~रुद्र खरेल~
मेरो छेवैमा एउटी प्लास्टिककी मोडेल युवती सिसाभित्र उभिएकी छ । वास्तवमा ऊ कहिल्यै बस्दिन र सुत्दिन पनि । उसले केही सोच्नुपर्दैन । सुनौलो केशभित्र उसको टाउको खोक्रो छ, आकर्षक बनाउन प्रयत्न गरिएको उसको छातीभित्र न मुटु छ न कलेजो । ऊ खोक्रो हुन्नथी भने आजसम्म सयौँ पटक बलात्कृत हुन्थी । ऊ यति मात्र कारणले बलात्कृत भएकी छैन कि ऊ प्लास्टिकको खाक्रो मान्छे हो । हरेक साँझ उसलाई पनि हेरेर यस चोकमा मुख मिठ्याउनेहरू छन् तर ऊ कवाफमा हाड भएकी छ । मुटु, कलेजो र गिदी नहुनु सबैको लागि अभिशाप हुँदो रहेनछ, यो ‘नहुनु’ उसका लागि वरदान सिद्ध भएको छ । बलात्कारीलाई मस्तिष्क, मुटु र जीवन चाहिएको पनि छैन । जेसुकै चाहिए पनि तिनीहरूलाई थाहा छ कि यो प्लास्टिकको (की ?) मोडेल युवती हो । यो प्लास्टिक मानव व्यापारिक वस्तु हो, उत्तेजनाको हाँसो बेच्नु यसको अधिकार र कर्तव्य दुवै हो । यसर्थ, एउटा भव्य कपडाको पसलमा उभिएर यसले चोकका अपराधीलाई आमन्त्रणको उपहार बाँडेको छ । उत्तेजनापूर्ण नारी मुस्कान नाफाको लडाइँमा धारिलो हतियार हो ।
यस चोकमा जिउँदा र खँदिला मान्छेहरूले एक छिन उभिनखोजे पनि ती बाँच्न सक्तैनन् । देख्नुभो ? ऊ त्यो तिब्बती च्याङ्ग्राको भुत्लाजस्तो केश हुने केटाले झोला बोकेर स्कुल जाँदै गरेकी छात्रालाई पुलिसकै मुखेन्जी तिघ्रामा चिमोट्यो । बिचरीले प्रतिकारसम्म त गरी तर पुलिसको हाकिमका ओठमा उत्साहको मुस्कान देखेर स्तब्ध भई । खरायोको बच्चाको झैँ उसको मुटु भयले छड्किरहेको छ । यस चोकको संस्कृति र मानवता भनेको जसरी भए पनि आफ्नो इच्छा पूरा गर्नु हो । अर्काको इच्छामा हस्तक्षेप गर्नु, सोधीखोजी र सरोकार राख्नु व्यक्तिगत स्वतन्त्रता र प्रजातन्त्रका उच्च आदर्शको विपरीत कार्य हो । त्यस केटालाई चिमोट्न इच्छा लाग्यो, चिमोट्यो । सीधा कुरा यति मात्र हो । तपाईंलाई चिया खाने, चुरोट खाने इच्छा लागेझैँ कसैलाई बलात्कार गर्ने इच्छा लाग्नसक्छ । बहुलवादमा विश्वास राख्ने यस चोकको समाजले बहुल इच्छाको संरक्षणमा विशेष जोड दिएको कुरा तपाईंले बुझ्नुपथ्र्याे । यसैले, कसैको मुटु भय, घृणा, क्रोध र प्रतिकारले बेस्कन धड्कनु यस चोकको भीडका निम्ति अप्रासंगिक कुरा हो ।
यस चोकमा यसरी उभिने म पनि एक सान्दर्भिक मान्छे मात्र हुँ । म कोही पनि हुनसक्छु र मेरो पनि तीनपुस्ते वंशेरी शृंखला छ, तपाईंको भन्दा बिलकुल भिन्न । भिन्न के मानेमा छ भने मेरो बाबु वास्तविक बाबु नभएर प्राविधिक बाबु मात्र हो– रेडियो नेपालका सञ्चालकले ‘प्राविधिक साथी पेकिङ केसीलाई पनि बिदा दिनुहोस्’ भने जस्तै । चोकको सबभन्दा शक्तिशाली मान्छेले अर्काको घरपिँढी बढारेर जीवन गुजरान गर्ने गरिब र निमुखा कोहीलाई बलात्कार ग¥यो । आखिर, इच्छा न हो ! म त्यही गरिब र निमुखा आमाको वास्तविक र प्राकृतिक छोरा हुँ । अपराधी यस चोकको बहुमतले मन्त्री भयो, मेरी आमासँग त्यसलाई सजाय गराउने शक्ति भएन । म जन्मिएँ, म बाबु बिनाको छोरा त अवश्य हुइँन । कुरा कति मात्र हो भने मेरो बाबु कुनै बाबु नभएर प्राविधिक बाबु मात्र हो । प्राविधिक बाबु मात्र होइन, यहाँ त प्राविधिक छोरा पनि छन् । तिनलाई स्मेक खान चाहिए जति पैसा नदिए बाबुआमाको छातीमा बन्दुकको नाल तेस्र्याउँछन् । यस चोकका तरुनी–तन्नेरीका थुप्रै साथीहरू छन् । शनिवार सबै मिलेर तिनीहरू पिकनिक जान्छन् । विदेशी महँगो रक्सी र बियर खाएर नाच्छन्, सके त्यहीँ बाह्रमासे कौडा नार्छन् । सबैका आँखामा मीठा देखिने प्राविधिक मुस्कान छन् । सबैका प्राविधिक साथी छन् र म पनि कसैको प्राविधिक साथी हुँ । हामीमध्ये कति कसैका प्राविधिक लोग्ने र कसैका प्राविधिक श्रीमती पनि हौँला । हामी जे हुन्छौँ, जसो हुन्छौँ, प्राविधिक कारणले मात्र हुन्छौँ ।
स्वतन्त्रताको उच्च प्रतिमानमा आधारित यस चोकको अलग सांस्कृतिक पहिचान छ । विशेषज्ञले खुमलटारमा खुमल एघार जातको आलु बनाएझैँ यहाँ बेग्लै जातको मानवता र संस्कृति छ । खुमल एघार जातको भन्नोस् या खुमल बाह्र जातको संस्कृति भन्नोस् यसको मूल विशेषता प्राविधिक मात्र हो । तसर्थ, यो चोक जुन देशको चोक हो, त्यो देश पनि प्राविधिक कारणहरूले मात्र देश हो । त्यो देश पनि किन देश हो भने त्यसको कम्तीमा पनि अरूहरूको भन्दा छुट्टै एउटा झण्डा, छुट्टै एउटा सरकार र संविधान छ । बाँकी कुराहरू, जुन महŒवपूर्ण छन्, ती सबै विदेशीलाई सुम्पुवा भइसकेको छ ।
तर, देशको त्रासद परिणतिको सवालले यस चोकका मान्छेको मुटु दुखेको छैन । उनीहरू त किन्ने र बेच्ने मान्छे मात्र हुन् । हुनसक्छ, उनको लागि देश पनि त्यस्तै एउटा नाफाको वस्तु हो । उनीहरूको प्लास्टिकको खोक्रो मुटुमा देश दुख्ने ठाउँ छैन । उनीहरूलाई त केवल खँदिला, जिउँदा र रगत भएका मानिसहरूसँग भय छ । उनीहरू तिनीहरूतिर बन्दुक तेस्र्याएर निर्धक्कसँग बसेका छन् ।
कतिपय मानिसहरू, जो यस चोकमा घरबार गरेर बसेका छन्, केवल प्राविधिक कारणहरूले मात्र बसेका छन् । तिनले शोषण यहाँ गरेका छन्, नाफा चाहिँ विदेशी बैंकमा राखेका छन् । यहाँ बस्न, घरघडेरी लिई उद्योग दर्ता गर्न र यहाँ गलैँचा बनाएजस्तो गरी भारतीय गलैँचा युरोपतिर निकासी गर्न अथवा बम्पर उपहार खोल्नका लागि प्राविधिक कारणहरूले कति विदेशीले त श्रीमती पनि जोडेका छन्, प्राविधिक श्रीमती । सोझा र स्वच्छ मनका गरिमामयी महिलाहरू ठगिएका छन्– कहिले धनीराम भागेको छ त कहिले दुःखीराम ! ती नाम वास्तविक हुन् कि प्राविधिक हुन्, केही भन्न सकिन्न । झुटा कुराको डंगुरले घेरिएको सन्दर्भमा यस देशको स्वतन्त्रता र सार्वभौमिकता साँचो अर्थमा हो कि प्राविधिक अर्थमा हो, रगत र मुटु हुने जनसामान्यले बुझ्न सकेको छैन । जनतामा सार्वभौमिकता आउँथ्यो भने मेरी आमा पनि सार्वभौम शक्तियुक्त हुन्थिन् र दिउँसै त्यसरी बलात्कृत हुनु पर्दैनथ्यो अथवा कसुरदारले सजाय पाउँथ्यो । कसुरदार नेता र मन्त्री हुने, एउटी निमुखा र गरिबकी छोरीले आफूमाथि भएको अन्यायको प्रतिवाद गर्न सक्ने ठाउँ र अवस्थासम्म नरहने यो कुन खाले मानवता र स्वतन्त्रता हो ? खाँटी कुरा कति मात्र हो भने जनता साँच्ची नै स्वतन्त्र र सार्वभौम हुन्थ्यो भने अहिले म पनि यस चोकमा हुने थिइनँ । म गौण हुँ, प्रधान कुरो मेरी आमाको कुमारित्व लुटिनु हो ।
अरू केही मानिसहरूको जस्तै मेरा पनि आमा र हजुरबा मधेशको कुनै गाउँमा बस्दछन् । हजुरबाको भनाइअनुसार यस चोकका शासक वर्गका शक्तिशाली लौहपुरुषदेखि लिएर आल्मुनियम, जस्ता र पित्तलपुरुषहरू मेरै गाउँमा हुर्केका हुन् । झोडा आवादी गर्दा साल, सिसौ र खयरको खरानीमा सप्रिएको तोरी बेचेको साँझ नेसनल पानासोनिक रेडियो पिठ्यूँमा भिरेर बिजुली पानीले लरबरिँदै र धरखरिँदै घोडा बड्काउँदै ती घर आउँथे । कहिले–कहिले झरी र वर्षादको याममा घोडासँगै ती झोडे नेताहरू पानीको दहमा पछारिन्थे । घोडा उठ्थ्यो तर बिजुली पानीका कारणले ती उठ्न सक्तैनथे । रेडियो चाहिँ हिलोभित्र बजिरहेको हुन्थ्यो– बाइरोडको बाटोमा धुलो उडाउँदै……। तोरी बेचेर धनी भएका पर्धान र उप–पर्धानका मुखेन्जी मलायाको लाहुरेले जिब्रो टोक्यो । यो कुरो पुरानो भए पनि यस देशमा अर्काे एउटा लाहुरे जन्मियो– तोरीलाहुरे । यस चोकमा तोरी फल्दैन र बेचिँदैन पनि । जससँग अलाउद्दीनको जादूको बत्ती छ, त्यो यहाँ रातारात करोडपति हुँदै आएको छ । यस चोकका विद्वान्, कलाकार, लेखक र नेताको पनि आफ्नो अभ्यासको क्रमबद्ध र शृंखलाबद्ध इतिहास छैन । नवधनी, नवप्राज्ञ र नवविद्वान् यिनीहरूलाई नै भनिएको हो । वास्तवमा टुट्नु, फुट्नु, विशृंखलित हुनु, बीचबीचमा विकास क्रमको इतिहासै नहुनु यस चोकका प्रभु वर्गको विशेषता हो । तसर्थ, तपाईं यहाँ मान्छेका फ्याक र चिराहरू मात्र पाउन सक्नुहुन्छ । त्यसमा पनि कुनै चिरामा फासीवाद छ त कुनै चिरामा प्रजातन्त्रको कथित आदर्श । कुनै चिरामा गोर्वाचोभ छ त कुनै चिरामा सुकुम्वासी ठग्ने झोडे नेता । त्यस्तै, कुनै चिरामा फुजिमोरी छ त कुनै चिरामा जनवादको आग्रह पनि । यी सम्पूर्ण कुराहरूको प्राविधिक संयोजनबाट एउटा मान्छे त के भनौँ मान्छेको मोडेलसम्म बन्न सक्छ । यो मान्छे आफैँमा प्राविधिक मान्छे हो र मेरो छेवैमा उभिएको प्लास्टिकको मोडेल युवतीभन्दा गतिलो छैन । यिनै निर्गतिला, खोक्रा र मोडेल मान्छेहरूको चोक हो, यो । यहाँ मैले जुन जीवन बाँचेको छु त्यो वास्तविक जीवन नभएर मोडेल जीवनमात्र हो, जसप्रति मलाई घृणा छ ।
(स्रोत : निबन्धकार खरेलको निबन्धसंग्रह ‘तोरीलाहुरे चोकमा एक छिन’ बाट)