समीक्षा : रुद्र खरेलका व्यङ्ग्य निबन्धको विषयक्षेत्र

~नरनाथ लुइँटेल~

नेपाली हास्यव्यङ्ग्य लेखनमा अत्यन्त गुरुत्व राख्ने स्रष्टा रुद्र खरेलको व्यङ्ग्य कलाका बारेमा त्यति धेरै मूल्याङ्कन एवम् चर्चा भएको छैन । खरेल आफैँ पनि अलि बढी नै अन्तरमुखी स्वभावका स्रष्टा भएका कारण पनि यसो भएको होला । अनि खरेलका विशेषतः हास्यव्यङ्ग्य कृति एवम् रचनाहरूका बारेमा समालोचकहरूको पर्याप्त ध्यान खिचिएको देखिँदैन । शास्वत निबन्धमा रमेर कलम चलाउने रुद्र खरेलका छ वटा निबन्धसङ्ग्रह प्रकाशित भएका छन् भने विभिन्न पत्रपत्रपत्रिकामा दर्जनौँ निबन्ध रचना छरिएर रहेका छन् । खरेलका प्रकाशित निबन्ध कृतिहरूमा ‘तपाइँको नाम के हो ?’ (२०४९), ‘तोरी लाहुरे चोकमा एकछिन’ (२०५२), ‘बिर्सिस्यो कि ?’ (२०५७), ‘आषाढस्य प्रथम दिवसे’ (२०५९), ‘तेस्रो आँखा’ (२०६१) र ‘शब्दको भ्वाङ’ (२०६४) रहेका छन् । सबै क्षेत्रमा विकृतिको बाढी उर्लिरहेको छ । विसङ्गत स्थिति नै हाम्रो पर्याय हो कि भन्ने अर्थ लाग्न थालेको परिवेशमा खरेलका यी कृतिहरूमाथि पाठकीय दृष्टि लगाउँदै उनका निबन्धले प्रहार गरेका विकृत विषय क्षेत्रको सानोतिनो लेखाजोखा गर्ने मनशाय राखिएको छ यो आलेखमा ।

निबन्ध रचनाका सिद्धहस्त स्रष्टा रुद्र खरेल मूलतः व्यङ्ग्य चेतनाका निबन्धकार हुन् । उनका अधिकांश निबन्धहरूमा व्यङ्ग्यात्मक शैलीको अवलम्बन गरिएको छ । नेपाली हास्यव्यङ्ग्य निबन्धमा समकालीन निबन्धकारहरू भन्दा नितान्त भिन्न पहिचान कायम गरेका छन् रुद्र खरेलले । राजनीतिक, सामाजिक तथा साँस्कृतिक विषयक्षेत्रका विसङ्गत पर्यावरणमाथि खरेलको दृष्टि पुगेको छ । तत्तत् क्षेत्रको साङ्गोपाङ्गो जानकारी छ उनीसँग । एउटा कुशल व्यङ्ग्यकारसँग यस्तो जानकारी नभएसम्म उसले व्यङ्ग्य रचना सिर्जना गर्नै सक्दैन । खरेलको व्यङ्ग्य सिर्जनाको कौशलका बारेमा समालोचक कृष्णचन्द्रसिंह प्रधानको कथन निकै महत्वपूर्ण लाग्दछ– “(खरेलका) सबै निबन्धभित्र समान रूपमा रहेको एउटा कुरा हो, व्यङ्ग्य । रुद्र खरेलजीका सम्पूर्ण निबन्धहरू हास्यभन्दा पनि व्यङ्ग्यप्रधान हुन् या यसो भनौँ, हास्य यसमा छँदैछैन, व्यङ्ग्यैव्यङ्ग्य भरिएका छन् । त्यो व्यङ्ग्य आजको लेखनलाई धारिलो बान्की दिने सबैभन्दा सशक्त हतियारको रुपमा प्रयोग भैराखेको छ । त्यस स्थितिले गर्दा पनि व्यङ्ग्य प्रोत्साहित भैरहेको छ र व्यङ्ग्य लेख्न हामी उत्साहित भैराखेका छौँ ।” कृष्णचन्द्रसिंह प्रधान (तेस्रो सहस्राब्दी, वर्ष २, अङ्क ६, माघ २०६१) । खरेलका व्यङ्ग्य निबन्धको मूलमर्म भनेकै व्यङ्ग्यधर्मिता हो भन्ने निष्कर्ष समालोचक प्रधानको उपर्युक्त कथनले व्यक्त गरेको छ ।

रुद्र खरेलका निबन्धको अध्ययन गर्दा के थाहा पाइन्छ भने उनले जुन विसङ्गत विषयमाथि व्यङ्ग्यको मट्याङ्ग्रो हान्न खोजेका छन् त्यो विसङ्गत विषय क्षेत्रको आन्द्राभुँडी, रौँ प्रमाण नालीबेली उनीसँग छ । एउटा विषय क्षेत्रको विसङ्गतिलाई उधिनेर छ्याल्लब्याल्ल पार्ने क्रममा अरु क्षेत्रका विद्रूप प्रसङ्गलाई सहज र स्वाभाविक ढङ्गले तानेर एउटै मट्याङ्ग्रोले दुइटा वा त्यो भन्दा बढी शिकार खसाल्ने खुबी खरेलको व्यङ्ग्यकारिताको एउटा महत्वपूर्ण विशेषता हो । उनी कालुलाई दनक दिन लालुका समेत तालुका रौँ गनिरहेका भेटिन्छन् । खरेलका रचना सिर्जनाको विषयक्षेत्रका बारेमा प्रा. राजेन्द्र सुवेदीको मूल्याङ्कन यहाँ सान्दर्भिक रहेको छ । “नेपाली समाजमा दिन प्रतिदिन बढ्दै गरेका विकृतिलाई, विखण्डित हुँदै गएका मानवीय आदर्शलाई र जीवन र परिवेशका विसङ्गतिलाई यथार्थवादी ढङ्गले प्रस्तुत गर्ने र तिनमा रहेका विकृतिलाई चोटिलो पाराले प्रहार गर्ने खरेल नेपाली निबन्धका समसामयिक यथार्थवादी प्रतिभा देखिन पुगेका छन् ।” प्रा. राजेन्द्र सुवेदी, (स्रष्टा–सृष्टि द्रष्टा–दृष्टि, २०४३) । अर्थात् विसङ्गत यथार्थलाई नाङ्गेझार पार्दै सङ्गतिको आग्रह राख्नु व्यङ्ग्यकार खरेलको वैशिष्ट्य हो ।

त्यसो त समालोचक गङ्गा उप्रेतीले पनि रुद्र खरेलका निबन्धहरूमा परी लाइएको विषय क्षेत्रलाई मोटो ढङ्गले विश्लेषण गरेका छन् । “लचिलो परिवेशमा व्यङ्ग्यका गुलेली मार्ने खरेलका व्यङ्ग्यको विषय सामाजिक एवम् राजनीतिक हो । उहाँका कतिपय व्यङ्ग्यहरू भने मानवीय स्वभावगत कमजोरीप्रति खिल्ली उडाउँदै सुधारका लागि प्रेरित गर्ने खालका छन् ।” गङ्गा उप्रेती, (श्रृङ्खला मासिक, अङ्क २५, २०४७)। विसङ्गत परिवेशका अनेक पाटा र पक्षहरूतिर घच्का हान्न पुगे पनि खरेलको व्यङ्ग्यको मूल निशाना चाहिँ सामाजिक राजनीतिक विकृतितिर नै केन्द्रित रहेको देखिन्छ । मुलुक सञ्चालनको मेरुदण्ड राजनीति हो र यही मेरुदण्डमा विकृतिका गाँडहरू पलाएपछि स्वाभाविकै अरू क्षेत्र अछुतो रहनै सक्दैन भन्ने ठम्याइमा व्यङ्ग्यकार खरेल दृढ रहेका छन् ।

छयालीस सालपछिको राजनीतिक पर्यावरणमा देखिएका विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्नमा खरेलको विशेष रुचि रहेको पाइन्छ । खरेलसँग हरेक कुरालाई हेर्ने प्रगतिवादी दृष्टिकोण भएको हुँदा र परिवर्तन प्राप्तिको आन्दोलनसँग पनि उनी जोडिएको हुँदा उनका व्यङ्ग्य निबन्धमा उनीभित्रको वैचारिक निष्ठा कहिँ पनि चुकेको वा झुकेको देखिन्न । निम्न वर्ग, पिछडिएको समुदाय, उत्पीडित वा उपेक्षित जनताप्रति खरेलको आदरभाव पर्याप्त छ । सम्पन्न, धनी, सत्ताशीन, उच्च ओहोदा र भ्रष्ट मनोवृत्तिका मनुवाहरूप्रति खरेल आफ्नो सिर्जनाकर्मद्वारा हर्दम सिस्नुपानी लगाउन उध्यत भएका छन् । राजनीतिक आवरणमा रहेको स्वार्थी मनोकाङ्क्षालाई खरेल व्यङ्ग्यको गुलेली तन्काएर मट्याङ्ग्राको तारो हान्छन् । कामचोर कर्मचारीको ढड्नेसो खुस्किने गरी व्यङ्ग्यको लाठो बजार्छन् । हाम्रो आफ्नै मौलिक संस्कृतिका राम्रा र सुन्दर पक्षतिर नाक चेप्रयाउँदै पराय संस्कृतिप्रति हुरुक्क हुँदै गएको पछिल्लो पुस्ता देखेर खरेल एकदमै असन्तुष्ट रहेका छन् र उनका अनेकन निबन्धमार्फत त्यो पुस्ताका गालामा औँलाका डाम बस्नेगरी चड्कन हानेका छन् । पढेका भनिएका तर देश र समाजलाई फिटिक्कै बुझ्न नसक्ने र बुझ्न नखोज्ने बुद्धिजीवीहरूलाई खरेलका आँखाले टाउको टेकी उभिण्डिएर हिँडिरहेको देख्छन् । यस्तो उभिण्ड्याइँप्रति खरेलको लेखनी नराम्रोसँग खनिएको छ । उनी त्यस्ता बुद्धिजीवीको टाउकामा शब्दको तातो भुतभुते खन्याँउछन् र टाउकाले हैन खुट्टाले टेकेर हिँड्न आक्रोशपूर्ण आग्रह गर्दछन् ।

राजनीतिक विसङ्गतिका कुरा गर्दा खरेलका निबन्धमा राजनीतिक बेइमानीका अनेकन तथ्यहरू भेटिन्छन् । त्यो पङ्क्तिमा राजा छन्, पञ्चहरू छन्, प्रजातन्त्रको दुहाइ दिने अप्रजातान्त्रिक नेताहरू छन्, क्रान्ति र परिवर्तनको सम्वाहक बनेर सत्तारोहण भएपछि रातो रङ्ग खुइलिँदै सिनित्तै भएका कम्युनिष्ट नेताहरू सबै फेला पर्छन् । नेताहरूमा झाँगिएको पजेरो संस्कृति, घर निर्माण संस्कृति, कुर्सी र पद प्राप्तिका निम्ति गिडगडाइरहने संस्कृति, धम्की, चुनौती, र घुर्की संस्कृति, जालझेल, षडयन्त्र, घात–प्रतिघात संस्कृति, नियमित भत्तासहितको सत्ता संस्कृति जस्ता अनेकानेक संस्कृति नै देशको राष्ट्रिय संस्कृति बनेकोमा खरेलको कलम आकुलब्याकुल भएको छ । यी यावत विकृतिमाथि उनी व्यङ्ग्य गर्दछन् तर उनको व्यङ्ग्यमा पर्याप्त शिष्टता छ, गाली हैन शौम्यता छ र गम्भीरता छ । भद्धापन, गालीगलोज, अशिष्टता र अश्लिलता व्यङ्ग्य होइन भन्ने मान्यतालाई मूर्त रूप दिन खरेलका हरेक व्यङ्ग्य निबन्ध एक एक उदाहरण बनेका छन् ।

यथार्थको अङ्कन बिना हास्यव्यङ्ग्य सिर्जना शक्तिशाली हुँदैन । भैरव अर्यालले यस क्षेत्रमा प्राप्त गरेको उचाइ यसैको प्रमाण हो भन्न सकिन्छ । केशवराज पिँडालीको अघिल्लो चरणका निबन्ध पछिल्लो चरणका निबन्धको तुलनामा बढी प्रभावशाली हुनुमा पनि यही कारण जोडिएको छ । कृष्णचन्द्र सिंह, श्याम गोतामे, वासुदेव लुइँटेल, बालमुकुन्ददेव पाण्डे आदिका हास्यव्यङ्ग्य सिर्जनामा रहेको शक्ति पनि यही यथार्थको अङ्कनले उजागर गरेको प्रष्ट हुन्छ । धर्तीमा रहेको विसङ्गत पर्यावरणमाथि व्यङ्ग्य गर्न धर्तीमाथिको कल्पनाले त्यति मद्धत पुर्याउँदैन भन्ने सच्चाई रुद्र खरेलको व्यङ्ग्य चेतनाले राम्रोसँग आत्मसात गरेको थियो । त्यसैले उनका निबन्धका जरा आकाशबेली नबनेर धर्तीकै अन्तरकुन्तरतिर गाडिएका छन् । त्यो धर्ती विशुद्ध नेपाली धर्ती हो, जहाँ विसङ्गतिको कुइगन्धे झार पलाएको छ, नेपाली वनै सखाप पार्ने गरी वनमारा पन्पिएको छ– त्यहाँ खरेलको व्यङ्ग्यकला निकै धारिलो करौँतीको रुपमा उपस्थित भएको छ । वनमारा फाँडेर सफासुग्घर र सुन्दर भूमि बनाउने मनोकाङ्क्षा अन्तरनिहित छ । यही व्यङ्ग्य कला नै खरेलको विशेषता हो र उनको निजत्व पनि यसैमा प्रकट भएको छ ।

नेपाली समाजमा नारीहरू युगौँदेखि प्रताडित हुँदै आएका छन् । उनीहरूमाथि दोहोरो तेहरो शासन र शोषण थोपरिएको छ । नेपाली नारीहरूमा हुर्कदै गएको चेतना र आफ्नो मुक्तिका निमित्त उनीहरूमा बढिरहेको सक्रियताले समाजमा निकै ठूलो उलटफेर आइरहेको कुराको राम्रो हेक्का राखेका छन् खरेलले । यद्यपि नारीलाई खुट्टाको जुत्तासँग दाँज्ने पुरातन सोच बोकेका पितृसत्ताका हकदार पुरुषहरू समाजमा छ्याप्छ्याप्ती भेटिने गरेका छन् । बाटो र गल्लीतिर हिँडिरहेको बेला होस्, विद्यालय महाविद्यालयका कक्षाकोठामा होस्, सरकारी वा गैरसकारी कार्यालयतिर होस् या सार्वजनिक यातायातका रुपमा चल्ने बस तथा ट्याम्पुहरूतिर यात्रा गरिरहेका बेला महिलालाई हदै किसिमले हेप्ने, होच्याउने, अभद्र तरिकाले दुव्र्यवहार गर्ने पुरुष क्रियाकलाप देखेर रुद्र खरेलको पारो तात्ने गर्दछ । सारीप्रतिको यस्तो अपहेलनालाई उनी समस्त महिला जातिको अपमान सम्झन्छन् र कलात्मक व्यङ्ग्यको सहारा लिँदै नारी बिनाको संसार हेर्न खोज्ने तथाकथित पुरुषलाई बकाइनाको रुखमा झुण्डिएर आत्महत्या गर्ने सल्लाहसमेत दिन खरेल पछि परेका छैनन् । (हेर्नुहोस्, ‘सारीको हावा’, बिर्सिस्यो ? निबन्धसङ्ग्रह २०५७) नारीका नखसिखको वर्णन गर्दै, उनीहरूको निरिहता, सहनशीलता वा असचेतपनलाई बुद्धुको स्तरमा झारेर धेरै व्यङ्ग्यकारहरूले आफ्ना व्यङ्ग्य रचना निर्माण गरेको प्रसङ्गले उनलाई उकउकी लागेर आउँछ । यस किसिमको अभिव्यक्ति सही अर्थमा हास्यव्यङ्ग्य होइन भन्ने प्रगतिशील धारणा व्यक्त गर्दछन् रुद्र खरेल ।

रुद्र खरेलले गम्भीरतापूर्वक व्यङ्ग्य गरेको विषय क्षेत्रमध्ये साहित्य पनि एक हो । कला कलाका लागि वा साहित्य साहित्यका लागि भन्नेहरू पनि हामीकहाँ थुप्रै छन् । उनीहरूको जीवनविमुख रचनाप्रक्रिया जाँडसँग जोडिने गरेको कुरुप र नाङ्गो यथार्थतिर पनि खरेलको वक्र दृष्टि पुगेको छ । “हेर् घिउलाटा, आधुनिक जाँडको र उत्तर आधुनिकतावादी साहित्यको गुण स्तर हुन्छ तर वर्ग हुँदैन ।” (‘साहित्य र जाँड’ बिर्सिस्यो कि ? निबन्धसङ्ग्रह २०५७) यसरी खरेलको व्यङ्ग्यको धनु तानिएर साहित्यिक दर्शन र सिद्धान्तमाथि समेत थुर्न पुगेको अनुभव सहजै गर्न सकिन्छ ।

नेपाली जनता सार्वभौम अधिकार प्राप्तिको लडाइँमा ओर्लिरहेका बेला खुनी राजतन्त्रले गरेको घिनलाग्दो र दम्भपूर्ण बठ्याइँको पोल खोल्ने खरेलको एउटा लोभलाग्दो व्यङ्ग्यात्मक बान्की हेरौँ न– “त्यसपछि मानिसको अनुहारमा शीतको निखार पाएको घिउकेँवराको फूल फुल्यो । सबैले एक स्वरले भने– ‘हाम्रो सपना पूरा हुने भो ।’ हर्कले बुर्कुसी मार्दै कुँडुलो परेर प्रमिथसको आगो फूःफूः गर्दै फुक्न थाल्यो । फिलिङ्गो के पुतपुताउन लागेको थियो, एउटा कोही लाठेले हत्तपत्त हनुमाने जाँघे कट्टु खोल्यो र छ्वाल्ल सु ग¥यो । यसलाई सु निगाह बक्स भो भने पनि फरक पर्दैन । आगोको फिलिङ्गो भासभुस निभेपछि किच्च हाँसेर हनुमाने जाँघे कट्टुको फस्नर क्यार्र तान्दै उसले भन्यो– ‘स्वर्गबाट चोरेर ल्याएको आगाको फिलिङ्गोमा सु निगाह बक्स गर्ने म पहिलो महानायक हुँ ।” (‘अञ्जुलीमा एक पित्को आगो…’, शब्दको भ्वाङ (निबन्धसङ्ग्रह २०६४।) उपर्युक्त फाँकीले भन्न जोजेको कुरो बुझ्न कसैले निधार खुम्च्याइरहनु पर्दैन, कसलाई दनक दिएको हो त्यो पनि स्पष्ट छ, अनि व्यक्त भएको व्यङ्ग्यात्मक आशयले जुन भाव पैदा गर्दछ त्यो सोझै परिवर्तनप्रति प्रतिबद्ध विचारसँग सम्बन्धित छ । अनि त्यो परिवर्तनप्रति प्रतिबद्ध विचार चाहिँ रुद्र खरेलको निष्ठा हो । यस्ता लोभ लाग्ने बान्कीका फाँकीहरू खरेलका निबन्धमा जहाँतहीँ फेला पार्न सकिन्छ ।

खरेलका व्यङ्ग्य निबन्धको प्रभावकारिताका बारेमा पनि यस्तो निक्र्योल निक्लन्छ– “प्रायजसो निबन्धमा स्मृतिजन्य अनुभव त छँदै छ, त्यसलाई सामाजिक जीवनसँग मिसावट गरेर प्रस्तुत गर्दा अझै बढी प्रभावकारी बनेका छन् । समष्टिमा उहाँका निबन्धहरू प्रयोजनपूर्ण, उद्देश्यपूर्ण, वाग्वैदग्ध्यपूर्ण, प्रतीकात्मक र व्यञ्जनात्मक रहेका छन् ।” (जन एकता साप्ताहिक वर्ष २ अङ्क ४५) निनु चापागाइँको निक्र्योल हो यो ।

“आफ्नो दह्रो परिचय स्थापित गरेका निबन्धकार खरेल समकालीन यथार्थका कुरुपतालाई राम्ररी समात्न र तिनको केन्द्रसम्मै पुग्ने प्रयत्न गर्दछन् । व्यङ्ग्य समेतलाई मुख्य शैली बनाई निबन्ध सिर्जना गर्ने खरेल यस अवधिका प्रतिनिधि निबन्धकार हुन् र उनको निबन्ध लेखनले प्रगतिवादी निबन्धलाई अगाडि बढाइरहेको अनुभव हुन्छ ।” (प्रगतिवादी नेपाली साहित्यको वर्तमान अवस्था र प्रवृत्ति, कात्तिक २०५२) । ताराकान्त पाण्डेको यस्तो थपुवा निक्र्योललाई पनि केलाइकुलाई हेरेपछि केही निष्कर्ष निकाल्न सकिन्छ ।

समकालीन नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा प्रगतिपक्षीय जीवनदृष्टिका साथ कलम चलाउने रुद्र खरेल एकजना दह्रो र खरो स्रष्टा हुन् । नेपाली हास्यव्यङ्ग्यको पछिल्लो चरणको चर्चा गर्दा उनको नाम झिकिदिने हो भने त्यो चरण एकदमै फिका हुने निश्चितप्राय छ । शिष्ट अभिव्यक्तिमा विश्वास गर्ने खरेल हास्य खासगरी व्यङ्ग्यधर्मी कलाका विशिष्ट स्रष्टा हुन् । म के लेखेर कसलाई अनि किन व्यङग्य गदैछु भन्ने हेक्का नराखी निरुद्देश्य ढङ्गले व्यङ्ग्य लेख्ने लेखन्तेहरूलाई मार्गदर्शन गराउने खालका निबन्ध छोडेर गएका छन् खरेलले । विसङ्गतिप्रति मारक प्रहार, ज्याद्रो पाराको दनक र लेथ्नुकडाइको निजीपनले खरेललाई नेपाली निबन्धमा अजराअमर बनाएको छ । सङ्ख्याको हिसावले कृतिहरू केही थोरै देखिए पनि कृतिमा रहेको गुणवत्ताका कारण नेपाली व्यङ्ग्य साहित्यमा रुद्र खरेल दिगन्तसम्म नअस्ताउने एउटा पहारिलो घाम हुन् ।

– कलङ्की, काठमाडौँ

(स्रोत : ‘शब्द संयोजन’ मासिक, रुद्र खरेल विशेषाङ्क २०६५)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.