कविता : साँढ्याको कवित्

~कृष्ण प्रधान~

ऊ जति स्वतन्त्र
को छ र ?
भनेको
मान्दैन
नभनेको मात्र गर्छ
हेर्दा
अजङ्गको जूरो उचाल्छ।

हानुलाझैँ गरी
तीखा तीखा सिङ
तेसमाथि
सुवर्ण–अक्षरले मोरिएका सिङ
छुन पनि सकिदैँन
मिल्दैन, जातै जाने हो कि जस्तो !

डामेर छोडेका साँढेलाई
समात्ने हुती कसको ?
ऐँचमा छैन,
समागमको रति–पीडाले
चटारिएका गाईहरू
यसका वरिपरि
झुमेका छन्।
यसबेला छेउ लागेर
हिँड्न पनि हुँदैन,
मात्तिएका साँढेहरू
रति–रागमा मदान्त छन्।
चौकुन

सीमानाको के कुरा ?
सिमाना पर्खाल
नाध्दै हिँड्ने
उसको स्वभाव छ
पिताम्बधारी
स्वयम् नारायणकै अवतारमा
साँढ्या भरखरै हो
तीर्थाटनमा निस्किएको छ
यसबेला
नारायणः नारायणः नारायणः
मात्र गर्न सकिन्छ
पाउ पर्न मात्र सकिन्छ
कविता चढाएर
आचमनी मात्र गर्न सकिन्छ
अक्षेरको अच्छेता चढाउने
वा
शब्दको भर्याङ बनाएर
स्व‚ती गाउने हो
कविजी !
अब पालो तिम्रै परेको छ
साँढ्यालाई
कवित्
सुनाउने !

इमाडोल–९ ललितपुर
(‘साँढ्याको कवित्’ शृखंलाबद्ध कविताको तेस्रो अंश। )

(स्रोत : मधुपर्क २०७० कात्तिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.