किएका छौँ
हाम्रा धुनहरू खोसिएका छन्
हामी लुटेराको विरुद्धमा
आयुध बनेर फैलिएका छौँ (उत्सर्गः ४८) ।
लुकाइएका जुन, खोसिएका धुन ल्याउनका लागि हामी शिरमा कफन बाँधेर उन्मुक्तिको अन्तिम अस्त्रसँगै लुटेरा विरुद्ध आवाज उठाउन तत्पर रहनुपर्छ भन्ने कुरा नीलिमाद्वारा स्पष्ट पारिएको छ ।
शोषण र उत्पीडनमा पिल्सिएको देश मुक्तिको लागि उत्सर्गको प्रतीक्षामा छ । बम पड्किँदै गरेको सुनिन्छ । बमका धमकाहरू आइरहेका छन् । तेस्रो अध्यायमा समीर पनि नीलिमासँगै युद्धमा होमिन्छ । लामो समय थलिएकी नीलिमा जनयुद्धको वातावरणमा रोमाञ्चित बन्छे । यहाँनेर महाकाव्यकी पात्र नायिका होइन, समग्र जनयुद्धकी नायिका र नीलिमा तत्काली नेपाली रूढ सामाजिक संरचना विरुद्धका पर्खालहरू नष्ट गर्न दृढ छे । ऊ आँसुका मूल्यहरू खोस्न आतुर छे । नीलिमाले चञ्चल र निडर बिम्बले समीरलाई प्रभावित तुल्याउँछ । ऊ पनि अब यसै चेतनाको पक्षमा हिँड्ने निर्णय गर्छ । समीर जङ्गल जङ्गल र फाँट फाँट हिँड्छ सङ्घर्षको मैदानमा होमिन्छ । जसलाई काव्यद्वारा यसरी देखाइएको छ :
लामो समयपछि जब ऊ उठ्यो
जब उसले हिउँको तन्ना फाल्यो
उसले देख्यो
क्लान्त र जर्जर गाँउ
चिसा र उदास झुप्रा
त्यहाँ त जीवनको गति थियो
न उदात्त सपना थियो
अन्धकार गुफा जस्तो
गाँउ भोकले निलिएको थियो
गाँउ गरिबीले डामिएको थियो (उत्सर्गः ७६) ।
यसरी सङ्घर्षको मैदानमा होमिएपछि समीरले क्लान्त र जर्जर गाउँ, चिसा र उदास झुप्रालाई बदल्ने सपना देख्न थालेको छ ।
प्रस्तुत महाकाव्यमा युद्धकै क्रममा गुल्मीका विभिन्न गा.वि.स. स्थित प्रहरी चौकीमा माओवादी छापामारहरूले आक्रमण गरेको सन्दर्भ छ । त्यही युद्ध टोलीमा नीलिमा र समीर पनि समावेश भएका हुन्छन् । नीलिमाले कमाण्डरको भूमिका निर्वाह गरेकी छे । महान् युद्धकै क्रममा नीलिमासँग राजनीतिक वैचारिक वहसमा तानिदै नीलिमा र समीरबिच गहिरो प्रेमसम्बन्ध रहको छ । उनीहरूको त्यो प्रेम वर्गीय प्रेमको नमूनाको रूपमा छ । नयाँ संस्कार र संस्कृतिको निर्माणका रूपमा छ । युवक युवती बीचको लैङ्गिक प्रेमको पुरातन मान्यतामा क्रम भङ्गका रूपमा छ । उनीहरू पहिला समाजलाई बुझ्ने र बदल्ने विचारमा सहमत हुन्छन् तबमात्र साँचो अर्थको जैविक प्रेम सुमधुर र चिरस्थायी हुन्छ भन्ने कुरामा विश्वस्त हुन्छन् । यसै प्रसङ्गमा नीलिमाले समीरलाई प्रेमको अर्थबोध यसरी गराउँछे :
समीर ! मलाई थाहा छ
अरूको श्रममा रम्नेहरू
न पसिनाको मूल्यबोध गर्छन्
न श्रमलाई स्वीकार्दछन्
श्रमशील हातहरूमा जीवन फुल्छ
कर्मशील मझेरीमा खुसी झुल्छ
पसिनाले भिजेका खेतहरूमा
जीवन खुलेर मुस्कुराउँछ ।
मसँग प्रेमको परिभाषा छैन
मसँग मायाको प्रस्तावना छैन
बन्द कोठीको कामुक प्रेम
पराधीन जीवनको कोरा प्रेम
जहाँ न सद्भाव हुन्छ
न जीवन्त आशा हुन्छ
राप र ताप विहीन
खुसी र हाँसो विहीन
जीवन दुखेर मुर्झाउँछ । (उत्सर्ग : ५४)
पुरातन संस्कार र संस्कृतिमा आधारित प्रेमलाई नक्कली र ढोँगी प्रेम भएको कुरा नीलिमा मार्फत यसरी व्यक्त गरिएकी छे :
कति खोक्रा छन् हाम्रा आस्थाहरू
कति कमजोर छन् हाम्रा आदर्शहरू
हामी विवाह गर्छौँ, प्रेम गर्दैनौ
हामी प्रेम गर्छौँ, विवाह गर्दैनौ
यो पुरातन ढोगी संसार
व्यभिचारीलाई ढोग्न सिकाउँछ
भ्रष्टचारीलाई पुज्न सिकाउँछ (उत्सर्गः ५८)
यसरी पुरातन र ढोँगी प्रेम गर्नु व्यर्थ हो भन्ने कुरा नीलिमाले व्यक्त गरेकी छे ।
महाकाव्यमा समीर नीलिमासँगै युद्धमा लाग्ने क्रममा प्रणय सम्बन्ध रहेपनि नीलिमाको नेतृत्वको एक सदस्य भइ युद्ध मोर्चामा सामेल हुन्छन् । यसै क्रममा समीरले पहिलो पटक ग्रिनेड फ्याकेर युद्ध सुरु गर्छ । कैयौँ सहयोद्धाहरू सहादत्त प्राप्त गर्दछन् । घाइते पनि त्यत्तिकै हुन्छन् । लड्दालड्दै युद्ध मोर्चामा समीर घाइते हुन्छ र तत्कालीन शाही सेनाबाट गिरफ्तारीमा पर्छ । कारागारभित्र पनि समीर आस्थाको सुन्दर बिम्ब बन्छ । ऊ चट्टानी छाती बोकेर दुष्मन विरुद्ध जुध्ने गर्छ । ऊ आफ्नो विचार र लक्ष्यमा अडिग रहन्छ । मेजर उसलाई गलाउन चाहन्छ तर ऊ गल्दैन । हात टुक्रा टुक्रा भएर भाँचिएको छ शरीर छियाछिया भएर काटिएको छ । समीरले लेखकलाई भन्छ :
म मर्नेछु कुनै दिन मर्नैपर्छ
विश्वासघात ! म त्यो स्वीकार्दिन
म फुट्नेछु दुश्मनको छातीमा
समर्पण ! कहिल्यै गर्ने छैन
मरे देशको लागि, म मर्नेछु खुसी खुसी
बाँचे माटोको लागि म बाँच्नेछु हाँसी हाँसी । (उत्सर्गः १९०) ।
यसरी आफ्नो विचारमा अडिग समीर देश र माटोको लागि आफू मर्न पनि तयार भएको छ । मर्ने जिन्दगी हो आखिर देशका लागि केही गरेर मर्ने प्रण गरेको छ ।
जेलभित्रका समीरको साहसपूर्ण वीरताको वर्णन एक कविले हुबहु नीलिमालाई सुनाएका छन् । आस्थाको अविचल प्रतिबिम्ब समीर कैदबाट छुट्दैन । उसलाई गायब पारिन्छ वा चरम यातनाबाट उसले सहादत प्राप्त गर्छ । अन्त्यमा नीलिमालाई समीरको डायरीको झोला प्राप्त हुन्छ । डायरीमा नीलिमालाई सम्बोधन गर्दै विभिन्न मोर्चाको वर्णन गर्नुका साथै कयौँ योद्धाहरूको बलिदानको कुरा उल्लेख गरिएको हुन्छ । डायरीमा समीरको वैचारिक उचाइ उत्कर्षमा पुगेको छ । डायरी पढेर नीलिमा भावुक बन्छे र दुशमन विरुद्ध अझ आक्रोशित हुन पुग्छे र भन्छे :
यो उत्सर्गको नयाँ बिम्ब
ऊ दुखेका मनहरूको प्रतिबिम्ब हो
ऊ हाम्रो जीवन
ऊ हाम्रो आस्था
ऊ मर्ने छैन
मृत्युलाई जित्नेहरू कहीँ मरेका छैनन्
ऊ विद्रोहको एउटा सिपाही
ऊ आस्थाको सतिसाल हो (उत्सर्गः २२८) ।
यसरी नीलिमाले समीरजस्तो उत्सर्गको नयाँ प्रतिबिम्ब विद्रोह सिपाही र आस्थाको सतिसाल कहिल्यै पनि मर्ने छैन भन्ने टिप्पणीसँगै महाकाव्यको कथानक समाप्त भएको छ ।
यस महाकाव्यको आदि भागमा नीलिमा घाइते भई समीरको घरमा बस्न पुगेको र समीरसँग प्रणयीभाव कायम भई समीर जनयुद्धमा लाग्न पुगेसम्मको घटनाक्रमलाई लिनसकिन्छ । त्यस्तै मध्य भागमा जनयुद्धको उत्कर्ष, समीर र नीलिमाको प्रेमको उत्कर्ष र समीर जेल पर्नुसम्मलाई मान्न सकिन्छ भने कथानकको अन्त्य नीलिमाले समीरलाई ऊ मर्ने छैन भन्ने प्रगतिवादी यथार्थवादी वाक्यसँगै भएको मानिन्छ ।
प्रस्तुत महाकाव्यको कथानक योजना महाकाव्यपेक्षी, भव्य, उदात्त र युग जीवनका समग्र छाया छविहरूलाई समेट्न सक्ने महान् आख्यानको उपेक्षाका कारण दुर्बल प्रतीत हुन्छ । नीलिमा र समीरको प्रेम प्रसङ्ग र जनयुद्धको सामान्य चर्चामै सीमित छ । साहित्यको सर्वाधिक समृद्धिपूर्ण भव्योदात्त विधा मानिने महाकाव्यलाई टुङ्ग्याउनुबाट यो महाकाव्यको प्रबन्ध विधान मध्यम खालको बन्न पुगेको छ । यस महाकाव्यमा परम्परागत महाकाव्यका लागि आवश्यक पर्ने कथानक योजनाको अभाव छ ।
४.२.३ पात्र विधान
महाकाव्यमा कथानकलाई अघि बढाउनका लागि चरित्रको महत्वपूर्ण भूमिका हुन्छ । महाकाव्यमा चरित्र वा पात्र भन्नाले त्यहाँका प्रमुख नायक नायिका तथा काव्यलाई पूर्णता बनाउने अन्य पात्रहरूलाई पनि बुझाउँदछ । पूर्वीय काव्य सिद्धान्त अनुसार महाकाव्यको नायक उच्च कुलीन वा क्षेत्रीय कुलको शुरवीर, धैर्यवान्, क्षमतावान्, आत्मप्रशंसा नगर्ने र स्थिर गुणले युक्त हुनुपर्ने मान्यता पाइन्छ । पाश्चात्य काव्य सिद्धान्त अनुसार महाकाव्यको नायक भद्र र आफ्नो कार्यद्वारा नै राम्रो चरित्र देखाउने नैतिक उद्देश्य भएको हुनुपर्छ भन्ने मान्यता पाइन्छ तर नायकमा कुनै न कुनै मानवीय दुर्बलता हुनुपर्दछ । यसरी पूर्व र पश्चिमका विद्धानहरूका आ–आफ्नै काव्य सम्बन्धी मान्यता भएपनि दुवैमा केही समानता भने पाइन्छ ।
यस उत्सर्ग महाकाव्यले लामो समयलाई समेटेको हुनाले पात्रहरू धेरै प्रयोग गरिएको छ । यस काव्यमा नेपाली पात्रहरू नै प्रयोग गरिएको छ । यसमा पूर्वीय मान्यता अनुसार धीरोदात्त गुणले युक्त समीरलाई नायक बनाइएको छ भने स्वकीय गुणले युक्त नायिका नीलिमालाई बनाइएको छ । महाकाव्यभित्र रहेको भूमिकाको आधारमा समीर र नीलिमा प्रमुख पात्रका रूपमा रहेका छन् भने कवि वा पत्रकार, सिमरान मेजर लगायतका पात्रहरू सहायक पात्रका रूपमा रहेका छन् ।
उत्सर्ग महाकाव्यमा रहेका मुख्य र सहायक पात्रहरूलाई निम्न तालिकाको आधारमा स्पष्ट पार्न सकिन्छ :
क्र.स पात्रको नाम लिङ्ग कार्य सक्रियता आसन्नता आबद्धता प्रवृति
१. नीलिमा स्त्री अनुकूल स्थिर मञ्चीय बद्ध मुख्य
२. समीर पुरुष अनुकूल गतिशील मञ्चीय बद्ध मुख्य
३. कवि पुरुष अनुकूल स्थिर मञ्चीय बद्ध सहायक
४. सिमरान स्त्री प्रतिकूल स्थिर मञ्चीय बद्ध सहायक
माथिको तालिकाका आधारमा मुख्य र सहायक पात्रहरूका रूपमा रहेका महाकाव्यलाई विकसित गराई अन्त्यसम्म पु¥याउन सहयोग गर्ने पात्रहरूको चर्चा क्रमशः गरिएको छ ।
४.२.३.१ प्रमुख पात्र
प्रस्तुत महाकाव्यमा प्रमुख पात्रको रूपमा नीलिमा र समीर रहेका छन् । कथानकको सुरुदेखि अन्त्यसम्म नै यी दुई पात्रको महŒवपूर्ण भूमिका दश वर्षे जनयुद्ध हुँदाको अवस्था र जनयुद्ध गर्नुपर्ने कारणलाई स्पष्ट पार्न रहेको देखिन्छ । यी पात्र वा योद्धाको विशेषता तल क्रमशः चर्चा गरिएको छ ।
नीलिमा
नीलिमा प्रस्तुत महाकाव्यकी प्रमुख पात्र हो । ऊ एक सत् पात्र हो । समीरकी प्रेमी हो । महान् जनयुद्धकी प्रमुख नारी योद्धा हो । युवा वर्गकी प्रतिनीधित्व गर्ने पात्र हो । ऊ आफूमात्र नभएर प्रेमी समीरलाई समेत मानव मुक्तिका लागि समर्पित हुन सम्झाउने सच्चा योद्धा हो । उसले समीरलाई यसरी सम्झाएकी छे :
यो त उत्सर्गको नवीन बिम्ब हो
यो त उन्मुक्तिको अन्तिम अस्त्र हो
हाम्रा जुनहरू लुकाइएका छन्
हामी राक्षसका विरुद्धमा
शिरमा कफन बाँधेर निस्किएका छौ
हाम्रा धुनहरू खोसिएका छन्
हामी लुटेराको विरुद्धमा
आयुध बनेर फैलिएका छौँ । (उत्सर्गः ४८)
जुन लुकाइएका, धुन खोसिएका, लुटेराका विरुद्ध लड्नु पर्ने कुरा समीरलाई नीलिमाले भनेकी छे । समीरसँग प्रेम गरेपनि वर्गीय प्रेम गर्ने सोच भएकी व्यक्ति नीलिमा ढाँेगी प्रेम गर्नु पुरातन प्रेम हो भन्ने कुरा व्यक्त गर्छे । जसलाई काव्यांशमा यसरी व्यक्त गरिएको छ ः
कति खोक्रा छन् हाम्रा आस्थाहरू
कति कमजोर छन् हाम्रा आदर्शहरू
हामी विवाह गछौँ प्रेम गदैनौ
यो पुरातन ढोँगी संसार
व्यभिचारीलाई ढोग्न सिकाउँछ
भ्रष्टचारीलाई पुज्न सिकाउँछ । (उत्सर्ग : ५८)
यसरी हेर्दा नीलिमा प्रस्तुत काव्यकी चेतनशील पात्रकी रूपमा देखा परेकी छे भने ऊ अनुकूल स्वभाव भएकी पात्र हो ।
समीर
समीर यस महाकाव्यको प्रमुख पुरुष पात्र हो । महाकाव्यको सुरुमा जनयुद्धप्रतिको केही धारणा नभएको र पछि नीलिमासँगको भेटवार्ताबाट युद्धमा सक्रिय भएर लाग्ने मुख्य पात्र हो । यस महाकाव्यको सुरुदेखि अन्त्यसम्म उसको उपस्थिति सक्रिय देखिएको छ । पहिला नितान्त व्यक्तिगत ढङ्गबाट बाँचेको समीरलाई नीलिमाले सामूहिक स्वार्थ र वर्गीय स्वार्थका निम्ति जीवनलाई उत्सर्ग गर्ने विचार सिकाएपछि त्यस विचारबाट दीक्षित भएर युद्धमा होमिन्छ । जेलमा परेर मरेपनि उसले आफ्नो डायरीमा मृत्युलाई जितिसकेको कुरा र जीवनबारे लेखेको छ । यसरी हेर्दा ऊ महाकाव्यको सत्चरित्र भएको पात्र र युद्धप्रतिको सकरात्मक धारणा राखने पात्र हो । ऊ उत्पीडित वर्ग, जाति, समुदाय, क्षेत्रका जनता आफ्नो मुक्तिका लागि हाँसी हाँसी मर्न तयार हुने पात्र हो । उसले वलिदान र जीवनको अन्तर सम्बन्धाबारे यसरी व्यक्त गरेको छ :
नीलु, बलिदान जति घनिभूत हुन्छ
त्यति नै नजिक हुन्छन् विजयहरू
भावना जति उदात्त हुन्छन्
त्यति नै टाढा हुन्छन् निराशाहरू । (उत्सर्ग : १५६)
४.२.३.२ सहायक पात्र
प्रस्तुत महाकाव्यमा केही सहायक पात्रहरू पनि आएका छन् । जसले महाकाव्यलाई अगाडि बढाउन सघाएका छन् । ती पात्रहरूको चर्चा क्रमशः तल गरिएको छ ।
कवि
कवि यस महाकाव्यको सहायक पात्र हो । उसले जीवन, प्रेम, मृत्युलाई नयाँ ढङ्गले नियाल्दै सर्वहारा वर्गप्रतिको प्रेम, स्वाभिमानीपूर्ण जीवनमा नै वास्तविक जीवनको अर्थ यसरी पहिल्याएको छ :
उनीहरू आगो विरुद्ध आगो बनेर लडे
नौलो बिहानका लागि
उदात्त जीवनका लागि
उनीहरू लड्दालड्दै ढले
उनीहरू हाँस्दा हाँस्दै ढले । (उत्सर्ग :२७२)
यसरी दशवर्षे महान् जनयुद्ध सर्वहारा वर्गको मुक्तिको लागि सङ्घर्षमय थियो जसमा धेरै योद्धाहरूले आफ्नो ज्यान बलिदान हाँसी हाँसी दिएको स्पष्ट पारेका छन् । अतः महाकाव्यलाई पूर्णता दिन सघाउने कवि स्थिर मञ्चीय पात्र हो ।
सिमरान
सिमरान महाकाव्यको सहायक पात्रको रूपमा देखापरेकी छ । कवि वा पत्रकारको छल्दी खोला, सिस्तुङ, लोरी लगायतका भू–भागको भ्रमणको बेला संवादका क्रममा आएकी छ । समीरको डायरी नीलिमालाई दिने क्रममा पनि आएकी छ । यसरी हेर्दा महाकाव्यको सक्रिय स्थिर पात्रका रूपमा देखा परेकी छ ।
४.२.३.३ गौण पात्रहरू
प्रस्तुत महाकाव्यमा केही गौण पात्रहरू पनि आएका छन् । मेजर, विक्रम, मनिष लगायतका पात्रहरू गौण पात्र हुन् । यिनीहरूले महाकाव्यमा कही कतै अप्रत्यक्ष रूपमा देखापरी महाकाव्यको कथानकलाई पूर्णता दिने काम गरेका छन् ।
४.२.४ परिवेश
परिवेश भन्नाले देश काल परिस्थिति भन्ने बुझिन्छ । प्रस्तुत महाकाव्यको परिवेश विधान गुल्मी जिल्ला र यस वरूपरका विभिन्न क्षेत्रसँग सम्बन्धित बनाएर प्रस्तुत गरिएको छ । महाकाव्यको सुरुवात नै गुल्मी जिल्लाको छल्दी खोलाको सिस्तुङ फाँटको एउटा घरबाट सुरु भएको छ । जहाँ नायक र नायिकाको सुरुवाती परिचय यसरी दिइएको छ :
सिस्तुङको एकलास जङ्गल
र सुनसान कटेरो
वसन्तको सन्ध्याकालीन किरणमा चम्किँदै छन्
शीतल र आल्हादित छाँया
सिस्तुङको विस्तृत छातीमा
बिस्तारै परावर्तन हुन्छ र मुस्कुराउँछ
यही परिवर्तित रङहरूको अभ्यन्तरमा
नीलिमाले कटेरोबाट देखिने
निस्मीम आकाशलाई हेर्दै भनी
समीर ! भन त यो अविरल बग्ने तुफान जस्तो
जीवन गतिलाई रोक्न सकिन्छ ? (उत्सर्गः १४)
प्रस्तुत महाकाव्यको काव्यिक सन्दर्भलाई हेर्दा २०५२ सालपछिको माओवादी जनयुद्धदेखि उक्त जनयुद्धको समापन हुँदै २०६३ सालसम्मको समयावधिलाई समेटेको छ । परिवेश चित्रणका क्रममा आर्थिक र सामाजिक परिवेशलाई पनि मूल रूपमा चित्रण गरिएको छ । उदाहरणार्थ:
यो कस्तो चलन हो सभ्यताको
जसले माटोमा सिर्जना रोप्छ
ऊँ सधै जलेर मर्नु पर्ने
जसले महल निर्माण गर्छ
ऊ सँधै आकाश ओडेर बाँच्नु पर्ने
मान्छेल श्रमको विपुल खेतमा
जब पसिनाको मूल्य खोज्यो
उसका चक्षुमा झिर रोपीयो
मान्छेले चेतनाको विकाससँगै
जब मान्छे हुनुको अधिकार खोज्यो
उसका शरीरमा भाला रोपीयो (उत्सर्गः ७) ।
यसरी शोषण उत्पीडन तथा दमन जस्ता सामाजिक आर्थिक परिवेषकै कारण महान् जनयुद्धको थालनी भएको कुरा प्रस्तुत गरिएको छ ।
कविले माक्र्सवादी सौन्दर्यलाई पनि यसरी उठाएका छन् :
मान्छे सदियौँ जोतिँदै रह्यो
मान्छे सदियौँ पिटिँदै रह्यो
र पनि उन्मुक्तिको सुन्दर आशा
कहिल्यै हराएन
मान्छे शताब्दीयौँ पिसिँदै रह्यो
मान्छे शताब्दीयौँ दबिँदै रह्यो
र पनि शोषण विरुद्धको महान लडाँइ
कहिल्यै अस्ताएन । (उत्सर्ग :७)
महाकाव्यको उद्बोधन सर्गमा कविले क्रान्तिको अपराजेय निरन्तरतालाई शताब्दी शताब्दीऔँ दबिँदै आएका शोषित पीडितहरूको उत्सर्गको रूपमा यसरी व्यक्त गरेका छन् ।
यस महाकाव्यमा निम्न वर्गले आफ्नो अधिकार र उत्पादनका साधनमा समान पहँुचको विस्तारका लागि गरेको सशस्त्र सङ्घर्षलाई मूल मुद्दाका रूपमा उठाइएको छ । सामन्तवादी समाज व्यवस्थाले ल्याएको नकरात्मक प्रवृत्तिका विरुद्धमा आवाज बुलन्द गरिएको छ । खासगरी रुग्ण र जर्जर एवम् दीनहीन नेपाली समाजको विभत्स र ज्यादतीमय अवस्थाको चित्रण गरिएको छ र त्यस्तो दातसताबाट मुक्तिका लागि वर्ग सङ्घर्ष र क्रान्ति भएको हुनाले प्रस्तुत महाकाव्यले सर्वजनिन र सर्वकालीन विषयवस्तु निम्न लिखित उद्धरणमा यसरी उठाइएको छ :
उसले लडाई लड्यो – भोक विरुद्धमा
उसले सङ्घर्ष ग¥यो – मृत्यु विरुद्धमा
रोग विरुद्धमा लड्दै गर्दा
मान्छेले नयाँ संसार रच्यो
शत्रु विरुद्धमा लड्दै गर्दा
मान्छेले नयाँ कला रच्यो । (उत्सर्ग : ५)
सबै वर्गका निम्ति सङ्घर्ष गरेर युद्धको मोर्चामा पनि नडराई नयाँ संसार रचिएको कुरा माथिको अंशले स्पष्ट पार्दछ ।
समग्रमा प्रस्तुत महाकाव्यले अपेक्षा गर्ने व्यापक परिवेश विधान समग्र युग जीवनका छायाँ छविलाई समेट्न सक्ने प्रतीत हुन्छ ।
४.२.५ भाषाशैली
महाकाव्य कविता विधाको बृहत्तम रूप हो । यसको लागि भाषाशैली भव्योदात्त र अलङ्कृत हुन जरुरी छ । महाकाव्यमा समग्र युगजीवनका विविध छायाँ छविहरूलाई प्रस्तुत गरिने हुँदा त्यसलाई प्रस्तुत गर्ने भाषाशैली पनि उच्च प्रयुक्तियुक्त हुन जरुरी छ (अवस्थी, २०६४ः पृ. २६) । प्रस्तुत महाकाव्य जनताको महाकाव्य, माओवादी जनयुद्धलाई केन्द्रमा राखेर लेखिएको महाकाव्य भएको हुँदा यी सबै भाषिक पक्षहरू प्रस्तुत महाकाव्यमा त छैन तर जनताको महाकाव्य लेखनका दृष्टिले तथा माओवादी जनयुद्धमा आधारित भएर महाकाव्य लेख्ने प्रथम प्रयासका दृष्टिले भने यो महाकाव्य सफल छ । यो नवीन कथ्य र शैली भएको महाकाव्य हो । जसलाई काव्यको निम्न अंशबाट स्पष्ट हेर्न सकिन्छ :
जसले हाँसी हाँसी मृत्युलाई स्वीकार गरे
ती महान योद्धाको कविता हो यो
जसले ढल्दाढल्दै पनि
मुक्तिको आवाज बोले । (उत्सर्ग : १२)
यसरी महाकाव्यमा दशवर्षे जनयुद्धलाई आफ्नो जीवन बलिदान दिने व्यक्तिको आवाजलाई प्रस्तुत गरिएको छ । जसमा वीर रस अदभूत रस र रौद्र रस जस्ता रसप्लावित काव्यका रूपमा जनताको श्रम र पसिनाको कथा भनिएको छ । यसमा परम्परागत आडम्बरयुक्त अलङ्कृत र झङ्कृत भाषाको प्रयोग गरिएको छैन । कतिपय सन्दर्भमा स्थानीय भाषिकाको प्रयोग गरेर महाकाव्यात्मक भाषालाई थप विविध कृतिम र आडम्बरयुक्त नभएर सरल, सहज र प्राकृतिक किसिमको नै रहेको छ । प्रस्तुत महाकाव्यमा तत्सम शब्दको प्रयोग बढी नै गरे पनि तत्भव र आगन्तुक शब्दको पनि यथोचित प्रयोग गरेको देखिन्छ । काव्यमा उपस्थित पात्रहरूद्वारा जनयुद्धको औचित्य, सामाजिक वर्ग अन्तर्विरोध र युवक र युवतीबिचको प्रेम प्रसङ्गलाई अत्यन्तै कलात्मक ढङ्गबाट वैचारिकीकरण गर्ने काम भएको छ ।
प्रेम के हो भन्ने कुरा व्यक्त गरिएको एउटा वैचारिक पङ्क्ति यस्तो छ :
सिमरान ! प्रेम बच्चाको खेल होइन
संवेद्य जीवनको घनिष्टता हो
प्रेम तासको महल होइन
नयाँ जीवनको प्रस्तावना हो
जहाँ आग्रहको ताप हुँदैन
जहाँ पूर्वाग्रहको राप हुँदैन
यहाँ त परस्पर रुचिसँगै
वैचारिक आस्थाका दीपक बल्छन्
यहाँ त सामाजिक बन्धनसँगै
हृदयका पाटन खुल्छन् । (उत्सर्ग :२३७)
यसरी प्रेमलाई तासको महल नभई नयाँ जीवनको प्रस्तावना हो सामाजिक बन्धन हो भनी प्रेमको दार्शनिक परिभाषा प्रकट गरेको छ ।
वेगमान भाव विस्तारका सहज प्राकृत सौन्दर्यको र छद्मानवेद्य रसमयताको सञ्चार आदिका दृष्टिले प्रस्तुत महाकाव्यको भाषाशैली मध्यम प्रयुक्ति युक्त छ । जसलाई यस उदाहरणबाट यसरी हेर्न सकिन्छ :
हामी रोएको धेरै भयो
रुँदारुँदै सुकिसकेका छन् आँसूहरू
हामी मरेको धेरै भयो
मर्दा मर्दै मरिसकेका छन् आशाहरू
अब दबेर बस्ने छैन
सिर्जनाको यो भव्य जीवन
समीर ! आऊ यो नयाँ संसार
तिम्रो स्वागतमा उभिएको छ
हामीले जन्माएका छौ
विद्रोहको नयाँ मशाल
आउ समाऔँ यो ज्यानिपुञ्जे । (उत्सर्ग : ८१)
यसरी सरल सहज किसिमकै भाषा शैलीको आयोजनाले प्रस्तुत महाकाव्य नरिवलको फल जस्तो क्लिष्ट र दुरुह नभएर सरल र सम्प्रेष्य बन्न पुगेको छ ।
४.२.६ उक्ति ढाँचा
उत्सर्ग महाकाव्यको उक्ति ढाँचा मूलतः समाख्यानात्मक किसिमको देखा पर्दछ । कवि भण्डारीका आफ्नै उक्ति वा कविनिबद्ध प्रौढोक्तिका साथै कवि कल्पित घटना तथा पात्रको चित्रण वर्णनमूलक समाख्यानात्मक उक्ति वा कविनिबद्धवक्त प्रौढोक्तिबाट नै मूलतः यो महाकाव्यको स्वरूपमा सङ्घटित देखापर्छ । उदाहरणार्थ :
म त्यही यात्राको कविता भन्दैछु
म त्यही समरको कथा लेख्दै छु
हजारौँ सहिदले रचेको इतिहास
लाखौ मान्छेले लडेको युद्ध । (उत्सर्ग :११)
लाखौ मान्छेले युद्धमा लडेर रचेको इतिहासको कुरालाई यहाँ प्रथम पुरुष ढाँचामा लेखिएको छ । यसरी भण्डारीले भाव विस्तारको सहज क्षमता देखाउन सफल भएका छन् । यस महाकाव्यमा कतिपय स्थानमा पात्रका आफ्नै मनोगत तरङ्ग वा एकसुरेपन र एकालापको प्रयोग गरेका छन् । महाकाव्यमा एकालापको पनि प्रयोग गरिएको छ :
समीर ! म जीवनको नयाँ गोरेटोमा
नयाँ छहारीको चित्र हेरुला
तपाई रङ भर्दै भर्दै
स्वयं साकार बनेर हिँड्नुहोला । (उत्सर्ग :७०)
समीरको अभावबाट चिन्तित नीलिमाको धेरै जसो यस्तै एकालापीय चिन्तापूर्ण तर त्याग र सङ्घर्षको स्वगत कथनमा बितेको छ । कतिपय स्थलमा पात्र–पात्रका बीचमा वार्तालापको प्रयोग गरी यसको मुख्य समाख्यानात्मक उक्ति ढाँचामा नाट्योक्तिका ढाँचाको पनि मिश्रण गरिएको छ ।
४.२.७ लयविधान
प्रस्तुत उत्सर्ग महाकाव्यमा मुक्तलय ढाँचाको प्रयोग भएको छ । यो गद्य महाकाव्य हो । यस महाकाव्यमा एक्काइस वटा सर्गमा कविले आफ्नो महाकाव्यात्मक अनुभूतिको विस्तार गरेका छन् । यी सबै सर्गहरूमा अन्ततः सङ्गीतात्मक गद्यको प्रयोग भेटिन्छ । यस महाकाव्यमा गद्यलय ढाँचाको प्रवाहमय एवम् श्रुतिमाधुर्य युक्त प्रयोग भेटिन्छ । आनुप्रासिक सौन्दर्य, भाव ध्वनिको व्याङ्ग्याभिव्यञ्जनका सन्दर्भबाट अर्थिने भाषाका कला पक्षहरू यस काव्यका काव्यकारले सतर्क ढङ्गले प्रस्तुत गरेका छन् भन्ने तथ्यलाई काव्यले निम्नानुसार देखाएको छ :
म माटोको सेवक न हुँ
मलाई स्वर्गको चाह छैन
म जनताको नोकर न हुँ
मलाई महलको लालच छैन । (उत्सर्ग : १७८)
उनीहरू आगो विरुद्ध आगो बनेर लडे
नौलो बिहानको लागि
उदात्त जीवनको लागि
उनीहरू लड्दा लड्दै ढले
उनीहरू हाँस्दा हाँस्दै ढले । (उत्सर्ग : २७२)
यसरी महाकाव्यलाई भाषिक कलाका माध्यमबाट सौन्दर्यपरक बनाउने काम गरिएको छ । भाषिक चयनका क्रममा कही विचलन पनि देखिए पनि महाकाव्यको गरिमा वृद्धि नै भएको छ ।
४.२.८ अलङ्कार विधान
अलङ्कार विधानका दृष्टिले हेर्दा प्रस्तुत उत्सर्ग महाकाव्यमा विभिन्न अलङ्कारहरूको पनि सौन्दर्यपूर्ण प्रयोग पाइन्छ । प्रकृति, समाज, दर्शन, ज्ञान, विज्ञान, माक्र्सवादी जीवन चेतना आदिबाट टिपिएका विभिन्न बिम्ब सन्दर्भहरू पनि यस महाकाव्यको शोभापरक तत्वका रूपमा आएका छन् । जसलाई काव्यांशमा यसरी व्यक्त गरिएको छ :
बलवान् धमाकासँगै
पन्छी उडेर टाढा गए
धुवाँले आकाश छोप्यो
मानौ सदियौँ पुरानो घाउ
दासताको जर्जर छाती
आज फुट्यो
उसले लाभा ओकल्यो
विचारको लाभा
उसले आक्रोश ओकल्यो
विद्रोहको आक्रोश । (उत्सर्ग : १०५)
पुरातन सामन्तवादी सोचको जञ्जालभित्र कुण्ठित बनेर जकडिएका सामन्त र सामन्ती सत्ताका दलालहरू पञ्जाबाट सर्वहारा वर्गको मुक्तिको खोजीमा दत्तचित्त भएर स्वाभिमान र आस्था दुस्मनलाई नचढाइ अधिकार रक्षामा लाग्नुपर्छ भनिएको छ । यसरी माक्र्सवाद तत्कालीन समाज जस्ता पक्ष स्पष्ट पारिएको छ ।
यस महाकाव्यमा शब्दालङ्कार पक्षलाई पढी जोड दिएको छ । विद्रोहको स्वर टड्कारो रूपमा ओकलिएको छ । उपमा, रूपक, उत्पे्रक्षा दृष्टान्त, विरोध आदि अलङ्कार पनि प्रयोग देखिन्छ । शीर्षक केन्द्रीय कथ्य र त्यसका लागि प्रयुक्त बिम्बालङ्कार योजना एक अर्कासँग अन्तर्सम्बन्धित भएकाले प्रस्तुत महाकाव्यको अलङ्कार विधान महाकाव्यापेक्षी नै रहेको छ ।
४.२.९ उद्देश्य
महाकाव्यमा उद्देश्य नभई नहुने तत्व हो । उद्देश्य बिना कुनै पनि महाकाव्य रचना गरिएको हुँदैन । प्रस्तुत उत्सर्ग महाकाव्य पनि कवि विष्णु भण्डारीले केही उद्देश्य राखी रचना गरेका छन् । प्रगतिवादी विचारधारा बोक्ने भण्डारीले आफ्ना विभिन्न सात कृतिहरूमध्ये उत्सर्गमा नेपाली महाकाव्यको इतिहासमा नयाँ कथा लिएर प्रस्तुत भएका छन् । प्रस्तुत महाकाव्यको उद्देश्य दशवर्षे जनयुद्धको यथार्थ प्रस्तुत गर्नु; वर्गीय चेतना र चिनारी सबल रूपमा चित्रण गर्नु ; वर्गीय युद्ध नै दासतापूर्ण जञ्जिरबाट मुक्तिको अचुक उपाय हो भन्ने चिनाउनु ; पुरातन र सामन्तवादी सोच विरुद्ध आवाज उठाउनु ; प्रेमलाई वर्ग प्रेम, उदात्त प्रेम र महिला पुरुषबीचको समान अधिकार प्राप्तिको प्रेमको रूपमा काव्यमा प्रस्तुत गर्नु ; द्वन्द्व तथा ऐतिहासिक भौतिक बादका सन्दर्भलाई काव्यिक मूल्यसँग जोड्नु ; माटोलाई छातीमा राखेर माटोकै गीत गाउने तथा आफ्नै टाउकोमा आगो सल्काएर नौलो बिहानीको आराधना गर्नेहरूको गाथा गाउनु आदि रहेको छ ।
४.२.१० विष्णु भण्डारीका काव्यगत योगदान
शोधनायक विष्णु भण्डारीको स्रष्टा व्यक्तित्वको ऊर्जाशील पक्ष कवि व्यक्तित्व हो । वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य कृति प्रकाशन गरी औपचारिक रूपमा साहित्य यात्रामा समाहित भएका हुन् । उनको यात्रा कविता विधाको लघुत्तम रूपदेखि चरम रूप महाकाव्यसम्म फैँलिएको देखिन्छ । नेपाली साहित्यको कविता विधामा थुप्रै कृतिहरू रचना गरी साहित्यको श्रीवृद्धि गरेको भण्डारीका कवितामा भाव गाम्भीर्य र अन्तरवस्तुको गहनताको दृष्टिले कवित्व उच्च रहेको देखिन्छ ।
कवि विष्णु भण्डारीले कविता यात्राका क्रममा वि.सं. २०४४ सालमा आँधी तुफान (मुक्तक सङ्ग्रह) प्रकाशित गरेका हुन् । यस सङ्ग्रह फरक विषयवस्तुका २१ वटा मुक्तकहरू समावेश गरिएका छन् । उनले कविता विधाको लघुत्तम रूप मानिने मुक्तकको माध्यमबाट तत्कालीन युगीन शासन व्यवस्थाप्रति विरोध र व्यङ्ग्य प्रकट गर्दै नयाँ समाज निर्माणको पक्षमा आफ्नो आवाजलाई उठाउने काम गरेको देखिन्छ ।
भण्डारीले फुटकर कविता लेखनकार्य विद्यार्थी अवस्थादेखि गरेको भए पनि वि.सं. २०४४ सालमा गोरेटो शीर्षकका फुटकर कविता प्रकाशन भएको हो (शोधनायकबाट प्राप्त जानकारी) त्यसपछिका समयमा विभिन्न पत्रपत्रिकाहरूमा फुटकर कविता प्रकाशन गर्दै आए पनि ती सबै कविताहरू उनले फेरि अर्को तारा खस्यो (२०६३), देश जागेको बेला (२०६३) र घाइते ह्विलचियर (२०६९) शीर्षकका कविता सङ्ग्रहमा सङ्कलित गरेका छन् ।
उनको पहिलो कविता सङ्ग्रह फेरि अर्को तारा खस्यो सङ्ग्रहमा विभिन्न विषय र आकारका ३५ वटा फुटकर कविताहरू गद्यलयमा संरचित रहेको देखिन्छ । यस कविता सङ्ग्रहमा सङ्कलित उनका कविताहरूमा यस समयको जीवन, उत्पीडन र निरङ्कुशताको छाप पाइन्छ । दासता, उत्पीडन र अन्यायबाट मानव मुक्तिका लागि उदात्त चाहनाको अभिवृद्धि गर्ने उनका कविताको मर्म उज्यालो एवम् परिवर्तन चाहनु हो । तत्कालीन सामन्ती निरङ्कुश शासनका कारण देश कठिन परिस्थितिमा रहेको सन्दर्भलाई भण्डारीले जनबोली अर्थात् जनउत्कर्षको प्रकटीकरण यस सङ्ग्रहका कवितामा गरेका छन् । यस सङ्ग्रहका अधिकांश कविताहरूमा बिम्बात्मक सूत्र पाइन्छ । प्रकृति, समाज, इतिहास, पुराकथा, माक्र्सवाद आदि विविध क्षेत्रसँग सम्बन्धित रहेर बिम्ब–प्रतीक र अलङ्कार योजना गरिएको देखिन्छ ।
विष्णु भण्डारीको अर्को कविता सङ्ग्रह देश जागेको बेला (२०६३) हो । यस सङ्ग्रहमा विभिन्न विषयका ३० वटा कविताहरू रहेका छन् । यस सङ्ग्रहका सङ्कलित उनका सबै कविता २०६२÷६३ को जनआन्दोलनको सेरोफेरोमा रचिएका कविताहरू हुन् । वास्तवमा यस सङ्ग्रहका कविताहरू १९ दिन जनआन्दोलनका दैन्दिन्यको काव्यिक अभिव्यक्ति हुन् । श्रम सङ्घर्ष, उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षको कलात्मक दर्पण यस देश जागेको बेला कविता सङ्ग्रह बनेको छ । जनआन्दोलनको समयमा सारा देशमा बलेको आगोको साहित्यिक रूप यस सङ्ग्रहका कविताले लिएका छन् । गद्यलय ढाँचामा लेखिएका यस सङ्ग्रहका कवितामा सरल शब्द चयन हुँदाहुँदै पनि गहन अर्थ दिन सफल छन् । जनआन्दोलन जस्तो घटनालाई अनेक बिम्ब प्रतीक योजना गर्दै वैचारिक परिूपाकपूर्ण बनाइएको छ । यस सङ्ग्रहका कविताहरू काँडाभित्र फूलेका गुलाब हुन् र यिनले त्यही गुलाबको सौन्दर्यलाई बोकेका छन् (भण्डारी : भूमिका) ।
त्यस्तै विष्णु भण्डारीको अर्को चर्चित कविता सङ्ग्रह घाइते ह्विलचियर (२०६९) रहेको छ । यस सङ्ग्रह ४६ वटा कविताहरू रहेका छन् । यस सङ्ग्रहका सम्पूर्ण कविताहरू गद्यलयमा रचिएका छन् । माक्र्सवाद दर्शन र सिद्धान्तबाट सोझै प्रभावित यस सङ्ग्रहका कविताका विषयवस्तु राजनीतिबाट उत्पन्न परिणाम हुन्, जुन विसङ्गत यथार्थ हुन् ।
हालसम्म तीनवटा कविता सङ्ग्रह प्रकाशित गरेका विष्णु भण्डारीको व्यक्तित्व फुटकर कविता रचनाका दृष्टिले सशक्त मान्नु पर्छ । वि.सं. २०४३ सालदेखि औपचारिक रूपमा कवितारूपी डुङ्गामा हेलिएका भण्डारीको घाइते ह्विलचियर कविता सङ्ग्रहका कवितासम्म आइपुग्दा कवि व्यक्तित्व पनि उचाइमा पुगेको छ ।
विष्णु भण्डारी कविता विधामा यात्राकै क्रममा दुई वटा खण्डकाव्य र एउटा लघुकाव्य प्रकाशन गरेका छन् । ती खण्डकाव्यमा विद्रोहको छाल (२०४३) र ब्वाँसोको अन्त्यको खेल (२०४५) र कालो नाटक (२०४५) लघुकाव्य हुन् । विद्रोहको छाल भण्डारीले एस.वि. विवेकको नामबाट प्रकाशन गरेका छन् । यस खण्डकाव्यमा नीलम र उषाका बीचको वार्तालापबाट नेपालमा प्रजातन्त्र ल्याउनका लागि गरिएको सङ्घर्ष र वस्तुस्थितिको चित्रण गरिएको छ । झ्याउरे लयको दुई सय पङ्क्तिमा रचिएको अन्त्यानुप्रास योजना, सरल शब्द चयन र बिम्ब प्रतीक योजनाले भण्डारीको प्रथम प्रयासमै खण्डकाव्यकार व्यक्तित्व प्रस्टिन्छ । त्यस्तै उनको ब्वाँसोको अन्त्यको खेल खण्डकाव्यको विषयवस्तु आख्यान विकल्प विचारका रूपमा आएको छ । निर्दलीय पञ्चायती शासन व्यवस्थाप्रति व्यङ्ग्य र आक्रोश प्रकट गरिएको यस कृतिबाट प्रगतिवादी साहित्यले योगदान प्राप्त गरेको छ । त्यस्तै उनको अर्को लघुकाव्य कालो नाटक रहेको छ । सामन्तवादी पञ्चायती व्यवस्थाले जनताको आँखामा छारो हाल्दै निस्तेज गर्न अगाडि सारेको रणनीतिलाई विषयवस्तु बनाउँदै अनुष्टुप छन्दमा रचना गरिएको छ । यसरी नेपाली साहित्यको कविता विधाको मझौला रूपमा कृतिहरू प्रकाशित गरी आफ्नो कवि व्यक्तित्वलाई झन् उजिल्याएको देखिन्छ ।
विष्णु भण्डारी विधामा यात्राकै क्रममा उत्सर्ग महाकाव्य लिएर नेपाली साहित्यमा वि.सं. २०६७ मा देखिएका छन् । वि.सं. २०५२ देखि २०६३ सम्मको चलेको जनयुद्धमा आधारित भएर यो महाकाव्य लेखिएको छ । प्रत्येक सर्गलाई अलग–अलग शीर्षक दिएर सर्गविधानमा नवीनता ल्याएको यस महाकाव्यमा बिम्ब–अलङ्कार र मिथकहरूको सौन्दर्यपूर्ण प्रयोग पाइन्छ । गद्यलय ढाँचामा लेखिएको यो महाकाव्य युद्धचेतनालाई देखाउन महाकाव्य सक्षम भएको छ ।
तीन वटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुईवटा खण्डकाव्य, एउटा लघुकाव्य र एउटा महकाव्य प्रकाशित गरेका विष्णु भण्डारीको व्यक्तित्व कविता रचनाका दृष्टिले सशक्त देखिन्छ । वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी काव्ययात्रामा पदापर्ण गरी अघि बढेको भण्डारी वि.सं. २०६९ मा घाइते ह्विलचियरसम्म पुग्दा कवि व्यक्तित्व उचाइमा पुगेको छ । कविता विधाको लघुत्तम रूपदेखि बृहत् रूपसम्म कलम चलाएर विष्णु भण्डारीले आफ्नो परिचय बनाउन सफल छन् ।
४.३ निष्कर्ष
उत्सर्ग महाकाव्य जनयुद्ध सिर्जित परिवेश घटना र पात्र विधानद्वारा निर्मित छ । जनयुद्ध पनि एउटा आफैँमा आख्यान नै हो । यसकै स्पर्श उत्सर्ग महाकाव्यमा रहेको छ । नेपाली जीवनमा आएका उथलपुथल, नवचेत, मुक्तिका निम्ति भएका अकल्पनीय सङ्घर्ष वर्गीय युद्धका तरिकाहरू, पुराना र परम्परागत संरचनाका विरुद्ध भएका सङ्घर्षहरू, उत्पीडित, दलित, जनजातिका विद्रोही चेतना, सार्वभौमिक र काव्यिक विशेषतायुक्त क्रान्तिचेत आदिलाई कविले आख्यान सामग्री बनाएका छन् । यसमा युद्धमय जीवनका अनुभूतिलाई अङ्कित गर्ने प्रयास गरिएको छ । तिनै अनुभूतिलाई आख्यानका माध्यामबाट समायोजन, व्यवस्थापन गर्न आख्यानात्मक स्वरूपको शिल्प–प्रविधिको सहयोग लिइएको छ । महाकाव्यमा प्रत्येक सर्गलाई अलग अलग शीर्षक दिएर सर्र्ग विधानमा नवीनता ल्याइएको छ । साथसाथै मूल आख्यानलाई प्रकट गर्न सह आख्यानको पनि व्यवस्था गरिएको छ । प्रस्तुत महाकाव्य युद्धचेतनालाई देखाउन सक्षम एक सशक्त महाकाव्य पनि हो । यसमा युद्धचेतना सशक्त भएर आएको छ । वर्गीय विषम समाजमा रहेका वर्गीय असमानतालाई देखाइएको छ । यसमा द्वन्द्वरत नेपाली समाज, युद्ध, सर्वहारी, मानवता, आमूल रूपान्तरण एवम् मुक्तिको कामनालाई भावविन्यास एवम् प्रबन्धन गरिएको छ । युद्ध साहित्यका दृष्टिले पनि प्रस्तुत महाकाव्य एक उपलब्धिका रूपमा नै रहेको निष्कर्ष निकाल्न सकिन्छ । साथसाथै प्रस्तुत महाकाव्य जनताको महाकाव्यका रूपमा रहने तथ्य विदितै छ । अर्को महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत महाकाव्य माओवादी जनयुद्धमा आधारित भएर लेखिएको महाआख्यान वा प्रथम महाकाव्य बन्ने श्रेय पनि प्रस्तुत महाकाव्यले नै प्राप्त गरेको छ । समग्रमा भण्डारीले महाकाव्यकारिता यस महाकाव्यको अध्ययनपछि निरूपण गर्नुपर्ने हुन्छ । महाकाव्यको गुणस्तर मापनका आफ्नै महाकाव्यात्मक कसौटीहरू रहेका छन् । प्रस्तुत महाकाव्य महाकाव्यात्मक लम्बाइ र गहिराइका आयामको पुष्टता, बृहत आख्यान संरचना र कविता संरचनाको सन्तुलनमा आधारित महाकाव्यात्मक प्रबन्धको परिपाकपूर्ण प्रभावकारिता तथा कविताका लय, उक्ति, भाव, भाषाशैली, बिम्बालङ्कार, प्रतीक व्यञ्जनका समष्टि परिपाकमा आधारित कवित्वका कोटिबाट महाकाव्यात्मक प्रसारक दृष्टिले मध्यम स्तरको मान्न सकिन्छ ।
परिच्छेद पाँच
उपसंहार तथा निष्कर्ष
प्रस्तुत शोधको मुख्य विषय उत्सर्ग महाकाव्यमा गरिएको विधापरक अध्ययन हो । यस विषयसँग सम्बद्ध सामग्रीको अध्ययन एवं विश्लेषण प्रस्तुत शोधपत्रको दोस्रो परिच्छेद देखि चौथो परिच्छेदसम्म गरिएको छ । यस परिच्छेदमा प्रस्तुत शोध पत्रको अध्ययनगत सारांश दिइ निष्कर्ष दिइएको छ ।
५.१ परिच्छेदगत उपसंहार
यस शोधपत्रको परिच्छेद एक अन्तर्गतको समस्या कथनमा निकालिएका समस्या र त्यो समस्या समाधान गर्नको लागि तोकिएका उद्देश्यहरूमा केन्द्रित भई यो शोधपत्र तयार पारिएको छ । उक्त समस्याहरूको यस शोधपत्रको एकाइ दुई देखि एकाइ चारसम्म समाधानको खोजी गरिएको छ । एकाइ दुईमा महाकाव्यको सैद्धान्तिक स्वरूप र विकासक्रलाई विश्लेषण गरिएको छ । एकाइ तीनमा कवि विष्णु भण्डारीको साहित्यिक परिचय र प्रवृत्ति उदाहरण मार्फत स्पष्ट पारिएको छ भने एकाइ चारमा विधातत्वका आधारमा उत्सर्ग महाकाव्यको व्याख्या गरिएको छ । यसबारे कुन कुन अध्यायमा के कस्तो अध्ययन विश्लेषण गरिएको छ भन्नेबारे देहायबमोजिम चर्चा रहेको छ :
प्रस्तुत शोधपत्रको परिच्छेद एकमा शोधपत्रको परिचय रहेको छ । यस अन्तर्गत विषय परिचय, समस्याकथन, शोधको उद्देश्य, पूर्व कार्यको समीक्षा अध्ययनको औचित्य र महत्व अध्ययनको सीमाङ्कन, शोधविधि र शोधपत्रको रूपरेखा गरी जम्मा आठ शीर्षकहरूमा शोधपत्रको प्रक्रियाबारे चर्चा गरिएको छ ।
यस शोधपत्रको परिच्छेद दुईमा कविताका विविध रूप महाकाव्यको परिचय, पूर्वीय र पाश्चात्य साहित्य चिन्तनका महाकाव्यको परिभाषा, महाकाव्यको वर्गीकरण र महाकाव्यको विकास प्रक्रिया जस्ता शीर्षकमा महाकाव्यको सैद्धान्तिक स्वरूपको विश्लेषण गरिएको छ ।
परिच्छेद तीनमा कवि विष्णु भण्डारीका साहित्यिक परिचय र प्रवृत्तिको विश्लेषण गरिएको छ । जस अन्तर्गत कवि भण्डारीलाई साहित्य सिर्जनाको प्रभाव र प्रेरणा कसरी मिल्यो, साहित्यिक रचनाको प्रारम्भ कसरी र कुन कृतिबाट भयो र भण्डारीका साहितय सिर्जनाको सुरुवात देखि हालसम्मको रचनामा के कस्ता प्रवृत्ति पाइन्छन् भन्ने यस परिच्छेदमा खुलस्त पारिएको छ ।
उत्सर्ग महाकाव्यको विधापरक अध्ययन शीर्षकको यस शोधपत्रको चौथो परिच्छेदमा विधातत्वका आधारमा यस महाकाव्यको विश्लेषण गरिएको छ । यस परिच्छेदमा महाकाव्यलाई संरचना विधान, कथानक, पात्र विधान, परिवेश विधान, भाषाशैली, उक्ति ढाँचा, लय विधान, बिम्बालङ्कार विधान, उद्देश्य आदिका आधारमा सूक्ष्म रूपमा अध्ययन गरिएको छ ।
यस महाकाव्यको पाँचौ परिच्छेदमा उपसंहार तथा निष्कर्ष शीर्षक रहेको छ । यसमा प्रस्तुत शोधपत्रको प्रत्येक परिच्छेदमा भएका शीर्षकहरूको विश्लेषण उपसंहार शीर्षकमा गरिएको छ भने समग्र शोधको निष्कर्ष अर्को निष्कर्ष शीर्षकमा प्रस्तुत गरिएको छ ।
५.२ निष्कर्ष
प्रस्तुत महाकाव्य उत्सर्गले जनयुद्धको विषयलाई सविस्तार वर्णन गरेको छ । यसले जीवनको नयाँ परिभाषा गरेको छ । काव्यमा आँसु, हाँसो, खुशी रोदन, जीवन मृत्यु उदात्त त्रासदी, सुन्दर, कुरूप, महान, तुच्छ आदि भाव र विचारलाई सन्तुलित र कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । काव्यमा जनयुद्धको समग्र पाटा पक्षलाई आख्यानीकरण गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामाजिक उत्पीडन अन्तरविरोधहरू, सौन्दर्यपरक आदर्श, द्वन्द्वविधान, सामूहिक प्रेम, वर्ग प्रेम, आदर्श र वैयक्तिक प्रेम प्रसङ्गहरूलाई कलात्मक र विचारधारात्मक रूपले प्रस्तुत गर्न जस्ता कुराहरू यो काव्यका सफल पक्षहरू हुन् । काव्यमा भव्यता, उदात्तता, गरिमा, नाटकियता र द्वन्द्वको प्रस्तुतिलाई सजिव ढङ्गले चित्रमय वर्णन गरिएको छ । समग्रमा हेर्दा प्रस्तुत महाकाव्य अहिलेसम्म लेखिएका जनयुद्ध केन्द्रित भावमा, आधारित महाकाव्यहरूमा अग्रस्थानमा पर्छ । त्यो विचार कला र प्रस्तुती, भाषा शैली, शिल्प लयविधान आदिका हिसाबले सवल रहेको छ । तथापि यसका केही सीमा रहेका छन् जसलाई मेट्न सकेको भए यो महाकाव्य समकालीन यथार्थको उत्तम कृति बन्न सक्थ्यो । यसका सीमाहरूलाई दृष्टिगत गर्दा महाकाव्य विशिष्ट संरचनायुक्त साहित्य भएकोले यसले एउटा निश्चित कालखण्डको आख्यानलाई समेट्न सक्नु पर्छ । त्यो यहाँ कमी छ । जनयुद्धमा आधारित महाकाव्य भएर पनि यसले जनयुद्धको एउटा पाटोलाई मात्र समेटेको छ । जस्तोः प्रेम प्रसंग, फौजी लडाईँ, ग्रामीण उत्पीडन र सत्ताको शोषणको कारण जनयुद्धको उठान भएको चर्चा गरिएको छ । महाकाव्यमा रहेका उपशीर्षकहरूले काव्यको मुख्य कथानकतालाई डो¥याए तापनि पढ्दा त्यस्तो लाग्दैन । काव्यमा विचार र आख्यान तŒवभन्दा भावना बढी देखिएको छ । समिर र नीलिमा बीचको प्रेम प्रसङ्गमा एक आपसमा आदर्शवाची शब्द प्रयोग गर्दा समीरले नीलिमालाई तिमी सम्बोधन गर्छ भने नीलिमाले समीरलाई तपाई शब्दले सम्बोधन गर्छे । यहाँ सामन्तवादी पुरुषप्रधान संस्कृति देखिन्छ । वास्तवमा जनयुद्धमा त्यस्तो थिएन । त्यतिबेला नवजोडिहरूका बिच दुवैले एक आपसमा सम्बोधान गर्दा तपाईँ शब्द प्रयोग गरेका छन् । काव्यको मुख्य कथा वस्तु गुल्मी र अर्घाखाँचीको सेरोफेरोमा रहेको छ ।
उपर्युक्त सीमा र कमजोरीका बाबजुत पनि महाकाव्य लेखकको परम्परागट शैलीमा क्रम भङ्गता भएको छ । भण्डारीले नयाँ शैली र शिल्पका उद्घाटन गरेका छन् । महाकाव्यका तत्वहरूमा नयाँपन आएको छ । लेखन शैली र विषय उठानमा नयाँपन ल्याएर पुरातन ढर्राबाट महाकाव्य लेख्ने कार्यमा चुनौती दिएर विष्णु भण्डारीले आफ्नो मौलिकता प्रदर्शन गरेका छन् । उत्सर्ग महाकाव्य जनयुद्धको सजीव शब्द साक्षी शब्द बनेर पाठक सामु उभिएको छ ।
प्रस्तुत महाकाव्यमा पाठकहरूलाई जनयुद्ध पूर्ण रूपमा सफल भएको स्थितिको चर्चा गरिएको छ तर आम सर्वहारा मुक्ति भएको पात्रको चित्रण यसमा भएको छैन । काव्यमा जीवन, युद्धको घडीमा देखापर्ने घटना र परिस्थितिको वर्णन छ । नेतृत्वको दस्तावेज र स्थानीय युद्धको चित्रणमा मात्र सीमित भइ यो काव्य लेखिएको छ । वलिदानको इतिहास लेख्नु र त्यसबाट दीर्घकालीन क्रान्तिको लक्ष्यप्रति आम जनतालाई प्रेरित गर्नु प्रगतिवादी साहित्यकारको उद्देश्य हो । यसमा भने कृति सफल देखिन्छ । अतः यस्ता दुर्बल पक्षहरूका बाबजुत पनि नेपालको इतिहासको पछिल्लो चरणमा मौलाएका विकृतियुक्त यथार्थको विरुद्ध विकसित भएको समरगाथालाई महाकाव्यिक रूप प्रदान गरेको साक्ष्य प्रस्तुत महाकाव्यले आत्मासात् गरेको छ । यस्तो महान् गाथालाई महाकाव्यात्मक गरिमा प्रदान गर्ने भण्डारीको यो प्रयत्न निकै स्तुत्य भएको छ भन्ने निष्कर्ष प्रस्तुत शोधपत्रको रहेको छ ।
सन्दर्भ सूची
अवस्थी, महादेव (२०४८). आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श. काठमाडौं : इन्टिलेक्चुअल प्रकाशन ।
उपाध्याय, बलदेव र अन्य सम्पा. (सन् १९६२). अग्नि पुराण. वाराणसी : चौखम्बा संस्कृत सिरिज अफिस ।
गौतम, कृष्ण (२०५५). पाश्चात्य महाकाव्य. काठमाडौं : भुँडीपुराण प्रकाशन ।
गौतम, लक्ष्मण (२०६७). महाकाव्यमा माओवादी युद्ध. मिर्मिरे. ३९/११. पृ. ७८ ।
घिमिरे, ऋद्धिरमण (२०६८). एउटा महाकाव्यमा जनयुद्धको गाथा. गरिमा. ३०/३. पृ. १३५ ।
घिमिरे, माधव (२०६७). उत्सर्ग महाकाव्य माहासमारको जिवन्त प्रतिबिम्ब. श्रृङ्खला. ३२/३७. पृ. ३१ ।
घिमिरे, मुक्तिनाथ (२०६७). विवेचनात्मक आलोकमा उत्सर्ग महाकाव्य. चन्द्रागिरी. १/१. पृ. ६५ ।
घिमिरे, रमण (२०६७). एकतर्फी बयान. नेपाल साप्ताहिक. ११/७. पृ. ५४ ।
चापागार्इँ, नरेन्द्र र सुवेदी दधिराज (२०५२). (सम्पा.) काव्य समालोचना. विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान ।
जोशी, कुमार बहादुर (२०४०). कविता चर्चा. काठमाडौं : साझा प्रकाशन ।
ढकाल, बन्दना ( सन् २०१०). उत्सर्ग ः जनयुद्धमा आधारित पहिलो महाकाव्य. रातो झिल्को. २/४–५. पृ. १४६ ।
त्रिपाठी, वासुदेव र अन्य (२०४८). नेपाली कविता भाग २ (तृ.संस्क.). काठमाडौंः साझा प्रकाशन ।
………….. (२०५०). पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग १ (तृ. संस्क.) काठमाडौं : साझा प्रकाशन ।
…………. (२०६६). साहित्य सिद्धान्तः शोध तथा सृजना विधि. काठमाडौंः पाठ्यसामग्री प्रकाशन ।
दण्डी (२०२८). काव्यादर्श (द्वि संस्क.). वाराणसी : चौखम्बा विद्या भवन ।
न्यौपाने, छायादत्त. ‘बगर’ (२०६८). नयाँ मूल्यको महाकाव्य. हाम्रो नौलो बिहानी. ३/१. पृ. ३१ ।
बराल, ईश्वर र अन्य (२०५५). नेपाली साहित्यकोश. काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
बाबुराम (२०५९). पुराना कवि र कविता. ललितपुर : साझा प्रकाशन ।
भण्डारी, कृष्ण प्रसाद (२०६७). दश वर्षे जनयुद्धको काव्यव्यथा. मधुपर्क. ४३/४. पृ. २० ।
भण्डारी, विष्णु (२०६७). उत्सर्ग. काठमाडौं : अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन. ।
भामह. काव्यालङ्कार (द्वि संस्क.). वाराणसी : चौखम्बा संस्कृत सदन ।
मम्मट (सन् २००५). काव्यप्रकाश. वाराणसी : चौखम्बा विद्याभवन ।
रिसाल, राममणि (२०५९). नेपाली काव्य र कवि. ललितपुर : साझा प्रकाशन पुल्चोक ।
रुद्रट (२०३२). काव्यालङ्कार (द्वि संस्क.). वाराणसी : चौखम्बा विद्याभवन ।
रेग्मी, श्यामप्रसाद (२०७०). अवनि महाकाव्य. अप्र. सिर्जनापत्र. काठमाडौं : केन्द्रीय विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस त्रि.वि. ।
विश्वनाथ (सन् १९६३). साहित्यदर्पण. वाराणसी :चौखम्बा विद्याभवन ।
शर्मा, मोहनराज र लुइटेल खगेन्द्रप्रसाद (२०६६). शोधविधि. ललितपुर. साझा प्रकाशन ।
श्रेष्ठ, दयाराम र शर्मा मोहनराज (२०६२). नेपाली साहित्यको संक्षिप्त इतिहास. ललितपुर : साझा प्रकाशन ।
सिलवाल, केशव (२०६७). नयाँ यथार्थको नयाँ महाकाव्य. कलम. १८/५४. पृ. १२५ ।
सुवेदी, अभि (२०३२). पाश्चात्य काव्य सिद्धान्त. काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
(समाप्त)