कथा : महानगरभित्र

~मातृका पोखरेल~

बिहानको करिब दस बज्दै थियो ।

म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ । त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किंदै पछिल्तिर फर्किएँ ।

‘हजुर, नमस्कार !’ एउटा युवक मुसुक्क मुस्कुराइरहेको थियो ।
परिचित जस्तो अनुहार लागे पनि मैले राम्ररी ठम्याउन सकिन । तर उसको हाँसो र उसले मप्रति देखाएको मुक्त व्यवहारले उ मेरो नजिकको मान्छे हो भन्ने बुझ्न बेर लाग्दैनथ्यो ।

‘मलाई चिन्नु भएन कि क्या हो हजुरले ?’ मेरो हात झट्कार्दै भन्यो उसले । उसको सोधाई पछि म झनै अल्मलिरहेको थिएँ । छैन भनौं भने अत्यन्त परिचित जस्तो लागिरहेको थियो उसको अनुहार । चिनें भनौं भने मैले राम्ररी ठम्याउन सकेकै थिइन । ‘म उही क्या साइला दमाइको छोरो तिलक !’ म अक्मकाउदै गर्दा आफ्नो परिचय उसले हत्तपत्त दियो ।

मैले उसको सबै पहिरन हेरेँ । भैरे दमाइको छोरो । यो कसरी हुन सक्छ । ऊ मेरो गाउँको अत्यन्त गरिबको छोरो । घाँटीमा सुनको सिक्री थियो । हातमा अत्यन्तै महङ्गो लाग्ने घडी । उसले लगाएका जुत्ता र कपडाहरू सबै महङ्गाजस्ता लाग्थे । ‘हजुर, जाउँ, मेरो गाडी उ त्यहिँ छ । एउटा रेष्टुरेन्टमा गएर चिया कफी खाउँ । मैले हजुरलाई धेरै समयदेखि खोजिरहेको थिएँ । मैले हजुरको फोन नम्बर पनि प्राप्त गर्न सकिन । आज भेट भयो । मेरो त भाग्य नै रहेछ नि !’ उसले एकैपटक धेरै कुरा भनि सिध्यायो ।

म भने अन्योल र असमन्जस अवस्थामा गुज्रिएको थिएँ । पोहोरको दशैंमा घर जाँदा तिलकको बुवा साइला दमाइले आफ्नो छोरालाई भेटेर घर जान भनिदिनु पर्यो भनि आग्रह गरेको कुरा मेरो मानसपटलमा चलचित्रको दृश्य झैं घुमिरहेको थियो । ‘मलाई त केही थिएन हजुर, ऊ काठमांडूमै छ भनेर देख्नेहरूले भनेकै थिए । उसको चिन्ताले तिलककि आमाको हाड र छालामात्र बाँकी छ । उ गएको यतिका वर्ष भैसक्यो । हजुरले खोजी गरेर पठाईदिए ठुलो गुन सम्झने थियौँ ।’ यति भनिसकेर साइला दमाईले एक थोपा आँसु भुइँमा खसाएको थियो ।

तिलकले भनेको नमानुभने फेरि उसलाई भेट्न नपाइने डर । उसले भनेको मानुँ भने त्रिचन्द्र कलेजमा कक्षा छुट्ने डर । म यही द्विविधामा एकछिन रुमल्लिएँ । ‘के सोचिरहनु भएको जाउँ न हिड्नुस !’ उसले मेरो हात समातेर झक्झक्यायो । मैले पनि त्रिचन्द्रमा आजको कक्षा छाडिदिने विचार गरेँ र उसको पछिल्तिर लागेँ । ऊ मेरो अघिअघि लाग्यो र केही पर बाटोको किनारमा पार्किङ्ग गरिराखेको कारको ढोका खोल्यो । उसले मलाई पछिल्लो सिटमा बस्न हातले इसारा गर्यो ।

कार अत्यन्तै अत्याधुनिक र नयाँ मोडेलको थियो । उसले कारलाई नारायणहिटी दरबार अगाडिबाट पूर्वतर्फ नागपोखरीतिर मोड्यो । मेरो मनभित्र उसका बारेमा विभिन्न तर्कनाहरू खेलिरहेका थिए । ‘उ कसैको निजी ड्राईभर भयो होला या कुनै मोटर वर्कसपमा काम गर्छ होला । म उसले चलाइरहेको कारको पछिल्तिर बसेर यस्तैयस्तै सोच्दै थिएँ । ‘तिमी कहाँ बस्छौ ?’ मैले कुराको पोयो खोल्ने विचार गरेँ ।

पहिलेपहिले उसलाई तँ भनेरै सम्बोधन गर्थें । गाउँको दलित केटो त्यसमाथि मेरो कान्छो भाइको उमेरको मान्छे । तर उसको रवाफ देखेर आज तँ भन्ने आँट गर्नै सकिन । तिमी भनेर सम्बोधन गरेँ । ‘मेरो बारेमा एकछिन पछि हजुरले सब थाहा पाइहाल्नुहुन्छ नि !’ उसले नागपोखरीबाट बालुवाटारतिर गाडी मोड्दै भन्यो । बालुवाटार नपुग्दै मलाई उसले एउटा रेष्टुरेन्टभित्र लिएर गयो । रेष्टुरेन्टभित्र पस्ने बित्तिकै उसले दुई जनामात्र बस्न मिल्ने एउटा सेक्रेट कोठाको माग गर्यो ।

‘किन चाहियो र सेक्रेट कोठा, आखिर कोही मानिसहरू त छैनन् ।’ मध्यान्न हुन लागेको बेला खाली रेष्टुरेन्ट देखेर मैले उसलाई भनेको थिएँ । मैले भन्दानभन्दै रेष्टुरेन्टको स्टाफले एउटा सेक्रेट कोठा देखाइदियो ।

‘यो आफ्नै भाइहरूले चलाएको रेष्टुरेन्ट हो क्या दाइ !’ उसले स्पष्टिकरण दियो । ‘के इच्छा छ हजुरलाई ? मम, पिज्जा, सेकुवा ।’ उसले मेनु पल्टाउँदै भन्यो । ‘होइन, म त भरखरै खाना खाएर आएको । मलाई त केही पनि खाने इच्छा छैन । तिमीले आफूलाई मात्र मगाउ ।’ मैले आफ्नो स्थिति बताइदिएँ ।

‘होइन, चिसो, तातो केही त लिनै पर्छ ।’ मलाई उसले कर गर्न थाल्यो । ‘हुन्छ, म चाहिँ एक कप कफी खान्छु । अरु तिमीलाई के इच्छा छ लेउ ।’ मैले उपाय खोजेँ । ‘मेरो त खाना खाने बेलै भएको छैन । खाना खाँदा दिउसोको बाह्र–एक बज्छ । बिहानै हेभी ब्रेकफास्ट लिन्छु र जीममा जान्छु ।’ मेनुबाट आँखा नउठाइकन उसले भन्यो ।

पाँच वर्ष पहिले उसलाई मैले पहाडमैँ भेटेको थिएँ । मेरी आमा त्यसवेला बिरामी भैरहनुहुन्थ्यो । त्यसकारण म आफ्नो घर पहाड गइरहन्थें । त्यसैले ऊसँग मेरो निरन्तर भेट भइरहन्थ्यो । ‘तर पाँच वर्ष पहिलेको तिलक र अहिलेको तिलकमा आखिर यत्तिका फरक कसरी भइरहेको छ ? ‘म आफैं यो प्रश्नमा रुमल्लिरहेको थिएँ ।

यसैबीचमा उसको गोजीमा मोवाइलको घन्टी बज्यो ।

‘सानुमैयाँ ! म आइपुग्न अरु एक घण्टा लाग्छ है !’ यति भन्दै उसले मोवाइल स्वीचअफ गर्यो र टेबलमा राख्यो । टेबुलमा राखेको उसको मोवाइलमा आँखापर्ने बित्तिकै पाँच वर्षअघिको अर्को सम्झनाले मलाई तान्यो । त्यसवेला टचस्क्रिन मोवाइलको सुरुवात् भएकै थिएन । मैले भरखरै नोकियाको नयाँ सेट लिएर गाउँ गएको थिएँ । त्यसवेला मसँग भएको मोवाइल देखेर ऊ अचम्मित भएको थियो ।

अझ त्यसबाट टाढाटाढाका मानिसहरूसँग त्यसबाट कुरा गर्न सकिन्छ भन्ने थाहा पाएपछि उसको कौतुहलता देखेर मलाई निकै रमाइलो लागेको थियो । यतिवेला टेबुलमा राखेको उसको अत्याधुनिक सेट देखेर म भित्रभित्रै लोभिइरहेको थिएँ । सम्पूर्ण क्रियाकलापहरूले उसको समग्र जीवनशैली अत्यन्तै उच्चस्तरको रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

तिलक मसँग केही कुरा गर्न चाहिरहेको छ भन्ने आभास उसका केही भागभङ्गिमाहरूले मलाई दिइरहेका थिए । ‘काठमाडौमा तिमी के गरेर बसिरहेका छौ ?’ उसको समस्यालाई बुझेर मैले नै कुरो सुरु गर्ने विचार गरेँ । ‘यस्तै त हो नि दाजु ! सडकतिर घुमेर दिन बिताएको छु ।’ हल्का हाँसो हाँसेर हल्कै जवाफ दियो उसले । ‘सडकमा घुमेर खान पाउनु पनि ठूलै भाग्री हो नि !’ मैले पनि हल्कै कुरा गरेँ ।

‘पुगेकै छ दाजु !’

‘भनेपछि ठूलै प्रगति गरेछौ जस्तो छ ।’

‘सामान्य छ ।’

‘के गर्छौ त ?’

यिनै सम्वादका बीच मेरो पछिल्लो प्रश्नपछि ऊ अलिक हड्बडायो । मतिर हेर्दै ऊ अलिअलि मुस्कुराउने प्रयत्न गर्थ्यो । त्यसपछि ऊ लामो समय मौन देखियो । मेरो प्रश्नपछि उसको अनुहारमा एउटा त्रासको लहर दौडियो । हाम्रो अघिल्तिरको टेबुलमा कफीका दुईवटा कपहरू आइपुगे । ऊभित्र केही कुराहरू गुम्सिएर रहेका छन् र ती कुराहरू खोल्न उसलाई सकस परिरहेको छ भन्ने मैले अन्दाज गरिरहेको थिएँ ।

उसको मौनताको कारण खोजिरहेकोे थिएँ म । उसको स्वभाव मौन बस्न रुचाउने खालको थिएन । यो कुरा म राम्रोसँग जान्दथें । सानैदेखि चञ्चले स्वभावको थियो ऊ । ‘ए ! घरमा तिम्रो बुवा निकै बिरामी हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । अहिले कस्तो छ ?’ म ऊबाट छलफलको गति बढाउन चाहन्थेँ । ‘अहिले त ठिकै छ अरे !’ ऊ फेरि छोटो उत्तर दिएर अडियो ।

‘दाइलाइ आज म मेरो घर देखाउन लान्छु । तर त्यसका लागि दाइसंग मैले केही कुरा गर्नु छ ।’ यति कुरा गर्दागर्दै उसको अनुहार लजावती झारझैं ओइलायो । ‘ए ! तिमीले काठमाण्डुमा घर बनाइसक्यौ ?’ मलाई पनि अचम्म लाग्यो । काठमांडुमा आएर मैले कलेज पढाउन थालेको पनि दुई दशक भैसकेको थियो । बल्लबल्ल भक्तपुरको दुवाकोटमा तीन आना जग्गा जोड्नमात्र सकेको थिएँ । मेरो लागि घर बनाउनु त धेरै टाढाको कुरा भयो । उसले घर बनाएको कुरा गर्दा म साँच्चै अचम्मित भएँ ।

‘कहाँ बनायौ घर ?’ उसको कुरा सुनेपछि मेरो उत्सुकता पनि बढ्दै गयो । ‘लाजिम्पाटमा’ उसले फेरि छोटकरीमै कुरो टुङ्ग्यायो ।
‘लाजिम्पाटजस्तो भिआइपी ठाउँमा तिलकको घर ?’ मलाई भित्रैदेखि उसको घर हेर्ने कौतुहलता जागेर आयो ।

‘मैले मेरो घरमा मेरो पारिवारिक अवस्थाका बारेमा धेरै कुरा ढाँटेको छु । मैले मेरो ससुरालीतिर सबैलाई म ठकुरी जातको मानिस हुँ भनेर परिचय गराएको छु । मेरी श्रीमतीदेखि सबैजना मेरो कुरामा ढुक्क छन् । हजुरले यो कुरालाई मिलाएर कुरा गरिदिनु पर्ला है ! म हजुरलाई मेरो ठुलोबुवाको छोरो दाजु भनेर परिचय गराउँछु ।’ सकसका साथ उसले आफ्ना कुरा राम्रोसँग भनिनसक्दै टाउको झुकायो ।

‘कसकी छोरी विवाह गरयौ ?’ म उसको बारेमा थप कुरा जान्न हतारिएको थिएँ ।

‘राणाकी !’

‘कति वर्ष भयो विवाह भएको ?’

‘चार वर्ष !’

‘बच्चाहरू कति भए ?’
‘दुईवटा । छोरा र छोरी ।’

संक्षेपमा यिनै सम्वादहरू भए उसका र मेराबीचमा । ‘हजुर, जाउ न त !’ ऊ उठ्यो । उसँग जाउ भने झुठो बोल्नुपर्ने, जान्न भन्नलाई पनि ऊ निकै कर गर्ने मूडमा देखिन्थ्यो । म एकछिन रनभुल्लमा परेँ ।

०००

दरबारमार्गको बाटो लाजिम्पाटतिर मोडिएपछि उसले आफ्नो मोटरलाई छेउतिर लगायो । देख्दैमा अत्याधुनिक लाग्ने बंगलाको अघिल्तिर उसले मोटर रोक्यो र लामो हर्न बजायो ।

एउटा अधबैंसे देखिने मानिसले आएर ढोका खोलेपछि हामी त्यो बंगलाभित्र प्रवेश गर्याै ।
बगैचामा थरीथरीका फूलहरू फूलिरहेका थिए । पारिजात, धुपी, सल्लाका बोटहरूले सहरभित्रको वातावरण पनि प्रकृतिमय थियो । काठमाडौमा त्यो स्तरको अत्याधुनिक बङ्गलामा प्रवेश गरेको मेरो पहिलोपटक थियो ।

‘आज किन हजुरले आउन ढिलो गरिस्यो त ?’ भित्र कुनै कोठाबाट एउटा नारीस्वर सुनियो । ‘ठुलदाजुसँग भेट भयो । आज त्यसैले ढिला भयो । ‘बैठक कोठाबाट उसले चर्को स्वरमा भन्यो । ‘भेट भयोभयो मात्रै त भन्ने हो नि ! हजुरका मान्छेहरूलाई हामीले कहिले चिनेको होइन क्यारे !’ भित्रबाट उही नारीस्वरको एउटा निरस प्रत्युत्तर आयो । ‘आज हाम्रो घरमा दाजु मसँगै आइसेको छ ।’ तिलकले निकै उत्साहका साथ भन्यो ।

‘ए ! हो र ! ‘भित्रबाट नारीस्वरको प्रतिक्रिया आयो । र सँगसँगै छिटो गतिमा हामी बसेको ठाउँतिर आइरहेको पाइलाको आवाज आयो । त्यो आवाज हामी नजिकनजिक आइरहेको थियो । मैले अन्दाज गरिसकेको थिएँ । त्यो पाइलाको आवाज त्यही नारीस्वरकै हो । मलाई कताकता शरीरमा चिटचिट पसिना आएको महसुस भयो । अब एकछिन पछि मैले पुरै अभिनय गर्नुपर्ने छ र पुरै झुठैझुठ बोल्नु पर्नेछ ।
‘यो कसरी हुनसक्छ ?’ मलाई मेरो शरीर पुरै ओइलाएको महसुस भयो । ‘म विद्यार्थीहरूलाई पुरै नैतिकवान् बन्न प्रेरित गर्ने गुरु ! तर यो कसरी ?’ यस्तो सोच्दासोच्दै म आफूभित्रभित्रै भूकम्पका झटकाहरूको जस्तो तरंग महसुस गरिरहेको थिएँ ।

‘दर्शन दादा !’ म अघिल्तिर एउटी महिला ठिङ्ग उभिएकी थिइन् । मैले पनि अभिवादन फर्काएँ । ‘यति नजिकै भएर पनि हजुरसँग भेट्ने साइत आजमात्रै जुर्यो । आजको दिन मेरो जीवनमा कस्तो खुसीको दिन भएर आयो ।’ मसँग भेट्न पाएकोमा उनी यति फुरुङ्ग थिइन् कि उनको अनुहारमा यो खुसी राम्ररी पढ्न सकिन्थ्यो ।

अघिल्तिरको सोफामा तिलक बसिरहेको थियो । म घरीघरी तिलकतिर हेर्थे, तर ऊ मोवाइलमा व्यस्त देखिन्थ्यो । अर्थात, व्यस्त भएजस्तो अभिनय गरिरहेको थियो । एकप्रकारले तिलकसँग मलाई भित्रभित्रै रिस पनि उठिरहेको थियो ।

‘मलाई हाम्रो पहाडको गाउँमा जान मन लागेको छ, तर उहाँले केके केके निहुँ निकाल्दै टारिसिन्छ ।’ ऊ मेरो अघिल्तिर उभिएर यस्तैयस्तै मनमा लागेका सबै गुनासाहरू बकिरहेकी थिइ । मलाई उसको कुरामा ध्यान पुर्याउनुभन्दा पनि अब यहाँबाट कसरी चाँडै निस्कने भन्ने कुराको चिन्ता भैरहेको थियो ।

ऊ यस्तैयस्तै भन्दै थिइ छेउमा उभिएर । एउटी बालिकाले जुसको ग्लास अघिल्तिर ल्याएर राखिदिइ । त्यो बालिकाको रुपरङ हेर्दा काम गर्न राखिएकी जस्तो लाग्यो ।

‘आज हामी सबै दादाको घर हेर्न जाने !’ उसले तिलकतिर फर्किएर भनी । तिलक मोवाइलमा व्यस्त भएझैं अभिनय गरिरहेको थियो । घरीघरी मलाई सत्य कुरा गरिदिउँ जस्तो पनि लाग्थ्यो ।

‘आज दाजुलाई एकदमै हतार छ अरे ! अर्को कुनै दिन जाउँला ।’ मैले बोल्नुभन्दा पहिले तिलकले हतारिएर उत्तर दियो । मलाई लाग्छ, ऊ यस्ता उत्तर दिन खप्पिस भैसकेको थियो ।

म कुनै उपायले यहाँबाट चाँडै बाहिरिन चाहन्थेँ । तिलकको प्रत्युत्तरमा टेकेर त्यहाँबाट तुरुन्तै बाहिरिन उपयुक्त ठानें । ‘आज मलाई अत्यन्तै जरुरी काम छ । अर्कोदिन भेटौँला है !’ यसो भन्दाभन्दै म सोफाबाट उठिसकेको थिएँ । म हतारहतार गर्दै ढोकामै पुगिसकेको मात्र के थिएँ, ऊ दौडिदै आइ र मेरो घरको ठेगाना मागी । म फेरि के भन्ने के गर्ने भन्ने द्विविधामा रुमल्लिँदै थिएँ । पछिल्तिरबाट तिलक दौडदै आयो र उसले मेरो घर देखिसकेको कुरा गर्यो भोलि, पर्सि कुनैदिन मेरो घर लिएर जाने कुरा गर्यो ।
‘दाजुलाई हतार होला, गाडीमा पुर्याइदिइस्यो न !’ उसले तिलकलाई भनी ।

‘पर्दैन, पर्दैन ! मैले जानुपर्ने ठाउँ यहीँ नजिकै छ ।’ कुनै उपायले म त्यहाँबाट छिटोभन्दा छिटो उम्कन चाहन्थेँ । सबैसँग बिदा माग्दै तिलकतिर फर्किएर हेरेँ । तिलक मतिर नहेरी अर्कैतिर फर्किएको थियो । बाहिर बगैंचामा काम गरिरहेको एकजना मानिसले गेटको ढोका खोलिदियो । म पनि आफू हतारिएको अभिनय गर्दै बाहिर निस्किएँ ।

बाहिर सडकमा आएपछि मैले आफूलाई निकै स्वतन्त्र भएको महशुस गरेँ ।

(स्रोत : समाचार दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.