~कात्यायन~
– ऊ सान्ता-बारबराको सामुद्रिक पार्श्वमा सारा संसार भुलेर एंग्लो-मेक्सिकन सुन्दरीको कम्मरमा दुवै हातले बेर्दै माइकल ज्याक्सनको तालमा नृत्य गर्दै थियो | मोबाईलको चर्को रिंग-टोनले उसको एकाग्रतालाई भंग गर्छ | औपचारिक वार्तालाप पछि कोही उसको आफन्तले फेरि पनि उसलाई अप्रिय समाचार सुनाउँछन् |
– सुन्दरीलाई अर्को कुनै दिन भेट्ने वचन दिंदै ऊ आफ्नो वासस्थान जान्छ र ब्लू-लेबलको दुई-पेग घुट्काई सके पछि श्रीमतीलाई फोन गर्छ र सोध्छ – “के मैले सुनेका कुराहरू साँचा हुन् ?”
– “हो सहि हो | नत्र म अस्वस्थ हुन्थें हुँला !… सिन्दूर रोपेको महिना दिन ननाघ्दै सायद टाढा हुनु हुन्थेन होला !… ढुक्क भए हुन्छ तर तिम्रो नासोहरू मासेको छैन |” – ऊनको प्रति-उत्तरले ऊ आफूलाई अतिरिक्त अस्वस्थ ठान्छ र अरु थप दुई डब्बल-पेग बुत्त्याएर छटपटाउँदै निदाउँछ |
– समयभन्दा अघि नै, मिर्मिरेमा नै ऊ ब्यूंझन्छ र मनन् गर्छ – ‘ हो सायद म पनि अस्वस्थ रहन्थें हुँला !’…
– ‘गोरा’, ‘राता’, ‘काला’ वा ‘गुलाबी’ गुडियाहरू जन्मनुभन्दा पहिला नै गर्भपतनको पतनका मार्गहरू नअपनाएको भए सायद आफू पनि सात/आठ वर्षसम्ममा पतन हुने सत्यतालाई तीक्ततासाथ स्वीकार गर्छ !…
– परिवर्तन भनौं वा विकास ! विश्व-सभ्यता एकाकार भएको भनौं वा मनस्थितिले कोल्टे फेरेको !! विज्ञान भनौं वा स्वास्थ्य-विज्ञान !!!… ऊसलाई त्यति धेरै अप्ठ्यारा तर्कहरू गर्ने समय थिएन र आफ्नो नित्यकर्मतिर अग्रसर हुन्छ |
– फेरि अर्को महिनाको दोश्रो तारिखमा निरन्तर झैं मनि-ट्रान्सफर जान्छ र उनलाई अतिरिक्त नासो पठाउँछ |
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)