~आहुति~
यो धर्तीको म जुठे नामको तुच्छ गरीब
नाईँ !
म बन्न सक्तिन महान् !
रामप्रसाद शर्मा
आम्मै आम्मै !
उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता
दुई बीस हिउँद–वर्षा
मेरा बाउले उनकै घरमा काटेथे हलीको जुनी
तर कत्ति त्यागी मान्छे !
छाडिदिए त्यस्तो लेखोपाखो अरुका लागि
अमर हुने नै भयो उनको कथा
म त रामप्रसाद शर्मा होइन
म बन्न सक्तिन महान् ।
हिक्मतसिंह ठकुरी
लौन ! लौन !
उनको बाउको तीस गाउँमा कस्तो थियो रवाफ
मेरो घरमा मूत गन्हाउने थाङ्नो थिएन
उनी घोडा छाडेर पात्तिंदै गर्थे रैतीका काँधमा ढलीमली
तर अचम्मकै भलाद्मी !
त्यागिदिए त्यत्रो हालहुकुम अरुका लागि
चल्ने नै भयो सर्वत्र उनको नाम
म त हिक्मतसिंह ठकुरी होइन
म बन्न सक्तिन महान् !
हरिनारयण झा
राम ! राम !
आँगनीमा तुलसीका मठ घुम्थे चाँदीका थाली
अठार गाउँका मालिकका प्यारा छोरा उनी
आधा उमेर बित्यो उनको पिंढीमा सीनो फाली फाली
तर कत्ति ठूला धर्माती !
च्यातिदिए जातभातको त्यत्रो पर्दा हाम्रालागि
हुने नै भयो उनको पूजा
म त हरिनारायण झा होइन
म बन्न सक्तिन महान् !
तुलसीलाल श्रेष्ठ
सत्ते ! सत्ते !
कितावका खातमाथि जन्मिएका थिए
उनको बाजेदेखि राइटर खलक
सानो छँदा घुर्की लाउँथे किताव फाली फाली
तर साँच्चैका ठूला नेता !
फालिदिए सर्टिफिकट
छाडिदिए जागीर राष्ट्रका लागि
बन्ने नै भयो उनको शालीक
म त तुलसीलाल श्रेष्ठ होइन
म बन्न सक्तिन महान् !
मसँग गुमाउन बाजेको बिर्ता छैन
छाडिदिन खानदानको ठूलो हालहुकुम छैन
त्यागिदिन मेरो कुनै उच्च जातभात छैन
लात मार्न जागिरलाई कुनै सर्टिफिकट छैन
नाई ! नाई !
यो धर्तीको म जुठे नामको तुच्छ गरीब
म कदापि बन्न सक्तिन महान् !
म खेतहरुमा गोरु जोत्छु
कारखानाहरुमा पेचकिला कस्छु
जानेको, सकेको आवश्यक सबै सबै गर्छु
बच्चा विरामी हुँदा रातभरि जाग्छु
छिमेकमा मुर्दा पर्दा अल्छी नमानी लाश बोक्छु
छिमेकीको रमाइलोमा कम्मर भाँचेर नाच्छु
आनन्दसँग एक निन्द्रा बच्चाहरुलाई च्यापेर
सधैं सधैं निदाउन पाएको सपना देख्छु
ढाँटेको भए मरिजाऊँ !
बल्लतल्ल भ्याएर
जुलुसमा कहिलेकाहीं उभिन पुग्छु
नाई !
यो धर्तीको म जुठे नामको तुच्छ गरीब
यस्तै छ मेरो तुच्छ संसार
म बन्न सक्तिन महान् !
(स्रोत : इ-मुल्यङ्कन डट कम)