~मोहन बन्जाडे~
आफ्नै खोरिया आफैले फाँडेर
आफैले रोपी
आफन्तहरुले टिपी
छिमेकी मिलेर बाटेको धागोबाट
गाउँले मिली बुनेको कपडामा
कुनै देशबासी आफैले
सिम्रीक भुइँ र नीलो किनारा बीच
आफ्नै हातले चन्द्रसूर्य रुप कुँदेर
बनाएको हाम्रो आफ्नो झण्डा हात हातमा बोकी
राष्ट्र निर्माता र
सहादत पछि
तिनका कुनै आफन्तले
लाभांश नलिएका
शहिदको शालिक छेउ
सम्मानका साथ राखेर
सुस्त सुस्त
इतिहास चिहाउने रहर छ
संस्कृति सम्हाल्ने रहर छ
अझ भनौ
सभ्यता बचाउने ठहर छ
र पूर्खाले मोर्चा मोर्चामा परचक्रीसंग लडेर
उताको नुनको सोझो गर्ने
चर र भेदिसंग भिडेर
जोगाएको त्यो झण्डा
परचक्रीका काखे सन्तानबाट जोगाई
अर्को पुस्तामा
हस्तान्तरण गर्ने रहर छ
तर
कोही बुद्ध छोडेर शान्तिको नाउमा
बाबु आमालाई नै सैतान भन्दैछन्
कोही जन्मदा पवित्र जन्मे पनि
आफ्नै ढंगले जन्मजात पापी बन्दैछन्
पूर्वजको गुन बिर्सेर
अर्काको नूनपानीमा चुर्लुम्म छन्
सायद तिनलाई
यो माटो –
यो सभ्यता-
र,यो झण्डा भन्दा
परचक्रीको नुन प्यारो छ
तर पनि
राष्ट्र निर्माण अभियानमा होमिने
सिन्धुलीगढ़ीमा लड्ने
बटौलीमा भिड्ने
वा नालापानीमा
प्राण उत्सर्ग गर्नेका सन्तान
वा त्यो इतिहासमा गर्व गर्ने
आजको पुस्तासंग
त्यही झण्डा मुनि
एकजुट भई
कर्मठ सिपाही जस्तै
मन फुकाएर
शिर निहुराउने रहर छ ||