~सुरेन्द्र जोशी~
तिमी रोयौ आमा,
ति वेदनाका बिम्बहरुको नुनिलो स्वाद
घुटु घुटु प्यूँदा,
छोराले किरिया गर्दा
तिम्रा पिण्डहरुमाथि तिलाञ्जलीको हस्ताअक्षर
गरेको जस्तो लाग्छ ।
छरपस्ट तिमिमाथी छरिएका
विषक्त क्षेप्यास्त्रहरु
रक्ताम्य वाछिटाले भरिदा
धुक–धुक, धुक–धुक गरि जिवान्तको
सास थाम्न पुग्यौ
हो आमा ! तिमी मात्र किन ?
बर्षौ पुरानो, एरीकाँडाले
कोपारिएको तिम्रा घाउले
वसन्तको बाटो पुग्दा
आफ्नै घुम्तीमोडि होडबाजिको
खेल खेल्दा,
तिम्रै छातिमाथि भगवान शिवको
ताण्डव देखाइ,
सन्तानका हुडाँर पचाइरहेका बेला
धुक–धुक, धुक–धुक गरि जिवान्तको
सास थाम्न पुग्यौ
हो आमा ! तिमी मात्र किन ?
कुहु–कुहु कोइलिको आवाज
आफ्नो अस्मीता भुलेर
जव काग वन्छ
छानो मुनि घोडाको टकटक, टकटक
आवाज सरि,
मसिना फलामका राइफलका चल्छन,
काला पट्टीले रङ्ग भरेका दुस्मनहरुले
बाधिँएको चोली धुजा धुजा बनाउदा
धुक–धुक, धुक–धुक गरि जिवान्तको
सास थाम्न पुग्यौ
हो आमा ! तिमी मात्र किन ?
तिमि माथि पटक पटक बलात्कार हुदाँ,
त्यही बस्तुले सयौँ चोटी
कोपारिएर निथ्रुक्क हुदाँ,
तिम्रा मस्काइका तस्बीर हरु
चोरिन थाल्छन,
आफ्नो औलामा चिहान वोकेर
अस्मीताको चिरहरणको ध्येयले
वाहुवलिहरु राक्षसी रुपमा तिमी तिरै तम्सदा
ऐनाले घुस खाएको पोल खोल्छ,
तिम्रो दुःखलाई उसले हाँसोमा फेर्दा
धुक–धुक, धुक–धुक गरि जिवान्तको
सास थाम्न पुग्यौ
हो आमा ! तिमी मात्र किन ?
नक्कली अनुहारका
निर्लज्ज पसुहरु,
अम्लीय वाछिटाका डरले
तिम्रो पति मर्दा,
सेकेन्ड भरको समय नछुटाई भाग्न खोज्छन,
वहुला कुकुरले टोकेका,
बास्सा र एक्काहरुले दाग लाउन
सजिलो होस भनि सेतो पहिरन उपहार दिँदा
धुक–धुक, धुक–धुक गरि जिवान्तको
सास थाम्न पुग्यौ
हो आमा ! तिमी मात्र किन ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)