कविता : बुढो भ्वाइलिन धुन र माया !

~समाश्री~

ऊ कोठामा छ
उसँगै
तार खुकुलिएको एउटा भ्वाइलिन छ
उदासिमा बेरिएर मौन बसेको गजो छ
र कोठाभरि
अनन्त फैलिएको यादहरू छन्
सँधै दोहरि रहने यादहरू
बुढा भएका छैनन्
यादहरू हरेक सम्झाइमा
फेरी तरोताजा हुन्छन्
यादहरू विगत हुँदैनन्
वर्तमानलाई चिमोटेर
सँधै नयाँ नै हुन्छन्
अहिले पनि यादहरू
यौवनमा चोपिएर आएकाछन्
काँप्दा हातहरुले
ऊ भ्वाईलिन सुम्सुमाउँछ
गजो का तारहरु छुन्छ
यादहरू केलाउँछ
बुढो स्मृतिमा
जीवनसंगिनी छे
उनको जीवन्त साथ छ
मस्तिष्क भरि कल्कलाउँदा याद छ
एउटा पुरानो भ्वाइलिन छ
एउटा पुरानो धुन छ

ऊ बसन्तोत्सव सम्झन्छ
भ्वाइलिनमा रेटिएको धुन सम्झन्छ
कुममा अडेस लागेर बस्दाको साथ सम्झन्छ
तातो स्पर्श सम्झन्छ
न्यानो साथ सम्झन्छ
भ्वाइलिनका तारले झंकृत भएको
तलाउका लहरहरु सम्झन्छ
उनको ओठमा फुलेको मुस्कान सम्झन्छ
उठ्छ
भ्वाइलिनका तारहरुलाई सुरमा लेराउन
कहिले कस्छ, कहिले खुकुलो पार्छ
गजोमा सकिनसकि मैन दल्छ

भ्वाइलिनका तारहरुमा रेटछ
भ्वाइलिन उही पुरानो धुन ओकल्छ
आँखा चिम्लेर मग्न भएको अवस्थाको
बुढो स्मृतिमा
जीवनसंगिनी छे
उनको जीवन्त साथ छ
मस्तिष्क भरि कल्कलाउँदा याद छ
एउटा पुरानो भ्वाइलिन छ
एउटा पुरानो धुन छ

कोठाभरि धुनले नवीनता ल्याउँछ
समय फक्रिन्छे
पलहरू मधुमासमय बन्छन्
भ्वाइलिनका धुनमा
उनको मुस्कान फक्रिन थाल्दछ
भ्वाइलिनका धुनमा
उनको प्रेम हाँस्न थाल्दछ
यतिवेला
हृदय सोह्रवर्षे पट्ठो भएको छ
यतिवेला
मुटुभरि माया पलाएको छ
धुँवा भएर विलीन भएको माया
यतिवेला
उसैको साथमा छ
अहिले पनि माया
उित्तकै झाङ्गिएको छ
अहिले पनि माया
उित्तकै फैलिएको छ
प्रेमका स–साना कोपिलाहरु
सर्वत्र लागेका छन्
प्रेमका फक्रेका फूलहरू
सर्वत्र फुलेका छन्
भ्वाइलिनका धुनसँगै
प्रितिसरोवरमा डुबुल्कि मार्दाको
बुढो स्मृतिमा
जीवनसंगिनी छे
उनको जीवन्त साथ छ
मस्तिष्क भरि कल्कलाउँदा याद छ
एउटा पुरानो भ्वाइलिन छ
एउटा पुरानो धुन छ

भ्वाइलिनका तारहरुमा
उसले औंला खेलाएर ओकलेका धुनहरु
अझै जीवन्त छ
अझै प्रेमोमय छ
अझै आदर्श छ
अझै समर्पित छ
उसले बजाएको धुन
अझै पनि जवान छ
धुनसँग टाँसिएका यादहरू
अझै पनि तन्दुरुस्त छ
धुन स्मृतिमा छ
माया स्मृतिमा छ
हो, पार्थिव ऊ बुढो भएको छ
उसको माया ओइलिएको छैन
कोठामा ऊ अहिले एक्लो छ
तर भ्वाइलिन र धुनका साथ
कोठामा ऊ एक्लो पनि छैन
धुनहरु कोठाभरि छ
धुनसँगै उसको प्रेम छ
धुनसँगै उसको प्रियतमा छे
धुनसँगै उसको माया छ
माया जड हुँदैन
माया अचेतन हुँदैन
माया फुलेपछि कहिल्यै झर्दैन
माया फक्रेपछि कहिल्यै ओइलाउँदैन
माया झाँगिएपछि कहिल्यै मासिदैन
माकुरे मायाजालोमा अझै जेलिदाको
बुढो स्मृतिमा
जीवनसंगिनी छे
उनको जीवन्त साथ छ
मस्तिष्क भरि कल्कलाउँदा याद छ
एउटा पुरानो भ्वाइलिन छ
एउटा पुरानो धुन छ

धुन सकिएपछि
ऊ चारैतिर हेर्छ
आँखाले के देख्छ कुत्रि
कानले के सुन्छ कुत्रि
कतै छाम्छ कतै सुम्सुमाउँछ
एक्लै बर्बराउँछ
एक्लै हडबडाउँछ
गजो र भ्वाइलिनलाई जतनसाथ राख्छ
आराम कुर्चिमा आएर थकाइ मेटाउन
आँखा चिम्लन्छ, मुस्कुराउँछ
बुढो स्मृतिमा
जीवनसंगिनी छे
उनको जीवन्त साथ छ
मस्तिष्क भरि कल्कलाउँदा याद छ
एउटा पुरानो भ्वाइलिन छ
एउटा पुरानो धुन छ

ऊ छ उसको माया छ
माया जुन कहिल्यै मर्दैन
माय जुन कहिल्यै नासिदैन
बुढो, भ्वाईलिन, धुन र माया
आँखा चिम्ले पनि मग्मगाउँछन्
आँखा खोले पनि मग्मगाउँछन् |

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.