कविता : गिट्टी कुट्ने दिदी

~तारा पराजुली~

यतिबेला
बेखबर जूनलाई सम्झियौ होला
उहीँ पुरानो कुन्जोमा फेसो हाल्दै
बेपत्ता उसका पाइलाहरु भूईँभरी खोज्यौ होला।

अँध्यारोका जुनकीरी बोलाएर
बिच बाटोका  पदयात्री   रोकेर उसको खबर सोध्यौ होला
उसले लगाएका वर बगैंचा
लटरम्म सुन्तला आँखाभरी झुण्डिरहँदा
तिमीले पनि कति कति विरह र वेदना फलायौ होला।

हाँडीबाट उछिट्टिएको मकै झैं
उ आँखाबाट उछिट्टिएको यस्तै बेला त हो
सम्झिरहन्छु आवाजहरुमा
अभावको घुम खप्टिँदै
ट्वाक् ट्वाक् ट्वाक गिट्टी कुटिरहेकी तिमीलाई।

चुहिने पालमाथी टाँगेको वर्तमान उतिखेरै चुहिन्थ्यो
अझै त्यसैमा छल्दै हौली यी साँझबिहान
त्यसैले टार्दै हौली यी घामपानी।

मलाई थाहा छ
रहरले रहरकै छानों उक्लिंदै फुल्थे ती जंगली फूलहरु
तर रित पूरा गर्न भनेर मात्र फुल्थेआंगनका फूलहरु।
त्यो एक्लो र रोगी नियती अझै उसैगरी पछ्याइरहेको होला लखर लखर।

हराएका आँसुहरु खोज्दै
कैयौँ भोल्गाहरु छाम्यौ होला
हेर्दै शिशिरको उदास उदास रुख
सम्झिंदै रित्तो रित्तो आकास
भन्थेउ,खोजिरहन्छु नभेटिएसम्म यी आँखाका मोतीहरु।

रहर गनाउने यी माटोका डल्लाहरु देखेर
सराप्छौ होला
धिक्कार्छौ होला
थुक्छौ होला
तर नथुक्नु माटोलाई झुक्किएर पनि
नसराप्नू माटोलाई बिर्सिएर पनि
सार्है ठूलो गुन लगाएको छ माटोले त
टेक्ने छाती दिएर
सहने मन दिएर।

– तारा पराजुली,मोरङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.