~रामप्रकाश पुरी~
१. शहीदको शान
“शहीद” भनेको देश र लोकको हितका लागि आफ्नो प्राणको आहुति गर्ने मानिस हो । यो मानिसको शक्ति, तागत र विवेक सामान्य मानिसको धरातलबाट उठेर भिन्न ढङ्गको उचाइमा कायम भएको हुन्छ । सामान्य मानिसले नै सङ्घर्षको माध्यमबाट शहीदको उचाइ जस्तो दुर्लभ र कठिन ओजस्विता प्राप्त गर्दछ । तर यो शक्ति र तागतमा त्यागको भावना, वलिदानको साहसित यात्रा, निस्वार्थ उद्देश्यहरू र उच्च विवेकको समिश्रण तत्ववगुणको बढीभन्दा बढी प्रभाव रहेको हुन्छ र राजनीतिमा सङ्घर्ष गरेका मान्छेहरू राष्ट्रका गरिमामय पदमा पुगेको भएता पनि लोकहितका लागि जीवनदान गरेको शहीदको जस्तो अमरत्व उनीहरूलाई प्राप्त हुँदैन । शहीद सदासर्वदा स्मरणीय, मार्गदर्शक, सचेतक, सन्देशवाहक र पूज्यनीय हुन्छ । तर यी विभुषणहरू शिष्ट–विशिष्टहरूलाई प्राप्त हुँदैनन् । शहीद रगतको महत्ताले सम्पूर्ण लोक जीवनलाई संवेदनशील बनाउँछ । शहीद गरिमा कठिन मृत्युको सहजप्राप्ति हो र अमरत्व हासिल गरेको पृथ्वीशक्ति पनि हो । अर्थात्, पृथ्वीको अस्तित्वसँग यसको अनन्य सम्बन्ध रहेको हुन्छ । त्यसैले सङ्घर्षको मञ्चमा त्यस्ता विरल पात्रहरू अगाडि आउँछन्, जो सपनाहरू छोडेर अस्ताउँछन् । उदाएकाहरूले उनीहरूको सपनाहरूद्वारा नियनिन्त्रत हुनुपर्ने हुन्छ । कुनै मुलुकको उच्च सर्वोच्च पदमा पुगेका व्यक्तिहरूले पनि उनीहरूको (शहीदहरूको) विरोचित कार्यका अगाडि नतमस्तक र विनम्रतापूर्वक झुक्नुपर्छ । शहीद वर्तमानको विसङ्गतिबाट रूपान्तरित नयाँ समाजको समृद्धशाली र न्यायपूर्ण सपनाहरूको वास्तविक प्रतिरूप हो । हरेक सङ्घर्षमा वलिदान हुनैपर्छ भन्ने हुँदैन, वलिदान दिइएका सङ्घर्षहरू सही नै हुन्छन् भनेर पनि निष्कर्ष निकाल्नु हुँदैन । तर वलिदानी बाटो चानचुन बाटो होइन । विचार शक्ति अत्यन्त ठूलो प्रेरक बन्छ र उद्देश्यका लागि वलिदानीको बाटो अपनाउँछ । जनताको ठूलो हिस्साले वलिदानीको बाटो अपनाएर युगान्तकारी परिवर्तन गर्छन् । वलिदानीको बाटो अपनाएको जनताको विशाल हिस्साले शहीद नायकहरू निर्माण गर्दछन् । शहीद नायकहरू नयाँ सपनाका संवाहक र विचारधाराका प्रेरक हुन् । तिनीहरूको जनताद्वारा सदैव मङ्गल गाइन्छ, जयजयकार गरिन्छ र तिनीहरूका सपनाहरूलाई पछ्याउने काम गरिन्छ ।
नाटककार जीवन शर्माले “पूजा” नाटकमा शहीदको शानलाई सर्वोपरि उच्च, सदैव मार्गदर्शक र स्मृतिपूर्ण बनाएका छन् । शहीदको रगत पानी होइन, मूल्य नै नगरी सुकोस् । तर दूध पनि होइन, मूल्यवान भएर उपभोग गरियोस् । शहीदको रगत एउटा आस्था हो । विश्वास हो । आशा हो र सिद्धान्त एवं विचारको मार्ग हो । क्रय–विक्रयको साधन वा सन्धि–सम्झौताको कुनै दस्तावेज पनि होइन । त्यसैले पूज्यनीय, मननीय, प्रथनीय, आदरणीय, आदर्शमय र विराट मङ्गलमय आस्थाको केन्द्रमा शहीद रहन्छ । शहीद देश र लोकको हितमा समर्पित महान् साधना भएकाले यो विचारयुक्त, लक्ष्ययुक्त र भरोसायुक्त हुन्छ ।
“पूजा” नाटकको शहीद डबलसिंहले महान् गाथा बोकेको पाइन्छ । शहीद उद्देश्य होइन, तर उद्देश्यमा कार्यरत योद्धाले प्राप्त गर्न सक्ने एक अमर विरासत हो । यस विरासतलाई कब्जा गर्ने शक्ति वलवान विचारको प्रणेतासँग मात्र सम्भव हुन्छ । डबलसिंह त्यही प्रणेता हो । ऊ सामाजिक व्यवस्थाभित्र रहेको विसङ्गति, विकृति, अन्याय–अत्याचार, भेदभाव र निराशावादका विरुद्ध सङ्घर्ष गर्ने योद्धाको रूपमा नाटकको मञ्चमा देखा परेको छ । यस प्रकारको योद्धा सङ्घर्षको कालक्रममा शहीदको स्थानमा आसन ग्रहण गर्न पुग्दछ । शहीद गाथा कसरी निर्माण भयो भन्ने कुरालाई नाटकले क्रमबद्ध साँचोमा ढालेको छ । ती क्रमवद्धताहरूबारे केही छलफल गरौँ ।
२. शहीदको सपना
कुनै पनि सपनाहरू जीवनको अस्तित्वमा नै जागृत हुन्छन् । जीवित रहँदा वा शहीद हुनुभन्दा अगाडि आफ्नो व्यक्तिगत स्वार्थभन्दामाथि उठेर समाज, देश र सम्पूर्ण मानव जातिको हितार्थ आफ्नो बढीभन्दा बढी समय लगानी गर्ने उच्च त्याग र विचारले भरिपूर्ण हुने मानिस समाजसेवामा तल्लीन हुन्छ । क्रान्तिकारी योद्धाको रूपमा क्रियाशील हुन्छ । सांस्कृतिक योद्धाको रूपमा चलायमान हुन्छ अर्थात् महान् उद्देश्यहरूप्रति उसको जिम्मेवारीवोध अत्यन्त उच्च सपनाले निर्देशित भएको हुन्छ । भारतको स्वतन्तता आन्दोलनका शहीद भगतसिंह, नेपालका राणा शासनका विरुद्ध सङ्घर्षका शुक्रराज, दशरथ, धर्मभक्त र गङ्गालाल लगायत सयौँ शहीदहरू लगायत विभिन्न मुलुकका शहीद विराङ्गानाहरूका सपनाहरूमा मुक्ति, स्वतन्त्रता, समानता, सत्य र न्यायको चित्र कुँदिएको पाइन्छ । ठीक त्यही प्रकारले “पूजा” नाटकमा प्रस्तुत गरिएको शहीद डबलसिंहका सपनाहरू कुँदिएका छन् ।
शहीद हुनु पूर्व डबलसिंह गाउँको सचेत र होनहार युवक थियो । उसको चेतनामा शोषमुक्त समाज र न्यायपूर्ण भविष्यको चित्र प्रतिविम्बित भएको थियो । उसका सपनाहरूले वर्तमानको कहालिलाग्दो विसङ्गतिका विरुद्ध युद्ध गर्नका लागि निस्कृय र अचल रूपमा रहेको चेतन पक्षलाई सक्रिय र चलायमान बनाउनका लागि जागरुकको भूमिका खेलेका छन् । सपनाहरूलाई यथार्थमा बदल्नका लागि उसको सम्पूर्ण इन्द्रिय मिमांसामा नै हलचल भएको छ । ज्ञान, तत्व, बुद्धि आदि मिमांसाहरूमा जागरणको छाल आउँछ, जुन छालले समाजका अरू व्यक्तिहरूलाई पनि आफ्नो परिवेशभित्र लैजान्छ । त्यसैले सङ्गठन र सङ्घर्षका लागि नयाँ वहशहरू हुन्छन् ।
गाउँको सामन्त, फटाहाले शोषण गरेको बोध हुनु, शोषित जीवनको अवस्था नाजुक भएको महशुस गर्नु, अन्याय भएको ज्ञान हुनु र अन्यायका विरुद्ध सङ्घर्ष गर्नुपर्छ भन्ने जागरण पैदा हुनु, त्यही जागरणले निम्त्याएको आवश्यकता, जस्तै कि सङ्गठन, सङ्घर्ष र विचारका निम्ति पहलकदमी लिनु । अन्तिममा वर्गसङ्घर्षमा भाग लिनु, युद्ध लड्नु र विजयी हुनु । विजयपश्चात् निर्माण गरिने समाजको न्याय, व्यवस्था, कानून, हक, समानता, संस्कार आदि सम्भावनाहरू विकसित भएर आउनु—यी सबै विषयहरू सङ्घर्षको भूमिबाट प्राप्त हुने उपलब्धीहरू हुन्, जसलाई मुक्तिकामी मानव जातिले आत्मसात गरेको हुन्छ । आफूभित्र आएको जागरणलाई उसले जीवन र जगतलाई बुझ्नमा उपयोग गर्दछ र संसार बदल्ने अभियानमा आफूलाई समर्पित गर्दछ । त्यही क्रममा उसको ज्ञानको आयतन पनि विस्तार हुन्छ । शेरसिंहको निराशालाई बदल्नका लागि गरेको प्रयासलाई डबलसिंहको ज्ञानको आयतनमा भएको विस्तार हो ।
“फटाहालाई मास्नैपर्छ” भन्ने हाँक, “मौका हेरीहेरी” भन्ने वस्तुस्थितिको विश्लेषण, “उठौँ लौ किसान” भन्ने आह्वान अर्थात् उत्साह, विचार र सङ्गठनको पक्षलाई शहीदको सपनाले एकैसाथ बोकेको छ ।पछि डबलसिंहको यो उन्नत सपनाको विजयी गीतमा समूहले नै हिस्सा लिन पुग्छ । यसरी विचारशक्तिको रूपमा सपनालाई क्रमशः सङ्गठन र सङ्घर्षमा बदल्ने काम सम्पन्न हुन्छ । “सधैभरि अन्यायमा बाँच्न केको कर” भन्ने उन्मुक्तिको चेत तरङ्ग शोषितहरूका बीचमा प्रसार भएपपिछ “पहाड पल्टाऔँ” भन्ने आह्वान शक्ति र सङ्गठनमा निर्माण हुन थाल्दछ । आँट गरेपछि असम्भव केही छैन । पहाड बनेर बसेको शोषण प्रवृत्तिलाई उठाएर फाल्न सकिन्छ ।
शहीदको अन्तरमस्तिस्कमा क्रान्तिको सपना जाज्वल्यमान भएको हुन्छ । ‘कठिन छ बाटो हाम्रो’ तर पनि ‘शिर नझुकाएर’ अगाडि बढ्नुपर्छ । यो आँटिलो यात्राको संवाहक बनेको छ डबलसिंह । जनता ब्युँझाउने, जनता उठाउने, जनता जुटाउने र साहस उठाउने आदि महान् लक्ष्य प्राप्ति गर्नका लागि कठिन बाटोको यात्रा रोज्नु अनिवार्य हुने गरेको छ । शहीद हुनुपरे पनि फरक नपर्ने उच्च मनोवलले डबलसिंहलाई सङ्घर्षको नेता बनाएको छ । शहीदको तातो रगतले रङ्गिन भविष्यको निर्माण हुन्छ भन्ने डबलसिंहको उच्च मनोवलबाट जागृत मुक्तिको सपनाले विद्रोहको ज्वारभाटामा प्रवेश गर्नका लागि श्रमिक वर्गलाई रातो तुल बिछाउँछ ।
शहीद हुनुपूर्वको डबलसिंह एक होनहार योद्धा, जनआन्दोलनको नेता र उत्साही मानव थियो । उसको सपनामा देश र जनताको मुक्ति, समृद्धशाली भविष्य र न्याय एवं समानताको युग सयपत्री फूल झैँ फुलेको थियो । यिनै सपनाहरूलाई साकार पार्नका लागि उसले सम्झौताहीन सङ्घर्षको बाटो रोजेको थियो । उज्ज्वल भविष्य र सुन्दर समाजका उद्देश्यहरू उसका सपनाहरू थिए, जसलाई प्राप्ति गर्ने क्रममा उसले शहादत प्राप्त गर्यो । उसका सपनाहरू महान् महान् थिए, जो सङ्घर्षको दौरानमा अपुरो अवस्थमाा छाडिए । मृत्युवरणको कारणले डबलसिंह स्वयंले ती सपनाहरूलाई वास्तविकताको जगमा खडा गर्नु सम्भव भएन । यद्यपि जिउँदाहरूलाई मार्गदर्शन गरिदियो । शहीदको सपना माटोमा जीवन्त भएको हुन्छ । स्वतन्त्रतामा मौलाएको हुन्छ । न्यायपूर्ण समाजमा फक्रिएको हुन्छ । मानव जातिको एउटा साझा विश्वमा विचरण गरेको हुन्छ । शहीद डबलसिंहका सपनाहरूबाट अरू मानिसहरू जागृत भएर सङ्घर्ष गरिरहेका छन् ।
३. सङ्घर्षका परिवेशहरू
शहीद इच्छा र रुचिबाट उत्पन्न हुने उच्च आसन होइन । आवश्यकता र मुक्तिको विजारोपण हुँदा रङ्गिन इतिहास, सङ्घर्षपूर्ण वर्तमान र समृद्ध भविष्यको अभिलाषाबाट उत्पन्न भु्रण हो । नयाँ बिरुवाको अङ्कुर हो । नयाँ शिशुले यस धर्तीमा पाइला राख्ने वेलामा मृत्यु र जीवनको सङ्घर्षका लागि आमालाई उत्प्रेरित गर्दछ अर्थात् प्रसव वेदनाको सामनाका लागि हरेक आमाहरू तयार हुनैपर्छ । कति आमाहरू मृत्युको वरण गर्दछन् भने कति आमाहरू जीवनको सङ्गीतमा नयाँ शिशुको जन्म दिन्छन् । घटना दुखद र सुखद दुवै हो । तर आमाहरूले सामना गर्ने वेदना भने एउटै हो । शहीदहरू नयाँ सपनाहरूका लागि आमा नै हुन् । सामाजिक, राजनीतिक र आर्थिक विसङ्गतिहरूबाट उत्पन्न भएका समस्याहरूले मानिसलाई सङ्घर्ष गरेर मुक्ति लिने बाटोतर्फ उन्मुख गराउँछन् । मानिस चेतनशील छ । त्यसैले उसले स्थितिलाई आफूले चाहेको अनुसार बदल्न सक्छ । समानता, न्याय र समृद्धि मानव जातिका साझा चाहनाका विषयहरू हुन् । यी विषयहरूका लागि जति वेला पनि सङ्गठन, सङ्घर्ष र युद्धहरू हुन सक्छन् । विरोध र विद्रोह, अनि सङ्गठन र सङ्घर्षपछि हुने परिणाम हो– मानव जातिको समृद्ध भविष्य र सम्पूर्ण संसार । तर यो भव्य भविष्य र रम्य विश्वको प्राप्ति कल्पना गरेजस्तो शान्तिपूर्ण छैन । समाजमा अन्याय गर्ने पक्ष, शोषकहरू, साम्राज्यवादी शक्तिहरू आदि शासकीय शक्तिका रूपमा रहेका छन् र तिनीहरू सशस्त्र र शक्तिशाली एवं साधन र श्रोतले सम्पन्न छन् । समाजको शोषक वर्गको अनिवार्य प्रवृत्ति शोषण गर्नु हुन्छ भने शोषित वर्गले मुक्ति पाउनका लागि अनिवार्य रूपमा शोषक वर्गका विरुद्ध सङ्घर्ष गर्नु पर्ने हुन्छ । यो सिलसिलाबाट मात्र शान्तिपूर्ण र समृद्धिले कायापलट भएको विश्वको रचना गर्न सकिन्छ । यो महान् उद्देश्यबाट प्रेरित सङ्घर्षका नायकहरूले जनतासँग सम्बन्ध गाँस्न पुग्दछन् र सङ्गठनको निर्माण हुन थाल्दछ । यसमा शहीद पात्रहरू पनि खडा हुन्छन् भने विशाल पहाडहरू पनि भत्किन्छन् । शक्ति र विरासत सधै कायम भैरहने चीजहरू होइनन् । ती कुराहरू मानव जातिलाई दुःख दिने, पीडा पुर्याउने वा कङ्गाल बनाइराख्ने साधन भए भने तिनीहरूको नष्ट गर्नु मानव जातिका लागि अनिवार्य हुन जान्छ । यिनै अनिवार्यताहरूले सङ्घर्षका परिवेशहरू पैदा हुन्छन् ।
प्रस्तुत “पूजा” नाटकमा डबलसिंहको शहादत जनसङ्घर्षको बीचमा भएको छ । डबलसिंह वैयक्तिक इच्छाहरू तथा स्वार्थहरूबाट मुक्त छ । नाटकको सुरुमा नै डबलसिंहलाई सचेत मानिसका रूपमा पेश गरिएकाले उसको विगतको सङ्घर्ष विराट छ भने कल्पना गर्न सम्भव छ । उही समाजका अन्य सदस्यहरूभन्दामाथि उठेको उसको दृष्टिकोण उच्च हुनुका पछाडि सङ्घर्षको इतिहास छ । विरोध र विद्रोहको चेतका कारण ऊ अन्य सदस्यहरूलाई सङ्गठित गर्ने अभियानमा छ भने अरूहरू सङ्गठित हुने चरणमा छन् । डबलसिंह कुनै अलौकिक शक्ति, भगवान र चमत्कार होइन । अरूभन्दा फरक ढङ्गले जन्मिने र फरक चमत्कार देखाउने भन्ने कुरा पनि हुँदैन । गाउँका गब्बरेजस्ता शोषकहरूको जाँतोमुनि पिल्सिएका मानिसहरूमध्ये ऊ पनि एउटा हो । सहन र सामनाको बीचबाट नै उसले सङ्घर्ष र विरोधको थालनी गर्यो । दुखाइमा ‘ऐया’ भनेरै छाड्यो । ऐया मात्र भनेन, कारण पनि खोज्न थाल्यो । कारण पनि फेला पार्यो र मुक्तिको उपाय पनि खोज्यो । यसरी सङ्घर्षका लागि परिवेश बनेको छ । मुक्तिका लागि सचेत भएको डबलसिंहका लागि दुई वटा पहाडहरू समस्या बनेर खडा भएका थिए ः एउटा गब्बरे प्रवृत्ति, जसले शोषक वर्गको प्रतिनिधित्व गथ्र्यो । अर्को, शेरसिंहहरूको प्रवृत्ति, जसले निराशावाहेक केही पनि देख्दैनथ्यो । निराशालाई आशामा बदलेर शोषक वर्गका विरुद्ध सङ्घर्ष गर्नु उसको प्रवृत्ति बन्यो यही प्रवृत्तिका कारण ऊ गतिशील बन्छ । परिवर्तनकामी बन्छ र क्रान्तिकारी बन्छ । गब्बरेको शोषण कार्य डबलसिंहका लागि नकारात्मक रूपले गतिशील बनेको छ । गाउँका शोषक र तिनीहरूको साथमा देशको सरकार । वहुसङ्ख्यक जनतालाई अभाव, तनाव, दमन, हत्या, लुट, वलात्कार, रोग, भोक, शोक र अस्तव्यस्त देश आदि उपहार । २०४६ सालपछिको बहुदलीय व्यवस्थाको काल पनि उत्तिकै निराशाजनक । अनि बन्यो, सङ्घर्षको परिवेश ।
शोषित र उपेक्षित वर्गले शोषक वर्गको शक्ति र सङ्गठनलाई पनि बुझ्नु पर्छ । जस्तो कि शोषक गब्बरेका साथमा सरकार, पुलिस र उसका गुण्डाहरू छन् । यसकै भरोसामा उसले (गब्बरेले) रवाफ र हैकम कायम गर्दछ । यदि यो वास्तविकतालाई नबुझ्ने हो भने शोषित वर्गले गब्बरेको गीता गाइरहनुपर्ने र दुःखको गोता खाइरहनुपर्ने हुन्छ । तर डबलसिंहले यस प्रकारको वास्तविकतालाई बुझेर सङ्घर्ष र सङ्गठनको जागरण ल्याउँछ । नयाँ समयमा निराशाहरू आशामा बदलिन्छन् र समाजका धेरै मान्छेहरू वर्गसङ्घर्ष र जनसङ्घर्षमा सामेल हुन्छन् । सरकार वा राज्यले आस्था र विचारका आधारमा दिने मृत्युदण्ड, देशप्रेमले युद्ध लडेका देशभक्तहरूको मृत्यु र जनताको हितार्थ स्वतन्त्रता र अधिकारको लडाइँमा जीवन अर्पण गर्ने उच्च मानवहरू शहीद हुन् । यिनीहरूको उत्पत्ति जीवनको उर्जाशील मुहानबाट हुन्छ । यिनीहरूको मूल्य अमूल्य हुन्छ । यसर्थ सङ्घर्ष परिवेशहरूबाट शहीदहरूको पङ्क्ति उठ्दछ । यो बनिबनाऊ मन्दिरको देवता होइन । रुढिवादको टीका र अक्षता पनि होइन । चुनाउ जितेको उम्मेदवारले घस्ने अबिर पनि होइन । गौरवपूर्ण इतिहास हो । सङ्घर्षको वर्तमान हो र उज्यालो भविष्य हो । “पूजा” नाटकको शहीद डबलसिंह जनसङ्घर्षको शहीद हो । ऊ सरकारी, राज्य वा अदालतको निर्णणद्वारा दण्डित भएर होइन, जनसङ्घर्षका महान् जनताको साथमा सङ्घर्ष गर्ने क्रममा दोहोरो झडप र भिडन्तमा शहीद भएको हो । ‘व्यक्तिगत स्वार्थबाट मुक्त’—यही महानताबाट ऊ उच्च शहीद हुन्छ ।
४. विचार, नेतृत्व र शक्ति
यदि राणाहरूको शासन निरन्तर चलिरहन्थ्यो भने मृत्युदण्ड दिइएका ती चार जना (शुक्र, धर्म, दशरथ र गङ्गालाल)लाई शहीद भन्नका लागि कति समय पर्खिनुपथ्र्यो ? यदि भारतमा ब्रिटिशहरूले शासन गरिरहन्थे भने भगतसिंहको शहादतको अस्तित्वले कहिले मूर्त रूप लिन्थ्यो भन्ने प्रश्न जन्माउन सकिन्छ । तर मुख्य कुरा, शहीद विचारमा नै बाँच्दछ । विचारबाट त्यसलाई कहिल्यै पनि हटाउन सकिँदैन । आम रूपमा विचारले जब सत्ताको स्वरूप लिन्छ, त्यसपछि शहीद पनि शासकहरूका लागि पूज्यनीय हुन सक्छ । तर फरक विचारको शासकले शासन गर्ने वेलामा शहीद फेरि उपेक्षामा पर्न सक्छ । शहीदहरू साझा हुन सक्दछन् तर वर्गसङ्घर्षले भरिएको समाजमा त्यो कुरा सापेक्षिक नै हुन्छ । विचारका आधारमा नै शहीदलाई आत्मसात गर्ने स्थितिको सृजना भएको छ । किनभने, आज–भोलि शहीद हुनाका लागि सडक दुर्घटना भए पनि पुग्ने स्थिति सृजना भएकाले यो गम्भीर समस्या उत्पन्न भएको हो । शहीदको परिभाषाबाट भिन्न मृत्युहरूलाई शहीदको दज्र्यानी चिन्ह दिनुपर्छ भनी बाँचेकाहरूले मृतक आफन्तप्रति देखाउने अवाञ्छनीय र अशोभनीय सहानुभूतिको हर्कतले यस्ता जटिलताहरू ल्याएका छन् । त्यति धेरै सहानुभूति नै राख्नुछ भने मन्दिर बनाएर पूजा गरे भयो नि १ किन विचार र सिद्धान्तलाई बिर्सने ? शहीद विचारबाट डोर्याइएको हुन्छ । उसको विचारले नेतृत्व दिइरहेको हुन्छ र शक्ति निर्माण गरिरहेको हुन्छ । राणाहरूले मृत्युदण्ड दिएकाहरूको विचारले राणा शासन फाल्नका लागि नेतृत्व दिइरह्यो भने जनताको शक्ति पनि निर्माण गर्यो । त्यसैगरी, भगतसिंहको विचार भारत स्वतन्त्रताको लडाइँको नेतृत्व र शक्तिहरूलाईमाथि उठाउँदा राणाहरूको शासन पनि रहेन र भारतमा ब्रिटिशहरू पनि बस्न पाएनन् ।
“पूजा” नाटकमा शहीद डबलसिंहको विचार, नेतृत्व र शक्ति अदम्य छ । सर्वशक्तिशाली क्रान्तिकारी विचार बोकेकाले ऊ युगहरूको आगमनसँगै झन् झन् महान् र उच्च स्थानमा पुग्छ । त्यही सही विचारले नेतृत्व गर्ने भएकाले सङ्घर्षका लागि महान् जनताको शक्ति पनि निर्माण भैरहन्छ । उच्च लक्ष्य र उद्देश्यका खातिर जीवन वलिदान गर्ने नायकहरूलाई जनताले कहिल्यै पनि बिर्सँदैनन् । युगहरूले जहिल्यै पनिमाथि उठाउँछन् । शहीदको सपना साकार पार्ने अभियानहरू चलिरहन्छन् । सङ्घर्ष भैरहन्छन् र पुनः शहादतको इतिहास निर्माण हुन्छ । डबलसिंहको शहादतपछि जनमुदायले आफ्नो प्रिय शहीदहरूप्रति व्यक्त गरेको सम्मानले त्यो कुरा प्रष्ट हुन्छ ः
“पिएर गोली शहीद हुने ती वीर साथीमा
श्रद्धाका फूल चढाइदिन्छौँ त्यो तिम्रो छातीमा”
यहाँ शहीद डबलसिंहको विचारले नेतृत्व दिइरहेको छ र भविष्यको सङ्घर्षलाई अगाडि बढाउने शक्तिको निर्माण गरिरहेको छ । तिनै जनसमुदायले ऊप्रति सम्मान र श्रद्धा दर्शाएको छ । यो सम्मान र श्रद्धाको विचार, बाटो र आस्थाप्रतिको दृढ समर्थन हो, जो पछिका दिनमा सङ्घर्षमा सामेल हुन्छन् । डबलसिंहको मृत्यु स्तन्धता र शोकको क्षण थियो । ऊ वहादुरीपूर्वक जमिनमा सुस्ताएको थियो । उसको जीवन कहिले जुलुशमा, कहिले प्रशिक्षणमा र कहिले एक्लै थियो । तर सबै कुरा मानव जातिप्रति समर्पित र स्वार्थबाट मुक्त थियो । उसलाई भोग लाग्दैनथ्यो । तिर्खा र प्यासले सताउँदैनथ्यो । उसका इच्छाहरू मृत थिए भने हामी कदापि भन्न सक्दैनौँ । उसका बाँच्ने रहरहरू थिएनन् भनेर कुनै पनि शास्त्रहरूले उल्लेख गर्न सक्दैनन् । उसले मरे पनि हुने भन्ने प्रश्न कतै पनि थिएन । तर यी सबैका वावजुद पनि ऊ शहीद भयो । विचारको प्रवलताबाट ऊ नियन्त्रित छ । नेतृत्वको वैभवताले भरिपूर्ण छ र शक्ति निर्माणको अभियानमा कटिवद्ध छ । शहीद डबलसिंहको विचार क्रान्तिकारी र गतिशील छ । उसको उद्देश्य र लक्ष्य निर्मल छ । उच्च छ र मानव जातिकै सम्पत्तिको रूपमा खडा भएको छ । शक्तिशाली विचार, त्यसको नेतृत्व र त्यसकै जगमा खडा हुने शक्ति नै सामाजिक प्रगतिशील वर्गको रूपमा परिचित हुने र त्यसैले नै भावी क्रान्तिको नेतृत्व गर्दै सामाजिक परिवर्तन गर्ने कुरा डबलसिंहको शहादतसितै प्रकाशमा आएको छ । जनसमुदायले अख्तियार गरेको सङ्घर्षको बाटो नै त्यो प्रकाशपुञ्ज हो ।
५. निष्कर्ष
नाटककार जीवन शर्माले शहीदलाई विचारप्रणेता, नेतृत्वकर्ता र शक्ति निर्माणको मुख्य श्रोतको रूपमा खडा गरेका छन् । उनले शहिदलाई उच्च स्थान दिएका छन् । नाटककार जीवन शर्माको शहीदप्रतिको उच्च बुझाइ स्पष्ट, सुन्दर र सम्मानजनक छ । शहीदप्रतिको बुझाइ, राजनीति, विचार र सिद्धान्तबाट अलग छैन र हुनु पनि हुँदैन । शहीदप्रति न्यायपूर्ण व्यवहार र उच्च मूल्याङ्कन हुन आवश्यक छ । आजका शासक–प्रशासकहरूले शहीदको शालिकमा चढाउने पाती र दूबोभन्दा शहीदको उद्देश्यको बाटोमा क्रियाशील हुने जनसमुदायको सङ्घर्षको सानो पाइला ठूलो र गौरवपूर्ण हुन्छ । शहीद चैते पातहरू होइनन्, तर वसन्तका पालुवाहरू हुन् । विचारबाट पलायन हुने स्वार्थीहरू हैनन् । तर भविष्य निर्माण गराउने संवाहक हुन् । सम्पूर्ण जनताको अन्तुहरूमा उनीहरूको वास हुन्छ । शासकहरूको पूजामा होइन, जनताको अग्रगामी पहलकदमीमा शहीदहरू जीवित हुन्छन् । सत्ता र स्वार्थका लागि मरिहत्ते गर्नेहरूबाट शहीदहरू मुक्त हुन्छन् । मुक्ति, स्वतन्त्रता, मानवियता र राष्ट्रियता शहीदहरूका वास बस्ने घरहरू हुन् । यसैले जनता सदैव शहीद सपनाहरूबाट जागृत भैरहन्छन् । “पूजा” नाटकमा शहीद डबलसिंहको शहादतपछि पनि निरन्तर सङ्घर्ष चलिरहेको दृष्यले सङ्घर्षको वास्तविक जीवनसँग मेल खान्छ । पूजा नाटकले शहीदको गाथासँग सङ्घर्षको गाथाको अन्तरसम्बन्ध रहेको छ । “पूजा” नाटकले शहीदको मूल्यलाई उत्तम र विशिष्ट ठहर गर्नु सम्मानजनक छ ।
२०७० चैत्र २४ गते
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३० – June 18, 2014 – २०७१ असार ४ गते, बुधबार )