~निर्मोही व्यास~
अहा ! देश हाम्रो थियो स्वर्गतुल्य
कठै ! आज भो रौरवै नर्कतुल्य
हराए हिजोका सदाचार निष्ठा
यहाँ छैन बाँकी कसैको प्रतिष्ठा
०
मिलेरै बसेका सयाँै जात–जाति
बने आज यी आपसैमा नजाती
यहाँ मित्रको मित्र रेटेर घाँटी
छ निर्धक्क डुल्दो फुलाएर छाती
०
छ चौतर्पm हत्या, बलात्कार, लूट
छ सर्वत्र अन्याय, धोका र भूmट
कुनै ‘देश टुक्र्याउने’ दिन्छ धम्की
कुनै झन् नृ–संहार गर्दो छ चम्की
०
यतै भागबन्डा, उतै नीच धन्दा
छ रातोदिनै खालि विध्ंवस, द्वन्द्व
सधैँ टायरै बालिएको कुगन्ध
सधैँ को उही— ‘आज नेपाल बन्द’
०
छ मच्चाइएको हजारौँ वितण्डा
जलेको छ टोपी सँगै राष्ट्र–झन्डा
पुरस्कार मिल्दो छ, मिल्दैन दण्ड
त्यसैले यहाँ व्याप्त छन् चण्ड–मुण्ड
०
यहाँ पूजितै छन् भनी ‘रक्षकै’ जो
तिनै झन्् स्वयं नाग छन् ‘तक्षकै’ पो
भई खप्न गाह«ो हरे ! यो डसाइ
सबै छन् सदा सर्वदा ‘त्राहि त्राहि’
०
बलेको युगौँ देखिको शान्ति–दीप
निभ्यो झ्याप्प, केही नलागेर सीप
छिमेकी हरामी झनै बारबार
हियाएर गर्दो छ चर्को प्रहार
०
नदीमा यहाँ रक्तधारा बहन्छन्
र मान्छे यहाँ आँसुले प्यास मेट्छन्
छ निर्धाहरूको भएको बिहाल
कठै ! यैै छ नेपालको हालचाल
०
अहो ! रोम जल्दै छ ढाकेर व्योम
‘निरो’ बाँसुरीको उराल्दै छ धून
सदाकाल चल्दा यही नग्न नाच
पुगेको छ अस्तित्वमै आज आँच
०
रहेको युगौँदेखि हाम्रो अखण्ड
हुने हो कि नेपाल यो खण्ड खण्ड ?
कि स्वाधीनताकै हुने हो प्रयाण ?
हरे ! फाट्छ छाती र कोक्किन्छ प्राण
०
उठौँ जुर्मुराई सबै स्वाभिमानी
बुझी देशको दर्दिलोे यो कहानी
हिजोबाट मीठो लिई आज शिक्षा
जुटौँ गर्न स्वाधीनताको सुरक्षा
०००
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ४४—४५)