कथा : आइ वान अ डेट विद यू

~सविता सापकोटा~

साझ ढल्किँदै थियो । गन्तव्यलाई पन्छाउँदै बाटोमा मानिसहरु हिँडिरहेका थिए । कोही आफ्नो बासतिर, कोही भट्टी पसलतिर, कोही काममा । सडकको पेटीमा बसेर व्यापार गर्नेहरु आफ्नो सामान उठाउँदै थिए । ट्राफिक दाइहरुलाई गाडीको चाप नियन्त्रण गर्न भ्याई नभ्याई थियो । साझ परे पनि त्यसको प्रवाह नै नगरी अन्य दिनभन्दा सुस्त गतिमा आफ्ना पाइलालाई अगाडि बढाउँदै थिएँ ।

दिनमा भन्दा पनि रातमा हिँड्दा छुट्टै आनन्द आउँछ । सायद एक्लोपन र अन्धकार मन पराउँने भएर होला । बाटोमा ठोक्किँदै हिँड्नेहरुप्रति पनि कुनै गुनासो थिएन । बाटोको जाम छोडेर पेटीबाट साइकल गुडाउने साइकल यात्रीको टिङटिङ घण्टीले पनि मलाई केही असर पारेको थिएन् ।

कोहीसँग दौडमा प्रतिस्पर्धा गर्नु थिएन । केवल दौड थियो त मेरो आफ्नै जिन्दगीको । गन्नु थिएन अनगिन्ति ताराहरु । न त भेट्नु थियो हराएको चन्द्रमालाई । जाममा रोकिएका गाडी, टिँटीँ गर्दै हर्न बजाएको धुन । जाने हो भन्दै सोध्ने माइक्रो बसका कन्डाक्टरहरु । केही कुराको मतलब थिएन । केही बेर अगाडिको उसको म्यासेजको बारेमा केवल सोचिराथँे ।

थकानलाई एकातिर सँगालेर अर्काेतिर दही जमाउँदै थियो मस्तिष्कले । सेतो होइन कालो दही, कलियुगमा रङ्ग फेरिएको । बाग्मती खोलाको माथि पुलबाट हिँड्दै गर्दा कसैले पछाडिबाट बोलाएको भान भइराथ्यो । तर सबै आफ्नो धुनमा हिँडिरहेका थिए । अन्य दिन मलाई हतार भएजस्तै हतार थियो सबैलाई आफ्नो गन्तव्यमा पुग्न । कतै म बाटो हिँड्दा चिहाएर बसेको छ कि उसले । मेरो हात समात्न आइपुग्छ कि ऊ । अनावश्यक विचारहरुको मैदान भइरहेको थियो मस्तिष्क । स्कुल पढ्दा छरपष्ट फ्याँकिएका किताबजस्तै फ्याँकिएका थिए सोचहरु, उठाएर झोलामा हालिदिने कोही थिएनन् । सुनसानमा केवल म एक्लै थिएँ ।

एक छिन् त बाटोमा रोकिएर खोजुँ जस्तो लागेको थियो उसलाई तर यो अन्धकारमा देखे पनि कसरी चिन्न सकुलाँ र म । चिने पनि बोल्ने आँट आउँला र ?

तर उसले त पहिलो म्यासेजमा नै ‘आइ वान अ डेट विद यू’ भनेर लेखेको थियो ।

डेट मिन ? सोधेकी थिएँ ।

रिप्लाई थियो डेटिङ । कतै उसको म्यासेज गलत ठाउँमा आइपुग्यो कि भनेर प्रश्न राखेकी थिएँ ।

फेसबुकमा साथी थिएन ऊ, केवल म्यासेज रिक्वेस्ट गरेको थियो । एकछिन् त अलमलिएँ, कतै चिनेको मान्छेले मसँग फल्ट गर्न खोजिरहेको छ कि ? मेरो क्यारेक्टर जज गरिरहेको छ कि । कोही पनि केटासँग मेरो नाम जोडेको मनपर्दैन । कसैले यो केटी मसँग रिलेसनमा छ भनेर गफ उडाएको म सुन्न सक्दिनँ । केही दिन हाई हेल्लोको च्याट गर्दैमा ऊ त्यस्तो सोच्छ भने त्यो मूर्ख नै हो । कतिपटक केटा साथीहरुकै मुखबाट सुनेकी छु, धेरै वर्ष फलो गर्दा पनि केटीले प्रपोज ऐसेप्ट नगरेपछि त्यो त मेरो गलफ्रेन्ड थिई नि यार । पछि मन नपरेर मैले नै बाल नदिएको । अझै यसो पनि भन्छन् त्यो केटीले मलाई मन पराउँथी, बिहे पनि गरौँ भन्दै थिई । कहाँ त्यस्तो लुती केटीलाई बिहे गर्छु म । कस्तो कस्तो ब्युटिफुल केटीहरु मेरो पिछा गरिरहेका छन् ।

केटाहरुलाई लाग्ला केटीहरु पनि यस्तै कुरा गर्छन् । तर जसले गरे पनि मलाई यस्ता अनावश्यक हल्ला मनपर्दैन् । रिलेसन् भनेको पाकेको भुइकटरजस्तै गुलियो हुनुपर्छ काचोजस्तो टर्रो होइन् । फुटेर जाने सिसाको गिलासजस्तो होइन, कुचिए पनि बनाउन मिल्ने स्टिल हुनुपर्छ ।
सुस्त गतिमै हिँडे पनि म आफ्नो कोठामा पुगेँ । वाइफाई अन नै थियो । टुङटुङ बज्न थाल्यो म्यासेनजर ।

हु आर यु ?

कौतुहलता पोखेँ । योर फ्युचर ब्वाइफ्रेन्ड ।

फ्युचरको हजबेन्ड खोज्ने बेलामा ब्वाइफ्रेन्ड लेख्न मन थियो तर लेखिन ।

हा हा । हास्न मन लाग्यो । दिल खोलेर हाँसिदिएँ फेसबुकको इमोसँग सापटी मागेर ।

डु यु नो मि ?

लेखिदिएँ, अलिअलि जानेको अङ्ग्रेजी फुराएर ।

अफकोर्स आई नो, यू आर सविता फर्म पोखरा, किड लभर, स्ट्रोङ, डाइनामिक, मोटिभेटेड गर्ल ।

त्यो त मेरो फेसबुकको वाल हेरेर जोकोहीले सजिलै वर्णन गर्न सक्ने कुरा हो । किताबको बाहिरी कभर हेरेर जज गरेजस्तै । यी कुनै पनि कुराहरु मेरो क्यारेक्टरसँग मेल खाँदैनन् ।

मेरो प्रोफइलको फोटो पठाएर लाफ मेक्स ओमन ब्युटिफुल लेख्दै थियो ऊ । उड यु कम होटल ग्रिनउइच भिलेज प्लिज । बाटोमा कसैले जिस्काएजस्तै फेसबुकको म्यासेजमा जिस्काउँदै थियो ऊ ।

सरी आई कान्ट ।

बाबा भोलेनाथ फ्युचर फोरकाष्ट यु कान्ट ? बट आई क्यान मिट यु ।

रिप्लाई दिन उचित थानिन् । प्रोफाइल खोलेर हेरेँ । कतै देखे या चिनेजस्तो लागेन । मोबाइल बन्द गरेर फेसबुक बन्द गर्नु नै उचित ठाने र लगाइदिएँ ताल्चा उसको म्यासेज आउने बाटोमा ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.