~चन्द्रकुमार हतुवाली~
नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए ।
कामको विभाजनअनुसार बुहारीले घरधन्दा गर्नु पर्दथ्यो । गाउँको चलनअनुसार बुहारीले भालेको पहिलो डाकमा उठेर पिउरी काढ्ने, ढिकी कुट्ने, जातो पिस्ने काम गर्नु पर्दथ्यो । त्यसरी नै पानी ल्याउने र बिहानको लागि खाजासमेत सखारै तयारी गरिसक्नुपर्दथ्यो । त्यसपछि मात्र बाहिरफेरको काममा निस्कनु पर्दथ्यो तर बुहारी भने महाअल्छिनी थिई । घामले ओछ्यान भेट्टाउँदासम्म पनि सुतेकै हुन्थी । यतिबेलासम्म गाउँका बुहारीहरूले सारा घरभित्रको धन्दा सकेर पनि बाहिरफेरको काममा जान भनी तम्तयार हुँदासम्म पनि उठेकी हुन्नथी । यसैकारण उनको सारा काम थाँती रहन पुग्थ्यो । कामको मेलो नसरेर आजको काम भोलि हुन पुग्दथ्यो । भोलिको काम पर्सी रहन्थ्यो । बुहारी मान्छेको काम थाँती राख्नु स्वभावैले राम्रो हुन्नथ्यो । त्यसैले सारा गाउँलेले उनको कुरा काट्ने गर्दथे ।
बाउसे हली पनि बुहारीजस्तै अल्छे थियो । उनको मन भने कसरी दिन काट्ने र कति बेला घाम जान्छ भन्ने मात्र थियो । घाम हेर्दै गोरु दौडाउने गर्दथ्यो । काम नाम मात्रको हुन्थ्यो, राम्रो हुँदैन थियो । उसले जोतेका मेलोमा छेउभित्ता त खाली रहन्थ्यो नै, बीच भागतिर पनि लुम्सो छाडिएको हुन्थ्यो । मेलो राम्ररी नजोतिएकोले छेउकुना गर्ने तथा डल्ला फुटाउनेले मजाले कतै नछाडी खन्नुपर्दथ्यो । नत्र बालीनाली लगाएर खाउँला भन्ने नचिताए पनि हुन्थ्यो ।
राउसेको काम भने घाँस काट्नु र गाईवस्तु चराउने गोठालो थियो । उसको बानी भने जङ्गलमा गाईवस्तु छोडेर गीत गाउँदै रउस गर्नुपथ्र्यो । यसको लागि गोठालो र जङ्गल नै उपयुक्त थियो । यहाँ कसैको कचकच सुन्नु पर्दैनथ्यो । विनाबाधा एकसुरले गीत गाउन पाउँथ्यो । वस्तुलाई चरणमा छोडेर आफूखुसी एकोहोरो गीत गाउन पाउने भएकोले बिहान एकभारी घाँस ल्याई खाना खाई बेलैमा गाई फुकाएर गोठालो गर्न जङ्गलतिर लाग्ने गर्दथ्यो । वस्तुहरूलाई जङ्गल मात्र के पुर्याएको हुन्थ्यो, चरणमा छाडिदिएर ऊ भने कि अग्लो ढुङ्गा, कि त डाँडा वा यस्तै गीत गाउने अनुकूल ठाउँ खोजेर गीत गाउन थालिहाल्थ्यो । प्रायः दिनभरि जस्तै गीत गाइरहेकै हुन्थ्यो ।
एकदिन सधैँझैँ राउसेले वस्तुहरूलाई चरणमा छोडेर ठूलो ढुङ्गामाथि चढेर मन मारेर गीत गाउन थालिहाल्यो । गीत गाउँदै गयो सधैँको भन्दा झन् भन्दा झन् गीत मीठो लाग्दै गयो । गीत गाउने धूनमा साँझ परेको पनि पत्तै भएनछ । गाउँदागाउँदै अचानक रोकिन पुग्दा पो पूरा साँझ परिसकेको रहेछ । गाईवस्तु कता गए थाहापत्तै पाउन सकेन ।
उसका गाईहरूमध्येको एउटा गाईको नाम रिथु थियो । कतै रिथुलाई बोलाउँदा पो आउँछन् कि भनेर बोलायो पनि, होइन । अहँ, कतै रिथुको स्वर आएन । गोठतिर फर्किसके कि भनेर ऊ पनि फक्र्यो तर यहाँ पनि आएका रहेनछन् । गोठ रित्तै थियो । त्यसैले फेरि वस्तु खोज्न जङ्गलतिर नै फर्क्यो । जङ्गल पुगेर ओल्लोडाँडो र पल्लोडाँडो गर्दै रिथु गाईलाई बोलायो । घरि रूखको टुप्पो र घरि ढुङ्गामाथि चढेर बोलाउँछ, अहँ, थाहापत्तो लागेको होइन । उसको केही सीप लागेन ।
सबै वस्तु हराएकाले डरले घर र्फकन पनि सकेन । जङ्गलतिर नै रिथु गाई बोलाउँदै वस्तुको खोजी गर्दै बस्न थाल्यो । यही क्रममा उसले चरोको रूप धारणा गर्न पुग्यो । चरो भएर पनि रिथु गाईको नाम बोलाउन छोडेन । चरो भएपछि त झन् रूखको टुप्पोटुप्पोमै बस्दै रिथु गाई बोलाउँदै उड्दै घुम्न थाल्यो । रिथु गाईकै नामबाट उसलाई पनि रिथु चरीकै नामबाट मानिसहरूले बोलाउन थाले । अहिलेसम्म पनि रिथु चरीले रिथु गाई भेट्न सकेको छैन, एकाहोरो रिथुरिथुको बोलमा बोलाउँदै कराइरहेकै छ ।
राई गाउँमा रिथु चरी एकोहोरो कराइरहेको सुनेमा साह्रै दुःख पाएको सम्झन्छन् । त्यो समयमा राई बूढाबूढीहरू आफ्नो वरपर केटाकेटीहरू भएमा रिथु चराको कहानी सुनाउन थाल्दछन् । त्यसरी नै कोही राईले साह्रै मन मारी गीत गाएको सुनेमा पनि राई बूढाहरूले- ”लौ न यो मान्छेले पनि दुःख पाउने भयो”’ भन्ने गर्दछन् । अर्थात् राई जातिमा धेरै र मीठो गीत गाउनेले दुःख पाउँछ भन्ने मान्यता रहेको पाइन्छ ।
(स्रोत : मधुपर्क २०६६ साउन)